अहिले नेपाल मात्रै होइन, पूरै दक्षिण एसियामै नयाँ दिल्लीका मुख्यमन्त्री केजरीवाल चर्चामा छन्। हामी छिमेकी देश हौं र दिल्लीको हवाई दूरी एक घण्टामात्र छ। त्यसमा असाध्य रोग लागेका आधा भन्दा बढी नेपाली दिल्ली जानुपर्ने वाध्यताले त्यहाँको आर्थिक, राजनीतिक तथा सांस्कृतिक गतिविधि तथा परिवर्तनको प्रभाव हामीकहाँ पर्छ।
त्यसमाथि सञ्चार क्षेत्रमा भएको उच्चतम प्रविधि विकास, त्यसमा युट्युब जस्तो सामाजिक सञ्जालले उपलब्ध गराएको सुविधाले गर्दा संसारको कुन कुुनामा के भइरहेको छ वा गरिरहेको छ भन्ने थाहा पाउन टिभी कार्यक्रम हेर्नुपर्ने वा कुर्नुपर्ने बाध्यता पनि हटिसकेको छ। युट्युबको अल्गोरिदमले कतिसम्म चलाखी गरेको छ भने कुनै एक विषयमा कार्यक्रम हेरेपछि त्यस्तै विषयमा अपलोड भएका धेरै भिडियोको लिंक स्वतः आउने गर्छ।
कृष्णमुरारी भण्डारी नेपालका एक वरिष्ठ पत्रकार तथा मेरो चिनजानका व्यक्ति हुनुहुन्छ। उहाँले केपी ओलीमा केजरीवालको खोजी गर्नुभएको लेख पढेँ। उक्त लेख नागरिक दैनिकमा अत्यन्त धेरै सेयर भएको छ। यो आलेख लेख्दै गर्दासम्म ४ हजारजनाले फेसबुकमा सेयर गरिसकेका छन् भने हेर्ने कति छन्, त्यो नागरिक दैनिकसँग सुरक्षित होला। पत्रपत्रिकामा विचार खण्ड हेर्ने प्रायः त्यस देशका बौद्धिक समुदाय हुन्छन्।
हरेक लेखको पुछारमा नागरिकले एउटा राम्रो अभ्यासको सुरुवात गरेको छ त्यो भनेको सर्वेक्षण हो। अर्थात लेख पढ्ने पाठकले आफूलाई लागेको प्रतिक्रिया लिखितरूपमा त दिन सक्छ नै, आफ्नो अभिमतसमेत पाँचवटा समूहमा दिन सक्छन्। त्यो समूह भनेको खुसी, दुःखी, अचम्मित, हाँस्यास्पद र क्रोधित छन्। यसमा लेख पढ्ने कतिले आफ्नो अभिमत जाहेर गरे त्यो स्पष्ट छैन तर आफैँ एउटा अनुसन्धानकर्ता पनि भएको हुंदा यसलाई बौद्धिक जगत्को मिनी जनमत हो भन्ने ठान्छु।
निश्चय पनि २०७४ को आमनिर्वाचनमा ओली एकदमै आशा र विश्वास गरिएका नेता हुन्। मलाई पनि व्यक्तिगत रूपमा सुरुको २ वर्ष प्रचण्डले पदको बाँडफाँटको अढाई वर्षे माग गर्दा उनले कस्तो सहमति गरेछन् भन्ने लाग्थ्यो। नेपालका अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्न नपाएको सन्दर्भमा उनले आफ्नो पूरा कार्यकाल काम गर्न पाउनुपर्छ भन्ने लाग्थ्यो।
तर त्यसपछि उनले संविधान विरोधी, समावेशिता तथा संघीयता विरोधी जुन हर्कत गर्दै गए उनीप्रतिको मोह पूरै भंग भयो। अहिले केन्द्रमा आफूअनुकूलको सरकार, प्रदेश १, ३, ४ र ५ मा आफ्नै पार्टीका विश्वास पात्र मुख्यमन्त्रीहरू प्रदेश ६ र ७ मा पनि आफ्नै अनुकूलको सरकार हुँदाहँुदै उनकै अहंमताका कारणले गर्दा सबै ठाउँमा सबैभन्दा ठूलो पार्टी हुँदाहुँदै पनि सत्ताच्युत भएका छन् र पनि उनमा कुनै किसिमको पश्चाताप देखिँदैन र दम्भ घटेको छैन।
त्यसलाई आमबुद्धिजीवीले कसरी लिएका छन् भन्ने चर्चा गर्दा, नागरिककै सो अभिमत खण्डमा २६.७ प्रतिशत मुरारीजीको लेख पढेर खुसी छन्, दुःखी ० प्रतिशत, अचम्मित १३.३ प्रतिशत, सबैभन्दा बढी हाँस्यास्पद ४६.७ प्रतिशत र क्रोधित १३.३ प्रतिशत छन्। जति पनि खुसीमा अभिमत व्यक्त गर्नेहरू छन् उनीहरूलाई ओलीको समर्थकका रूपमा चित्रित गर्न सकिन्छ जसरी ओलीले आफ्नै सबै भाषणका स्रोताहरूलाई जोक र उखान टुक्का तथा उपमाको सहारा लिएर हँसाउँछन्।
त्यसले उनलाई हाँस्यास्पद नेताका रूपमा स्थापित गरेको छ भन्ने पुष्टि हाँस्यास्पद समूहमा अभिमतकर्ताहरूले प्रदान गरेको ४६.७ प्रतिशत मतले पुष्टि गर्छ। अचम्मित समूहमा परेको १३.३ प्रतिशत मतले ओलीलाई केजरीवालको पगरी गुथिदिएको मान्ने हो भने त्यो पनि हाँस्यास्पदमै जोड्न सकिन्छ।
त्यस्तै क्रोधितमा १३.३ प्रतिशत मत जुन परेको छ त्यो मुरारीजीले ओलीको अनावश्यक प्रशंसा गरेर भएको हो भने त्यो मतसमेत ओलीको विरुद्ध भएको मान्न सकिन्छ। यसरी ७३.३ प्रतिशतको बौद्धिक अभिमत ओली विरुद्धमा छ भन्ने देखाउँछ। यसको अर्थ यो लेख अत्यधिक सेयर भए तापनि बौद्धिक जगत्ले ओलीलाई केजरीवालका रूपमा लिनु त कता हो कता गंभीररूपमा पनि लिँदैन भन्ने देखिन्छ।
मुरारीजीको यो लेख पढेपछि मैले युट्युबमा उपलब्ध कम्तीमा पनि चारवटा अन्तरवार्ता हेरेँ। त्यसमा २०१७ देखि अहिले पन्जावको चुनाव आमआदमी पार्टीले जितेपछिको पनि परेको छ। त्यसमध्ये मलाई चर्चा गर्नलायक लागेको विषय अहिलेको चर्चित तथा विवादित फिल्म द काश्मीर फाइल्स हो। उनले यो फिल्मको विषयमा दिल्ली विधान सभा तथा मिडियामा बोलेका छन् दुवैतिर उनले एउटै कुरा उठाएका छन्।
काश्मीरका पण्डितहरू पृथकतावादी मुस्लिम आतंककारीहरूबाट जुन किसिमले प्रताडित भएर बिस्थापित हुनुपर्यो त्यो अत्यन्त दुःखदायी विषय हो तर ३० वर्ष पुरानो त्यो समस्यालाई विगतका सरकारहरूले काश्मीरी पण्डितहरूलाई पुनस्र्थापित गर्नमा किन पहल गरेनन्? भाजपाले विगत ८ वर्षदेखि देशमा शासन चलाइरहेको छ।
उसले के गर्यो? अहिले आएर उनीहरूलाई पुनस्र्थापित गर्नुको साटो काश्मीर फाइलका निर्देशक विवेक अग्निहोत्रीलाई वाइ श्रेणीको सुरक्षा प्रदान गर्दै भाजपा शासित प्रदेशहरूमा करमुक्त गर्दै मालामाल गरिएको छ। भाजपा कार्यकर्ताहरू सो फिल्मको प्रचारमा लागेका छन्। बरु सो फिल्मले कमाउने रकमबाट उनीहरूको पुनस्र्थापना गरेमा त्यो फलदायी हुन्थ्यो।
उनले त्यसमा थप्दै भनेका छन्– दिल्लीमा आएका काश्मीरी पण्डितका परिवारका सदस्यमध्ये २३३ जना दिल्लीका विभिन्न स्कुलमा अस्थाइ शिक्षकको जागिर खाइरहेका थिए, उनीहरूलाई कानुन बनाएर फिल्म आउनु भन्दा पहिले नै १९९३ देखि लागु हुने गरी स्थायी गरिएको छ। फिल्ममार्फत राजनीति गर्नु भन्दा ती पीडित काश्मीरी पण्डितहरूलाई उनीहरूकै बासस्थानमा पुनस्र्थापना गर्नुपर्छ र त्यसमा केन्द्र सरकारसँग मिलेर काम गर्न तयार छौँ।
अब ओलीलाई हेर्ने हो भने उनी आफूलाई कम्युनिष्ट भन्छन् र सो हुनुमा गर्व गर्छन्। मलाई त सबैभन्दा हाँस्यास्पद एमालेजनहरूले एकअर्कालाई सम्बोधन गर्दा प्रयोग गर्ने कामरेड भन्ने शब्द लाग्छ। कामरेड भन्ने शब्दले राजनीतिक र भावनात्मकरूपमा सँगै रहेका मित्रबीच प्रयोग गरिने शब्द वुझाउँछ र त्यो कम्युनिस्ट सिद्धान्त अंगीकार गर्नेहरूको अत्यन्त प्रिय शब्द हो। तर एमालेजनले कहीँकतै सो सिद्धान्त आत्मसात गरेको देखिँदैन।
ओली एउटा धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्री थिए। त्यसको मतलव राज्यले कुनै पनि धर्मलाई न आत्मसात गर्छ नत त्यसको प्रचार, धर्मलाई जनताबीचमा छाड्छ। धर्मलाई अफिम मान्ने माक्र्सवादी सिद्धान्तका अनुयायी ओलीले हिन्दुराष्ट्र तथा राजतन्त्रको वकालत गर्ने जमातलाई आकृष्ट गर्न पशुपतिमा ३२ करोडको सुनको जलारी राख्न लगाए। त्यसमा पनि पशुपतिका अधिकारीहरूले हिनामिना गरेको समाचार बाहिर आएको थियो। परापूर्वकालदेखि राम अयोध्यामा जन्मिएका र सीता जनकपुरमा भन्ने मान्यतालाई चुनौती दिँदै चितवनको माडीको अयोध्यापुरीमा राम जन्मेको मात्र भनेनन्, त्यहां रामको मूर्ति स्थापना गर्नका लागि राज्यको स्रोतसाधनसमेत दुरूपयोग गरे।
कम्युनिस्टहरूको शासनमा शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, बिजुली, पानी सबै जनताको हितमा हुन्छ र गरिब–धनी सबैले निर्वाध उपयोग गर्न पाउँछन् भन्ने सपना बाँडे तर ओलीको साढे तीन वर्षको कार्यकालमा यी क्षेत्रमा केजरीवालले जस्तो गरेको आमूल परिवर्तन त धेरै परको कुरा, सुधार पनि कहाँ गरे? उनकै मन्त्रिपरिषद्को शिक्षामन्त्रालयले गठन गरेका शिक्षा आयोगले दिएको सिफारिस दराजमा थन्क्याए। यस्ता व्यक्तिलाई कुन अर्थमा केजरीवालसँग दाँज्न मिल्छ?
अहिले सामाजिक सञ्जालमा एउटा प्लेकार्डको तस्बिर भाइरल भइरहेको छ। त्यसमा भनिएको छ– भ्युटावरमा तीन अरब, मन्दिरमा एक अरब, जनता जति साउदी अरब। भ्युटावर कुन अर्थमा जनउपयोगी छ त्यो हामीले बुझेकै कुरा हो। मन्दिर निर्माणले कसको पक्ष पोषण गर्छ? अनि देशको जल्दोबल्दो युवा शक्तिलाई अरबको ५० डिग्री तापक्रममा काम गर्न बाध्य पार्ने नीतिमा के ओली जिम्मेवार छैनन ? अतः ओलीमा केजरीवाल देख्नुलाई मुरारीजीको उनीप्रतिको अति प्रेम मान्नु पर्ने त होइन?
प्रकाशित: २२ चैत्र २०७८ ०१:२० मंगलबार