coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

समाजको सचेतना

कुनै पनि समाजको सचेतनाको अवस्था बुझ्न उक्त समाजले कस्ता विषयलाई प्राथमिकतामा राख्छ अनि कुन किसिमले सम्बन्धित विषयहरूलाई ग्रहण गर्छ वा कस्तो प्रतिक्रिया देखाउँछ भन्नेमा निर्भर गर्छ। अहिलेको सामाजिक अपेक्षा हेर्दा सचेतनाको अवस्थामा ठूलो परिवर्तन भएको बुझ्न गाह्रो छैन। सार्वजनिक पदहरूमा बसेका व्यक्तित्वहरूप्रतिको अपेक्षामा तीव्र परिवर्तन आएको देखिन्छ। तिनका जीवनशैली, कार्यशैली तथा निर्णय र निर्देशनहरूलाई सूक्ष्मताले विश्लेषण गर्दै समाजअनुरूपको मापकले नाप्ने प्रवृत्ति बढ्दो छ। प्रायःजसो हेर्ने हो भने मानव निर्मित भौतिक र रासायनिक क्रियात्मक परिवर्तनहरू तुरुन्तै देखिन वा अनुभूति गर्न सकिन्छ तर सामाजिक परिवर्तनहरू यति सूक्ष्मरूपले भैराखेको हुन्छ कि सतहमा देखिन र अनुभूति गर्न लामो समय चाहिन्छ। यसको अर्थ परिवर्तन रोकिएको भन्ने हुँदैन।  

सामाजिक परिवर्तनलाई बगिरहेको खोलाको पानीसँग पनि तुलना गर्न सकिन्छ किनकि जुन पानीले खोलाको एउटा ढुंगालाई छोएर बग्छ फेरि त्यही पानी उक्त ढुंगालाई फर्केर छुँदैन तर पानीको निरन्तर बहावले ढुंगा खिइने, आकारप्रकार बदलिने, ठाउँ परिवर्तन हुने यहाँसम्म कि कतिपय अवस्थामा खोलाको आकारसमेत बदलिने जस्ता परिवर्तन देखिने गर्छ। यसो हेर्दा त जुनबेला त्यो परिवर्तन देखियो त्यही बेलाको पानीको बहावको शक्तिले यस्तो भएको हो जस्तो लाग्न सक्छ तर वास्तवमा त्यस पछाडि लामो समयसम्म निरन्तर बहावको भूमिका हुन्छ।  

अहिलेको स्थानीय सरकारको चुनावमा देखिएका विभिन्न तह र स्वरूपका परिवर्तन जुन महसुस हुने गरी आज सतहमा देखिएका छन्, त्यसको सुत्रपात पनि निकै अगाडिदेखि भएको भनी सहजै अनुमान गर्न सकिन्छ। विभिन्न आवश्यकता र बाध्यताका कारण विश्व बजारसँग जोडिँदै जाँदा त्यहाँका समाजको शिक्षा, सचेतना र विकास अवस्थाको अनुभूति साटासाट हुनु, हातहातमा विविध प्रविधियुक्त सञ्चार उपकरणको उपलब्धताले विश्वदेखि व्यक्तिसम्मका सम्बन्ध तथा परिवर्तनबारे तत्काल सुसूचित हुनु जस्ता विविध पक्ष छन्। अझ स्पस्टरूपमा भन्ने हो भने यसमा मुख्य भूमिका खेल्नेमा बढ्दो विज्ञान तथा प्रविधिको विकासले सञ्चारमा ल्याएको उपलब्धिहरू जसले गर्दा विश्व एक गाउँ जस्तो नजिकिएको छ त्यसले गर्दा हरेक व्यक्ति विश्वको हरेक कुनासँग जोडिन बढेको सहजताले गर्दा त्यहाँको संस्कृति र सचेतना पनि आफूमा नजानिँदो किसिमले प्रवेश गरिसकेको अवस्थालाई नकार्न सकिन्न। त्यसले गर्दा राज्यसँगको अपेक्षामा पनि परिवर्तनहरू देखिनु स्वाभाविक हो।

समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, नीति निर्माणमा विशेष प्रभाव पार्न सक्ने, समाजलाई सशक्तीकरण गर्न आवश्यक खाकाहरू कोर्ने वा समग्रमाभनौँ, राजनीतिमार्फत समाज रूपान्तरण गर्न चाहने हरेकले समाजका ती अपेक्षित परिवर्तनहरूलाई आकलन गर्न र बुझ्न अनि विश्वदेखि व्यक्तिसम्मका सम्बन्धहरू तिनका अन्तरक्रिया र प्रभावहरूलाई केलाउन सक्नुपर्छ नत्र भने समाजको परिवर्तित सोच र अपेक्षा बुझ्न नसक्दा समाजको समयसापेक्षित वास्तविक आवश्यकताहरू पहिचान गर्न असम्भव भैदिन्छ र आफूले कुनै समयमा निर्माण गरेको सोचलाई नै सर्वमान्य सोच मान्दै भ्रममा परिरहँदा समाजमा विद्रोहहरूको विजारोपण हुने र समय–समयमा विभिन्न स्वरूपले असन्तुष्टिहरू प्रस्फुटित हुने भैरहन्छ। जस्तो कि अहिलेको समाजमा देखिँदैछ– राज्यको कुनै पनि निकाय तथा नेतृत्व तहमा रहेकाहरूको निर्णय र निर्देशनप्रति अपनत्व जगाउन नसक्नु र बृहद् सामाजिक स्वीकृतिको अभाव स्पष्ट झल्किने अवस्थाले यो स्पष्ट हुन्छ कि समाजका अपेक्षा बदलिएका छन् जसको मूल कारण भनेको समाजको सचेतनाको तह फेरिएको छ।  

विशेषगरी स्थानीयदेखि केन्द्रीय तहको राजनीतिमा लागेकाहरू समाजिक अन्यायविरुद्ध विभिन्न पृष्ठभूमिबाट उठी एकै ठाउँमा उभिने समूह र विभिन्नरूपले परिवर्तन नरुचाउने यथास्थितिमा रमाउने समूहबीचको जुन बुझाइको खाडल छ त्यसलाई चुनौती दिँदै अग्रसर भएका पाइलाहरू समाजको सचेतनाको अवस्था झल्काउँदैछ। अहिलेको यो अवस्थालाई समाज रूपान्तरणको संक्रमणकालीन अवस्थाका रूपमा लिन सकिन्छ जहाँ अत्यधिक संवेदनशीलता आवश्यकता पर्छ ताकि समाजको स्वास्थ्यलाई हुन सक्ने हानिबाट जोगाउन सकियोस् तर परिस्थितिहरूलाई जति संवेदनशीलताका साथ लिनुपथ्र्यो, राजनीतिक दलहरूले लिन सकेका देखिँदैन। फलस्वरूप बढ्दो असन्तुष्टिले समाजमा निम्त्याउने असुरक्षा र अधोगतिप्रतिको चिन्ता बढ्दो छ।

बुझ्नु के जरुरी छ भने विज्ञानका विविध प्रविधि निर्माणको आधार समाज हो जस्तो कि लुगा धुनका लागि बनाइएको वासिङ मेसिन बनाउन कल्पना गर्नेले पहिला कसरी लुगा धोइन्छ त्यसको ज्ञान बटुले, लुगालाई सरफ पानीका साथ विभिन्न तरिकाले मिच्नुपर्छ भन्ने ज्ञानको आधारमा त्यसको विकास र सरल प्रक्रियास्वरूप उक्त मेसिन आविष्कार भएको बुझ्न सक्नुपर्छ। त्यसैगरी एक ठाउँबाट अर्को ठाउँ पुग्न जुन साधन प्रयोग गरिन्थ्यो त्यसको गति बढाउन सकियो भने यात्रामा लाग्ने समय जोगाउन सकिन्छ भन्नेदेखि लिएर लेख्दा प्रयोग गरिने अक्षरहरूलाई कम्प्युटरसँग जोडिँदै प्रविधिको आधार लिँदै ल्याएको कार्यकौशल सराहनीय छ तर बिर्सन नहुने पाटो भनेको ती सम्पूर्ण ज्ञानको कल्पना गर्न दिने आधार भनेको समाजमा उपलब्ध ज्ञान हो जसलाई समय र सन्दर्भअनुरूपको परिमार्जन र परिवर्तन अपरिहार्य गरिनुपर्ने हुन्छ। यसमा हरेक राजनीतिक दल चुकेका देखिन्छ।

त्यसैगरी अहिलेको स्थानीय निर्वाचन परिणामले मुलुक बनाउन सक्षम र उत्साही युवा समूह अगाडि आएको देख्दा सर्वसाधारणदेखि लिएर सबैको मनमा आश पलाउनु स्वाभाविक हो तर यसको अर्थ लामो समयदेखि राजनीतिमा लागेका, समाजका लागि त्याग गरेका, अहिले उमेर ढल्किसकेका राजनीति गर्नेहरू सबै बेकार हुन् भन्ने भाष्य जुन किसिमले निर्माण गरिँदैछ त्यो डरलाग्दो पक्ष हो। त्यतिबेलाका तिनका योगदानको सराहना गर्न पछि पर्नुहँुदैन किनकि अहिलेको परिवर्तनका लागि कल्पना गर्न सकिने आधार त्यही हो पछिल्लो समयमा आफूलाई समाजको अपेक्षाअनुरूप समयसापेक्ष परिमार्जन गर्न नसक्नु, आआफ्नो राजनीतिक दलमा सही स्कुलिङ स्थापना गर्न नसक्नु, लोभ, लाप र बिलाप भन्दा माथि उठ्न नसक्नु, बेइमान मस्तिष्कको साँगुरो घेरा भन्दा बाहिर समाजको वास्तविक चित्र हेर्न नसक्नु वा भनौँ समाजको पिँधसँग जोडिन नसक्नु जस्ता विकृतिहरूले गर्दा समाजिक सम्पदा गुमाउँदै गएको अवस्थालाई नकार्न सकिन्न। त्यसैले समाजको बदलिँदो सचेतनाले दिएको संकेत बुझ्न जरुरी छ ताकि बदलिँदो परिवेश र आवश्यकताअनुरूप युवा उत्साहलाई मुलुक निर्माणमा उपयोग गर्न सकियोस् र इतिहासका कलंकित पात्र बन्नबाट जोगिन सकियोस्।  

कुनै पनि समाजमा सचेतनाको तह परिवर्तनका लागि एक किसिमको तरंग आउनै पर्छ चाहे त्यो सोचमा आएको तरंग होस् वा संरचनामा। जस्तो कि कुनै पोखरी बाहिरबाट हेर्दा हलचल नभएको शान्त देखिन्छ जबकि त्यसको पिँधमा रहेको जलचरहरूको चहलपहल हरपल चलिरहेको हुन्छ। त्यसमा जबसम्म कुनै बाह्य वस्तु शक्तिका साथ फालिँदैन तबसम्म पोखरीमा तरंग देखिन्न र हलचलबिहीन देखिन्छ। समाजको अवस्था पनि त्यस्तै हो।  

पछिल्ला समयहरूमा जुन किसिमले राज्यलाई नै शर्मनाक बनाउने गरी भ्रस्टाचार र बेथितिलाई बढावा हुने किसिमको वातावरण निर्माण र संरक्षण गरियो त्यसले मौलाएको अराजकता नियन्त्रण गर्न आउँदा दिनहरूमा कम चुनौतीपूर्ण हुने छैन तर जुन किसिमले समाजले आफ्नो सचेतनाको संकेत दिएको छ त्यसलाई आत्मसात नगरी विरोधकै लागि विरोध र समर्थनकै लागि भजन गाउने प्रवृत्तिको निरन्तरता नरोक्ने हो भने मुलुक स्वयम् निर्भरतातर्फ अगाडि बढ्न सक्दैन र बढ्दो परनिर्भरताले मुलुकको भविष्य राम्रो हुन् सक्दैन।  

समाजको सचेतनामा देखिएका परिवर्तनहरूप्रति राजनीतिक दलहरू गम्भीर बन्न नसकेको वर्तमान अवस्थामा विधिको शासनको अनुभूति गराउन आवश्यक सोच परिमार्जनमा राज्य चुकेको देखिन्छ। परिवर्तनका लागि संरचना र संस्कार दुवै चाहिन्छ जबकि राज्यले कानुन निर्माणपश्चात त्यसको सफल कार्यान्वयनका लागि आवश्यक संस्कार निर्माण गर्नेतर्फ आवश्यक पहलको अभाव देखिन्छ जसले गर्दा त्यसको प्रभाव स्वस्थ समाज निर्माणमा नकरात्मकरूपले पर्दैछ। राजनीतिक संस्कारमा खट्किने अभाव भनेको समाजको अपेक्षामा दह्रो पात्र बन्न नसक्नुलाई नकार्न सक्ने अवस्था छैन। द्वैध चरित्र, व्यक्तिगत लाभ केन्द्रित मनस्थिति, साँगुरो परिधि अनि इमानसहितको जवाफदेहिता र नैतिकताको उदाहरण अभावले गर्दा समाजमा लोकतान्त्रिक संरचना र प्रणालीप्रतिको वितृष्णा बढ्दो छ जसलाई बेवास्ता गरिनु खतरनाक हो।  

यसका साथै परिवर्तित सामाजिक संरचना र क्रियाशीलताप्रति पनि सजगता बढाउन आवश्यक छ। भन्नुको अर्थ युवा सोचलाई साथ र प्रोत्साहन दिँदै बिनाअड्चन मुलुक निर्माणमा अगाडि बढ्नुको विकल्प छैन। दलगत स्वार्थ र व्यक्तिगत स्वार्थ भन्दा माथि उठी समयको मागअनुरूप आफूलाई परिमार्जन गर्न नसक्ने राजनीतिक दलहरूले समाजको बदलिँदो सचेतनामा अस्तित्वको खतरा देख्नु भन्दा सहकार्यको सम्भावना खोज्दै केन्द्रमा समाजका बहुसंख्यक नागरिकको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्नु उत्तम विकल्प हुनेछ किनकि समाजको सचेतनामा आएको परिवर्तनले समाजको अपेक्षा पनि फेरिएका छन् जहाँ व्यक्तिगत भन्दा पनि सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्ने चाहना बढ्दो छ । 

प्रकाशित: ५ श्रावण २०७९ ००:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App