२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

युट्युब आतङ्क: प्रहरी अनुसन्धानमा अवरोध

आजको युग सूचना प्रविधिको हो। इन्टरनेट लगायतका विभिन्न डिजिटल माध्यमको विकासक्रमले विश्वभर नै ठूलो फड्को मारेको छ। परापूर्वकालमा बाजागाजासहित ढोल पिटेर समाचार पुर्‍याउनुपर्ने अवस्थाको गाउँमा अहिले हरेक व्यक्तिको हातमा स्मार्टफोन पुगिसकेको छ। स्मार्टफोनको स्क्रिन सारेकै भरमा हरेक सूचना तथा समाचार थाहा पाउने समाज विकास हुनुमा प्राविधिक युगको देन नै मुख्य हो।

विश्वका अधिकांश मुलुक डिजिटल युगमा विस्तार भएसँगै यसले धेरैलाई सहयोग पुगेको छ। मानवीय दिनचर्यामा इन्टरनेट महत्त्वपूर्ण र सहयोगी साधन बनेको छ। तर, यही डिजिटल युगमा विद्युतीय माध्यमको सही प्रयोग र यसको प्रभावकारिता थाहा नपाउँदा यसको प्रयोगबाट ठुल्ठूला अपराध पनि भइरहेका छन्।

परेवाको खुट्टामा चिठीपत्र बाँधेर सूचना ओसारपसार गरिने युगबाट आजको दुनियाँसम्म आइपुग्दा सूचना तथा सञ्चारको प्रविधिमा अतुलनीय विकास भएको कुरालाई इन्कार गर्न सकिँदैन। आजको युगमा सूचना प्रवाह गर्ने धेरै माध्यमहरूको विकास भएको छ।

नूनदेखि सुनसम्म किन्न विभिन्न डिजिटल प्रविधि भेटिन थालेका छन्। आजको पुस्ता रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरूदेखि लिएर सामाजिक सञ्जालका विभिन्न माध्यम, जस्तै-फेसबुक, टिकटक, ट्विटर, युट्युब, इन्स्टाग्रामलगायतका क्षेत्रको पहुँचमा वृद्धि हुँदै गएको छ। बालबालिकादेखि युवा हुँदै वृद्धावस्थाका आमा/बुबामा समेत यसको प्रयोग बढ्दो छ। विदेशमा रहेका छोराछोरी, आफन्त, इष्टमित्रमा अहिले अनुहार हेरेरै संवाद गर्न मिल्ने प्रविधिको विकास देखेर वृद्धवृद्धा छक्क पर्ने गरेका छन्। यो सबै प्रविधिको विकासले ल्याएको सहजता हो।

सूचना प्रविधिको विकाससँगै आएका विभिन्न सामाजिक सञ्जालमध्ये युट्युब पनि एक हो। सन् २००५ मा अमेरिकाका आइटी इन्जिनियरहरू जावेद कारिम, चाड हर्ले र स्टिव चेनको संयुक्त पहलमा युट्युब च्यानल सुरू भएको पाइन्छ। आजको विषय युट्युब मिडिया र यसले समाजमा फैलाइरहेको विकृतिसँग सम्बन्धित छ।

आजभोलि परिवारसँगै बसेर यूट्युब हेर्न सक्ने अवस्था नै छैन। टिकटक त झन् खोल्नै नहुने भएको छ। परिवारसँगै बसेर हेर्नै नसकिने किसिमका अश्लील हर्कत यी माध्यममा व्याप्त रूपमा भेटिन्छन्। युट्युबरले त झन् पारिवारिक सम्बन्ध सक्काउनेदेखि प्रहरीको अनुसन्धानमा रहेको घटनामा अतिरञ्जित भ्रम भैलाएर घटनालाई डाइभर्ट गर्ने कुकर्मसमेत गरिरहेका छन्।

नेपालमा सबैभन्दा बढी प्रयोग गरिने सोसल मिडिया भनेको फेसबुक, टिकटक र युट्युब नै हुन्। युट्युब च्यानललाई अहिले नाम र दाम कमाउने माध्यम बनाउनेको संख्या ठूलो छ। जसका कारण समाजमा धेरै खालका विकृति पैदा भइरहेका छन्। भाइरल बन्ने र बनाउनेको होडमा युट्युबरले व्यक्तिगत सम्बन्धदेखि परिवार र सामाजिक सम्बन्धसमेत बिगार्दै आएका छन्।

प्रहरीले अनुसन्धान थालेको घटनामा पनि युट्युबरले बारम्बार बाधा पुग्ने गरी गलत सूचना फैलाउने गरेका छन्। एउटी युवतीको मृत्यु हुनेबितिक्कै विभत्स हत्या, बलात्कारपछि हत्या र सम्पर्कबिहीन हुनेबित्तिकै अपहरणको बिल्ला भिराउने युट्युबरका कारण प्रहरीको अनुसन्धानमा पटकपटक बाधा पुग्ने गरेको छ।

भीडलाई थप उत्तेजित बनाएर भ्युज कमाउन घटनालाई अन्तै मोडिदिने, विषयवस्तु नै यो होइन यस्तो भन्दै ध्यान अन्यन्त्रै परिवर्तन गरिदिनेलगायतको गतल हर्कत युट्युबरले बारम्बार गर्दै आएका छन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा समेत नकारात्मक प्रभाव पर्ने गरी भिडियो बनाउने र अपलोड गरी त्यसलाई समाजमा भ्रम छर्ने गतिविधि युट्युबरको धन्दा बनेको छ।

कुनै दबाब र प्रभावविना अदालत र नेपाल प्रहरीलाई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुभन्दा सामाजिक सद्भाव भड्काउने खालका गतिविधि युट्युबमा व्याप्त छन्। केही घटनाको अनुसन्धानको परिणाम तुरुन्तै नहुन पनि सक्छ। कैयौँ वर्षदेखिका पुराना घटनाहरू प्रहरीले सुल्झाएको इतिहास पनि छ तर मनगडन्ते हिसाबले युट्युबरहरू समाजमा गलत सूचनाको भ्रम छर्न उद्यत छन्।

पैसा कमाउने नाममा कसैको परिवारमा घुसेर व्यक्तिगत सम्बन्ध, दुःख, मृत्यु, घृणा र प्रहरीको अनुसन्धान लगायत विषयलाई लक्षित गरी भिडियो बनाएर हदैसम्मको हर्कत गर्ने युट्युब च्यानल र युट्युबरहरू मौलाउँदो रूपमा छन्। यसको नियमन गर्न धेरै ढिलो भैसकेको छ।

कोही समाज परिर्वतनका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विभिन्न सरकारी निकायको गतिविधि बाहिर ल्याएर युट्युब मार्फत सकारात्मक सूचना प्रवाह गर्ने पनि छन् तर सकारात्मकभन्दा नकारात्मक विषयलाई उठान गरी समाजमा विकृति फैलाउने, व्यक्तिगत सम्बन्ध सिध्याउने, सम्बन्धमा फाटो ल्याइदिने युट्युबरको संख्या दिन/प्रतिदिन बढ्दै गएको छ। यसलाई समयमै कानुनी दायराभित्र ल्याएर कसी नलगाउने हो भने यसले समाजमा ठूलो विनाश गर्नेवाला छ। गरिरहेको छ।

कुनै मिडियासँग आबद्ध नभई युट्युब च्यानललाई आधार बनाएर पत्रकारको नक्कली खोल ओढेर समाजलाई दूषित बनाउने युट्युबरले परिवारभित्रको घटनामा हस्तक्षेप गर्दै पति/पत्नीको सम्बन्धमा फाटो ल्याउने गरेको युट्युब च्यानलमा छ्याप्छ्याप्ती भेटिन्छन्। व्यक्तिगत घटनालाई क्यामेरामा कैद गरेर तत्काल एउटाको पक्ष लिई दोषी करार गरी युट्युबर आफैँले मानसिक यातना दिनेसम्मका हर्कत गर्ने गरेका छन्।

हाम्रो देश विकासोन्मुख मुलुकमध्येको एक हो। यहाँका धेरै परिवारमा गरिबी छ। देशमा रोजगारीको उचित व्यवस्था नहुँदा धेरै नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनुपरेको छ। मलेसिया, कतार, साउदी अरब लगायतका धेरै खाडी मुलुकमा आफ्नो श्रम बेच्ने धेरै नेपाली छन्। यी यस्तै परिवारका सदस्यलाई युट्युबरले निशाना बनाउने गरेका छन्।

यस्तो हर्कतले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीमा कस्तो खालको मनोवैज्ञानिक असर पुग्ला? यसले कस्ता घटना निम्त्याउला? यसबाट हुने पारिवारिक र मानसिक द्वन्द्वको जिम्मा कसले लिने? यी यस्ता प्रश्नका जवाफ सहजै भेटिँदैनन्। यस्ता अतिरञ्जित गतिविधि रोक्न युट्युबलाई तत्काल नियमन गर्नुपर्छ।

युट्युबरले परिवार र समाजमा अश्लील प्रचार गर्ने, भ्रम पैदा गर्ने, चरित्र हत्या गर्ने, मानसिक यातना दिने, कुनै घटनाविशेषमा प्रहरीको अनुसन्धान पहिले नै दोषी करार गरिदिने जस्ता गतिविधि निकै बढेको छ। यस्ता अशोभनीय र गलत हर्कतले हाम्रो समाज कहाँ पुग्ला ? यो निकै चिन्ताको विषय बनेको छ।

युट्युब न्यायालय र आफू न्यायाधीश जस्तो व्यवहार गरी पीडितको गोपनीयताको कुनै पर्वाह नगरी सिधै दोषी करार गरिदिने युट्युबरका यस्ता हर्कतमाथि सरकारले लगाम लगाओस्। दम्पतीको घर झगडा, साथीभाइसँग खाजा खाएको, साथीसँगै बसेको, प्रहरीले अनुसन्धान गरिरहेको विषयमा समेत प्रवेश गरेर घटनालाई थप उकास्दै द्वन्द्व सिर्जना गरी भ्युज बढाएर पैसा कमाउने यस्ता गलत प्रवृत्तिलाई कानुनी दायरामा ल्याउन ढिला गर्नुहुँदैन। अन्यथा यस्ता गतिविधिले व्यक्तिगत सम्बन्ध, दाम्पत्य जीवन र समाजलाई तहसनहस पार्ने पक्कापक्की छ।

पत्रकारको खोल ओढ्ने तर पत्रकारिताको मर्म नबुझ्ने युट्युबरले न आचारसंहिता मान्छन् न पीडितको गोपनीयताको नै ख्याल गर्छन्। आफूलाई पत्रकार बताउने युट्युबरलाई आचारसंहितामा के उल्लेख छ भन्नेसम्म थाहा छैन। पत्रकार तथा सञ्चारमाध्यमले समाजमा घृणा, आत्महत्या, बलात्कार, दुर्घटना, हिंसा, निराशा, सन्त्रास र उत्तेजना फैलाउने लगायत किसिमका दृश्य एवं तस्बिर सम्प्रेषण गर्नु हुँदैन भनेको भए पनि युट्युबरले यसको वास्ता गर्दैनन्।

विकृति फैलाउने भिडियोले समाजमा नकारात्मक असर पुग्ने गरेको युट्युबरलाई जानकारी नभएको भने होइन। पैसा कमाउने लोभमा त्यस्ता भिडियो अपलोड गर्न छाडेका छैनन्। मनोकल्पना र भ्रामक खबर सम्प्रेषण गर्ने युट्युबरलाई कारबाही र यूट्युब च्यानलको प्रकाशन तथा प्रसारण तुरुन्तै बन्द गर्नुपर्छ। यिनीहरूलाई कारबाहीको दायरामा ल्याउन छिटोभन्दा छिटो कानुन बनाएर यस्ता गलत कार्यलाई निरुत्साहित गरिहाल्नुपर्छ। नत्र यस्ता युट्युबरले समाजमा झन् आतङ्क सिर्जना गर्नेछन्।

सरकारले उचित कानुन निर्माण गरी तत्काल विकृति पैmलाउने भिडियोहरूमाथि नियन्त्रण नगर्ने हो भने यसले विकराल रूप लिन सक्छ। त्यसैले युट्युबमा हुने विकृति रोक्न तथा यसको नियमनका लागि राज्यले तत्काल पहलकदमी लिनुपर्छ।

प्रकाशित: ५ भाद्र २०७९ ००:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App