११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

तीज, संविधान र नारी मन

भदौ ३० गते हरितालिका तीजको दिन यस पर्वप्रति आस्था राख्ने सबै हिन्दु नारीजस्तै म पनि ब्रत बसेकी थिएँ। तीजका विविध कार्यक्रममा कलाकारको रूपमा सहभागी भएर खुसी साटासाट गर्ने क्रम त केही दिनअगाडिदेखि नै सुरु भइसकेको थियो।घरको परिधि नाघ्नसमेत सधैँ पुरुषको अनुमति लिनुपर्ने पितृसत्तात्मक समाजमा पुरुषकै आयु बढाउने बहानामा किन नहोस्, स्वतन्त्रताका नयाँ पखेटाहरू फिँजाएर छमछमी मयुर नाच नाचिरहँदा, नेपाली महिलाको लैंगिक स्वतन्त्रताप्रतिको तीव्र चाहना वातावरणमा गुन्जिरहेको गीतभन्दा चर्कोसँग हरेक मनमष्तिष्कमा गुन्जिरहेको थियो।

स्वच्छन्दरूपमा नाच्न र मन फुकाएर हाँस्न अब उप्रान्त तीजको बहाना गर्न नपरे हुन्थ्यो भन्ने अभिलाषा तपाईं नेपाली पुरुषले आफ्नी श्रीमती, दिदीबहिनी वा छोरीको आँखामा कत्तिको देख्नुभयो मलाई थाहा छैन। तर, मैले भने हरेक व्रतालुको आँखामा यिनै र यस्तै स्वतन्त्रताका असिम चाहना देखेँ। म र तपाईं बराबर होइनौँ र? यो राष्ट्रको आधा जनसंख्या हामी महिला, तपाईं पुरुषजतिकै समान हक र अधिकारका निम्ति लायक छैनौँ र? नेपाली समाजले महिला र पुरुषबीच अन्तर छैन र विभेद हुनु हुन्न भन्ने मान्यता राख्छ भने यो संविधानले सुनिश्चित गरिसकेको र गर्न बाँकी हाम्रो अधिकारको व्यावहारिक सुनिश्चितताको लागि संविधान घोषणा भइसकेपछिका आगामी दिनमा पनि तपाईंहरू सबैसँग प्रतिबद्धता माग्छु।

तीजकै दिन पारित भएको नेपालको संविधान घोषणा हुँदा म पनि प्रायः नेपालीजस्तै खुसी नै छु। त्यसो भन्दैमा नेपाली महिला र अल्पसंख्यकको अधिकारको आन्दोलनप्रतिको मेरो ऐक्यबद्धता कमजोर भएको भने पक्कै होइन। सबै असन्तुष्ट पक्षलाई समेटेर योभन्दा बढी प्रभावकारी र समावेशी संविधान बन्नुपर्छ र हरेक जायज माग सम्बोधन गरिनुपर्छ भन्ने कुरामा अलिकति पनि विचलित भएको छैन। तर, सधैँ प्रक्रियागत झमेला र राजनीतिक खिचातानीमा अल्भि्कएर अर्को एक दशक खेर फाल्नुभन्दा अहिले बनेको संविधानले प्रत्याभूत गरेको अधिकारको समष्टिगत (विशेषतः आर्थिक, सामाजिक, सांस्कृतिक) फाइदा लिएर अन्य थप अधिकारका निम्ति समाजलाई जागरुक बनाउँदै शान्तिपूर्ण संघर्ष गर्नसके नागरिक जिम्मेवारी अझै राम्रोसँग बहन गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त छु। त्यसैले पनि ६५ वर्षपछि जनताका प्रतिनिधिले संविधान सभाको माध्यमबाट बनाएको २०७२ सालको यस संविधानलाई म हृदयदेखि नै स्वागत गर्छु। संविधानरूपी यो आकाश थोरै भए पनि पहिलाभन्दा फराकिलो भएको छ, स्वतन्त्रताका पँखेटाहरू फिँजाएर तपाईं–हामी सबै मिलेर यसलाई अझै फराकिलो र असिमित बनाउन सक्छौँ। सम्पूर्ण आकाश खुल्ला गर्ने बाटो थोरै लम्बिएको मात्र हो, बन्द नै भएको पक्कै होइन।

प्रकृतिले नै धैर्य गर्न सक्ने क्षमता पुरुषलाई भन्दा धेरै दिएको भएर होला, बाटो लम्बिँदैमा म किञ्चित पनि विचलित भएको छैन। त्यसैले पनि तत्काल र तुरुन्तै हरेक समस्याको समाधान खोजिहाल्ने र त्यसलाई प्राप्त गर्न जस्तोसुकै बाटो अवलम्बन गर्न तयार हुने पुरुष मानसिकताभन्दा स्नेह, ममता र जीवन जिउने अधिकारलाई उच्च प्राथमिकतामा राख्ने नारी मनले मात्र तीव्र गतिमा „ध्रुवीकरण भइरहेको नेपाली समाजलाई खण्डित हुनबाट बचाउन सक्छ भन्ने कुरामा म हिजोभन्दा आज बढी विश्वस्त छु। तसर्थ, ऋषिमनको अर्तिउपदेश वा स्वघोषित बुद्ध मनको अडानमा भाँैतारिनुभन्दा नारी मनले सोचिदिन पनि सबै नेपाली दाजुभाइ–दिदिबहिनीलाई आग्रह गर्छु।

संविधान एउटा महŒवपूर्ण दस्तावेज हो, त्यसका धारा, उपधाराहरूले यो राष्ट्रको नागरिकको भविष्य निर्धारण गर्ने कानुनी क्षमता अवश्य राख्छ, तर सामाजिक रूपान्तरण र विभेदको अन्त्य हरेक नागरिकको मानसिकतामा आउने परिवर्तन र संविधानका धाराहरूको हरेक तहमा व्यावहारिकरणबाट मात्र हासिल गर्न सकिन्छ। एक व्यक्ति वा केही विद्वान्को समूहको बौद्धिक चेतनाले मात्र पनि हामीले चाहेको जस्तो राष्ट्र निर्माण हुन्छ भन्ने पक्कै होइन। मभन्दा धेरै ज्ञानी, शिक्षित र फराकिलो चेतना भएका धेरै मानिस छन्। पक्ष र विपक्षमा उभिएर कडा वैचारिक बहसमा संलग्न भएकाहरू पनि छन्। उहाँहरू सबैलाई पनि आरोप–प्रत्यारोप, समर्थन वा विरोधमा मात्र आफ्नो सम्पूर्ण ऊर्जा खर्चिनुको सट्टा केही ऊर्जा सामाजिक रूपान्तरण र हरेक नागरिकको राजनीतिक, सामाजिक चेतना अभिबृद्धिमा खर्च गरिदिन आग्रह गर्छु।

संघर्षको सिलसिला कहिल्यै रोकिँदैन, त्यसैले पनि उत्कृष्ट संविधान बनेका भनिएका विकसित राष्ट्रहरूमा पनि निरन्तररूपमा कुनै न कुनै संघर्ष भइरहेकै छन्। उनीहरूले अवलम्बन गर्ने बाटो भने अलि बढी लोकतान्त्रिक पद्धतिबाट निर्देशित छ। राजनीतिक र सामाजिक चेतनाको स्तर हाम्रोभन्दा माथि भएकोले होला कमै मानवीय क्षतिबाट पनि धेरै उपलब्धि हासिल गर्ने क्षमता राख्छन् ती देश। हाम्रो इतिहास र हाम्रो समाज फरक छ र हामीले तय गर्नुपर्ने यात्रा पनि भिन्न हुनसक्छ। महिला अधिकारको कुरा गरिरहँदा पनि स्थापित भइसकेको पुरुष प्रभुत्वलाई नकार्न सकिँदैन, समाधान अहिले स्थापित भइसकेको सामाजिक मूल्यमान्यताहरूलाई रूपान्तरित गरेर नै हासिल गर्ने हो। त्यसलाई अस्वीकार गर्दैमा समस्या समाधान हुने होइन। त्यसैले पनि म नेपालका सबै पुरुषलाई, नेपाली महिलाको स्नेह, सहनशीलता र त्याग सम्झाउन चाहन्छु। जनयुद्धको नाममा जंगलमा तपाईंहरू लडिरहँदा दूधेबालक ढाडमा बोकेर खेतका आली र कान्लामा बगाएको तपाईंकी श्रीमतीको पसिनाको मूल्य याद गर्नुस्। घरको चौखट ननाघिकन तराईको गर्मीमा पनि घुम्टो ओढेर तपाईंले अरबको मरुभूमिबाट पठाउनुभएको टेपरेकर्डरको सन्देश सुनेर चित्त बुझाउने तपाईंकी श्रीमतीको सहनशीलता सम्झनुहोस्। पटकपटक आफ्नै घरभित्र हार्दा पनि तपाईंको जितको कामना गर्दै, कहिल्यै चुल्हो निभ्न नदिने दिदीबहिनी, आमा र श्रीमतीको साहस र स्नेह सम्झनुहोस्। ती सबै नेपाली महिलालाई कुनै पनि बहानामा हार्न नदिनुस्। तपाईंहरूको पुरुष मानसिकताबाट निर्देशित संघर्षका तौरतरिकाहरूले र त्यसको विपक्षमा उभिने अर्को पक्षको पुरुष अहंकारले सधैँ कतै न कतै हामी महिलालाई नै हार्न बाध्य बनाएको छ। त्यसैले स्नेह, ममता र जीवन जिउने अधिकार उच्च प्राथमिकतामा राख्ने नारी मनले नै आगामी बाटो तय गर्नुपर्छ।

अन्त्यमा, अधिकार स्थापित गर्ने र उपलब्धि हासिल गर्ने क्रममा नेपाली महिलाको अधिकारको सुनिश्चितताका लागि पनि प्रतिबद्ध रहनुहोस्। स्वच्छन्दरूपले नाच्न र मन फुकाएर हाँस्न हामीले तीज, छठ, माघी र ल्होसार कुर्न नपरोस्। हरेक दिन नेपाली महिलाको स्वतन्त्रताका पँखेटा फिँजियोस्, आकाश अझै फराकिलो हुँदै जाओस्।

प्रकाशित: ५ आश्विन २०७२ २३:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App