एवं च ये द्रव्यमवाप्य लोके मित्रेषु धर्मे च नियोजयंति।
अवाप्तसाराणि धनानि तेषां भ्रष्टानि नांते जनयंति तापम्।।
जसले संसारमा धन आर्जन गर्यौ अब आफ्ना संघमित्रको कल्याणमा त्यसलाई खर्च गर ताकि जीवनको अन्तिम क्षणमा तिमीले पछुतो गर्नु नपरोस्। बुद्ध चरितमा भगवान बुद्धले सम्झाए जस्तै मानव जातिले उहाँको देशनालाई जीवनमा उतार्न सकेको भए जीवनको चुनाव अर्थात् रोजाइ नै अलग हुन्थ्यो होला।
स्थानीय चुनावको माहोलले उम्मेदवार र राजनीतिक दललाई मात्र होइन, मतदातादेखि लिएर राज्यका सबै संयन्त्रलाई प्रभाव पारेको छ। मतदानको स्वतन्त्रता महसुस गर्नेले पनि चुनावी नतिजापछि दिक्क मानेको हुन्छ। यसको अर्थ जीवनको चुनाव राजनीतिक नेतृत्व रोज्नुमा मात्र हुँदैन, जीवन बाँच्ने शैलीको रोजाइ के भयो त्यसले प्रत्यक्ष स्वयं व्यक्तिलाई प्रभाव पार्छ। सिद्धार्थ गौतम एक व्यक्ति, त्यसमा पनि राजकुमार थिए आखिर उनको परिचय एक बुद्धत्वको रूपमा संसारमा परिचित हुन सक्यो। उनी भगवान बुद्ध, बुद्ध चेतनामा स्थित, रहस्यदर्शी संवाहकका रूपमा चिनिए। के थियो त उनको जीवनको चुनाव अर्थात् रोजा ?
चेतनाको शिखर
प्राकृतिक रूपमा पनि सबै मानिसलाई इच्छा हुन्छ सगरमाथाको शिखर चुम्ने, अग्ला हरिया पहाडलाई छुने, त्यहाँ गएर निर्धक्क विचरण गर्ने र मनलाई शान्त एवं प्रफुल्ल बनाउने। सहरको भिडभाड, दुर्गन्ध र कोलाहलबाट माथि उठेर निश्चल पवित्र, शुद्ध हावामा, सुन्दर प्रकृतिमा रमण गर्ने अवसर जुटाउन धेरै प्रयास गर्दछौँ हामी। यो क्षण केही दिन, केही महिनाका लागि कायम रहन्छ र जब संसारको भागदौडमा सामेल हुनुपर्छ तब त्यो शान्ति र आनन्दमा खलल पुग्छ तर बुद्धले पनि शिखर त चुम्नुभयो, त्यो शिखर थियो चेतनाको शिखर।
त्यो शिखरमा उहाँलाई शान्ति र आनन्द मात्र होइन पूरा जीवनको सत्य र निर्वाणमा उपलब्ध हुने बोध मिल्यो। त्यो चेतनामा स्थित नहुँदासम्म मानव मनोविज्ञान र दुःख नाश नहुने ज्ञान प्राप्त गर्नुभयो र सबै मनुष्य जातिलाई त्यो ज्ञानको कला बाँड्नुभयो। दुःखका कारण र समाधानका उपाय बताइदिनुभयो। शायद बुद्धले जति अरू कसैले सिकाउन सकेन आफूभित्रको चैतन्य कसरी बोध गर्ने र शाश्वत आनन्दमा रहने कला।
मानिसले संसारिक जीवन सफलताका लागि, राष्ट्रको भौतिक विकासका लागि विचारको क्रान्ति, राजनीतिक क्रान्ति र शक्तिको क्रान्ति रोज्यो तर, बुद्धले यही विकासलाई पनि बौद्धिक क्रान्ति र आध्यात्मिक क्रान्तिको माध्यमबाट समग्रताको विकास हासिल गर्न सकिन्छ भन्ने ज्ञान बाँड्नुभएको छ। बुद्ध कहाँ जन्मे त्यो फलाकेर बुद्ध तत्वमा स्थित हुन सकिन्न।
आज विश्वमा नै बुद्धको बौद्धिकता र बुद्ध चेतनामा स्थित हुने ज्ञानलाई फैलाउन अभ्यास र जागरणको सन्देशबाट वैश्विक क्रान्ति चलिरहेको छ। यस धम्मो सनंतनो, यही नै सनातन धर्म हो। आफ्नो स्वभावमा बाँच्नु धर्म हो, करुणा र परोपकारमा बाँच्नु मानव स्वभाव हो। आफ्नो चेतनालाई जान्नु र चेतनमा स्थित रहनु धर्म हो। राजनेता देशमा शासन गर्छ, गायक गीत गाउँछ, सरकारी कर्मचारी नागरिकको सेवा गर्छ, समाजसेवी समाजसेवाको आनन्द लिन्छ र विद्वान् वादविवादमा भाग लिन्छ।
त्यसैगरी, ज्ञानी पुरुष आफैँमाथि शासन गर्छ। प्रशंसा मिलोस् या आलोचना, सेवा मिलोस् या निन्दा, ज्ञानी पुरुषको मन शान्त नै रहन्छ, कुनै हलचल हुँदैन, कुनै अहंकारले उसलाई छुन सक्दैन। विश्व शान्ति, प्रेम, मैत्री, करुणा र सदाचार मार्फत सबै प्राणीप्रति समान भाव व्यक्त गर्दछ। यो गुणवत्ता सबै व्यक्तिले रोज्न सक्छन् तर रोज्न सकिरहेका छैनन्। चेतनाको शिखरबाट मात्र यसलाई अनुभूति गर्न सकिने भएकाले बुद्धलाई बुझ्न आफ्नो चेतनाको स्तरलाई जान्न सक्नुपर्छ।
परिश्रम र धैर्य
परिश्रम आफ्ना लागि मात्र होइन, अरूका लागि पनि गर्नुपर्ने हुन्छ। किनकि मानव हुनुको नाताले मानव सेवा, नागरिक सेवा या समाजसेवा जुन नामले भए पनि सेवा दिन पनि त परिश्रम आवश्यक पर्छ। तर, हामीकहाँ परिश्रम र इमानविनाको फल चाहनेहरूको बाहुल्य हुन्छ। कतिपय अवस्थामा विनाजागरण भागदौडका साथ मरिमेटेर परिश्रम गरेको हुन्छ तर त्यसले न आफूलाई दीर्घकालीन लाभ दिएको हुन्छ न त अरूलाई। त्यसमा पनि आफ्नो तर्फबाट धैर्य हुँदैन, परिणाम तुरुन्तै चाहिने हुन्छ। राजनीति मार्फत सेवा र विकासको क्रममा होस् या सामाजिक दायित्व र अध्यात्म मार्फत मानव हितका लागि रूपान्तरण र जागरण फैलाउन चाहने हो भने परिश्रम र धैर्य दुवै आवश्यक हुन्छ।
भगवान बुद्ध आफ्ना शिष्यसहित गाउँमा फिर्दै हुनुहुन्थ्यो, एक ठाउँमा एक व्यक्तिले सानासाना २०–२५ वटा खाडल बनाउँदै रहेछन्। बुद्धका शिष्यलाई जिज्ञासा उत्पन्न भयो र आफ्ना गुरुलाई सोधे–गुरु यसो गर्नुको तात्पर्य के होला? बुद्ध मुस्कुराउनुभयो र भन्नुभयो–यिनले पानीको खोजीमा इनार खन्न खोजेका हुन् तर एकैठाउँ खनेर जमिन तल गहिराईसम्म पुगेको भए पो पानी भेटिन्थ्यो। परिश्रम पनि गरेका छन् तर धैर्य नभएको कारण अनेक ठाउँमा प्रयास गरेका छन् अनि परिणाम हात लागेको छैन। हेरौँ त हाम्रो जीवनलाई फर्केर, परिश्रम कहाँ र के उद्देश्यका लागि गर्यौं? हाम्रो चुनाव केका लागि थियो अनि परिणाम के आयो? परिणामले सन्तुष्ट छौँ या छैनौँ? परिणामसँग सन्तुष्ट हुनका लागि कर्मको रोजाइ नै सही हुनुपर्दोरहेछ भन्ने जागरण आयो त?
अमृतको खेती
एकदिन आफ्ना शिष्यसँगै भिक्षाटन गर्न जाने क्रममा एकजना किसानले बुद्धलाई हप्काए र भने–हेर्नुस् महाराज खेती गरेर मात्र खान पाइन्छ। म किसान मेहनत गर्छु, खेत जोत्छु, बिउ रोप्छु, अन्न फलाउँछु र खान्छु। तपाई खेती गर्नु हुन्न, भिक्षाटनले कतिन्जेल चल्छ त ? बुद्धले मुस्कुराउँदै भने–हेर्नुस् महाशय, खेती म पनि गर्छु तर म अमृतको खेती गर्छु। किसानले आश्चर्य मान्दै सोधे–तपाईसँग हलगोरु देख्दिन, खेत छैन, बिउ छैन कसरी अमृतको खेती गर्नुहुन्छ? महाशय–मसँग श्रद्धाको बिउ छ, तपस्यारूपी खेत, हलगोरू र प्रजारूपी खेताला छन्।
त्यसैबाट साधनारत जागरुकता र स्मृतिरूपी फल खान्छु। म आफ्नो वचन र कर्मप्रति संयमित रहन्छु। म आफ्नो खेतमा नकारात्मक सोचरूपी घाँसहरू उम्रन नदिन सचेत रहन्छु र शान्ति र आनन्दको अन्न उत्पादन नहुन्जेल प्रयत्नशील रहन्छु। करुणा, प्रेम र मैत्रीरूपी मेरा हतियारले सधैँ मलाई सहज फल प्राप्त गर्न मद्दत गर्छन्, यही नै मेरो अमृतरूपी खेती हो।
बुद्धले जे रोज्नुभयो र एक व्यक्ति मात्र नभएर अन्तिम सत्यलाई जान्न सफल हुनुभयो। त्यसैगरी, जीवनमा धेरै परिश्रम गरेर आर्जन गरेका हाम्रा फसल अमृतरूपी अर्थात् मृत्योर्मा अमृतम गमयः स्वरूप छन् कि छैनन् बेला मौकामा स्वमूल्यांकन गर्नुपर्ने हुन्छ। अमृतरूपी खेतीको फल आत्मचिन्तन र आत्मज्ञान नै हो जुन जीवनका हरेक आयामलाई सफल र सहज बनाउन आवश्यक छ। यो नै दुःख मुक्तिको उपाय हो। यो अमृतरूपी खेती चेतनाको स्तरबाट मात्र सम्भव हुन्छ। संसारका सबै चिज परिवर्तनशील छन् तर स्व–सत्ता, स्व–बोध र आत्मज्ञान सदा अमर छ। त्यहीँ स्थिर रहनका लागि बुद्धले सबैलाई जागृत गराइरहनुभयो।
प्रकाशित: २ जेष्ठ २०७९ ०१:३२ सोमबार