coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सरकारकै हतियारले राष्ट्र विप्लव

संसारका अभिलेखलमा राज्य पक्षका सुरक्षा फौजले राजनीतिक उक्सावटमा राज्यविरुद्ध हतियार उठाएका र सत्ता उल्टाउन मद्दत गरेका हजारौं नजिर छन्। हतियारधारी राष्ट्र सेवकहरूमा राजनीतिक उक्साहट छिर्‍यो भने अकल्पनीय परिणाम आउँछ। नेपालकै इतिहास खोतल्ने हो भने पनि प्रशस्तै छन्। त्यस्ता अप्रिय घटनाबाट सरकारले पाठ सिक्नुपर्छ। हाल ठूला दलहरूले राष्ट्रिय सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा आआफ्ना क्याडर भर्ती गराउने, सरुवा र बढुवा गर्ने काममा शक्तिको अत्यधिक दुरूपयोग भएको नजिर छताछुल्ल छन्। 

नेपाली सेना यो मामिलाबाट अलिकति टाढा रहे पनि सेनाभित्रकै केही ठूलाबडाले प्रधानसेनापति प्रज्वलशमशेर राणा तथा प्रधानसेनापति रुक्मांगद कटवाललाई अपदस्त गर्ने प्रयास, माओवादीसँगको लडाइँमा सेनाको खबर र सैनिक कारवाहीबारे अग्रिम सूचना दिएर माओवादीकै सांसद बनेका र प्रधानमन्त्री सुशील कोइरालाको समयमा पनि राजनीतिक शक्ति लगाएर पालोमा नपर्नेले प्रधानसेनापति हुने असफल प्रयास नगरेका होइनन्। सेनाको भाग्यले भनौँ, त्यस्ता अवैधानिक प्रयासहरू नजिर वन्न सकेनन्। दल सेना–प्रहरीभित्र छिर्नु भनेको अन्ततः परेका बेला सत्ता कब्जा गर्नु हो। यस्ता घटनाक्रमले राज्यका बन्दूकले त्यही राज्यनै कब्जा गर्ने संभावना रहने हुनाले यसलाई 'स्टेट स्पन्सर्ड टेरोरिजम' अर्थात राज्यप्रदत्त आतंकवाद पनि भनिन्छ। २००७ सालपछिका मात्र नेपालको इतिहास फर्केर हेर्दा राज्यका बन्दूकधारी माथि राजनीतिले पारेका प्रभाव र परिणाममध्ये निम्न प्रमुख छन्:

पहिलो हो, नेपाली सेनाका बहालवाला कर्णेल तोरणशमशेर राणाले तत्कालीन श्री ३ तथा प्रधानमन्त्री मोहनशमशेर राणालगायत अन्य उच्च ए क्लासका राणालाई २००७ सालमा मार्ने प्रयास। उनलाई प्रबासमा रहेका सुवर्ण शमशेर राणा, महावीर शमशेर राणालगायत नेपाली कांग्रेसको उक्सावट थियो। मार्ने असफल प्रयासमा उनी पक्रिए र जेल परे। पछि नेपाली कांग्रेसले राणा फालेपछि तोरण शमशेरलाई पुरस्कारबापत कर्नेलबाट तीन तह टपेर लेफ्टिनेन्ट जनरल र २०१३ जेठ ७ गते कमान्डर–इन–चिफ बनाइयो।

राजनीतिक दल सेना–प्रहरीभित्र छिर्नु भनेको अन्ततः परेका बेला सत्ता कब्जा गर्नु नै हो। यस्ता घटनाक्रमले राज्यका बन्दूकले त्यही राज्य नै कब्जा गर्ने संभावना रहने हुनाले यसलाई 'स्टेट स्पन्सर्ड टेरोरिजम' अर्थात राज्यप्रदत्त आतंकवाद पनि भनिन्छ।

दोस्रो हो, यही राणाविरुद्धको लडाइँमा नेपाली सेनाका पश्चिम पाल्पा क्षेत्रका सेनापति जनरल रुद्र शमशेर राणाले २००७ सालमा तानसेन पाल्पाको सैनिक कोत–हतियार, गोली गठ्ठा नेपाली कांगे्रसको उक्सावटमा कांगे्रसलाई बुझाए। पाल्पा–बुटवल क्षेत्र कांगे्रसले कब्जा गर्‍यो। यसरी राज्यलाई धोका दिएर राजनीतिक हिरो बनेका रुद्र शमशेरलाई २०१० असार २२ गते कांगे्रस सरकारले पुरस्कारस्वरूप नेपाली सेनाको पहिलो फिल्ड मार्सल सिफारिस गरी महाराज श्री ५ त्रिभुवनबाट दज्र्यानी चिह्न प्रदान भयो।

तेस्रो घटना हो, ताप्लेजुङमा रहेको नेपाली सेनाको श्रीजंग गुल्मका गुल्मपति क्याप्टेन यज्ञबहादुर थापाले २०१७ सालपछि र २०१८ सालको जाडो महिनाभित्र कांगे्रसको उक्साहटमा गुल्मको हातहतियार भण्डार कोत कांगे्रसलाई लुटाउने गरेको असफल प्रयास। यो षडयन्त्र समयमा नै थाहा भएकाले उनलाई कोर्ट मार्सल गरी बर्खासी गरियो। त्यसछि पनि उनी कांगे्रससँग प्रबासमा रहे र पुनः २०३१ मंसिर ११ गतेबाट सञ्चालन भएको ओखलढुङ्गा ब्यारेक लुट्ने कांगे्रसी सशस्त्र फौजको नेतृत्व गरे। यसमा उनी मारिए। यसलाई “टिम्बुर बोटे” काण्ड भनिन्छ।

अर्को हो, ओखलढुङ्गा जिल्लामा रहेको विष्णु दल गुल्मका जमदार कर्णबहादुर बस्नेतले कांगे्रसको उक्साहटमा गुल्मको हतियार गठ्ठा लुटाउने असफल प्रयास। यिनी क्याप्टेन यज्ञबहादुर थापाको नातेदार पनि रहेकाले क्या. थापाले यिनलाई विराटनगर नजिक भारतको फारबेसगन्ज–जोगबनी बोलाइ कांगे्रसका नेता भेटाइ, भा.रु. १२ हजारसमेत दिएर पठाएका थिए। जमदार कर्णबहादुरले आफ्ना नातेदार अमल्दार भुपेन्द्र बस्नेतलाई पनि यो काममा संलग्न गराए। यिनै कर्णबहादुरको संलग्नताबाट क्या. यज्ञबहादुर थापाले २०३१ मंसिर ११ गते भारतबाट नेपाल प्रवेश गरी ओखलढुङ्गाको विष्णु दल गुल्मको कोत कब्जा गरी नेपाली कांगे्रसले अन्ततः ओखलढुङ्गालगायतका पूर्वी जिल्लाहरू कब्जा गर्ने असफल प्रयास गर्दा यिनीलगायत धेरै हतियारधारी मारिए। जसलाई ओखलढुङ्गा काण्ड अर्थात टिमुर बोटे काण्ड भनिन्छ।  

अर्को हो, २०१८ माघमा कांगे्रसले चितवनको भरतपुर क्षेत्रमा नेपाल सरकारविरुद्ध सशस्त्र लडाइँ गर्दा सेनासमेत उक्त विद्रोह नियन्त्रण गर्न परिचालन गरिएकामा चितवन र तनहुँमा खटिएका नेपाल प्रहरीहरू कांगे्रससँग मिली सेनाविरुद्ध लडेका। त्यस लडाइँमा कांगे्रस नेता जगतप्रकाशजंग शाह (प्रधानसेनापति प्रज्वलशमशेर राणाका ससुरा),गुरुङ थरका प्रहरी इन्स्पेक्टरलगायत केही अन्य प्रहरी पनि मारिए। ती प्रहरी कांगे्रसबाट उक्साइएका थिए।

अर्को घटना हो, १८ सालकै माघ महिनामा लमजुङ र मनाङका प्रहरी प्रमुख सब इन्स्पेक्टर इमानसिंह गुरुङले कांगे्रसको उक्साहटमा सेनाविरुद्ध लड्ने योजना गर्दागर्दै सेनामार्फत पक्राउ परे। २०१९ वैशाख १० गते पश्चिम ३ नं. को बडा हाकिमको अध्यक्षतामा भएको फैसलाअनुसार इमान सिंहलाई दुई वर्ष जेल राखियो भने हेड कन्स्टेबल हस्तवीरलाई ६ वर्ष कैद र ३ हजार जरिवाना गरियो (पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङको जीवनी ‘जनताको छोरो’ नामक पुस्तक पनि हेर्नुहोस्।  

अर्को हो, पर्वत जिल्लामा रहेको सशस्त्र प्रहरी बलको चण्डिका गणका अन्य दर्जाले राजनीतिक गन्धबाट प्रेरित भै गणपति गोविन्द क्षत्रीलगायत ६ जना अधिकृतलाई बेस्करी गोदे। त्यसबेला हतियार छाडी राजनीति गर्न भनेर आएका माओवादीहरूले नेपालका हरेक सुरक्षा अंगहरूमा भड्काउने, फुटाउने प्रयास गरेका थिए।

२०६५ असार ७ गते माओवादीबाट भड्केका करिब ३०० जना अन्य दर्जाले बाँके जिल्लाको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरी बलको बागेश्वरी गणमा गणपति हरिकृष्ण बुढाथोकीलगायत धेरै अधिकृतलाई गोदेर बन्दी बनाएका थिए।

अर्को घटना, २०६५ साउन १ गतेको दिनमा गोर्खा जिल्ला प्रहरी कार्यालयमा पनि माओवादीहरूकै उक्साहटमा नेपाल प्रहरीहरूले सशस्त्र विद्रोह गरे। त्यसबखत कार्यालय प्रमुख डिएसपी गीता उप्रेती भएको बुझिएको छ।  

अर्को डरलाग्दो घटना हो, २०६५ असार २८ गतेको दिनमा माओवादीकै उक्साहटमा करिव ५०० जना नेपाल प्रहरीका अन्य दर्जाले हतियार आकासतिर पड्काउँदै बाँके नेपालगन्जको दंगा नियन्त्रण गणभित्र सशस्त्र विद्रोह गरे। उनीहरूले आफ्ना कमान्डरहरू एसएसपी परशुराम खत्री, एसपी अख्तर अली अन्सारी, एसपी घनश्याम भट्टलगायत धेरै ज्येष्ठ अधिकृतलाई बन्धक बनाए। ३६ घन्टासम्म थुने। अनि नेपाल सरकारसँग २० बुँदे माग राखे। अन्ततः नेपाल प्रहरीको मागपछि सेनाको स्पेसल फोर्सले ती विद्रोही प्रहरीलाई नियन्त्रण गरेर बन्धक प्रहरी अधिकृतहरूलाई मुक्त गरायो।

माओवादीकै उक्साहटमा परेर नेपाली सेना र दुवै प्रहरीका बहालवाला धेरै जना हतियारसहित माआवादीका लडाकु बने। राज्यविरुद्ध लडेको विद्रोही पक्षले यस्ता काम गराउनु संसारकै प्रचलन हुन् तर सेना प्रहरीले सधैँ यसमा चनाखो हुनुपर्छ।  

राजनीतिक उक्साहट र गन्धले राष्ट्रको बन्दूकधारी संगठनमा परेका संगीन दुष्परिणामबारे केही नजिर प्रस्तुत गर्नुको मूल उद्देश्य हाल नेपाल सरकारको नाममा एमाले, कांगे्रस, माओवादीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राअविभित्र गरेका 'स्टेट स्पन्सर्ड टेरोरिजम' को विरोध गर्नु हो। देउवा–प्रचण्डका अंग रक्षक इन्स्पेक्टरदेखि देउवाका भतिजीज्वाइँलगायतका बढुवामा गरिएका बेबकुफी, आइजिपीका पजनी, सरुवा–बढुवामा न नेपाल प्रहरी न त सशस्त्र प्रहरीका मुख्यालयले काम गर्न सकेका छन् न त गृह मन्त्रालयले नै। यसरी राजनीतिक दलले सशस्त्र राष्ट्रसेवक संस्थाहरूमा आफ्ना मान्छे छिराउनु र बनाउनुको स्वार्थ भनेको देशको सत्ता कब्जा गर्नु नै हो। परेका बेला ती राजनीतिक नेताका स्वार्थ र आदेशमा हतियारधारी कर्मचारीबाटै राज्यविप्लव हुनेछ। 

केपी ओली, प्रचण्ड, शेरबहादुर देउवालगायतका हनुमान भै फुली लगाउने कुनै पनि दर्जाहरू भविष्यमा र बहालमा छंँदै माथि उल्लिखित तोरण शमशेर, रुद्र शमशेर, क्याप्टेन यज्ञ थापा, सब इन्स्पेक्टर इमान सिंह, शमशेरगन्ज, नेपालगन्ज, गोर्खालगायतका ब्यारेकमा आफ्ना कमान्डरलाई बन्धक बनाउने प्रहरी र सशस्त्र प्रहरीका जत्था जस्तै बन्ने पात्र हुन सक्छन् भन्ने विश्लेषण गरेर राष्ट्रिय सुरक्षामा आउन सक्ने बन्दूके खतरालाई समयमै नियन्त्रण गरौँ। सैनिक सेवामा छँदा पंक्तिकारलाई समेत शािन्त प्रक्रियामा आइसकेका माओवादीमार्फत सेना भड्काउने सुझाव र उनीहरूले सांसद बनाउने वचन दिएको अनुभवले समेत यो लेख प्रस्तुत गरिएको हो।

अन्तमा, सबैभन्दा खतरनाक परिणाम के हुन्छ भने हाम्रा नेताको व्यक्तिगत र पार्टीगत दयाबाट ठूला फुली लगाएका सुरक्षाकर्मीबाट भोलिका दिनमा सेनासँगको अपरेसनल कारबाहीमा एक मन नहुन सक्छ। सेनाकै विरुद्ध पनि जाइलाग्न सक्छन्। हामीले विगतको माओवादी लडाइँमा 'युनिफाइड कमान्ड' को अवधारणामा अपरेसनल कारबाही गर्‍यौँ। तर गणतन्त्रका पहिलो प्रहरी महानिरीक्षकलेयुनिफाइड कमान्डमा सेनाले प्रहरीलाई अत्याचार गरेका जस्ता बात लगाएका नजिर पनि छन्। यस्ता बेबिचार र दुष्परिणाम रोक्ने काम राज्यकै हो। अन्यथा कांगे्रस, माओवादी, एमालेलगायतले सुरक्षा अंगहरूलाई भागबन्डा गरेर लगे हुन्छ। सुरक्षा अंगका हतियार राखेका कोतहरू कुनै मतियारले गर्दा नफुटून्, सरकारकै हतियारले फेरि राष्ट्र विप्लव हुन सक्छ। यही हो लेखकको शुभकामना !१  

नेपाल सरकारका हतियारधारी राष्ट्र सेवकमध्येका अवकाश प्राप्त फुलीधारीहरूले देशको सीमा, देशको अस्तित्व, राष्ट्रिय सुरक्षामा खतरा, विदेशी महाशक्ति राष्ट्रको बल मिच्याइँ र सुरक्षा अंगभित्र राजनीतिक दलको पकडलाई संवेदनशील तरिकाले मनन गरी रोक्ने काम गरुन् र शक्ति राष्ट्रहरूकै लागि मात्र बुरुक्क नउफ्रिनसमेत अनुरोध गर्दछु। यो देश हामी सबैको हो। चेतना भया।

प्रकाशित: १५ श्रावण २०७९ ०१:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App