१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

कल्पनाशास्त्र र वास्तविकता

चुनावसँगै गाली बर्सन थाले। भ्युटावरबाट पार्टीका सोच र अवस्था छयाङ्गछयाङ्गती देखियो। गेट र प्रतिमाले दिल र दिमागको एक्सरे गर्न थाले।

स्थानीय चुनावमा विगत उपलब्धि लिएर मत माग्ने अवस्था रहे। के लाने? के लुकाउने समस्यामा पार्टी छन्। यहाँ संगठित भ्रष्टतन्त्र र सिहदरवार गाउँमा भ्रष्टाचार लिएर गएको सबैका जन्मपत्री गाउँ र नगरमा छयास्छयास्ती छन्। तथ्यलाई तर्कले काट्न सक्दैन। त्यसमा व्यक्तिमात्रै दोषी नभै पार्टी जिम्मेवार हुन्छ नै।

अझ व्यक्तित्वले कल्पनाशास्त्रद्धारा प्रमाणहीन कुरा गर्न थाल्छन् र गालीलाई राजनीतिक घोषणापत्रझैँ पस्कन्छन् तबबिजी नभएर सार्वजनिक सरोकारको विषय बन्छ। कल्पना साहित्य बन्न सक्छ तर त्यसको यथार्थसँग न नाता हुन्छ, न सरोकारै। तब भ्रमित सन्देश मात्रै हैन, ज्ञान र विज्ञानका उपलब्धिमाथि प्रश्न उठ्छन्। एमसिसीले सबैको औकात देखाइदियो। अझतटस्थताको सुखभोग गर्ने प्रतिपक्ष दलको रणनीतिक चातुर्यको रमिता संसद्मा देख्न पाइए।

पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षदलको एकल सर्वोच्च नेतृत्व अध्यक्ष केपी शर्मा ओली कथनको तथ्यर्पूण विश्लेषण आवश्यक हुन्छ। उनको सोच अरू सबैले स्वीकार्नु पर्छ भन्ने दम्भ र अहंकारको घेराबन्दीमा उनी छन्। सोचअनुसार सधैँ समय हाँकिदैन। अध्यक्ष ओली माडी अयोध्यापुरीलाई रामजन्मस्थली सिद्ध गर्न थप लागिरहे पनि वैदिक साहित्य, पुरातत्व विज्ञान, ऐतिहासिक तथ्य र मिथकले उनलाई साथ दिइरहेको छैन। एमसिसीको तटस्थता, हितअनुसारको निर्णय नआउँदा अदालतप्रति सार्वजनिक आक्रोश, संसदीय राजनीति गर्ने दलको असंसदीय व्यवहारले विश्वसनीयतामाथि प्रश्न उठे। सुविधाअनुसारको अर्थलाग्ने तटस्थता विरोध नभै समर्थन हुन जान्छ। 

कुशलतापूर्वक जनसंवाद गर्नसक्ने अध्यक्ष ओलीका भनाइ र गराइलाई देशले मात्रै हैन, विश्वले मिहीन तरिकाले नियालिरहेको हुन्छ। उनका पाल्सीकुरा र नयाँनयाँ थप कल्पनाशास्त्रको ‘प्राज्ञिक’ कार्यकर्ता र समर्थकले अहिले थप व्याख्या र औचित्य सावित गर्न जरुरी ठानिरहेका छैनन्। व्यवस्थित अभिलेख राखे पनि चतुर कार्यकर्ताको मौनताले अर्थ राख्छ। मोमजस्तो सत्ताको गद्दीमा वसेर चट्टानसँग टकराउन नसकेपछि गलत कुराको समर्थनमा तर्क नकोरी मौन बस्नु विपक्षमै रहनु हो। मुहानबाट जे बग्छ, त्यो नदीको मूल स्रोत हो, भंगालालाई वास्ता हुँदैन।

एमालेमा पुरानो पुस्ता माक्र्सवादी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मात्रै हैन, राहुल सांकृत्यानको ‘भोल्गा से गंगा’ र मोदनाथ प्रश्रितको ‘देवासुर संग्राम’ समेतले दीक्षित मानव सभ्यता विकासको गम्भीर अध्ययन गर्दै दृष्टिकोण बनाएका थिए। आन्दोलनले खारिएको थियो। तर आमजनताको स्मरणशक्ति अत्यन्तै कमजोर भएकाले नयाँ शक्ति हितअनुकूल प्रयोग गर्न सफल भयो।

अध्यक्ष ओलीको रामजन्मथली अयोध्यापुरी, दशरथ (नेमी), मेसोपेटामिया, पांग्रा, शिव, फलाम, त्रिशूल, धनु र मिनम पहाडको फलाम पगालेर शिवले त्रिशूल बनाएको प्रसंग वैदिक साहित्य, लौह आविष्कारकाल, इतिहास र पुरातत्व शास्त्रसँग कुनै साइनो जोडिएन। खनिज शास्त्रका इतिहासले पुष्टिसमेत गर्दैन।

सिन्धुघाँटी सभ्यता (हडपप्पा र मोहनजदोडो) आर्य आउनु पहिलेकै सभ्यता हो। अझ अहिले कार्बन–१४ प्रविधिले हरेक वस्तुको कालनिर्धारण विधि (कार्बन–१४ डेटिङ) प्रयोग गरेर पुरातत्व–जीव विज्ञानमा प्राणी र बोटबिरुवाको समेत जीवनकाल, समयचक्र निर्धारण गरिन्छ। कार्बन–१२ र कार्बन–१४को मध्यअनुपात निकालिन्छ।

त्यसैले न अयोध्यापुरीको कुनै पुरातात्विक उत्खनन भएर न त कुनै पुरातत्वविद्द्वारा सत्यापन भएको छ न पांग्राको आविष्कार मेसोपेटामिया ४ हजार २ सयवर्ष इसापूर्वको र दशरथको (नेमी)समयसँग मेल खान्छ। संसारमा अहिले ३ सयभन्दा ज्यादा रामायण प्रचलित छन्। वैदिक साहित्य वा मिथक भए पनि कहीँकतै रामजन्मथलो माडी उल्लेख छैन।

अझ फलामको आविष्कार मिश्रका हित्ती जातिले ५ हजारदेखि ३ हजार इसापूर्वमा गरे। धेरै समयसम्म फलाम गलाउने प्रविधि उनीहरूसँग मात्रै रह्यो। शिवजीको त्रिशूल प्रसंग पनि फलामको आविष्कार र शिवकालसँग कुनै मेल खाँदैन।

मानव सभ्यता विकासको विषयमा पछिल्लो अध्ययन जेनेटिसिस्ट (आनुवांशिकी विज्ञानी) हार्वर्ड युनिभर्सिटीका डेबिड रेकले गरे। मार्च २०१८ मा छापिएको सोधपत्रमा संसारकै ९२ विद्वान् सह–लेखक थिए। यसमा सहभागी प्रतिष्ठित जेनेटिक्स, इतिहास, पुरातत्व र मानवशास्त्रका विद्वान्ले प्रवासी आर्यहरूको दोस्रो समूह इसापूर्व २ हजार वर्ष पहिला युरेजियन स्टेपी (घाँसे मैदान) बाट भारत वर्षमा आयो, संवभतः त्यो आजको कजाख्स्तानभनेका छन्। संस्कृतको सुरुआती प्रारूप लिएर आएका उनीहरूले घोडचढी र बलीप्रथा पनि सँगै ल्याए भन्ने अध्ययनले देखायो।

बौद्ध धम्मको दशरता जातकमा राजवंशको शुद्धता कायम गर्न भाइबहिनीबीच विवाह हुनेगरेको थियो भनेजसरी बुद्ध इक्ष्वाकु वंशका (राम) भनेजस्तै प्रारम्भिक बौद्ध साहित्यमा सामान्य प्रतीकात्मक राम–सीताको कल्पना गरिन्छ। जैन धर्म – पौमचार्यम, जैन संस्करणंमा पनि रामायणका सबै पात्र नैतिक मूल्यमा सर्घष गर्ने नश्वर थिए भनिएको छ। जबकि पहिलो वाल्मीकि रामायण कोही तीन हजÞार वर्ष पहिला संस्कृतमा लेखिएको थियो।

सामाजिक रुढी र अन्ध–आस्थाविरुद्ध तर्क र विद्या संस्कृतिको सूत्रपातगरेर गौतम बुद्धले प्राचीन भारतीय चिन्तनधारालाई नयाँ उचाइमा पुर्‍याएका थिए। तर शंकराचार्यकालमा पुरै सो चेतनालाई पृष्ठभागमा धकेलियो। आजपनि तर्क, चेतना, इतिहासबोध र मिथकलाई इतिहास भन्ने अवैज्ञानिक सोचबीच टकराहट भैरहेको छ। त्यसै टकराहटमा शिवको त्रिशूल, दथरथका गाडा र अयोध्यापुरीको महिमामन्डन भने भारतीय राष्ट्रिय स्वयंसेवक संघको नेपाली संस्करण बन्यो।

विज्ञानले सिकाएको कुरा भनेको आफनै धारणामा पनि सन्देश गर्नु, परमभावलाई खारेज गर्नु र तथ्य जाँचपड्तालका लागि पेस गर्नु हो। जुन समाजमा मान्छे आलोचनात्मक चेतले अध्ययन गर्दैन र तथ्य खोजीमा अल्छी गर्छ त्यहाँ विवेक उम्रिन्न। ज्ञान–विज्ञान उसलाई देख्नेबित्तिकै कुलेलाम ठोक्छ। विचारहीन मान्छे मुर्दा हुन्छन्। चिनामा भाग्य खोज्ने र ज्योतिषले कार्यतालिका बनाइदिने नेतृत्वमा अतितग्रस्ततामात्रै हैन, जतिसुकै प्रगतिशील ट्रेडमार्क भए पनि उसमा रुढिवाद जब्बर हुन्छ।

शक्ति र गाली  

मिथकको सहारामा अतीतको स्वर्णिम कथ्य रच्न कुनै तर्क र प्रमाण आवश्यक हुँदैन। आफूलाई श्रेष्ठ र अरूलाई निच देखाउन जरुरी हुन्छ। पुनरूत्थानवादी आकांक्षा इतिहासकारको नभै अतीतग्रस्तता हो। यस्तो प्रवृतिलाई प्रख्यात फ्रान्सेली इतिहासकार मार्क ब्लाख भन्छन्ः फैसला सुनाउने बानीले व्याख्या गर्ने रुचि सक्छ। जब अतीतको आवेगसँगै वर्तमानको पूर्वाग्रह घालमेल गरेर मानवीय यथार्थ सेतो र कालो चित्र बन्छ। यसबारे सचेत गराउँदै ब्लाख भन्छन्ः जब कहिले निर्णय एकातर्फ झुक्छ तब व्याख्या त्यसै दिशामा मोड्न र विकृत गर्नबाट जोगिन सकिँदैन।’

लोकप्रियता कहिलेसम्म आफना हातमा रहन्छ, कसैलाई पनि थाहा हुँदैन्। जब शक्तिले स्खलन हुन लागेको चाल पाउँछ तब कलामय गाली बक्न मात्रै थाल्दैन, उटपट्याङ कुरा गरेर आफूलाई बहसको केन्द्रमा राख्न खोज्छ। अनुयायीमा आवेग भर्न गालीमा ऊर्जा खोज्छ। बहुमतको मनोविज्ञान र ध्यान खिच्न कल्पनाशास्त्रले भिड खोज्छ। तब गाली स्वयम् गालीबाट लजाउन पुग्छ। शक्तिशालीहरू शक्ति गुम्ने भयले अन्धविश्वासी र रुढिवादी हुँदै जान्छन्।

अनुयायीहरू पाउने तीव्र लालसा र गुम्ने डरले मान्छे आस र त्रासमा विवेक बन्धकी राख्न पुग्छन्। अझ कुण्ठाग्रस्त प्रतिक्रिया सक्रिय भयो भने आफ्ना भूमिकाले सिर्जित समस्याको बेवास्ता मात्रै हैन, त्रासदीलाई मनोरञ्जन बनाएर सैद्धान्तिकीकरण गर्न थाल्छन्।

पार्टीभित्रको सम्भावित असहमति समाधानका लागिसहमति र सहयोग आवश्यक हुन्छ तर एकछत्र नेतृत्वका लागि भने व्यक्तिपरक संस्कृति विकास गर्न नभै मिथकको सहारा खोजिन्छ। जहाँसम्म गाली महात्म्यको प्रसंग छ– मान्छे जस्तै हरेक जीवात्मामा स्वत्व हुन्छ। हीनताग्रन्थीले पैदा गरेको उच्चताबोधले सर्वज्ञ देखिने अस्तित्वमा चुनौती आउँदा टक्कर पर्छ। टक्कर बढ्दै जाँदा युद्ध, मल्लयुद्ध फेरिन सक्छ। तब स्वत्वरक्षामा एउटाको अन्त अर्काका जीवन हुन सक्छ। स्वत्वको यात्रा दुई कोणबाट हुन्छ।

पहिलो स्वाभिमानको दिशा अर्का अहंकारको। अहंकार गाली र आक्रमणमा देखिन्छ। अहंकारीले आफ्नो कमजोरी र अर्काको राम्रा पक्ष देख्दैन। जति कठिनाइ दिँदै उत्तेजित पार्न सक्यो त्यत्तिकै सफल सोच्न पुग्छ। निष्पक्ष विचार गर्ने क्षमता गुमेकाले बुद्धिपूर्वक विचार गर्दैनन्। भावना वा पहिले बनेका विश्वासका आधारमा निर्णय लिन्छ। कार्यकर्ता वा भिडलाई अनुकूल बनाइयो भने कल्पनाशास्त्र वा झुटलाई स्वीकृति दिलाउन सकिन्छ भन्ने मान्यता राख्न थाल्छन्।

स्वबुद्धिले अनुयायीहरू परस्पर असहमति त बढाउन सक्छन् तर निष्कर्षमा पुगेर चुनौती दिन लोभ र भयले दिँदैन। राजनीति धन्दा बनिरहेको बेला जोखिम लिन आनन्द आउने सोच निर्माण गर्नु भनेको ‘आ वैल मुझे मार’ भन्नुसरह हो। जसको विवेक जागृत हुन्छ उसले आफ्नो विचारअनुसारको सहमति रोज्छ। जुन दिन शतप्रतिशत सहमति गर्नुपर्ने हुन्छ तब व्यक्तिको चिन्तन विकासमै अवरुद्ध हुन्छ। हरेक कालखण्ड र भूगोलमा सिर्जनात्मक आलोचक कालान्तरमा आफन्त हुने गर्छन्। तर आलोचनात्मक चेतका आफन्तलाई शक्ति सधैँ दुश्मन सोच्नेगर्छ।

जब सामान्य अवस्थामा संवेदनालाई ठट्टा गरिन्छ, मिथकलाई इतिहास बनाउने प्रयास गरिन्छ, तब अप्ठेरो अवस्थामा गरिएको अपिललाई आमजनमानसले गम्भीर तरिकाले लिँदैनन्। प्रतिक्रियाले उत्पन्न विचार दीर्घकालीन हुनै सक्दैन।

जब मिथ्थकलाई इतिहास मानिएर सिर्जित विश्वासलाई सही सावित गर्ने प्रयास हुन्छ तब प्रख्यात माक्र्सवादी इतिहासकार एरिक हाब्सबामको भनाइ सान्दर्भिक हुन्छ। उनी भन्छन्– इतिहास राष्ट्रवादी वा नृजातीय या पुनरुत्थानवादी विचारधाराहरूका लागि त्यस्तै कच्चा सामग्री बन्छ जसरी दुव्र्यसनीका लागि अफिम। यी विचारधाराका लागि शायद इतिहास सबभन्दा महत्वपूर्ण हुन्छ।

विगत अनुकूल भएन भने त्यसलाई अनुकूल गढिन्छ पनि’। त्यसैले जसरी भारतमा दक्षिणपन्थी शक्ति वास्तविक इतिहासकारलाई आक्रमण गर्दै हितअनुकूलको इतिहास रचना गरेर सिन्धुघाँटीको सभ्यताको स्वामित्व लिँदै शेष दुनियाँमा भारतवर्षबाट आर्य फैलियो भनेर स्थापित गराउने कोसिस गर्दै छन्, त्यस्तै अध्यक्ष ओलीको कल्पनाशास्त्र र गाली महात्म्य भनेको हीनताबाट पैदा भएको उच्चताबोध र अहंकारको ध्वनि मात्र हो। त्यो कल्पनाशास्त्रले माडी अयोध्यापुरी गाडा, फलाम र शिवको त्रिशूल र धनु प्रसंग उठाएका हुन। त्यसको कुनै पुरातत्वशास्त्र र सभ्यता विकासक्रममा फलाम र गाडाको मानव आविष्कारसँग साइनो जोडिएको छैन। 

प्रकाशित: २१ चैत्र २०७८ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App