२४ भाद्र २०८३ बुधबार
image/svg+xml
विचार

बिपी र समाजवाद

अनुदारवादीहरूको बाहुल्य रहेको अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको डेमोक्रेटिक पार्टीको प्राइमरी चुनावमा प्रगतिशील पक्षधर एनजी निक्सनको विजय चर्चित बन्यो। उनको प्रचारका लागि एक मिलियन डलरसम्म पनि चन्दा उठ्न सकेको थिएन। जबकि उनका प्रतिद्वन्द्वी अलेक्जेन्डर भिन्डम्यानले सोह्र मिलियन डलर उठाएका थिए। निर्वाचनअघि अलेक्जेन्डर भिन्डम्यानले जित्ने प्रक्षेपण गरिएको थियो।

फ्लोरिडाजस्तो राज्यमा डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाकी सदस्य एनजी निक्सनको विजय हुन सक्छ भनी कसैले कल्पना गरेका थिएनन्। तर अगस्ट ११ मा मतगणना गर्दा एनजी निक्सनले नै बाजी मारिन्। यसले डेमोक्रेटिक पार्टीको संस्थापन पक्ष, जो प्राइमरी चुनावमा भिन्डम्यानको प्रचारमा लागेको थियो, लाई विद्युतीय झट्का लागेजस्तो भयो।

अगस्त २३ मा एनजी निक्सनले फ्लोरिडा राज्यकी डेमोक्रेटिक पार्टीकी अध्यक्ष निक्की फ्राइडलाई टेलिफोन गरेर प्राइमरीको नतिजा आइसकेपछि पनि उनलाई चुनाव प्रचारमा पार्टीले सहयोग नगरेको गुनासो गरिन्। ती दुईबिचको टेलिफोन संवादमा बाझाबाझ भएको समाचार पनि बाहिरिएको छ। यसबाट के देखिन्छ भने मतदाताहरू समाजवादी उम्मेदवार एनजी निक्सनको पक्षमा गएको परिणामलाई पार्टीको संस्थापन पक्षले अझै राम्ररी आत्मसात गर्न सकेको छैन। नोभेम्बरमा हुने सिनेटको चुनावमा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्न आवश्यक पर्ने स्वतन्त्र मतदाताहरू निक्सनको समाजवादी व्यक्तित्वका कारण आकर्षित हुँदैनन् कि भन्ने संशय पनि पार्टीको संस्थापनलाई परेको हुन सक्छ।

अमेरिकी अनुदारवादीहरूको प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीले समाजवाद र साम्यवादमा फरक देख्दैन। यसका नेता वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीलाई नै कम्युनिस्ट भनेर गाली गर्छन्। बहुसंख्यक अमेरिकी जनताहरू पनि समाजवादलाई कम्युनिज्मको रूपमा बुझ्छन्। क्युबा र भेनेजुएलामा समाजवादको नाममा चलेको तानासाही शासनबाट प्रताडित धेरै आप्रवासीहरूको वासस्थान फ्लोरिडा राज्य हो।

प्रजातान्त्रिक समाजवाद र साम्यवाद अलगअलग शासन प्रणाली हुन् भन्ने सत्यलाई शिक्षित अमेरिकी बुझ्न चाहँदैनन्। प्रजातान्त्रिक संस्कार र अर्थतन्त्रको कार्यान्वयनमा केही भिन्नता भए तापनि अर्थतन्त्रको पुँजीवादी स्वरूपलाई कायम राख्नेमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीमा कुनै भिन्नता छैन। तसर्थ, फ्लोरिडा राज्यकी डेमोक्रेटिक पार्टीकी अध्यक्ष निक्की फ्राइड प्रजातान्त्रिक समाजवादी धारकी एनजी निक्सनको विजयबाट खुसी नहुनुलाई आश्चर्य मान्नु पर्दैन।

प्रजातान्त्रिक समाजवादलाई प्रत्येक देशले आफ्नो सभ्यता र संस्कृतिअनुसार भिन्न नाम दिन सक्छन्। समाजवादको जननी युरोपमा पनि आजभोलि समाजवाद भनिँदैन। त्यहाँका वामपन्थीहरू आफूलाई र आफ्नो पार्टीलाई डेमोक्रेटिक सोसलिस्ट नभनी सोसल डेमोक्रेट र सोसल डेमोक्रेसी भन्छन्। प्रजातान्त्रिक समाजवादको उच्चतम अभ्यास गरेका स्क्यान्डिनेभियन देशहरूले समेत सोसल डेमोक्रेसी भन्छन्।

सन् १९९९ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र जर्मन चान्सलर गेर्हार्ड स्रोडरले एउटा लेख लेख्दै प्रजातान्त्रिक समाजवादलाई ‘युरोप: द थर्ड वे’ भनी नामकरण गरेका थिए। सन् १९८९ को नोभेम्बरमा बर्लिन पर्खाल ढल्नु र सन् १९९१ मा कम्युनिस्ट शासनको अन्त्य तथा सोभियत युनियनको विखण्डनपश्चात् पश्चिमी युरोपले डेमोक्रेटिक सोसलिज्मको छाता ओढ्नु जरुरी सम्झेन। फ्रान्सिस फुकुयामाले ‘द इन्ड अफ हिस्ट्री’ भनेझैं युरोपलाई पनि समाजवादी नाम राख्नु असान्दर्भिक लाग्यो।

दक्षिणपन्थी पपुलिज्मको बढ्दो प्रभावबिच अमेरिकाको फ्लोरिडाजस्तो अनुदारवादी मानिएको राज्यमा प्रगतिशील पक्षधर एनजी निक्सनको डेमोक्रेटिक पार्टीको प्राइमरीमा भएको विजय, अमेरिकाको अनुदारवादी शासनबाट आजित भएका र पुँजीवादी अर्थतन्त्रबाट थिचिएका निम्न वर्ग तथा निम्न मध्यम वर्गको छटपटीको प्रतिध्वनि हो।

समाजवादको युगको अन्त्य भएको भनेका अमेरिकी राजनीतिक विश्लेषक तथा राजनीतिक अर्थशास्त्री फुकुयामाको देशमै प्रजातान्त्रिक समाजवादी विचारले पार्टीको आन्तरिक चुनावमा विजय प्राप्त गर्नु र यसले दक्षिणपन्थीहरूमा छटपटी सिर्जना गर्नु प्रजातान्त्रिक समाजवादको सान्दर्भिकता अनन्तसम्म रहिरहन्छ भन्ने सन्देश पनि हो।

प्रजातान्त्रिक समाजवाद कुनै यान्त्रिक विचार होइन। न त यो गणितीय सूत्र हो। यो समाजको विश्लेषण गर्ने र राजनीतिक अर्थनीतिलाई देशको आवश्यकताअनुसार कार्यान्वयन गर्ने अर्थराजनीतिक विज्ञान हो। त्यसैले सबै देशमा एकै किसिमको समाजवाद हुन सक्दैन। प्रत्येक देशको आर्थिक, सामाजिक अवस्था र राष्ट्रिय आवश्यकताअनुसार समाजवादको कार्यान्वयन फरकफरक प्रक्रियाले हुन सक्छ। नेपालमा समाजवाद भनेको सबल तथा नैतिक, आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक संस्थाहरूको निर्माण, द्रुततर आर्थिक विकास, सबैलाई शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यममा समान अवसर, उत्पादनमा वृद्धि र उपलब्ध राष्ट्रिय सम्पत्तिको न्यायोचित वितरण हो।

अमेरिकाका लागि समाजवाद भनेको काला जातिलाई सम्मान, प्रगतिशील कर प्रणाली, कम आय भएका व्यक्ति वा परिवारलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराउनु हो। साथै अमेरिका हालका केही वर्षमा बजार समाजमा परिणत भएको छ।

अहिलेको अवस्थामा अमेरिकालाई बजार समाजबाट बाहिर निकाली बजार अर्थव्यवस्थामा आधारित न्यायपूर्ण समाजमा रूपान्तरण गर्नु नै त्यस देशको अहिलेको समाजवादी कार्यक्रम हो। आप्रवासीहरूप्रतिको कठोरता त्यागी मानवीय व्यवहार गर्नु नै युरोपको समाजवाद हो। राजनीतिक रूपमा व्यक्तिको स्वतन्त्रता, मौलिक अधिकार तथा मानवाधिकारको रक्षा गर्नु, सामाजिक रूपमा सबैसँग सहिष्णुता प्रदर्शन गर्नु तथा आर्थिक रूपमा न्यायपूर्ण वितरणको व्यवस्था गर्नु नै प्रजातान्त्रिक समाजवादका नीति तथा कार्यक्रम हुन्।

पुँजीवादी अर्थव्यवस्थाका पिता एडम स्मिथको अहस्तक्षेपकारी नीतिको कारण युरोपका कारखानामा, विशेष गरी बेलायतमा मजदुरको चरम शोषण भयो। त्यो अन्यायको समाधान हेतु माक्र्सले कम्युनिस्ट मेनिफेस्टो लेखे। तत्पश्चात् वैज्ञानिक समाजवादको प्रारम्भ भयो। आरम्भमा एकदलीय अधिनायकवादमार्फत समाजवाद लागु गर्न खोजियो।

एकदलीय समाजवादमा सैद्धान्तिक र व्यावहारिक दोष देखेका समाजवादीहरू एडवर्ड बर्नस्टाइन, कार्ल काउत्सकी, रोजा लक्जेम्बर्गले राजनीतिक स्वतन्त्रताको अभावमा समाजवाद क्रूर र अमानवीय हुने मात्र होइन, यसले प्रगति पनि गर्न नसक्ने विश्लेषण गर्दै प्रजातान्त्रिक समाजवादी विचारको सुरुवात गरे। व्यक्तिगत स्वतन्त्रताको अभावमा समाजवाद कोरा कल्पना मात्र हुन्छ। तसर्थ समानता राजनीतिक र आर्थिक दुवै क्षेत्रमा आवश्यक हुन्छ। यही विचारबाट युरोपमा डेमोक्रेटिक सोसलिज्मले जन्म लियो।

बिपी कोइराला प्रजातान्त्रिक समाजवादका विचारक, व्याख्याता र प्रयोगकर्ता हुनुहुन्थ्यो। उहाँका लागि समाजवाद सरकारको कार्यक्रममार्फत कार्यान्वयन गर्ने नीति मात्र थिएन, जीवनपद्धति नै थियो। बिपीले समाजवादको व्याख्याका सन्दर्भमा भन्नुहुन्थ्यो– प्रजातान्त्रिक समाजवाद यो युगमा निर्माण भइरहेको नयाँ सभ्यता र संस्कृति हो।

सन् १९८१ मा सिड्नीमा सम्पन्न समाजवादी सम्मेलनलाई सम्बोधन गर्दै बिपीले भन्नुभएको थियो– समाजवाद भविष्यको एउटा लहर हो। तेस्रो विश्वका देशहरूको निमित्त समाजवाद प्राकृतिक देन हो। समाजवादलाई अपनाउन सकेनौं भने तेस्रो विश्वका मुलुकहरूले या त सैनिक तानासाही, या कम्युनिस्ट अधिनायकवाद वा धार्मिक कट्टरपन्थी प्रतिक्रियावादीहरूको थिचोमिचोलाई बेहोर्नुपर्नेछ।

आज पाकिस्तान सैनिक तानासाही र धार्मिक कट्टरताबाट आहत छ। प्रायः प्रत्येक महिनाको अन्तरालमा आतंकवादी विस्फोटबाट मानिसको ज्यान गइरहेको छ। अफगानिस्तानका जनता धार्मिक कट्टरतावादीहरूबाट आक्रान्त छन्। त्यस देशका महिलाले मध्यकालीन दमनभन्दा पनि नारकीय जीवन जिउन बाध्य छन्।

भारत पनि धार्मिक कट्टरतातर्फ उन्मुख छ। ‘द गार्डियन’ पत्रिकामा करिब एक वर्षअघि मुकुल केशवनले भारतीय जनता पार्टी र यसको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघलाई फासिस्ट अर्धसैनिक संगठनसँग तुलना गर्दै भारत धिमा गतिमा फासिस्ट शासनतर्फ उन्मुख छ भन्दै सचेत गराएका छन्। बर्मा सैनिक तानासाहीका कारण गृहयुद्धमा फसेको छ। अफ्रिका तथा ल्याटिन अमेरिकी देशहरू, जहाँ लोकतन्त्र र कल्याणकारी आर्थिक कार्यक्रम छैन, उनीहरू पनि कोही दक्षिणपन्थी पपुलिस्टबाट, कोही सैनिक तानासाही वा कम्युनिस्ट तानासाही या धार्मिक कट्टरपन्थीहरूबाट शासित हुन पुगेका छन्।

बिपी कोइरालाले भनेझैं अब समाजवादको केन्द्रबिन्दु युरोपबाट तेस्रो विश्वमा सरिसकेको छ। जहाँ समाजवाद जीवनको प्रेरणाप्रद आदर्श तथा विकासको खाका र स्वरूप दुवै हिसाबले सान्दर्भिक भएको छ। पश्चिमी पुँजीवादको अनुकरणले तेस्रो विश्वमा धनी र गरिबबिचको खाडल अझ ठुलो भएको छ। तेस्रो विश्वमा पश्चिमी पुँजीवादको प्रभाव विस्तार गर्न आएको सहयोगले बिपीले भनेझैं भुइँफुट्टा वर्गको जन्म भएको छ। जसको राष्ट्रको माटोसँग कुनै सम्बन्ध छैन। यसको निराकरण गर्न र सम्यक् विकास गर्न प्रजातान्त्रिक समाजवाद नै एक मात्र विकल्प हो।

बिपीले जीवनभर राजनीतिक स्वतन्त्रता र आर्थिक समानताको निमित्त चिन्तन मात्र गर्नुभएन, त्यसका लागि आफ्नो जीवनलाई जोखिममा राख्ने हदसम्मको संघर्ष गर्नुभयो। नेपालमा प्रजातन्त्रको स्थापना तथा पुनस्र्थापना गर्नका लागि सशस्त्र क्रान्तिको नेतृत्व पनि गर्नुभयो तर जुनसुकै प्रकारको संघर्ष गर्दा पनि उहाँले सदाचार र नैतिकतामा कुनै सम्झौता गर्नुभएन। अनीति र कदाचारले उहाँलाई कहिल्यै छोएन। समाजवादको मूल आदर्श पनि नैतिक सिद्धान्त हो।

समाजका सदस्यहरूको आवश्यकता प्रायः समान हुन्छन्। सबैले आफ्नो वृत्तिको विकास गर्ने समान अवसर पाउनुपर्छ। तसर्थ राजनीतिक र आर्थिक दुवै अर्थमा समानता हुनुपर्छ भन्ने बिपी कोइरालाको आज ११३औं जन्मजयन्ती हो। सशरीर बिपी कोइराला आज हामीबिच हुनुहुन्न तर उहाँका विचार र कर्मले आजसम्म पनि हामीलाई प्रेरणा दिइरहेका छन्। उहाँका आदर्श विचार र संघर्षपूर्ण जीवनका गाथाहरू नेपालीहरूको स्मृतिमा अनन्तकालसम्म रहनेछन्।

प्रकाशित: २४ भाद्र २०८३ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %