७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

राष्ट्रियताको ध्वनि गाउने सत्यमोहन जोशी

जीविकोपार्जनका लागि मात्र सामान्य कर्म गरेर जीवन व्यतीत गर्ने मानिस सामान्य नै रहन्छ। आम मानिसको कर्म वा दिनचर्या यसैमा मात्र सीमित हुन्छ। कतिपय मानिसले प्रतिभा भएर पनि पारिवारिक वा अन्य व्यावहारिक कारणले गुम्स्याएर, साँघुर्‍याएर जीवनको सीमित परिधिमा आफूलाई खुम्च्याउनु परिरहेको हुन्छ। हरेकमा केही न केही विशेष क्षमता हुन्छ यद्यपि अधिकांशको क्षमता ‘बाँच्नु’ को माध्यमका रूपमै कुण्ठित भएर ओइलिएर जान्छ।  

मानिसलाई सामान्य मानिसभन्दा माथि उठाउने तत्व भनेको उसले जीविकोपार्जनको तहभन्दा माथि रहेर गर्ने कर्म रहेछ। त्यही कर्मको लहरो नछोडीकन हिँडिरहन सक्यो भने मानिस निकै टाढा र माथिसम्मै पुग्न सक्दोरहेछ। सत्यमोहन जोशीले त्यही लहरोलाई बलियो गरी समाते, समातिरहे। उनी विचलित भएनन्, धर्मराएनन्। कर्म गर्नका लागि बाँच्नु त अनिवार्य छँदै छ तर उनको ध्येय, वृत्ति भने ‘बाँच्नु’ भित्र मात्र गुजुल्टिएन, ठिङ्गुरिएन। आफूले गरेका कर्मको उपलब्धिलाई भान्सामा पाक्ने मिष्ठान्न÷परिकारसँग जोडेनन् उनले। उनले आफ्ना कर्मको लक्ष्य नेपाली संस्कृतिको सुगन्ध कहाँकहाँबाट मग्मगाइरहेको छ, त्यसलाई पहिल्याउनुतर्फ केन्द्रित राखे। हुँदाहुँदा उनले नेपाली संस्कृतिको महक सुँघे, ध्वनि सुने अनि त्यसैलाई पच्छ्याउँदै नेपाली घरआँगन, पँधेरी, गोठ, मेलापात, चौतारी, उधौली, उभौली, रोधी, वनपाखा, देउराली, हाटबजार, पर्व, उत्सव, बिसौनी आदि सबैतिर पुगे। नेपाली संस्कृतिका बीजहरू खोज्दै, तिनलाई पहिल्याउँदै, बटुल्दै, सुम्सुम्याउँदै, केलाउँदै गए, अनि उनले नेपाली संस्कृतिलाई सगरमाथाझैँ उच्चिरहेको देखे; ‘...यसैले आज हामीले गहिरिएर हेर्ने हो भने हाम्रो सांस्कृतिक जीवनको स्तर र सांस्कृतिक विशिष्टता विश्वमा सगरमाथाझैँ नै उच्चिरहेको छ तथा यसमा नेपाली चोखोपनाकै आत्मा निहित भैरहेको छ।’ (नेपाली चाडपर्व, सत्यमोहन जोशी)

संस्कृति भनेको नेपालीको आत्मा हो। नेपाली संस्कृतिले नै नेपालीलाई भावनात्मक रूपमा गाँसेको छ। व्यक्तिको अस्तित्व आर्थिक पक्षसँग भन्दा सांस्कृतिक, आध्यात्मिक पक्षसँग बढी गहिरो ढंगले जोडिएको हुन्छ भन्ने कुरामा सजग रहन जोशीले आह्वान गरे। ‘वास्तवमा सांस्कृतिक विविधता भनेको विकासको मूल जरो हो। यसलाई आर्थिक दृष्टिले मात्र हेरिनुहुन्न। बरु यसलाई बढी सन्तोषी भावनामा बौद्धिक र भावनात्मक, नैतिक र आध्यात्मिक अस्तित्व हासिल गर्ने उपायका रूपमा पनि हेरिनु उचित हुने छ।’ (हाम्रो लोक संस्कृतिका लोक लहरी, सत्यमोहन जोशी)

संस्कृति र राष्ट्रियता गाँसिएको हुन्छ। संस्कृतिबिनाको राष्ट्रियताको परिकल्पना गर्न सकिन्न। सांस्कृतिक सम्पदाहरू भनेका राष्ट्रियताका आधारशिला हुन्। संस्कृतिको निर्माण निश्चित समयभित्र भइसक्ने कुरा होइन। नेपाली संस्कृति हजारौं वर्षदेखिको नेपालको जातीय, भाषिक, धार्मिक, भौगोलिक आदि विविधताभित्र हुर्कँदै, निर्माण हुँदै, खारिँदै, पारस्पारिक रूपमा सामञ्जस्यपूर्ण नेपाली आत्मीयताको उदाहरण बन्दै आइरहेको समष्टिगत नेपाली जनजीवनको प्रतिबिम्ब हो। यसको सामाजिक, सांस्कृतिक विविधतायुक्त इन्द्रेणीमय रङहरूले नेपालरूपी राष्ट्र रंगिएको छ। नेपाली संस्कृति नेपाली जातिको परिचय दिने सबैभन्दा चहकिलो गौरव बनेको छ। नेपाली संस्कृतिको यसै गौरवशाली फूलबारीमा नेपाली राष्ट्रियतारूपी भावनात्मक आस्थाको दियो अखण्डित रूपमा प्रज्ज्वलित बनिरहेको छ। नेपाली संस्कृति नेपाली सार्वसौमसत्ताको सबैभन्दा बलियो बाहक हो। अतीतदेखि नै नेपाली संस्कृति र नेपालको सार्वभौमसत्ता एकअर्काका पर्याय भएर रहँदै आएका हुनाले नै नेपाल राष्ट्रको अस्तित्व अक्षुण्ण रहन सकेको हो भन्ने चिन्तन जोशीले गरेका छन्, ‘नेपाली संस्कृति नेपाली मात्रका लागि प्राणभन्दा प्यारो भएका कारणले गर्दा नै नेपालको सार्वभौमसत्ता सदासर्वदा उच्च रहन पायो। नेपाली माटोमा यवन, शोक, कुषाण, हूण, तुर्क, अफगान, मुगल र अङ्ग्रेजहरूजस्ता विदेशी जातिहरूको कहिल्यै पनि आधिपत्य कायम हुन पाएन। यसैले नेपाल सुरुदेखि नै स्वाधीन बन्यो, स्वतन्त रह्यो र यसको संस्कृति चोखो रूपमा फल्यो, फुल्यो र नेपाली मात्रको लागि यो गौरवमय बन्यो।’ (नेपाली चाडपर्व, जोशी) संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली सांस्कृतिक फूलबारीको गोडमेल गर्दै, सिञ्चन गर्दै नेपाली राष्ट्रियताको दियोलाई चहकिलो पारिरहे। उनले संस्कृतिभित्र राष्ट्रियताको चुरो बाँचेको हुन्छ भन्ने महसुस गरेर त्यसलाई खनजोत गर्न, उक्केरा लाउन, मलमाटोले पोषण गर्न आफूलाई आजीवन सक्रिय राखे। मेचीदेखि महाकालीभित्रका अनेक जाति, भाषा, धर्म, संस्कृतिको वैविध्यभित्र बाँचिरहेको राष्ट्रिय एकताको अखण्डित विश्वासमा नेपाली राष्ट्रियताको धरोहर खडा भएको देखे सत्यमोहन जोशीले, ‘मेचीदेखि महाकालीसम्म यतिका जनजातिहरू छन्, संस्कृतिहरू छन्। ती जम्मै सांस्कृतिक विविधतामा हाम्रो राष्ट्रिय एकता नेपालीपन छ। कोही नेवार, कोही क्षेत्री, कोही दनुवार, कोही सुनुवार, कोही मधेशका यस्तै सारा कुरा छन्। आफ्नो ठाउँमा छ, त्यसबाट उठेको छ। हामी नेपाली भन्ने राष्ट्रियता। यही भावनाले लेखनकर्ममा लागेको हुँ।’ (साहित्यकार शीतल गिरीसँगको संवादमा जोशी, मधुपर्क ५९९)

सत्यमोहन जोशी नेपाली राष्ट्रियताका एक इमान्दार पुजारी हुन्। उनले भाषणभुषण मात्र गरेर आडम्बरी तवरमा राष्ट्रियताको फोस्रो राग अलापेनन्। उनले राष्ट्रियताको जगेर्ना गर्न नेपाली संस्कृति र सभ्यताको संरक्षण र सम्वद्र्धन गर्नु सर्वोपरि आवश्यकता रहेको महसुस गरे र त्यसनिम्ति निरन्तर जाँगर चलाए। २०१३ सालमा प्रथम पटक मदन पुरस्कार प्राप्त गरेको कृति ‘हाम्रो लोक संस्कृति’ को लेखनको पृष्ठभूमि सम्झँदै जोशीले वनपाखा, दाउराघाँस जता पुगेपनि लोक गीत, लोक भाकासँग साक्षात्कार गर्न पाइने नेपाली लोक संस्कृति, हाम्रो राष्ट्रिय भावनाको अनुपम वरदान भएको आशय राख्दै तिनै भाकाहरूको संकलन गरेबापत आफू पुरस्कृत भएको संस्मरण गरेका छन्, ‘जुनसुकै ठाउँमा जाँदा पनि गीतैगीत मात्रै। त्यो बेला लोकगीत नभनेर झ्याउरे, भजन, चुड्का, रेलीमाई भाका भन्ने गरिन्थ्यो। पँधेरामा गयो, पानी भर्न गाग्री थापेका आइमाईहरू गीत गाइरहेकै भेटिन्थे। जंगलतिर यसो घुम्न जाँदा दाउरा घाँस लिएर आएको मान्छे पनि गीत गाउँदै हुन्थ्यो। ...मैले गाउँघरका गीत टिपेर संकलन गरेर हाम्रो लोक संस्कृति पुस्तक बनाएर बुझाउँदा २०१३ सालको मदन पुरस्कार २०१४ सालमा पाएको हुँ।’ (मधुपर्क, ५९९)

तनहुँ, बम्जुङतिर औद्योगिक सर्भेका लागि पुगेका बेला जोशीले वास्तविक नेपालको झंकार सुने, गीतका भाकाहरूमा। ती भाकाहरू गाउँघरका नेपालीहरूका मुटु भुल्भुलाएर निस्केकाथिए। ती भाकालाई जिवन्त राख्न सके भोलिका पींढीले पनि आफ्ना गाउँघर र रनवनका सुस्केराहरूको धड्कन थाहा पाउने थिए भन्ने जोशीलाई लाग्यो। उनले भनेका छन्, ‘म त सहरको ठिटो। हुँदाहुँदा एउटा गीत मेरो कानमा गुन्जियो। के खायो के लायो होला, मेरो माया रेलीमाई जुरेली चरीले।’ यो गीत नै मेरो प्रेरणाको स्रोत भयो। यो गीतले मेरो मन छोएपछि मैले यस्ता लोकभाकाहरूलाई संकलन गरें। रातभर जाग्राम बसेर भए पनि गीत सुनेर मैले पाण्डुलिपि तयार पारें र मदन पुरस्कार पनि पाएँ। यो मेरो कार्यको फल नै हो भन्दा पनि हुन्छ। त्यस बेला ग्रामीण भाका भन्ने चलन थियो, मैले नै लोकभाकाको रूपमा चिनाएँ।’ (साहित्यकार छविरमण सिलवालसँगको संवादमा जोशी, मधुपर्क ५६९)  

गाउँघरमा गाइने मौलिक गीतहरू जनताका ढुक्ढुकी रसाएर प्रस्फुटित भएका हुन्छन्। स्वस्फूर्त रूपमा जनताको हृदयबाट ती गीतहरू निस्कन्छन्। मौलिक तवरमा ती गाइन्छन्। संगीतबिना नै ती कर्णप्रिय रहन्छन्। ती गीतहरूमा जनताको सुख, दुःख, आँसु, हाँसो, विरह, वेदनाको भल बग्दछ। हाँसो र खित्काहरू गुन्जिन्छन्। जोशीले आफ्नो युवा वयमा नेपाली जनताको हृदय रसाएर बगेका गीतका भाका सुने र तिनलाई लिपिबद्ध गरे।  

‘के खायो के लायो होला वनको जुरेली चरीले?

चरीको के घर छ र रात काट्यो डालीमा बसेर।

लेकमा सुनेथेँ मैले सारी सुगी मैना झैँ बोलेको  

आज मैले के अचम्म देखेको

चरीले आँखीभाँै टिपेको।’ (हाम्रो लोक संस्कतिका लोक लहरी, सत्यमोहन जोशी)  

सत्यमोहन जोशीले नेपालकै प्रतिष्ठित मदन पुरस्कार तीन पटक प्राप्त गरे। २०१३ सालमा ‘हाम्रो लोकसंस्कृति’ का लागि, २०१७ सालमा ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि र २०२८ सालमा ‘कर्णाली लोकसंस्कृति’ नामक कृतिका लागि उनलाई मदन पुरस्कार प्रदान गरिएको थियो। ‘कर्णाली लोकसंस्कृति’ कृतिका लागि अरू लेखकहरूसहित जोशीलाई संयुक्त रूपमा पुरस्कृत गरिएको थियो। उनले मदन पुरस्कार प्राप्त गरेका कृतिहरू सबै अनुसन्धानमूलक कृतिहरू हुन्। ‘मैले चाहिँ संस्कृतिमा इतिहासको के कस्तो प्रभाव परेको छ? कुन राजाका पालामा संस्कृति कस्तो थियो? कसरी संस्कृतिको विकास भयो? यसका लागि कनकपत्र, रजतपत्र, वंशावली, शिलालेख खोजी गरेर हेरेँ।’ (मधुपर्क, ५९९) पाँच जना लेखकद्वारा आआफ्ना जिम्माका अलगअलग अनुसन्धनात्मक खण्डहरू तयार गरी कर्णाली लोकसंस्कृति नामक ग्रन्थ लेखियो। पाँच भागमा प्रकाशित यस ग्रन्थले २०२८ सालको मदन पुरस्कार प्राप्त गर्‍यो।

जोशीले नेपाली राष्ट्रिय मुद्रा नामक अनुसन्धानमूलक कृतिका लागि २०१७ सालमा दोस्रो पटक मदन पुरस्कार प्राप्त गरे। त्यस कृतिमा नेपालमा मुद्राको प्रचलन सुरु भएयता आधुनिक कालखण्डसम्मको मौद्रिक व्यवस्था, सामाजिक सांस्कृतिक जनजीवनमा त्यसले पार्दै ल्याएको प्रभाव आदिका बारेमा गहन अध्ययन विश्लेषण गरिएको पाइन्छ। जोशी २०१६÷१७ सालतिर पुरातत्व विभागका निर्देशक थिए। ०१७ सालमा प्रजातन्त्रको अन्त्य गरिएपछि जिम्मेवारी मुक्त भए पनि उनले मुद्राको अनुसन्धानलाई निरन्तरता दिएको बताएका छन्; ‘मैले मुद्रा मात्र होइन, मुद्राले बोकेको इतिहास र संस्कृति पनि लेखेँ। जागिर खोसिए पनि मैले लेखेको इतिहास त मेरै हो भनेर मुद्राको पुस्तक लेखेँ। यो कसैले नगरेको काम थियो। यसले पनि मदन पुरस्कार पायो।’ नेपाली मुद्राको ऐतिहासिकता र गरिमाबारे जोशी भन्छन्, ‘भारत अङ्ग्रेजले लिएको बेलामा लखनौका राजाले विदेशी मुद्राले लक्ष्मी पूजा नगरेर हाम्रो नेपाली मुद्रा लगेर लक्ष्मी पूजा गरेको इतिहास छ। नेपाली पैसाको यस्तो सम्मान नै हाम्रो संस्कृति हो।’ (मधुपर्क, ५६९)

प्रार्थिव शारीरिक रूपमा जोशी २०७९, असोज ३० गतेसम्म यस धराधाममा रहेर बिदा लिए। उनी राष्ट्रिय सांस्कृतिक विभूतिका रूपमा नेपाली जनमानसमा सधैँ बाँचिरहनेछन्। यी महान् आत्माप्रति हार्दिक श्रद्धाञ्जलि। 

प्रकाशित: ५ कार्तिक २०७९ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App