१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

नारी सशक्तीकरणको पर्व राखी

प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।

राखी हिन्दूहरूको एउटा महान् पर्व हो। सम्पूर्ण हिन्दू समाजमा यो पर्व बडो उत्साह एवं उमंगका साथ मनाइन्छ। यो सदियौं पुरानो पर्व पनि हो। यस लोकपर्वको प्राचीनता, प्रसिद्धि र महानतासँग जोडिएको एउटा पूरा कथा प्रचलित छ।

प्राचीनकालमा एकचोटि बाह्र वर्षसम्म देवासुर संग्राम चलेको थियो। जसमा देवताहरूको पराजय भयो र दानवहरूले स्वर्गमाथि विजय हासिल गरे। यता पराजित तथा दुःखी भएका स्वर्गका राजा इन्द्र देवगुरु वृहस्पतिकहाँ विनम्र निवेदन गर्न पुगे र अनुरोध गरे कि अहिले न म सुरक्षित छु न यहाँबाट अन्यत्र सुरक्षित ठाउँमा जान सक्छु। यस्तो स्थितिमा युद्धबाहेक अन्य विकल्प मसँग छैन। अहिलेसम्मको युद्धमा म हार्दै आएको छु।

इन्द्राणीले यो सबै वार्तालाप सुनिरहेकी थिइन्। उनले भनिन्, ‘भोलि श्रावण शुक्ल पूर्णिमाको दिन भएकाले म विधिविधानपूर्वक रक्षासूत्र तयार गरेर तपाईंलाई दिनेछु र तपाईंले त्यसलाई स्वस्तिवाचन पाठ गरी ब्राह्मणहरूद्वारा ग्रहण गर्नुहोला। यसबाट तपाईंको विजय निश्चित हुनेछ। अर्को दिन इन्द्रले रक्षा विधान र स्वस्तिवाचन गरी ब्राह्मणहरूद्वारा रक्षासूत्र धारण गरे र युद्धमा विजय हासिल गरे। त्यस दिनदेखि ब्राह्मणहरूद्वारा रक्षासूत्र बाँध्ने परम्परा चल्दै आएको कुरा सर्वविदित छ। साथै निम्नलिखित मन्त्र पनि प्रचलनमा अएको छ:

‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः

तेन त्वामनुबध्नामि रक्षे माचलमा चल।’

यसको पृष्ठभूमि एवं परिवेशको सिंहावलोकन गरेपछि प्रष्ट हुन्छ कि यसमा नारीको भूमिका नै महत्त्वपूर्ण थियो अर्थात् इन्द्रको विजयमा इन्द्राणीको हात थियो। उनको समुचित परामर्श नमानेको भए इन्द्रको विजय हुने थिएन। प्राचीन कालमा नारीको महत्त्वपूर्ण भूमिका हरेक क्षेत्रमा सुनिश्चितप्रायः थियो। प्रसिद्ध मुनि मनुको शब्दमा ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताको बास हुन्छ। अहिले पनि भनिन्छ, ‘एउटा सफल पुरुषको पछाडि एउटी नारी नै हुन्छिन्। अर्थात् नारीको योगदान अनुकरणीय एवं अभिनन्दनीय हुन्छ।

राखी वास्तवमा नारीद्वारा नरको रक्षाको प्रतीक हो न कि नरद्वारा नारीको रक्षाको। यो अक्षरशः सत्य कुरा हो। नारी सृष्टिको उषाकालदेखि नै सर्वशक्तिमान् शक्तिका रूपमा पूजित एवं सम्मानित थिइन्। यहाँसम्म कि मर्यादा पुरुषोत्तम रामचन्द्रले पनि लंकाको युद्धमा विजय हासिल गर्नका लागि शक्ति स्वरूपिणी नारीको पूजा गर्नुपरेको थियो।

राखी वास्तवमा नारीद्वारा नरको रक्षाको प्रतीक हो न कि नरद्वारा नारीको रक्षाको। यो अक्षरशः सत्य कुरा हो। नारी सृष्टिको उषाकालदेखि नै सर्वशक्तिमान् शक्तिका रूपमा पूजित एवं सम्मानित थिइन्। यहाँसम्म कि मर्यादा पुरुषोत्तम रामचन्द्रले पनि लंकाको युद्धमा विजय हासिल गर्नका लागि शक्ति स्वरूपिणी नारीको पूजा गर्नुपरेको थियो। उनले नारी स्वरूपिणी शक्तिको प्रतीक दुर्गाको पूजाआजा, अर्चना आराधनापश्चात् लंकाको लडाइँमा विजय हासिल गरेका थिए।

पुराण र रामायणको कथा प्राचीन भएर हामीले बिर्सन सक्छौं तर हिन्दी साहित्यका महान् कवि सूर्यकान्त त्रिपाठी निरालाको ‘रामकी शक्तिपूजा’ काव्य हामी कदापि बिर्सन सक्दैनौं। नारी सुरुदेखि अवलाका रूपमा चित्रित हुँदै आएकी छैनन्। सत्ययुग र त्रेतायुगमा नारी पुरुषसरह सम्मानित एवं पूजित थिइन्। सत्ययुग अथवा त्रेतायुगका देवीदेवताको रूप हामी स्पष्ट रूपमा देख्छौं र हामी पाउँछौं कि श्रीलक्ष्मी, श्रीनारायण, श्रीसीता, श्रीराम, श्रीराधा, श्रीकृष्ण, श्रीउमा, श्रीमहादेव इत्यादिका चित्रहरू र मूर्तिहरू समान रूपमा राजसिंहासनमाथि बसेको अथवा चित्रित गरिएको पाइन्छ।

यसबाट पनि प्रष्ट हुन्छ कि नारी र पुरुष समान छन्। यसबाट के पनि प्रष्ट हुन्छ भने नारीहरूको नाम पुरुषहरूको भन्दा पहिला लिने प्रचलन थियो। नारीको महानता र महत्त्व पुरुषभन्दा बढी थियो। नारीको श्रेष्ठता सर्वोपरि भएकाले नारीको नाम पहिला उच्चरित हुने गर्दथ्यो। आज पनि हामी निःसंकोच भन्छौं सीताराम र राधेश्याम। भक्तजनले त यसलाई कीर्तनका रूपमा गाउने गर्दछन्। अष्टयाम, नवाह र एकाह आदिमा अहर्निश यो नाम जप गरिन्छ। सीताराम महायज्ञ हुने गर्दछ। अंग्रेजी भाषामा पनि नारीलाई वेटरहाफ भनिन्छ।

सम्पूर्ण हिन्दू जगत्मा दुर्गा, अम्बा, काली र शीतला आदि शिवशक्तिको पूजाआजा र आराधना गरिन्छ। हाम्रो देश त झन् सिद्ध शक्तिपीठहरूको देशका रूपमा संसारमा प्रख्यात छ। सम्पूर्ण मिथिलाञ्चलमा भाइ-प्रेमको प्रतीकका रूपमा यसलाई मनाउने लामो परम्परा छ। यस पर्वको समकक्षी पर्व भ्रातृद्वितीया वा भैयादुज पनि हो जुन कात्तिकमा मनाइन्छ। मैथिली संस्कृतिमा भाइ-बहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने पर्वहरूमा राखी, भैयादुज र सामाचकेवा आदि प्रमुख हुन्।

मैथिली संस्कृति नै संसारमा यस्तो संस्कृति हो, जसमा भाइ-बहिनीको प्रेम प्रतीकका रूपमा यतिका धेरै पर्वहरू प्रत्येक वर्ष मनाउने गरिन्छ र यो पनि विभिन्न महिना र मौसममा। राखी साउन पूर्णिमाको दिन वर्षा ऋतुमा मनाइन्छ भने भैयादुज शरदृतुमा। सामाचकेवा पनि कात्तिक पूर्णिमाको दिनमा विसर्जित गरिन्छ। रक्षाबन्धनलाई हिन्दी, मैथिली, अवधी, भोजपुरी तथा बज्जिका भाषाहरूमा राखी भनिन्छ। राखी भाइ-बहिनीको अमर प्रेमको प्रतीक हो। नेपाली संस्कृतिमा भाइटीका र मैथिली संस्कृतिमा भैयादुज करिब करिब एउटै समयमा सम्पन्न हुने लोकपर्व हुन्।

आजको युग वैज्ञानिक युग हो। यो युग नारी सशक्तीकरणको युग पनि हो। यो युग लैंगिक समानताको पनि हो। सत्ययुग र त्रेतायुगमा जुन स्थान नारीले प्राप्त गरेका थिए, त्यो स्थान पाउनका लागि नारीहरू अहिले संघर्षरत छन्। यो खुसीको खबर हो। २१औं शताब्दी नारीहरूको युग हुनेछ भन्ने कुरामा धेरै मानवशास्त्री र समाजशास्त्रीहरू विश्वस्त छन्। यो उनीहरूको भविष्यवाणी पनि हुन सक्छ तर यो असम्भवचाहिँ कदापि होइन। राखी लोकपर्व वास्तवमा नारी र पुरुषको समानताको पर्व हो। भाइ-बहिनी बीचको पारस्पारिक प्रेमको प्रतीक हो। भाइले राखी बाँधेपछि उपहार पाउने पनि प्रावधान छ।

राखी पर्व स्नेह र समानताको पर्व हो। यो स्नेहिल र प्रेमिल माया र ममताको पर्व हो। यस पर्वको सन्देश नै प्रेम, स्नेह र सौहार्द हो। विश्वको इतिहासमा यस्तो उदाहरण भेटिन्छ कि हिन्दू मात्र होइन, मुस्लिमले पनि राखी बाँधेर हिन्दूलाई भाइ बनाएको छ। मुस्लिम सम्राट अकबरले हिन्दू नारीसित राखी बाँधेर उनलाई आफ्नी बहिनी बनाएका थिए। हिन्दी साहित्यकार हरेकृष्ण प्रेमीले यसैलाई आफ्नो नाटक रक्षाबन्धनको मुख्य वर्ण-विषय बनाएका छन्। यसबाट के प्रष्टिन्छ भने यो ऐतिहासिक पर्व पनि हो र हिन्दू धर्ममा मात्र सीमित होइन। मुस्लिमहरूले पनि आफ्नो सहृदयता, सौहार्द र समानताको आधारमा यस पर्वलाई स्वीकार गरेका छन्।

अतः राखी विभिन्न धर्मावलम्बीहरूका लागि पनि धर्मको सीमा नाघेर यसको कट्टरता र कटुतालाई बिर्साइदिएको छ। आज पनि यस पर्वलाई धार्मिक सहिष्णुताका रूपमा मनाउनु आवश्यक देखिन्छ। यो सिर्फ धागोको पर्व होइन। यो सिर्फ एउटै धर्म विशेषमा सीमित पर्व पनि होइन। आज नारी शोषण र फैसन भएको छ भन्नु हुँदैन। यसलाई नारी शोषणको विरुद्धमा मनाउनुपर्ने खाँचो छ। यसबाट नारी बलात्कारको घटनामा कमी आउन सक्छ। आफ्नी बहिनीसरह अरू महिलालाई मानेपछि बलात्कार जस्तो पाशविक प्रवृत्तिले प्रश्रय पाउँदैन। भाइबहिनीको पारस्परिक प्रेम भावनाबाट यस पर्वलाई मनाउने परम्परा प्रष्ट छ र यसलाई यसै रूपमा मनाउनु पर्दछ। आफ्नी बहिनीसरह अन्य महिलासित व्यवहार गर्नु नै यस पर्वको मुख्य सन्देश हो।

विधिविधान

व्रतालुले यस पर्वको अवसरमा प्रातः विधिपूर्वक स्नान गरेर देवता, पितृ र ऋषिहरूलाई तर्पण गर्नुपर्ने विधान छ। दुई प्रहरपछि सुती, ऊनी अथवा रेशमी पहेँलो वस्त्र लिएर त्यसमा रक्षासूत्र, सुन, केशर, चन्दन, अक्षता र दुवो राखेर बाँध्नुपर्छ। पुनश्चः ब्राह्मणहरूलाई बाँध्न लगाउनु शुभ मानिन्छ। गोबरबाट लिपपोत गरेर त्यस स्थानमा कलश स्थापना गरी त्यसमाथि रक्षासूत्र राखेर त्यसको यथाविधि पूजा गर्नु शुभ मानिन्छ। 

प्रकाशित: २७ श्रावण २०७९ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App