७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

परिमार्जनको विकल्प छैन

आउँदा दिनहरूमा उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै समाजसँग जुध्ने र समाजको आवश्यकतालाई प्राथमिकतामा राख्ने र पूरा गर्नेतर्फ क्रियाशील हुनुको विकल्प छैन।

कुनै पनि कार्य नयाँ तरिकाले सुरु गर्दा प्रायः सुनिने वाक्यांश, यहाँ पहिलादेखि नै यस्तै हो, यसरी गर्दा सम्भव छैन, परिवर्तन गर्दा असफल भइन्छ इत्यादि हुने गर्छ। यसमा विशेषगरी परिवर्तन नरुचाउने प्रवृत्तिको पछाडि सहजताबाट बाहिर आउँदा सम्भावित चुनौतीहरूको डरले काम गरेको हुन्छ भन्दा अत्युक्ति नहोला। पछिल्लो समयमा हेर्ने हो भने परिवर्तनहरूमा तीव्रता आएको देखिन्छ।

समाजमा शिक्षा, प्रविधिमाथिको पहुँच र विश्व बजारसँगको निकटता जसरी बढ्दै जान्छ त्यसैगरी समाजका विभिन्न परिवर्तनहरूमा तीव्रता देखिन थाल्छ। समाजका व्यक्तिदेखि संस्थाहरूका एकापसको सहकार्य र अपेक्षाहरूमा पनि परिमार्जन हुँदै जाने क्रम बढ्न थाल्छ। यस क्रममा जसले समय अनुकूलको परिमार्जन अंगाल्न सक्दैन उसलाई चुनौती थपिँदै जान्छ र अन्ततः त्यसको अस्तित्व समाप्त हुन सक्ने खतरासमेत बढ्छ।

उदाहरणका रूपमा नोकिया फोनको सुरुवाती वर्चस्व र वर्तमान अवस्था त्यसैगरी विगतमा पत्रपत्रिका डिजिटल पढ्न पाइँदैनथ्यो। अहिले सबै उपलब्ध छन्, विद्यालय शिक्षामा मोबाइल वर्जित थियो तर कोरोना महामारीका बेला अनिवार्य गर्नुपरेको परिस्थितिलाई लिन सकिन्छ। यस्ता परिवर्तन हरेक क्षेत्रमा भेटिन्छ, शिक्षा, स्वास्थ्यदेखि लिएर बैंकिङ प्रणाली वा संवेदनशील सुरक्षा व्यवस्था सबैका नीति नियम र कार्यशैलीमा विगतको तुलनामा व्यापक परिमार्जन गरिएको भेटिन्छ।

ती सबै परिमार्जनको मूल उद्देश्य भनेको सेवाग्राही वा भनौँ उपभोक्ताको सहजतालाई ध्यानमा राखी लक्षित परिणाम प्राप्त गर्नेतर्फ केन्द्रित रहेको अनुभूति गर्न सकिन्छ। नेपालमा दशकौँदेखि राजनीतिमा संलग्न राजनीतिक दलहरूको अवस्था हेर्दा समयअनुकूलको समाजको अपेक्षाअनुरूप आफूलाई परिमार्जन गर्न नसकेको यथार्थ सर्वविदित नै छ। विगतकै अभ्यासअनुरूप सार्वजनिक मञ्चदेखि लिएर सडक होस् वा सदन, तिनका शब्द, शैली र प्रस्तुतिहरूमा समाजले खोजेको रूपान्तरण भेटिन्न।

अझै पनि संसद् बैठकहरूमा गम्भीरताका साथ जुन किसिमले सामाजिक, आर्थिक, शैक्षिक जस्ता विषयहरूमा गहन छलफल हुनुपथ्र्याे त्यो भएको देखिन्न बरु व्यक्तिगत आरोप, प्रत्यारोप र कुण्ठाको अभिव्यक्ति मात्रै सुनिन्छ जसले गर्दा तिनमा परिमार्जन कति आवश्यक छ भन्ने कुरा स्पष्ट हुन्छ। भाषणमा मात्रै सीमित पारिने बलियो राष्ट्रियता, उन्नत लोकतन्त्र र सहज जनजीविकाका विषयहरू सुन्न रुचाउनेहरूको संख्या घट्दो छ बरु त्यसलाई अनुभूति गर्न त्यसका यथेस्ट उदाहरणहरू समाजले खोज्न थालेको अवस्था छ।

यस्तोमा विरोधकै लागि विरोध र समर्थनकै लागि भजन गाउने राजनीतिक संस्कारमा परिमार्जन अपरिहार्य भैसकेको देखिन्छ। त्यसैगरी समाजसँगको सम्बन्ध र स्रोत÷साधनसम्मको पहुँच जन्मजात पाएका उपाधिहरू भन्दा कर्मद्वारा विभूषित उपलब्धिहरूप्रतिको आकर्षण बढ्दो छ। जस्तो कि निश्चित जातका आधारमा दिइने शिक्षा र निर्धारित पेसाहरू बिस्तारै विविध आवश्यकता र क्षमताको घेराभित्र पस्दैछ।

विगतका राजनीतिक अभ्यास हेर्दा कार्य, विचार र जीवनशैलीले समाजमा यथेष्ट उत्कृष्ट उदाहरण थप्नुको सट्टा शब्द, शैली र प्रस्तुतिमार्फत गिज्याउने, होच्याउने र खुइल्याउने प्रवृत्ति हावी रहेको राजनीतिक संस्कार बोकेकाहरू अब त्यसमा परिमार्जन नगरी अस्तित्व खतराको डिलमा पुगिसक्दा पनि दम्भको गन्ध यथावत रहेको देखिनु दुर्भाग्यपूर्ण हो।

स्थानीय तहको निर्वाचन परिणामले दिएको महत्वपूर्ण सन्देश भनेको समय सान्दर्भिक सोच परिमार्जनको विकल्प छैन भनी प्रष्ट छ। यस्तोमा यथास्थितिवादी सोचले राजनीतिक दलहरूको भविष्य कहिलेसम्म सुरक्षित रहला भनी एकिन गर्न सहज छैन। विगतदेखिकै अभ्यासको निरन्तरता गर्ने मनसाय बोकेका कतिपय राजनीतिक दलका भाव भंगिमामा परिमार्जन गर्न सकिएन भने यसले आउँदा दिनहरूमा तिनका प्रति समाजको विश्वास झनै घट्ने र सामाजिक स्वीकार्यता र सम्मानमा ह्रास आउने निश्चित छ।

राजनीतिक दलका संस्कार हेर्दा सत्तामा बस्दा आफैँले गरेका निर्णय प्रतिपक्षमा पुग्दा आफैँले विरोध गर्ने प्रवृत्ति, नागरिक आवश्यकता भन्दा पनि आफ्नो बाहुल्यता देखाउन उत्प्रेरित अभ्यास, गरिएका भ्रष्टाचार र बेथितिलाई राजनीतिक सम्बन्धकै आधारमा संरक्षण गर्ने वा विरोध गर्ने प्रवृत्तिको हावी जसले गर्दा समाजमा विधिको शासनप्रतिको अविश्वास बढ्दो छ। आउँदा दिनहरूमा उपलब्ध प्रविधिको उच्चतम प्रयोग गर्दै समाजसँग जुध्ने र समाजको आवश्यकतालाई प्राथमिकतामा राख्ने र पूरा गर्नेतर्फ क्रियाशील हुनुको विकल्प छैन।

त्यसका लागि विगतका अभ्यासलाई निरन्तरता दिँदै भागबन्डामा रमाउने र राज्यको स्रोत/साधनलाई गलत हातमा सुम्पने प्रवृत्तिमा समेत परिमार्जन गर्नुपर्ने आवश्यक देखिन्छ किनकि अहिलेको युग भनेको प्रविधिको युग हो जहाँ हरेक व्यक्तिसम्म प्रविधि पुगेको छ जसले गर्दा सूचनाहरू सहजैरूपमा तीव्रताका साथ फैलिन समय नलाग्ने र त्यही गतिमा विश्लेषण र प्रतिक्रियासमेत आउने हुँदा विगतका अभ्यासका स्वरूपहरूमा परिमार्जन गर्न जरुरी देखिन्छ।

अहिलेको समाजको बदलिँदो सचेतनाको आस्थामा सार्वजनिक हितको विषयले प्राथमिकता नपाउने र व्यक्तिगत वा गुटगत हितलाई केन्द्रमा राख्नेबित्तिकै समाजको विश्वास घट्दै जान्छ। फलस्वरूप सामाजिक सम्पत्तिमा आएको ह्रासले तिनको सामाजिक स्वीकार्यतासमेत घटाउँदै लान्छ। त्यसैले आफ्ना हरेक गतिविधि समाजको निगरानीमा छ भनी बिर्सनु हुँदैन। त्यसैले दलीय राजनीतिक स्कुलिङदेखि लिएर सत्ता वा प्रतिपक्षलगायत जुनसुकै भूमिकामा भए पनि सशक्त भूमिकाको अपेक्षा समाजले गरेको हुन्छ।

जसका लागि तिनका जीवनशैलीदेखि लिएर हरेक कार्य र व्यवहारमा समेत आवश्यक परिमार्जन गर्नुपर्ने आवश्यकता देखिन्छ। समाजको पिँधमा रहेका सर्वसाधारणका सकसपूर्ण दैनिकीको अनुभूतिमा व्याप्त अभावदेखि लिएर समाजको बढ्दो अविश्वासबारे गहन छलफल गरी निकास निकाल्नुपर्ने अत्यावश्यक विषयवस्तुलाई बेवास्ता गर्दै आआफ्नो स्वार्थअनुरूप संसद् अवरोध गर्ने, सर्वसाधारणका विषयहरूप्रति असम्वेदनशील भैरहने जस्ता प्रवृत्तिमा परिमार्जनको टड्कारो आवश्यकता देखिन्छ।

अहिलेको समयको माग भनेको नेतृत्व तहमा दूरदर्शिता, सम्वाद कौशलता, व्यवहारमा कूटनीतिज्ञताका साथै सार्वजनिक हितको सवालमा बिनासर्त एकबद्धता जस्ता महत्वपूर्ण विषयहरू रहेको देखिन्छ जबकि अझै पनि राजनीतिक दलमा संलग्न कार्यकर्ताहरू बेलाबखत गलत निर्देशन र व्यवहारगत छुद्रताको सिकार बन्नुपर्ने अवस्थाको अन्त हुन सकेको देखिँदैन।

जस्तो कि अहिलेको परिप्रेक्ष्यमा आफूअनुकूलको व्यक्ति मेयरमा नजित्दा विभिन्न किसिमले नगर सभालाई प्रभाव पार्दै असहयोग गराउन खोज्ने चेस्टा वा अरूलाई असफल बनाउन आफू सम्बद्धलाई दिइने गलत निर्देशन र स्रोत/साधनको दुरूपयोग गर्ने प्रवृत्तिमा परिमार्जन गर्नुपर्छ।

अन्यथा अहिलेको युवा समुदायमा जुन किसिमको सचेतनाको बढ्दो लहर तथा सर्वसाधारणले परिस्थितिको तुलना र विश्लेषण गर्न सक्ने क्षमतामा आएको अभिवृद्धि छ त्यसले गलत मनसाय प्रेरित राजनीतिक दलहरूलाई आउँदा दिनहरूमा थप सकस हुने निश्चित छ।

वास्तवमा समाजले विस्थापित गर्न खोजेको परिवारवाद नाता र कृपावाद, एकात्मक हुकुमी शासन, भ्रष्टाचार, बेथिति तथा अपारदर्शिता ताकि हरेक क्षेत्रमा स्वच्छरूपमा विधिको शासनको अनुभूति गर्न सकियोस्। नेपाललाई अन्य मुलुक जस्तो बनाउने भन्दा पनि नेपाललाई नेपालमय स्वाभिमानी भै जोगाउन स्वनिर्भर बनाउन उत्पादन बढाउने तथा स–साना विषय जसले समाजका पिँधमा रहेका नागरिकको दैनिकी सहज, सुरक्षित र सम्पन्न बन्न सकोस् र मुलुक औद्योगिकीकरणतर्फ बढोस् भन्नेतर्फ केन्द्रित हुनुपर्ने हो।

समाजले अनुभूति गरेका र छरपस्ट पर्याप्त उदाहरणहरू देखेका भ्रष्टाचार, अराजकता बेथितिहरूबाट आफू र आफ्नो राजनीतिक दललाई जोगाउनुका साथै कतिपय स्थापित विकृति र कार्यशैलीहरूलाई परिमार्जन गर्दै राजनीतिक संस्कारमा परिमार्जन गर्न आवश्यक छ किनकि अबको समयमा बढ्दो सचेत युवा पुस्ता गलत मूल्य/मान्यता भत्काउनमा विश्वास गर्छन् र मुलुकलाई केन्द्रमा राखी हरेक आवश्यक परिमार्जनलाई आत्मसात गर्दै नेतृत्व गर्न सक्नेलाई रुचाउन थालेका छन्। (समाजशास्त्री)

प्रकाशित: २४ जेष्ठ २०७९ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App