सेयर बजारको कारोबार मापन गर्ने परिसूचक नेप्से तीन वर्षयताकै न्यून विन्दुमा झरेको छ। घट्दो सेयर बजारबाट चिन्तित लगानीकर्ताले बजार उत्थानका लागि बुँदागतरूपमा सरकारलाई सुझाव दिएका छन्। तर ती सुझावले मूल समस्या सम्बोधन गरेको देखिँदैन। समस्या पहिचानै नगरी सुझाव प्रस्तुत गरिएको छ। समस्या पहिचान गर्न आजको स्थितिमा कसरी आइपुगियो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ।
मूल समस्या लगानी गर्ने शैलीमा थियो। अघिल्ला ३-४ वर्ष सेयर बजारमा भएको लगानी हेर्दा लगानीकर्ताले बजार घट्नसक्छ भन्ने तथ्य बिर्सिएको देखिन्छ। भित्र मनमा बजार घट्ने डर भए पनि त्यसलाई उनीहरूले बेवास्ता गर्दै आएका थिए। बजार शिखरमा पुगेर झर्ने क्रम सुरु हुँदा पनि ...यो केही समयका लागि हो, फेरि बढिहाल्छ' भन्ने अनौठो विश्वास तिनमा थियो। सेयर बजारको शिखर कुन हो र फेदी कहाँनेर हुन्छ भन्ने पत्ता लगाउन सजिलो हुँदैन। नेपालको सेयर बजारको सन्दर्भमा यो झनै कठिन काम हो। त्यसैले समग्र बजारको आकलन गर्नुभन्दा आफूले लगानी गर्ने सेयरमा केन्द्रित हुनु बुद्धिमानी हुन्थ्यो।
लगानीकर्ता दुवै हिसाबले चुके। उनीहरूले समग्र बजारको चाललाई त ध्यान दिएनन् नै, आफूले किनबेच गर्ने सेयरमा पनि होस पुर्याएनन्। यसो हुनुको मुख्य कारण थियो, सजिलै र सस्तोमा पाइएको ऋण। देशमा उल्लेख्य परिमाणमा रेमिट्यान्स भित्रिएको थियो। लगानीका क्षेत्र सीमित भएकाले बैंक तथा वित्तीय संस्थाले पनि सेयर लगानीकर्तालाई ऋण दिन आनकानी गरेनन्। ऋणको जगमा खडा भएको संरचना जुनसुकै बेला ढल्नसक्छ। भोलि मूल्य बढिहाल्छ, सस्तोमा ऋण पाइएका बेला किनिहालौं न त भन्ने मानसिकताले सेयर बजार उचाल्यो। आफूले किन्न लागेको सेयरको मूल्य उचित छ कि छैन भनेर कमैले सोचे।
सबै बजारमा यस्ता घटना हुन्छन्। सेयर बजारमा यो अझै प्रस्ट देखिन्छ। सामान्यतया मान्छेलाई अरूले कमाएको देख्दा छटपटी हुन्छ। सेयर बजार उर्लेको बेला धन कमाउने दौडमा म पछि पर्छु भन्ने डर धेरैलाई थियो। त्यही भएर धेरैले आँखा देखेनन्। पछिल्लो समय सेयर बजारमा देखिएको स्थिति त्यसैको परिणाम हो।
लगानीकर्ताले सेयर बजार फेरि उकास्न सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउन राष्ट्र बैंकसँग माग गरेका छन्। यसको अर्थ ती कम्पनीलाई बोनस, हकप्रद वा थप सेयर निष्कासन गर्न निर्देशन देऊ भन्ने हो। हकप्रद सेयरलाई प्रतिफल ठानेर लगानीकर्ताले भूल गरिसकेका छन्, यसलाई दोहोर्याउन हुँदैन। आर्थिक वर्ष २०६३/६४ मा नेप्सेमा सूचीकृत सेयर संख्या २४ करोड ३५ लाख रहेकोमा २०६६ मंसिरसम्म झन्डै तीन गुणा बढेर ७० करोड ५७ लाख पुगेको छ। प्राथमिक बजारमार्फत् थुप्रै कम्पनी अझै करोडौंको संख्यामा सेयर ल्याउने तयारीमा छन्। पुराना कम्पनीले जारी गर्ने हकप्रद सेयरका लागि पनि लगानीकर्ताले करोडौं रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ। हकप्रद सेयर किन्न धेरै रकम लगाउनुपर्ने भएपछि दोस्रो बजारमा उपलब्ध सेयरको माग घट्नु स्वाभाविक हो। अहिले दोस्रो बजारमा धेरै सेयरलाई थोरै रकमले पछ्याइरहेकाले मूल्य घटेको हो।
सेयर बजारबाट सबैले गुमाए भन्ने पनि होइन। गहन अध्ययन गर्ने हो भने कमाउनेकै संख्या बढी भेटिनसक्छ। आजको स्थितिको पूर्वानुमान गर्नसक्ने लगानीकर्ता पनि छन्। तीमध्ये केहीको नाफामात्र कम हुँदै गएको हो।
पहिले बजार घट्छ भन्ने बिर्सिएजस्तै अहिले बजार बढ्छ भन्नेतिर पनि उनीहरूको ध्यान गएको छैन। अघिल्लो साता भएको लगानीकर्ताको भेला र त्यसले निकालेको निष्कर्षले यही भन्छ। भेलाबाट उठेका अधिकांश सुझाव सेयर कर्जा खुकुलो बनाउनेपट्टि केन्द्रित छन्। यसको अर्थ हामी फेरि ३/४ वर्ष अगाडिकै अवस्थामा फर्किएर अर्को अस्वाभाविक बजार खडा गर्न खोज्नु हो।
संसारभरकै सेयर बजारमा नीतिगत परिवर्तनको जोखिमलाई पूर्वसर्तका रूपमा स्वीकारिएको हुन्छ। अर्थात्, नीतिनियमहरू परिवर्तनशील हुन् भन्ने तथ्यलाई ख्याल गरिन्छ। अबका दिनमा पनि ती निकायले समग्र अर्थतन्त्रबाट सेयर बजारलाई अलग गरेर नीति बनाउन सक्दैनन्। एकांगीरूपमा सेयर बजारलाई मात्र हेरेर सुधार कार्यक्रम आइहाले पनि टिकाउ हुनसक्दैन। सेयर बजार समग्र अर्थतन्त्रलाई उछिनेर एक्लै अघि बढ्न सक्दैन। विगत ३-४ वर्षमा अर्थतन्त्रको सुस्त र सेयर बजारको तीव्र गतिले यसको पुष्टि गरिसकेको छ।
प्रकाशित: २७ माघ २०६६ ००:४३ बुधबार