११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

गठबन्धनको अपरिहार्यता

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा दोसो संस्करणको स्थानीय तहको निर्वाचन घोषणा भएपश्चात राजनीति फेरि चुनावी वातावरणमा होमिएको छ। २०७९ साललाई चुनावी वर्ष घोषणा गर्दा अतिशयोक्ति नहोला किनभने तीनै तहको निर्वाचन यसै वर्ष गर्नुपर्ने संवैधानिक बाध्यता छ।

वर्तमान अवस्थामा गठबन्धनको निरन्तरता र तालमेलको बहसले नेपालको घरेलु राजनीति तातेको छ। प्रतिपक्षी दल आक्रामकरूपमा प्रस्तुत भएर जनताका सामु सत्तापक्षको आलोचना गर्दै कमजोर बनाउने अभ्यासमा योजनाबद्धरूपमा तल्लीन छ जुन अक्सर लोकतान्त्रिक मुलुकमा देख्न पाइन्छ।

सत्तापक्षको नेतृत्व गरिरहेको दल भने विगतदेखि वर्तमानसम्म सरकारमा रहँदा आफूले गरेका जनपक्षीय योगदानको फेहरिस्त लिएर ‘घर–घर जाउँ काँग्रेस जिताउँ’ अभियानमार्फत जनाताको तहमा जुटिरहेको छ भने सत्तारुढ घटकका अन्य दलहरू मूलतः नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) भने ओलीविरुद्ध खनिएका छन्।

एउटै घरमा बसेर साझा संकल्प बोकी साढे तीन वर्षे सहयात्रा तोडिएपछि ओलीप्रति व्यक्तिगत कुण्ठा र तुषले भरिपूर्ण अभिव्यक्ति प्रकट गर्दा जनमत आफ्नो पोल्टामा पार्न सकिन्छ भन्ने मनोविज्ञान प्रचण्ड र नेपालको दलसँग देखिन्छ। कम्युनिस्टले प्रयोग गर्ने आकर्षक राजनीतिक शब्दजालप्रति जनताको मोहभंग भएको छ।

यसको कारक कम्युनिस्ट पार्टी आफैं हुन्। महान् क्रान्तिको नाममा जनतालाई दिग्भ्रमित पार्दै आफू राजनीतिकरूपमा सफल भएको ठान्ने कम्युनिस्टहरू साँचो अर्थमा आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिहरूप्रति इमान्दार भएका देखिँदैनन्।

मूलभूतरूपमा जुन उद्देश्यका खातिर माओवादीले सत्र हजार निर्दोष नेपालीको बलिदानी र आहुतिपूर्ण गाथाले भरिएको दश वर्ष युद्ध सञ्चालन गर्‍यो, यसका उद्देश्यप्रति इमान्दार भइदिएको भए आज साँचो अर्थमा नयाँ नेपालको परिचय पाइसकेको हुन्थ्यो। तर विडम्बना, आज नेपालको राजनीतिक अभ्यासले मुलुकको सर्वांगीण विकास र निकासको सन्दर्भमा पद्धतिलाई निरस बनाएको छ भने जनतालाई निराश।

गठबन्धनका दृष्टान्त

राजनीतिक गठबन्धन निर्माण हुनुका तीनवटा मुख्य कारण छन् : सरकारमा शासन गर्नका निम्ति बहुमत प्राप्त गर्न; प्रतिपक्षमा सरकारको एक विश्वसनीय विकल्प सिर्जना गर्न र चुनावको समयमा चुनावी समर्थन सुदृढ गर्न र अधिकतम परिणामहरू प्राप्त गर्न।

राजनीतिक दलहरूको बीचमा चुनावअगावै वा चुनावको परिणामपश्चात गठबन्धन निर्माण गर्ने संस्कृतिले दलहरूलाई जिम्मेवार बनाउँछ भन्ने बुझाइ उन्नत लोकतन्त्रमा हुन्छ र उक्त संस्कृति विभिन्न संसदीय लोकतान्त्रिक प्रणाली अवलम्बन गर्ने देशहरूमा विद्यमान छ।

संसदीय अभ्यासमा कुनै पनि दलको एकल बहुमत नआएको खण्डमा सरकार निर्माण गर्दा गठबन्धन अपरिहार्य हुन्छ। लोकतन्त्रको जननी बेलायतमा १९२२ देखि दुई ठूला दल, लेबर पार्टी र कन्जरबेटिभ पार्टीले सत्ता निर्माण गरिरहँदा होस् या आमनिर्वाचनमा होमिँदा, विभिन्न कालखण्डमा आफ्नो दलको नेतृत्वमा अन्य दलहरूसँग तालमेल गरेको इतिहास छ।

२०१० देखि २०१५ सम्ममा कन्जरबेटिभ पार्टीले लिबरल डेमोक्र्याटको साथ लिएर सत्ता सम्हालेको थियो। लेबर पार्टी र को–ओपेरेटिभ पार्टी सन् १९२७ देखि निरन्तररूपमा तालमेलमार्फत चुनावी मैदानमा होमिएको इतिहास छ।

दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको अग्रसरतामा अफ्रिकन नेसनल पार्टीको नेतृत्वमा ‘त्रिपक्षीय गठबन्धन’ निर्माणमार्फत चुनावी तालमेलदेखि सरकार निर्माणको अभ्यास रहेको देखिन्छ। डेनमार्कमा ’रेड–ग्रिन’ एलायन्सको संस्कृति, इटलीमा ‘सेन्टर–राइट’ र ’सेन्टर–लेफ्ट’ गठबन्धन निर्माणको संस्कृति र पोर्चुगलमा ‘युनाइटेड डेमोक्र्याटिक कोयलेसन’ को अभ्यास रहेको छ।

तीन पार्टी सम्मलित उक्त गठबन्धनलाई ’रिभोलुसन गठबन्धन’ पनि भन्ने गरिन्छ। विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा २०१९ मा भएको आमनिर्वाचनमा एनडिए र युपिए महागठबन्धन निर्माण गरी चुनावी माहोलमा होमिएको दृष्टान्त ताजै छ। जसमा भाजपाले नेतृत्व गरेको एनडिए गठबन्धनले ३५३ सिटमा जित निकाल्दै भारतीय राष्ट्रिय कंग्रेसले नेतृत्व गरेको युपिए गठबन्धनलाई ९१ सिटमा सीमित राखेको थियो।

दलहरूबीच गठबन्धनको अभ्यास भारतमा स्वतन्त्रता भएदेखि नै प्रारम्भ भएको देखिन्छ। बङ्गलादेशमा सन् २००८ बाट ‘द ग्रान्ड अलायन्स’ को आवामी लिग पार्टीले नेतृत्व लिँदै आइरहेको छ। आवामी लिग पार्टी बङ्गलादेशको सत्तामा सन् २००९ देखि निरन्तर विराजमान दल हो।

सान्दर्भिकता

नेपालमा राजनीतिक घटनाक्रम जसरी विकास भइरहेको छ, त्यो आफैँमा उदाहरणीय रहँदै आएको छ। आठ दशकको अन्तरालमा नेपालले चारवटा व्यवस्था र सात थान संविधानको अनुभव बटुलेको छ। पछिल्लो परिवर्तन, २०६२/६३ को साक्षी पुस्ताका निपम्त वर्तमान राजनीतिक प्रणालीले राज्यको कुन तहमा कसरी सम्बोधन गरिरहेको छ भन्ने विषय खुलदुली बनिरहेको छ।

१० वर्षे जनयुद्धले देशको विकास र जनताको मनोविज्ञानमा गहिरो प्रभाव परेको छ। दलहरूको अकर्मण्यता र अस्थिर राजनीतिक अभ्यासले मुलुकको विकास र निकासको सन्दर्भमा भने थप प्रभाव पारेको छ। २०६४ सालको संविधानसभाको प्रथम निर्वाचनमार्फत माओवादी दल संसदीय राजनीतिमा पहिलो दल भएर उदाएसँगै नेपालको राजनीतिमा सत्ता समीकरण निर्माणको प्रयोग बदलिएर आयो।

मतका हिसाबले कम्युनिस्टको वर्चस्व एकाएक वृद्धि भएको देखिन्छ। हरेक आन्दोलन र परिवर्तनको नेतृत्व गरेको दल नेपाली कांङ्ग्रेसका निम्ति स्थायित्व र मुलुकको समृद्धि पहिलो सर्त रहेको र यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय अझै चुनौती छ। १० वर्ष द्वन्द्वको भूमरीमा फसेको मुलुकलाई शान्तिपूर्ण अवस्थामा रूपान्तरण गर्ने विषय जति चुनौती थियो त्यो भन्दा बढी संसदीय राजनीतिमा माओवादीलाई जिम्मेवार कसरी बनाउने भन्नेमा थियो।

किनभने माओवादी भड्किएको वा बरालिएको अवस्थामा २०६२/६३ सालको आन्दोलनका सम्पूर्ण उपलब्धि गुम्ने खतरा यथावत थिए। त्यस्तो प्रतिकूल अवस्थाबाट मुलुकलाई शान्तिपूर्ण राजनीतिमा डोर्‍याउने कुरा चानचुने विषय थिएन। युग पुरुष गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सहमति, सहकार्य र एकताको मूलमन्त्रलाई सूत्रधार गर्दै विद्यमान राजनीतिक जटिलतालाई सरलीकरण गर्ने कर्म भयो।

शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्साले अझै मूर्त रूप ग्रहण गर्न बाँकी नै छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत गरिनुपर्ने महत्वपूर्ण कामहरू अझै पूरा हुन सकेका छैनन्। द्वन्द्वपीडितका समस्या समाधानका निम्ति उल्लेखनीय कर्म गर्नुपर्ने जिम्मेवारी यथावत छन्।

यी सम्पूर्ण विषयलाई मूर्त रूप र परिणाममुखी बनाउने सन्दर्भमा नेकपा माओवादी र अन्य राजनीतिक शक्तिलाई मूलधारको राजनीतिभन्दा टाढा राख्नु हुँदैन। किनभने, यी सम्पूर्ण विषयसँग माओवादीलगायत अन्य केही राजनीतिक दलहरूको साइनो प्रारम्भदेखि नै गाँसिएको छ।

संविधानसभाको प्रथम चुनावमा आफ्नो दल निर्वाचनमा पराजित हुने सूचना हुँदासमेत माओवादी र अन्य विद्रोही समूहलाई शान्ति प्रक्रियामार्फत चुनावमा सहभागी गराइ संसदीय अभ्यासको मूलधारमा ल्याउने कुरामा नेपाली कांग्रेस दृढ संकल्पित रहेको हुनाले मुलुकले भयरहित व्यवस्थाको परिकल्पना गर्न सक्यो।

‘जनताको मन बुलेट (बन्दुक)ले होइन, ब्यालेट (मतपत्र)ले जितिन्छ’ भन्ने कथनमा माओवादीलाई आश्वस्त तुल्याउँदै कांग्रेसले अन्य मधेस केन्द्रित दललाई समेत सम्वाद र सहकार्यमार्फत शान्तिपूर्ण वातावरणमा डोर्‍याउन सफल भएको हुनाले मुलुकले शान्तिपूर्ण राजनीतिक व्यवस्था र संविधान प्राप्त गर्‍यो।

फलस्वरूप, अनेकन बाधा र व्यवधानका बीचबाट कांग्रेसको नेतृत्वमा संविधानको सफल कार्यान्वयन र समृद्धिको यात्रालाई थप मजबुत बनाउने दायित्व निर्वाह गर्न आइपुगेको छ। विभिन्न तत्वबाट संबिधान कार्यान्वयनको प्रक्रियालाई असफल बनाउने प्रयासका बाबजुद सबै दललाई एउटै मालामा गाँसेर मुलुकको राजनीतिलाई शान्तिपूर्णतवरले अगाडि बढाउने सन्दर्भमा गठबन्धन राजनीतिक संस्कृति आजको आवश्यकता रहेको छ।

द्वन्द्वोत्तर र द्वन्द्वपश्चात शान्तिमा रूपान्तरण भएका विश्वका कैयन् मुलुकले गठबन्धनीय संस्कृतिको राजनीति मार्फत समृद्धिको यात्राालाई द्रुत गतिमा अगाडि बढाइरहेको उदाहरण हामीले देखेका छौँ। छोटो समयमा विभिन्न राजनीतिक व्यवस्थाको प्रयोग र अल्प आयुको सरकार निर्माणको संस्कृतिले नेपाललाई प्रयोगशालाको आरोप लाग्ने गर्छ।

देशका लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउँदै मुलुकको सर्वाङ्गीण विकासको लहरलाई स्थानीय निकायको तल्लो तहसम्म पुर्‍याउने साझा संकल्पलाई थप समृद्ध बनाउने अभियानका निम्ति गठबन्धन आवश्यक छ। मुलुकको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्नका निम्ति र दलबीच एकताभावको संस्कृतिलाई थप सुसज्जित बनाउने अभियानलाई संस्थागत गर्न गठबन्धनले रचनात्मक भूमिका खेल्छ।

जसरी हिजो मुलुकको आवश्यकतालाई मध्यनजर गर्दै दलीय नाफा–घाटालाई पर राख्दै कांग्रेसले राष्ट्रिय दायित्व निर्वाह गरेको थियो र आज पुनः त्यही संकल्पमा अन्य दलहरूलाई जोडेर मुलुकको भविष्यलाई सुनिश्चित गर्नुपर्नेछ। नेपालको वर्तमान अवस्थामा गठबन्धन केवल चुनाव जित्ने विषयसँग सम्बन्धित रहेको छैन, यसको आवश्यकता र औचित्यको दायरा फराकिलो रहेको छ।

संविधानको सफल कार्यान्वयन, शान्ति प्रक्रियाका थाती रहेको कार्यभारलाई मूर्त रूप दिन, देशमा स्थायी राजनीति संस्कृतिको विकास, मुलुकको सर्वपक्षीय विकासका लागि एकता र सहकार्यको संस्कृतिलाई जगेर्ना गर्न, अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो देशको पहिचान निर्माण गर्न र दलबीच आपसी विश्वास र सद्भाव कायम गर्नका निम्ति गठबन्धन अपरिहार्य माध्यम हो। गठबन्धनको संस्कृतिले दलहरूलाई थप जिम्मेवार र उत्तरदायी बनाउँछ।

गठबन्धनको अभ्यासले दलहरूलाई एकअर्कामा सन्तुलन र नियन्त्रणको सिद्धान्तलाई थप मलजल गरिरहेको हुन्छ। माओवादीको विद्रोह चरमोत्कर्षमा पुगिरहेका बेला गिरिजाप्रसाद कोइराला अमेरिकाको भ्रमणमा रहँदा तत्कालीन माओवादी विद्रोहीहरूलाई समाप्त पार्न तत्कालीन अमेरिकी राष्ट्रपति बुसले आफ्नो सम्पूर्ण सहयोग रहनेछ भनेका थिए।

जवाफमा माओवादी विद्रोही पनि नेपाली जनता रहेका र तिनीहरूलाई समाप्त होइन, शान्ति र मैत्रीपूर्ण अवस्थामा रूपान्तरण गर्नु आफ्नो प्रधान ध्येय रहेको कुरा उल्लेख गर्नुभएको प्रसङ्ग नेपालको वर्तमान राजनीतिक अवस्थामा त्यत्तिकै सान्दर्भिक छ। त्यसैले, गठबन्धनको सान्दर्भिकता देशमा अझै खाँचो छ।

प्रकाशित: २० चैत्र २०७८ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App