ड्यानियल राइटले १४४ वर्षअघि लेखेका थिए–नेपालको इतिहास। जसमा त्यतिबेलाको मुलुकको अवस्था, जनताको चेतना स्तर/बुझाइ, भूगोल आदिबारे उल्लेख छ। विशेषगरी त्यतिबेलाको नेपाललाई ऐतिहासिक र भौगोलिक रूपमा चित्रण गर्ने प्रयास गरिएको यो पुस्तकमा सांस्कृतिक सम्पदाबारे पनि पर्याप्त उल्लेख छ।
१२ अध्यायमा विभाजित यो पुस्तकमा इतिहासको पौराणिक काल, सत्य, त्रेता र द्वापर युगहरूबारे वर्णन छ। त्यसैगरी यी युगसँग जोड्दै त्यतिबेला यहाँ कायम मन्दिर, शहर र पवित्र स्थानहरूका बारेमा रोमाञ्चक वर्णन छ। गुप्त वंश, ने मुनि, विक्रमादित्य आदिबारे समेत गहिरो विश्लेषण छ। यसबाहेक पुस्तकले नयाँ राजपुत वंशबारे उल्लेख गरेको छ भने हरिसिंहदेव, बनेपाका राजादेखि कान्तिपुरका मल्ल राजा हुँदै गोर्खाली आक्रमणको प्रसङ्गसमेत घतलाग्दो शैलीमा प्रस्तुत गरेको छ।
राजा सिद्धि नरसिंहबारे उल्लेख गर्दै गोर्खाली पल्टनले पाटन कब्जा गरेको, पृथ्वीनारायणको आदेशमा भएका आक्रमणहरूका कारण भएका प्रगतिबारे पनि पुस्तकमा उल्लेख छ। यसैगरी नेपालमा गोर्खा वंशको नालीबेलीबारे उल्लेख भएको यस पुस्तकमा गोर्खाली वंशको विशेष इतिहास समेटिएको छ। गोर्खाको प्रसङ्ग बाहिरै राखेर न वर्तमान नेपाल बुझ्न सकिन्छ न त बुझे पनि त्यो पूर्ण नै हुन्छ। यस्तो परिस्थितिमा पुस्तकले समेटेको गोर्खा सान्दर्भिक मात्र हैन, न्यायोचित पनि लाग्छ।
नेपालको इतिहास निर्माण तथा शासन व्यवस्थामा महत्त्वपूर्ण भूमिका भएका व्यक्तिहरूको वंशावलीलाई समेत उल्लेख्य स्थान दिनु यो कृतिको विशेषता हो। स्वस्ति श्रीमद् अति प्रचण्ड भुजदण्डेत्यादि श्री श्री श्री महाराज जङ्गबहादुर राणाको वंशावलीसमेत यसमा समावेश छ। त्यसैगरी नेपालका राजा श्री ५ महाराजाधिराज सुरेन्द्रविक्रम शाह, बहादुरशमशेर आदिको पनि सङ्क्षिप्त वंशावली पनि यसमा राखिएको छ। जसले उनीहरूका वर्तमान र भावी पुस्तालाई समेत आफ्नो पुर्खा र वंशबारे जान्न निकै मद्दत तुल्याउँछ।
सत्य, त्रेता र द्वापर युगहरूमा विस्तार भएको इतिहासको पौराणिक कालदेखि देशका मन्दिर, सहर र पवित्र स्थानहरूका बारेमा पर्याप्त उल्लेख छ। जसले अहिलेको पुस्तालाई धेरै जिज्ञासु बनाउँछ। किंवदन्ती र कथाहरूको हुटहुटी जगाउँछ। अहिलेका पुस्ताले ‘यस्तो पनि सम्भव हुन्छ र ?’ भन्नेखालका सयौँ प्रसङ्गले पुस्तकलाई जीवन्त बनाएको छ। जस्तो पुस्तकमा उल्लिखित एउटा अंश यस्तो छ–कुनै समय द्वापर युगको १६ हजार वर्ष बाँकी रहँदा देशमा शासन गर्ने राजा नै थिएनन्। किरातीहरू पहिले पूर्वतिर बसोबास गर्दै आएका थिए तर पछि नेपालकै पश्चिममा रहेको उपप्रभा नगरमा आएका थिए। त्यहीबेला उनीहरूले देशमा शासन गरे।
निकै पुरानो तर निकै महत्त्वपूर्ण यस्तो कृति पुनः प्रकाशन गरेर एजुकेसनल पब्लिसिङ हाउसले निकै सराहनीय कार्य गरेको छ। जसलाई रामशरण सेढाईले सम्पादन गरेर समयानुकूल बनाएका छन्। पहिलो पटक १४४ वर्षअघि प्रकाशित भएको पुस्तकमा त्यतिबेलाकै लवज/भाषा शैली प्रस्तुत हुनु स्वाभाविक हो। त्यसपछिका अवस्थामा धेरै परिवर्तन भएको छ। पुस्तकमा जस्ताको तस्तै राखिएका कतिपय नेपाली भाषा अपभ्रंस भई कालान्तरमा विकसित/परिवर्तन भएका छन्। सोझो अर्थमा भन्दा यस पुस्तकमा प्रयोग गरिएका त्यतिबेलाका केही शब्द अहिलेका पाठकहरूलाई बुझ्न अवश्य गाह्रो हुन्छ। त्यसैले यी शब्दहरूलाई वर्तमान बोलीचालीको भाषाअनुरूप समायोजन गरिएको छ। जस्तो–भाटगाउँलाई भादगाउँ वा भक्तपुर, बालाजीलाई बालाजु, चित्लोङलाई चित्लाङ, यासालाई यार्सा, स्योपुरीलाई शिवपुरी, पान्रेलाई पाण्डे आदि।
कुनै पनि कृति प्रभावकारी हुनका लागि सबैभन्दा पहिले पाठकमैत्री हुन जरुरी छ। त्यसका लागि कृतिको विषयवस्तु, प्रस्तुति र भाषा महत्त्वपूर्ण हुन्छ। यही लेखकीय/सम्पादकीय धर्मलाई ध्यान दिँदै यो पुस्तकमा भाषालाई समायानुकूल तुल्याइनु राम्रो पक्ष हो। लेखकले प्रस्तुत गर्न खोजेका विषय तथा विषयवस्तुको मर्मलाई एकरत्ति पनि दख्खल नदिइ वर्तमान समयको ढाँचा, मार्गमा ढाल्न सक्नु एउटा राम्रो सम्पादकको खुबी मानिन्छ। जसलाई यो पुस्तकका सम्पादक सेढाईले जिम्मेवारीपूर्वक निर्वाह गरेका छन्। यही कारण पनि पुस्तक पढ्दा कतै अक्मकिनु, घोत्लिनु पर्दैन। यस अर्थमा पुरानो विषयवस्तु र सन्दर्भलाई वर्तमान परिवेशमा नयाँ पुस्ताले समेत सहजै ग्रहण गर्न सक्ने विशेषता नेपालको इतिहासले ग्रहण गरेको छ।
सम्पादकले पुस्तकमै पनि भनेका छन् कि पाठकलाई स्पष्टता प्रदान गर्नका लागि अर्थात उनीहरूलाई पुस्तकले दिन खोजेको जानकारी सजिलैसँग बुझ्नका लागि मद्दत पुगोस् भनेर सामान्य हिज्जेहरू पाठकमैत्री बनाएको छु। सम्पादकले दाबी गरेजस्तै यसले पुस्तकको महत्त्वलाई अझ बढाएर पठनपाठन संस्कृतिलाई बढावा दिनेछ।
यो पुस्तक ड्यानियल राइटले १० वर्षको यात्रापछि तयार पारेका हुन्। व्यक्तिगत यात्राका क्रममा उनले सयौँ ठाउँ अवलोकन गरे। सयौँ मानिससँग सोधपुछ गरे। त्यतिबेला नेपालमा अपवादबाहेक न पुस्तक लेख्ने चलन थियो न त खोजेरै पढ्ने चलन। अझ इतिहास त अहिलेसम्म पनि धेरैको रुचिको विषय नभएको सन्दर्भमा त्यतिबेला निस्कने कुरै भएन।
यस्तो अवस्थामा लेखकले सन्दर्भ सामग्री पाउने सम्भावना करिब करिब दुर्लभै थियो। त्यसैले यो पुस्तक लेखककै दाबीअनुसार पनि यात्राका क्रममा देखिएका, भोगिएका अवलोकन, घटना, भोगाइ, देखाइ र सुनाइमा आधारित छ। उनले भनेका पनि छन् कि यो कृति मेरो यात्राका क्रममा अवलोकित र सोधाइमा आधारित भएकाले यसका राम्रा/नराम्रा सबै पक्षको जिम्मेवार पनि मै हुँ। आफूले थाहा पाएअनुसार र मेहनत गरेअनुरूप यसमा उल्लिखित विषयहरू सही भएको दाबी पनि उनको छ।
निकै पुरानो समयको भएकाले यस पुस्तकले देशको सम्पूर्ण इतिहास समेट्न सकेको छैन। पुस्तकमा नै स्वीकारिएझैँ यो इतिहासको सम्पूर्ण पक्षमा घुस्न सकेको छैन। तत्कालीन परिवेश, स्रोत/साधनको उपलब्धता, सवारी साधन अभावमा यात्राका कठिनाइ, दयनीय शैक्षिक अवस्था जस्ता विविध कारण यो सम्भव पनि थिएन। त्यसैले जतिबेला यो पुस्तक प्रथम पटक प्रकाशित भयो, तत्कालीन परिवेश/सन्दर्भका आधारमा निकै गतिलो काम भएको मान्न सकिन्छ।
इतिहास कुनै पनि मुलुक बुझ्ने सामग्री हो। जसले आफ्नो पृष्ठभूमि, यात्राको गति, आरोह/अवरोहको वेग मापन गर्न सघाउँछ। साथै गल्ती र कमजोरीको निर्मम समीक्षा गरी आगामी दिनमा कसरी अघि बढ्ने भन्ने शिक्षासमेत प्रदान गर्छ। इतिहासलाई आत्मसात गर्दै र त्यसले दिएका पाठ मनन गर्दै अघि बढेका देशहरूले मात्र प्रगति गरेका विश्व उदाहरण हामीमाझ छन्।
त्यसैले निकै पहिले हाम्रो इतिहास (त्यो पनि विदेशीले लेखिएको) फेला पारेर त्यसलाई पुनः प्रकाशन गर्नु निकै प्रशंसनीय कार्य हो। केही अध्ययनकर्ता, विद्यार्थी र इतिहासका रुचिकारहरूलाई मात्र नभई सिङ्गै मुलुकलाई गुन लगाउन यो कार्य योग्य छ। अझ बिकाउ नाम र पुस्तक प्रकाशनमा प्राथमिकता दिने प्रकाशकहरूको जमात बढिरहेका बेला यस्ता खोजमूलक कृति प्राथमिकतामा पार्नु झनै राम्रो काम हो। जसका लागि प्रकाशकलाई पनि धन्यवाद दिनैपर्छ।
वास्तवमा नेपालको इतिहास एक विद्वत् अध्ययन हो जसले नेपालबारे गहिरो दृष्टिकोण दिने दाबी पुस्तकमै गरिएको छ। समाजशास्त्र, भूगोल र इतिहासमा रुचि राख्ने विद्यार्थी, विद्वान् र अनुसन्धानकर्ताहरूका लागि निकै उपयोगी हुन सक्ने यो पुस्तक तत्कालीन नेपालको ऐना हो भन्दा फरक पर्दैन। इतिहासमा रुचि राख्ने र यसका अध्येताहरूका लागि त निकै पुरानो यो पुस्तक सबैभन्दा बढी फलदायी हुनेमा शङ्कै छैन।
प्रकाशित: ३ जेष्ठ २०७९ ०५:०५ मंगलबार