मानिस सधैँ सुरक्षित भविष्यको खोजीमा हुन्छ। आर्थिक उपार्जन गर्न र आर्थिक दृष्टिकोणले भविष्य सुरक्षित बनाउन मानिसले अनेक प्रयत्न गरेको हुन्छ। पढ्नु, लेख्नु, सिक्नु र काम गर्नु भविष्य सुरक्षित बनाउनकै लागि हो। ‘पढे सुख पाउलास्, नपढे दुःख पाउलास्’ भनेर हरेक अभिभावकले आफ्ना सन्तानलाई सचेत गराइरहनुका पछाडि यही सुरक्षित भविष्यको चिन्ता निहित छ।
भविष्य सुरक्षित बनाउने आधार आर्थिक विषयसँग जोडिएको हुन्छ। त्यसैले आयआर्जनका लागि रोजगारी खोज्नेहरूको संख्या दिन/प्रतिदिन बढिरहेको छ। तर नेपालमा खोज्दैमा रोजगारी पाइने अवस्था पक्कै छैन। औपचारिक तथा अनौपचारिक क्षेत्रबाट सिर्जना हुने रोजगारीको अवसरबाट थोरै संख्या मात्रै लाभान्वित हुन सक्ने भएकाले बाँकी रोजगारी खोज्ने जनशक्ति बेरोजगार हुनुपर्ने बाध्यता छ। नेपालमा हरेक वर्ष साढे चारदेखि पाँच लाखको संख्यामा रोजगारी खोज्नेहरू थपिने गरेको अनौपचारिक तथ्यांक छ।
पछिल्लो समय नेपालमा बेरोजगारीले रन्थनिएका धेरै युवाले आयआर्जनको सजिलो विकल्पका रूपमा वैदेशिक रोजगारीलाई रोज्ने गरेका छन्। विदेश जाने हरेक युवाका धेरै ठूला सपना पनि हुन्नन्। अलिकति कमाउन सकियोस्। कमाएको पैसाले घर/व्यवहार चलाउन सजिलो होस्। छोराछोरीलाई राम्रो स्कुलमा पढाउन पाइयोस्। बाबुआमालाई सुखले पाल्न सकियोस्। घरको पुरानो छानो फेर्न पाइयोस्। सके नयाँ घरको जग हाल्न पाइयोस्। अझै सके सहरमा एक टुक्रा घडेरी जोड्न पाइयोस्। समयअनुसार हातमा एउटा चिटिक्कको मोबाइल होस् र घरमा एउटा स्मार्ट टिभी होस्। श्रीमतीलाई सधैंँ खुसी देख्न पाइयोस्। जीवन प्रेमले चलोस्। यत्ति त हो आममान्छेले देख्ने सपना। किन हाम्रा युवाले यति सपना पनि आफ्नै देशमा बसेर पूरा गर्न पाइरहेका छैनन् ? यसमा राज्यको गम्भीर चिन्तनको खाँचो छ।
रोजगारीका लागि विदेश जाने थोरै युवाले आकर्षक आयआर्जन गरेका छन्। धेरै भने विभिन्न समस्यामा फसेका छन्। तर समस्यामा परेका युवाका कथा/व्यथाले भन्दा आकर्षक आयआर्जन गर्ने युवाको नयाँ जीवनशैलीले अरू धेरै युवालाई आकर्षित गरिरहेको छ। त्यसैले गाउँघरका प्रायः घरबाट कोही न कोही रोजगारीका लागि विदेश गएकै छन्। अहिले देशभर एक किसिमको प्रतिस्पर्धा नै चलेको छ विदेश जानका लागि। यो प्रतिस्पर्धाले देशलाई कहाँ पुर्याउँछ? सोचनीय छ। राष्ट्र बैंकको अध्ययनले नै भन्छ, नेपालका ३८.४ प्रतिशत घरपरिवारको आम्दानीको मुख्य स्रोत वैदेशिक रोजगारी हो। वैदेशिक रोजगारीमा गएका कामदारले वर्षमा औसत ६.२ पटक गरी वार्षिक ५ लाख ३२ हजार रुपियाँ घर÷परिवारका लागि पठाउने गरेका छन्।
आर्थिक, सामाजिक तथा राजनीतिक कारणले स्वदेशमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन नसकेको, रोजगारी खोज्ने सबै जनशक्तिले रोजगारी पाउन सक्ने अवस्था नरहेको र स्वरोजगार बन्ने अवस्था समेत नभएको विषम परिस्थितिले गर्दा वैदेशिक रोजगारी एउटा उत्तम विकल्पकै रूपमा रहेको छ। त्यसैले लाखौंँ संख्यामा नेपाली युवा रोजगारीका लागि विदेशिनु मात्रै चिन्ताको विषय होइन। ती युवा विदेश नगएको भए बरु थप चिन्ताको विषय बन्न सक्थ्यो। तिनलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता। तर लाखौँ युवा रोजगारीका लागि विदेसिएकाले यहाँको बेरोजगारीको समस्या थप कहालीलाग्दो बन्नबाट रोकिएको छ। बरु तिनै युवाले विदेशमा दुःखले कमाएर पठाएका रेमिट्यान्सले देशको अर्थतन्त्र चलेको छ। धेरै घर/परिवारको चुलो बलेको छ। सामाजिक व्यवहार टरेको छ। यदि रेमिट्यान्स नआएको भए ? सोच्दा पनि कहाली लाग्छ।
चिन्ताको विषय केचाहिँ हो भने केही वर्ष विदेशमा काम गरेर केही धन सम्पत्ति कमाएर र केही सिप, ज्ञान र अनुभव संगालेर स्वदेश फर्केका युवा कामदारलाई स्वदेशमै टिकाइराख्ने नीति र कार्ययोजना हाम्रो सरकारसँग छैन। युवाले विदेशबाट कमाएर ल्याएको पैसा र त्यहाँ सिकेर आएको सिप, ज्ञान र अनुभव आफ्नै गाउँठाउँमा प्रयोग गर्न चाहेर पनि गर्न पाएका छैनन्।
कृषिमा लाग्न चाहने युवालाई जमिन, प्रविधि, परामर्श, कर्जादेखि बजारसम्मको समस्या छ। सानातिना उद्योग–व्यवसाय गर्न चाहने युवाले पनि त्यस्तै समस्या झेल्नुपरेको छ। विदेशबाट फर्केका युवा कहिले राजनीतिक कारणले, कहिले सामाजिक कारणले त कहिले आर्थिक कारणले यहाँ टिक्नै सकेका छैनन्। तिनलाई यहाँ टिकाइराख्नु नै अहिलेको मुख्य चुनौती बनेको छ।
बीस र तीस वर्षको उमेरमा विदेश गएका युवा सरदर दश वर्ष काम गरेर फर्कंदा तीस र चालीस वर्षका हुन्छन्। यहाँ केही गर्ने अवसर नपाएर वा यहाँ टिक्ने कुनै आधार नभेट्टाएर पुनः विदेश गए भने कम्तीमा अर्को दश वर्ष उतै बिताउँछन्। अर्को दश वर्ष उतै बित्यो भने तीस वर्षको युवा चालीस वर्षको हुन्छ र चालीस वर्षको युवा पचास वर्षको बूढो हुन्छ। अनि वृद्धावस्थामा प्रवेश गर्ने बेलामा स्वदेश फर्केका कामदारले स्वदेशमा सिर्जनात्मक अथवा उत्पादनमूलक के काम गर्न सक्छन्? अलिअलि कमाएर ल्याएको पैसाले केही वर्ष बसीबसी खान्छन्। अनि देशचाहिँ वृद्धाश्रमजस्तै बन्छ। त्यसपछि उसको उत्तराधिकारीले पनि उसकै नियति भोग्न बाध्य हुन्छ। वर्षौँसम्म यस्तै चक्र चलिरहन्छ र नेपाल सधैँ रेमिट्यान्समै निर्भर भइरहन्छ। आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर कहिल्यै जुट्दैन। सधैँ परनिर्भर बनेर कसरी पूरा हुन्छ हाम्रो समृद्धिको सपना?
विदेशबाट फर्केका युवाले ल्याएको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने सरकारी नीति र कार्ययोजना भइदिएको भए यसले आन्तरिक उत्पादन वृद्धिमा सघाउँथ्यो र थप पुँजी निर्माण हुन्थ्यो। रेमिट्यान्सलाई व्यवस्थापन गर्ने नीति र कार्ययोजनाको अभावमा वर्षौँदेखि देशले यस्तो सुनौलो अवसर गुमाइरहेको छ। प्राप्त रेमिट्यान्सको १.१ प्रतिशत मात्रै उत्पादनमूलक क्षेत्रमा उपयोग भइरहेको नेपाल राष्ट्र बैँकको तथ्यांक छ। उपभोगमा २३.९ प्रतिशत र बाँकी अन्य क्षेत्रमा उपयोग भइरहेको छ। खाएर र लाएर सकिने रेमिट्यान्स जति नै आए पनि यसले अर्थतन्त्र सुधारमा के योगदान गर्ने अपेक्षा गर्न सकिएला र?
अनुत्पादक बनिरहेको रेमिट्यान्सलाई उत्पादक बनाउने हो भने अविलम्ब आवश्यक नीति र कार्ययोजना बनाइ यसलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्छ। विदेशमा केही वर्ष काम गरी केही कमाएर अब स्वदेशमै केही गर्छु भन्ने सोच लिएर आएका युवालाई स्वदेशमै केही गर्ने, बन्ने, टिक्ने र स्वदेशमै रमाउने वातावरण निर्माणमा अब संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार लाग्नुपर्छ। वैदेशिक रोजगारीलाई चिन्ताको विषय मान्ने तर कुनै चिन्तन नगर्ने हो भने यो सधैँ चिन्ताकै विषय बनिरहन्छ। त्यसैले चिन्ता होइन, नयाँ नीति र कार्ययोजनासहितको चिन्तन खाँचो छ।
प्रकाशित: २८ असार २०७९ २३:५७ मंगलबार