१७ फाल्गुन २०८० बिहीबार
विचार

स्वतन्त्रको राजनीतिक लहर

पूर्वसभामुख दमननाथ ढुङ्गानाले काठमाडौँका मेयर प्रत्यासी सिर्जना सिंहसँगको एक भेटका सन्दर्भमा ट्विट गरेका छन्– उहाँ (सिर्जना सिंह) को प्रश्न गम्भीर थियो। ‘ने.काँ. विजयी जम्मा १९ वडा जतिको भोट मैले पाउनुपर्ने होइन दाइ ?’ नाजवाफ म, श्री गणेशमान सिंह र श्री मंगलादेवी सिंहलाई सम्झिरहेँ।  

सिर्जना सिंहको परिचय एक शालीन, सरल तथा असल व्यक्तिकी रूपमा मैले पाएको हुँ। नेपाली राजनीतिको केन्द्रविन्दुमा रहेको घरानाकी सदस्य उनी आगन्तुक तथा परिवारजनबीचको राजनीतिक तथा व्यावहारिक सन्तुलन राख्न सफल थिइन् र त्यसको निरन्तरता अझ पनि होला। भनिन्छ, उनको नरम र शालीन स्वभाव तथा व्यवहारबाट चाक्सीबारीमा आक्रोश बोकेर पुगेका काँग्रेसी नेता÷कार्यकर्तासमेतका स्वभाव शान्तभावमा परिणत हुने गर्थे। विद्यार्थीकालदेखि नेविसंघको राजनीतिमा लागेकी भएर पनि हुन सक्छ परिवार र राजनीतिबीचको सन्तुलन बनाउन उनलाई सहज भएको हो।  

मेयर प्रत्यासी सिंहले ढुङ्गानालाई सोधेको प्रश्न गम्भीर मात्र होइन, सान्दर्भिक पनि छ। किनभने उनको सवालले खोजेका पुरक प्रश्न हुन्– यतिबेला जनताको राजनीतिलाई हेर्ने दृष्टिकोण कस्तो छ ? किन दलीय उम्मेदवारप्रति यति धेरै वितृष्णा जागेको हो ? भनिएका ठूला दलप्रति नागरिकको विश्वास कसरी खस्कियो ? जनआक्रोशको लहर कति बलवान हुन सक्छ ? राजनीतिक नेतृत्वको विकल्पको खोजी किन भइराखेको छ नेपालमा ?

हरेक दृष्टिकोणबाट सिंहको पराजय स्वाभाविक थिएन। चाहे त्यो काँग्रेसी वडा अध्यक्षले पाएको मतको आधारलाई लिएर होस् अथवा व्यक्तिगत उनको छविका कारणबाट। त्यसमाथि ‘क्लिनस्विप’ गर्न बनेको ५ दलीय सत्ताधारी गठबन्धनको साथ र प्रभाव त छँदै थियो। साथै पारिवारिक राजनीतिक पृष्ठभूमि तथा महिला उम्मेदवार भएबाट पनि उनलाई जित्न थप बल पुग्नुपर्ने हो तर त्यसो भएन। पराजित भइन्। जसमा उनी र उनका सहयोगीको दोष देखिँंदैन।  

किनभने प्रमुख राजनीतिक दल तथा तिनका शीर्ष नेताले जनमानसमा आफ्ना विश्वसनीयता यतिबेला गुमाएका छन्। यही नेतृत्वबाट जनताले व्यक्तिगत तथा राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन्। आफू, आफ्ना परिवार, दल वा गठबन्धनका नेताभन्दा माथि उठ्न सकेका छैनन्। राजनीतिलाई कमाउ धन्दामा परिणत गरेका छन्। भ्रष्टाचारको दुर्गन्ध मुलुकभर फैलाएका छन्। आपराधिक कार्यलाई संरक्षण दिएका छन्। बिचौलियाको बिगबिगी बढाएका छन्। दण्डहीनतालाई खुलमखुला प्रोत्साहन गरेका छन्।  

यतिबेला मुलुक बहुदलीय प्रजातन्त्रमा प्रवेश गरेको ३३ वर्ष पुगिसकेको छ। सुशासन, सामाजिक न्याय तथा दैनिक जीवनमा सुधारका अपेक्षा गरेका नागरिकलाई निरासाका भारीबाहेक केही दिएनन्। राजनीतिलाई दुर्गन्धको खेल बनाएका छन्। चुनावताका जवाफदेही सरकार बनाउने वचन दिएका दल तथा नेताहरूबाट जनताले बारम्बार धोका पाएका छन्।  

किनभने समय र विधिअनुसार नेतृत्व चलेका छैनन्। नागरिकका मनोभाव बुझ्ने चेष्टा गर्दैनन्। राज्यशक्तिको आडमा देशको स्रोत–साधन दोहन गरेका छन्। अग्रगामीको नाममा पश्चगामी भएका छन्। नागरिकका भरोसा तोडेका छन्। स्थानीय चुनावपछि पनि चेत खोलेका छैनन्। उही आडम्बरी र स्वेच्छाचारी चरित्र दोहोराएका छन्। नसुधर्ने भएका छन्। अर्थमंत्री जनार्दन शर्माको ‘सिसिटिभी फुटेज’ पछिल्लो प्रकरणबाट त्यही सावित हुन्छ। गठबन्धन कुनै एक व्यक्तिलाई गम्भीर आर्थिक अपराधसमेतबाट जोगाउन सम्पूर्ण राज्यशक्ति कसरी परिचालन हुँदा रहेछन् ? र दण्डहीनता कुन स्तरमा छ ? जगजाहेर भएको छ।  

यस परिस्थितिमा स्वतन्त्र उम्मेदवारीको लहर चल्नु स्वाभाविक छ। किनभने अबको राष्ट्र निर्माणमा इमान्दार नेतृत्व खोज्नु जरुरी भइसकेको छ। यसको झलक काठमाडौँ, धरान तथा धनगढीका चुनावले देखाएको छ। किनभने राजनीतिक दल अथवा तिनका नेतृत्वले बुझ्ने भाषा वा तिनका चेत खोल्ने औजार भनेको चुनाबी प्रतिस्पर्धामा बेहोराउनुपर्ने ‘हार’ हो।  

स्वार्थी शासन प्रणालीबाट स्थानीय चुनावका घानमा सिर्जना सिंह र उनी जस्ता होनाहार व्यक्तिहरू परे। सामाजिक सञ्जालमा नेताप्रति पोखिएका आक्रोश पढ्दा पुरातन शैलीका नेतृत्व तथा दल ओरालो लाग्ने दिन आरम्भ भएको देखिन्छ। यो परिस्थिति नथामिए ‘मै हुँ’ भन्ने नेता तथा दलहरू निकै जोडले थलिन सक्छन्। किनभने राजनीतिमा अजय कोही हुँदैनन्। समयअनुसार नबदलिए तिनलाई समयले बदल्छ। कुनै पनि गठबन्धनले त्यसलाई थेग्न सक्दैन। किनभने विकृति भित्राउने छूट लिन गरिएको गठबन्धनले स्थानीय चुनावमा अपेक्षित परिणाम दिन सकेन। यसले स्वतन्त्रको लहर जन्मायो। एमालेको नामोनिसान मेटाउने रणनीति पनि फेल खायो।

यस अर्थमा आगामी संसदीय चुनावमा ५ दलीय गठबन्धनको जोडले मात्र जीत सुनिश्चित नहुने काँग्रेस सभापति शेरबहादुर देउवाले देखे। उनी एमालेबाहेकका दल (६ देखि ८) सँग चुनावी तालमेल गर्ने कसरतमा लागेका छन्। किनभने देउवालाई छंटौँ पटक प्रधानमंत्री बन्नु छ। यसको खुलासा हालै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार दिलभूषण पाठकले लिएको एक अन्तर्वार्तामा गरेका हुन्। यसैले स्थानीय चुनावपछि देउवालाई स्वतन्त्र र एमालेको हाउगुजीले सताएको छ। त्यसमाथि रवि लामिछानेको नवगठित पार्टीको चुनौती थपिएको छ।

म्याद नाघेका नेता र तिनका दलबाट वाक्क–दिक्क नागरिकले परिवर्तन खोजेका छन्। भरोसालायकका नयाँ अनुहार वा दलका खोजीमा छन्। तर यस स्वाभाविक चाहनालाई दलका मार्चाबन्दीले रोक्न खोज्दा वर्तमान राजनीतिक व्यवस्थासमेत दुर्घटनामा पर्न सक्छ। किनभने ‘बिरोलालाई झ्याल–ढोका थुनेर लखेट्न खोजे त्यसले फर्केर आफैँमाथि घात गर्छ’ भन्ने उक्ति बिर्सनु हुँदैन।  

हालाकि संवैधानिक अधिकार प्रयोग गरेर कतिजना स्वतन्त्र उम्मेदवारले संसद्मा प्रतिनिधित्व गर्न सक्लान्, समयले बताउला। तर बहुदलीय व्यवस्थामा यो दिगो र भरपर्दो उपाय भने अवश्य होइन। किनभने संसदीय अंकगणितका खेलको यिनी सिकार बन्न सक्छन्। यसबाट राजनीतिक स्थायित्वमा आँच पुग्न सक्छ।

‘स्वतन्त्र उम्मेदवार’ को लहर चलेको यो परिस्थितिमा रवि लामिछानेले ‘राष्ट्रय स्वतन्त्र पार्टी’ गठन गरेका छन्। परिवर्तनको संवाहक बन्ने लक्ष्य राखेका छन्। यसअघि सञ्चार क्षेत्रमा भिन्न तरिका भित्राउन सफल, उनीमाथि निकैको भरोसा टिकेको छ। उनी एक्ला छैनन्। उनको समर्थनमा जिल्लातिर उर्लिएको उत्साही भीडबाट यो आकलन गर्न सकिन्छ कि परिवर्तनगामीका साथ उनलाई छ। नागरिक समाजको पूर्ण समर्थन छ। विशेषगरी युवा पिँढी बढी उत्साहित र आकर्षित छन्, उनको नेृत्वप्रति। उनीसँग नैतिक बल र आत्मविश्वास छ। यसबाट सफल अवतरणको वातावरण बनाएका छन्। सुरुवाती राजनीतिको उनको यो सुखद पक्ष हो।  

तथापि उनको राजनीतिक यात्रा लामो छ। यसमा धैर्य आवश्यक पर्छ। आगामी निर्वाचनमा दलीय चलखेलका कारणबाट उनले आशातीत परिणाम हासिल नगर्न पनि सक्छन्। तर जुन यथार्थ र उद्देश्य बोकेर राजनीतिमा उनी उत्रिएका छन्, त्यसको निरन्तरता जनताले खोजेका छन्। व्यक्तिगत आवेग वा भावनामा बगेर निर्णय लिने छैनन्, जसरी विवेकशील पार्टीले धैर्य गुमाएको थियो। किनभने मानव अधिकार, न्याय र सुशासनका लागि नागरिक स्तरमा १०७ दिने ‘अकुपाइ बालुवाटार’ बाट उज्ज्वल थापाले सुरु गरेको अभियानको प्रेरणाबाट विवेकशील पार्टी जन्मिएको थियो। त्यसमाथि धेरै युवाको भरोसा पनि थियो।  

रवि लोकप्रिय सञ्चारकर्मी मात्र होइनन्, एक संवेदनशील व्यक्ति पनि हुन्। उनले मानवीय मूल्य र मान्यतालाई केन्द्रमा राखेर टेलिभिजन कार्यक्रम चलाए। राज्यका सम्बन्धित निकाय तथा संयन्त्रले बेवास्ता गरेका पीडितका पीडालाई आत्मसात गरे। सञ्चार माध्यमलाई उपयोग गरेर सम्बन्धित जिम्मेवार व्यक्ति तथा निकायलाई जवाफदेही बनाउन हरदम कोसिस गरे। स्वदेशमा होस् वा विदेशमा, दुःख, सास्ती र पीडा भोग्न बाध्य भएका नागरिकको समस्या समाधान गर्न इमान्दार भएर लागे। धेरैको उद्धार गरे। भ्रष्टाचार तथा बेथितिमा संलग्न व्यक्ति तथा निकायको धज्जी उडाए। यस अर्थमा उनको राजनीतिक आदर्श मानव अधिकार, न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज स्थापित गर्ने रहेको देखिन्छ। यो नेपाली राजनीतिले खोजेको उपयुक्त ‘कोर्स’ (बाटो) हो। साथै ठूला दलका राजनीतिक चेपुवामा परेका द्वन्द्वपीडितसमेतलाई उनले सम्झने छन्।  

अन्तमा, बारम्बार असफल नेताले दिने परिणाम भनेको फेरि पनि असफलता नै हो। तर पुस्तान्तरणको मागलाई संबोधन गर्नुपर्ने नेतृत्व फेरि आफँै सत्ता हत्याउने दाउमा छन्। तिनले न दलको भविष्य न लोकतन्त्रको चिन्ता गरेका छन्। चिन्ता केवल सत्ताको छ। यस अर्थमा पराजयको भयले एकल दल चुनावी मैदानमा उत्रन काँग्रेससमेत तयार देखिएनन्। यो गठबन्धन दलका कमजोर राजनीतिक धरातलीय प्रतिविम्ब हो। एक्लै चुनावी प्रतिस्पर्धामा जाने आत्मविश्वासको कमी हो। दलीय पहिचान तथा सिद्धान्त गुमाउँदै जानु हो। गठबन्धन दलका विकृति तथा विसङ्गतिका भारी बोक्न बाध्य हुनु हो, जसरी जनार्दन शर्माको आर्थिक अपराधको भारी काँग्रेससमेतलाई बोकाइएको छ।

प्रकाशित: २९ श्रावण २०७९ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App