२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सिद्धान्तहीन गठबन्धनको सिद्धान्त

सत्ता गठबन्धनसम्बद्ध दलहरूबीच मंसिरमा हुने निर्वाचनको लागि ‘संयुक्त उम्मेदवारी’ को भागबन्डा मिलाउने प्रयास भइरहेको छ। यसै प्रयोजनार्थ गठित कार्यदलले आवश्यक गृहकार्य गरिरहेको छ। गठबन्धनका दलहरू आआफ्नो पोल्टामा बढी स्थान पार्ने आफ्नै हैसियतको प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरूका यस्ता गतिविधिले हाम्रा शासक दलहरू आफूबाट विगतमा भएका गल्ती सच्याउनमा गम्भीर नभएका मात्र होइनन्, बरु उस्तै गल्ती दोहोर्‍याउन तत्पर देखिएको पुष्टि गर्छ। उनीहरूका यस्ता चालामालाले प्रजातान्त्रिक शासन पद्धतिअन्तर्गत निर्वाचनको अभ्यासमा निहीत महत्त्वलाई समेत निस्तेज बनाउँदै लानेछ।

राजनीतिशास्त्रको कखरा जानेका जोकोहीले पनि निश्चित राजनीतिक दर्शन र सिद्धान्तको आधारमा राजनीतिक लक्ष्य प्राप्तिको निम्ति राजनीतिक दलको गठन र विस्तार हुने बुझेका छन्। राजनीतिक दलको स्थापना, सफलता वा असफलता भविष्यको समाज निर्माणसँग जोडिन्छ। नेपाली समाजको बनोटमा आजसम्म शासन गरेका राजनीतिक दलले बोकेका सिद्धान्तको प्रत्यक्ष प्रभाव हुनु स्वाभाविक हो। राजनीतिक दलले बोकेको सिद्धान्तले समयान्तरमा उसले राजनीतिक शक्ति हासिल गरेपश्चात कस्तो समाज बनाउने हो, निर्धारण गर्छ।

अर्को शब्दमा राजनीतिक दलले बोकेको सिद्धान्त र लक्ष्यको आधारमा नै जनताले उसलाई उकास्ने वा नउकास्ने कुराको निधो जनमत अभिव्यक्त गर्ने विभिन्न माध्यम मार्फत गरेका हुन्छन्। त्यसकारण जनताले कुनै पनि दलमाथि विश्वास वा अविश्वास गर्नु भनेको त्यसको सफलता वा असफलताबाट बन्ने समाजप्रतिको आकर्षण वा विकर्षणको द्योतक हो। यसको अर्थ राजनीतिक दललाई नाप्ने आधारभूत तुलो भनेको उसले अंगीकार गरेको सिद्धान्त हो। किनभने त्यसले नै उसले आर्जन गर्ने शक्ति कति लाभदायक हुने वा घातक हुने कुरा टुंगो लाग्छ ।

सिद्धान्त र विचारधारा छोडेको राजनीतिक दल स्वार्थ समूहबाहेक केही हुने गर्दैन। निश्चित कालखण्डसम्म सिद्धान्त नभएको समूहले पनि सत्तामा प्रभाव देखाउन त सक्ला तर, सिद्धान्तहीनताको कमजोरीले त्यस्तो शक्तिको प्राण लामो समय धानिँदैन। दल सञ्चालनका निम्ति राजनीतिक सिद्धान्त नहुनु लक्ष्यहीन यात्री जस्तै बन्नु हो। लक्ष्य नभएको यात्रीले पनि दूरी त नापेको हुन्छ तर उससँग आफू किन त्यहाँ आइपुगेँ भन्ने प्रश्नको कुनै उत्तर हुँदैन।

सत्ता गठबन्धनसम्बद्ध दलहरू भिन्न भिन्न राजनीतिक सिद्धान्त र लक्ष्य बोकेका दल हुन्। उदारवादी प्रजातन्त्रको पक्षपाती नेपाली कांग्रेसदेखि वैज्ञानिक समाजवाद स्थापना गर्ने अभीष्ट बोकेर सशस्त्र संघर्ष गरेको माओवादीसम्म, संघीयताको जन्मजात विरोधी राष्ट्रिय जनमोर्चादेखि संघीयताको जब्बर पक्षपाती संघीय समाजवादी पार्टीसम्म गठबन्धनमा छन्।

यति फराकिलो राजनीतिक र विचारधारात्मक अन्तर भएको गठबन्धन फेरि पनि एक भएर आगामी निर्वाचनको सामना गर्न खोजिरहेको छ। न सिद्धान्तमा समानता न त कार्यक्रममै। तथापि धानिएको यो गठबन्धनले राजनीतिक एकताको कुनै आधार देखाउन सकेको छैन। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो। सरकारमा आफू टिक्न राजनीतिक विचारधाराको आधारमा झन्डै विपरीतार्थक सम्बन्ध भएका दलहरू एक ठाउँमा आएका छन्। उनीहरू एक भएर चुनावी मैदानमा जानु जनताको राजनीतिक विचारधारा छनोटको अधिकार कुण्ठित बनाउनु हो।

संघीयताका पक्षमा मत राख्दै आएका मतदाताले जनमोर्चा र संघीय समाजवादी दुवै सम्मिलित गठबन्धनको उम्मेदवारलाई मत दिनुको अर्थ संघीयताप्रति समर्थन मानिनेछ वा विरोध? पुँजीवाद मान्ने नेकाँ र समाजवादको नारा फलाक्ने माओवादी दुवै समाहित गठबन्धनको उम्मेदवारलाई मत दिने मतदाता पुँजीवाद वा समाजवादमध्ये कुन पक्षमा उभिएको मानिनेछ? कि यस्ता बहस नेपाली राजनीतिमा निरर्थक हुन्? खासमा राजनीतिमा यस्तो परिस्थिति सिद्धान्तहीनताको विषमता हो।

गठबन्धनको विषयमा सम्बद्ध दलहरूबीच मतमतान्तर र तानातान घामजत्तिकै छर्लङ्ग छ। नेकाभित्र एकथरी नेता/कार्यकर्तालाई यो गठबन्धन चित्त नबुझेको कसैसामु लुकेको छैन। त्यसको अर्थ काँचो धागोले बाँधिएको यो गठबन्धनको जग दिगो छैन। स्वार्थ बाझिएको अवस्थामा सानोतिनो रेक्टर स्केलको भूकम्पले पनि यसमा ठूलै क्षति हुने देखिन्छ।

सिद्धान्त र कार्यक्रमको कुनै बलियो धागोले नबाँधिएको यो गठबन्धनले कदाचित चुनावी सफलता प्राप्त गरेको अवस्थामा के हामी राजनीतिक स्थायित्वको दिशामा जान सकौँला? नेपाली राजनीतिका पछिल्ला वर्षमा व्यापक छलफलको एउटा विषय हो-राजनीतिक स्थायित्व।

नेपालको पछौटेपना अथवा कुनै पनि ऋणात्मक अवस्थालाई राजनीतिक अस्थीरताको जामाले न्याय दिने प्रयास हुने गरेको छ। शासनको बागडोर सम्हालेका सबै दलले असफलताको दोष आपसमा मिलाएर बाँड्ने उपयुक्त कवच बनेको छ-राजनीतिक अस्थिरता। यसको अर्ध सत्यताले सबै शासकलाई जोगाउन पनि मद्दत गरेको छ, सबैलाई असफलताको भागबन्डा पनि लगाउन मिलेको छ। वास्तवमै राजनीतिक स्थिरता देशले भोगिरहेको समस्याको बुटी भए के बहुरंगी गठबन्धनको चुनावी सफलता त्यसतिरको पक्का यात्रा हुन सम्भव होला?

औपचारिकता वा विपक्षीको चुनौती छल्न सत्ता गठबन्धनको संयुक्त प्रतिबद्धतापत्र वा घोषणापत्र जारी होला नै। तर सबैको मन राख्न बनाइने त्यस्तो घोषणापत्र अमूर्त कला वा शब्द आडम्बरबाहेक केही हुनेछैन किनभने सत्तासुखबाहेक एक ठाउँमा बस्ने गठबन्धन दलका कुनै अरू राजनीतिक आधार उनीहरूले अझै देखाउन सकेका छैन। सिद्धान्तहीनताको जगमा उभिएको राजनीतिक एकताले जनतासमक्ष देखाउने कार्यक्रम गोलमटोल वाक्यको मिठो प्रस्तुतिसम्म हुनसक्ला। सामाजिक र राजनीतिक परिवर्तनको खास खाका त्यसमा कदापि आउन सक्ने छैन।

निर्वाचन राजनीतिमाथि हस्तक्षेप गर्ने प्रजातान्त्रिक पद्धति हो जसमा जनता आफ्नो मत व्यक्त गर्न स्वतन्त्र हुन्छन्। तर चुनावमा गठबन्धन गर्ने अभ्यासले जनताको खास मत चुनावी नतिजामा अभिव्यक्त हुन सक्दैन। चुनावी गठबन्धन जनताको प्रजातान्त्रिक अधिकारलाई कमजोर बनाउने अभ्यास मात्र हुनेछ।

सत्ता गठबन्धनको चुनावी एकताको जवाफ अर्को कुनै चुनावी गठबन्धन भने हुन सक्दैन। एउटा गल्तीको जवाफ अर्को गल्तीबाट हुन सक्दैन। नेपालका शासक दलहरूले सत्ताको निम्ति हिजो जस्तो गल्ती गरेका थिए, आज पनि उस्तै गल्ती दोहोर्‍याइरहेका छन्। हिजो जस्ता कमजोरीले देशले राजनीतिक दुर्घटना भोग्नुपरेको थियो, आज फरक नाम र परिस्थितिमा उस्तै गल्ती दोहोर्‍याइरहेका छन्। राजनीतिक यात्रामा भएका गल्ती कमजोरीमा सुधार्ने प्रयासमा शासक दलहरू अझै पनि गम्भीर छैनन्। राजनीतिक अस्थीरतालाई दोष देखाएर आफ्ना अकर्मण्यता छोप्न खोजे पनि राजनीतिक अस्थिरताको मूल आधार भने सिद्धान्तहीन सत्तामुखी राजनीति भएको वास्तविकतालाई ओझेलमा पार्न मिल्दैन।

सत्तारुढ गठबन्धनमा सामेल दलबीच चुनावी क्षेत्रको अंकगणितीय भागबन्डाका समाचार नै पनि उदेकलाग्दा छन्। यस्तो भागबन्डाको अभ्यासले समग्र राजनीतिक स्तर र संस्कृतिलाई उधोगतितिर हुत्याउनेछ। फेरि पनि राजनीतिक कर्मसँग अन्योन्याश्रित विचारधाराको बहस र रूपान्तरणका मुद्दा ओझेल पर्नेछन्। राजनीति फेरि पनि नयाँ कलेवरमा पुरानो रछ्यानकै दलदलमा अल्झिनेछ।

तर अन्तिम निर्णय भने जनताकै हातमा छ। निर्वाचनमा केही व्यक्तिगत लाभ र स्वार्थ, पैसा, सामान र सुविधाको आधारमा मत दिने नेपाली मतदाताको स्तरले पनि शासक राजनीतिक दललाई यस्ता गल्ती फेरि फेरि दोहोर्‍याउन उत्साहित गरिरहेको छ। राजनीतिक दलहरू आआफ्ना राजनीतिक दर्शन, सिद्धान्त र कार्यक्रम बोकेर जनताको दैलोमा आओस्। एक अर्काको वैशाखी बनेर राजनीतिक अन्योलको दावानलमा फेरि पनि देशलाई घचेट्ने गल्ती अब नदोहोर्‍याऔँ।

प्रकाशित: ९ भाद्र २०७९ ००:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App