१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विद्यालयमा लैंगिक संवेदनशीलता

मोरङको लेटाङमा अवस्थित एक विद्यालयमा भएको यौन दुव्र्यवहार र त्यसबाट उब्जिएको परिस्थितिले गत आइतबार राज्यले गुमाएको एक प्रहरी जवान उर्मिला श्रेष्ठप्रति समर्पित यो लेख तिनको आत्माले चिर शान्ति पाउन् भन्ने कामनासहित तिनको ज्यानको आहुति खेर नजाओस्, राज्यका हरेक विद्यालयले लैंगिक संवेदनशीलतासम्बन्धी एक नीति बनाओस् भन्ने चाहनामा आधारित छ।

जसरी शरीरमा रक्त नलीहरू हरेक अंगसँग जोडिएर तिनलाई जीवित राख्नुका साथै संक्रमणरहित भै कार्य गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण महत्व रगतको बहावसँगै पुर्‍याउँछ, त्यसैगरी समाजमा रहेका विद्यालयले समाजलाई स्वस्थ राख्नुका साथै सक्रिय भै राज्यको विकास तथा समृद्धिमा प्रभावकारी योगदान गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ।

त्यसैले विद्यालय शिक्षा भनेको राज्यको भविष्यको मेरुदण्ड हो भन्दा अत्युक्ति नहोला। यति संवेदनशील सामाजिक संस्थाकारूपमा रहेको विद्यालय र त्यसभित्रको वातावरणको प्रभाव भोलिका कर्णधार अझ स्पष्टरूपमा भन्दा राज्यको भविष्य ती बालबालिकामाथि दीर्घकालीनरूपमा परिरहेको हुन्छ। त्यसैले विद्यालय प्रतिको दायित्व र जिम्मेवारी राज्यसँगै समाजका हरेक व्यक्ति र निकायको रहन्छ जसबाट पन्छिनु भनेको अँध्यारो भविष्यतर्फ सामूहिकरूपमा लम्किनुसरह हो।

विद्यालयसँग प्रत्यक्षरूपमा संलग्न रहने सम्बन्धित हरेक व्यक्तिदेखि लिएर विद्यार्थीसमेतलाई बदलिँदो सामाजिक परिवेश, सम्बन्धहरूका संरचना, कार्यशैलीहरू अनि अपेक्षाहरूप्रति सजग र सचेत बनाउँदै त्यसअनुरूपको व्यवहार अपनाउन विद्यालयको नीति र कार्ययोजनामा समयसापेक्ष परिमार्जन गर्दै कार्यशाला तथा प्रशिक्षणहरू सञ्चालन गरिरहनु आवश्यक हुन्छ। तीमध्ये वर्तमान परिप्रेक्ष्यमा अत्यधिक आवश्यक देखिएको विद्यालयमा लैंगिक संवेदनशीलता हो। यसका लागि हरेक विद्यालयले आफ्नो लैंगिक संवेदनशीलताको नीति बनाउनु, त्यसलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सचेतना बढाउन सम्बन्धित कार्यशाला, प्रशिक्षण, विचार गोष्ठीहरू आयोजना गरिनु टड्कारो आवश्यकताकारूपमा देखापरेको अवस्था नकार्न सकिन्न।

प्रायःजसो हरेक दिन विभिन्न सञ्चार माध्यममार्फत विद्यालयका बालबालिका, त्यसमा पनि विशेषगरी छात्राहरू आफ्ना शिक्षक तथा अन्य विद्यालय कर्मचारीद्वारा विभिन्न स्वरूपका लैंगिक दुव्र्यवहारको सिकार भैरहेका समाचारहरूले विद्यालय तहमा लैंगिक संवेदनशीलताको अवस्था र आवश्यकताबारे औल्याइरहेको प्रस्ट छ। लैंगिक आधारमा कसैलाई कुनै पनि किसिमको विभेद र हिंसा गर्न पाइँदैन भनेर स्पष्ट पर्याप्त कानुन हुँदाहुँदै पनि दैनिक यस्ता घटना भइरहनाले कतै यो विषयप्रति विद्यालय परिवार जति संवेदनशील हुनुपर्ने हो त्यति हुन नसकेको हो कि भन्ने बुझाइ बढ्दो छ।

जबसम्म शब्दहरूलाई भावसँग जोड्न सकिन्न तबसम्म ती प्रभावहीन रहन्छन् र शब्दलाई भावसँग जोड्न र अनुभूति गराउन आवश्यक पर्ने भनेको उक्त विषयप्रतिको संवेदनशीलता हो। जसको अभावमा सम्बन्धित विषयप्रति समाजलाई प्रभावित पार्न सकिँदैन र कार्यगत परिणाममा खासै परिवर्तनहरूको अनुभूतिसमेत गर्न सकिन्न। त्यसैले ऐन/कानुनहरू तबसम्म प्रभावकारी हुँदैनन् जबसम्म समाजमा त्यस विषयप्रतिको संवेदनशीलता बढाइँदैन।

जस्तो कि अगाडि बोर्डमा झुण्डिरहेको ‘बाटो काट्न पुलको प्रयोग गर्नुहोला’ भनी पढ्दै आकाशे पुलमुनिबाट हिँड्दै गरेका देखिनु वा फोहोर फाल्न मनाही छ, यहाँ फोहोर फालेमा निश्चित रकम तोकी जरिवाना तिर्नुपर्ने भनी लेखिएको बोर्डमुनि फोहोरको थुप्रो भेटिनु केही उदाहरण हुन्। अर्थात् शब्दले मात्रै रूपान्तरणका लागि प्रभावकारी भूमिका खेल्न सक्दैनन् भन्ने विषय बुझ्न आवश्यक छ।

विद्यालयमा हुने लैंगिक हिंसाको स्वरूप र कारणहरू सर्सर्ती हेर्दा मुख्यरूपमा विगतदेखि स्थापित पितृसत्तात्मक सोचले निर्देशित भाष्यहरू, सामाजिकीकरणले बुझाएको सामाजिक मूल्य/मान्यताहरू, त्यसैगरी बदलिँदो समाजको संरचना र कार्य, सम्बन्धहरूको स्वरूप तथा आवश्यकता र औचित्यलाई समय अनुकूल परिमार्जन गर्न नसकेका व्यक्ति र निकायका व्यवहारहरू लिन सकिन्छ। त्यसैले देखिएका ती गलत परिणामलाई निर्मूल गर्न र सही उदाहरण स्थापित गर्न आवश्यक छ। लैंगिक संवेदनशीलता जहाँ समाजमा रहेका हरेक लिंगका व्यक्तिहरू सम्मानित भै सहज र सुरक्षित जीवन यापन गर्न सकून्।

वास्तवमा विद्यालय तहमा लैंगिक संवेदनशीलता जुन कितावको पाठमा राखेर भन्दा पनि विद्यालय परिवारका व्यवहारका साथै विभिन्न अतिरिक्त क्रियाकलापमार्फत सिकाउन सकिन्छ। जस्तोकि खेलकुदमा छात्राहरूको सक्रिय सहभागिता, विभिन्न कार्यक्रम योजनादेखि कार्यान्वयनमा नेतृत्वदायी भूमिका त्यसैगरी लैंगिक संवेदनशीलता बढाउने विभिन्न कार्यशाला पनि उपयोगी हुनसक्छ।

साथै हरेक विद्यालयले तयार पारेका लैंगिक संवेदनशीलतासम्बन्धी नीतिलाई प्रष्टसँग शिक्षकलगायत आफ्ना हरेक कर्मचारीका साथै विद्यार्थीसमेतलाई बुझाउन जरुरी हुन्छ ताकि कसैले शक्तिको प्रभावमा लैंगिक हिंसा गर्न आँट नगरुन् र साथै यस्तो हिंसा हुँदा सहेर बस्ने वा लुकाउने प्रयास पनि नहोस् भन्ने राख्नुपर्ने हुन्छ जसले गर्दा उक्त नीतिको प्रभावकारिता झल्किन्छ।

करिव ३–४वर्षअगाडि म्याग्दीका केही विद्यालयमा सञ्चालित ‘मलाई पनि केही भन्नु छ’ जस्ता कार्यक्रमको निरन्तरताले पनि धेरै हदसम्म यस्ता घटना हुनुपूर्वका संकेत पाउन विद्यालयलाई सहज बन्न सक्छ। जसमा सहभागी छात्र वा छात्रा आफूले महसुस गरेका कतिपय असहज व्यवहार सार्वजनिकरूपमा व्यक्त गर्ने गर्छन् जसले गर्दा लैंगिक दुव्र्यवहार गर्न सक्ने मनोवृत्तिलाई हतोत्साहित पार्छ भने अर्कोतर्फ यस्ता अनुभूतिहरू लुकाउने होइन, महसुस गर्नासाथ सम्बन्धित स्थानमा व्यक्त गर्नुपर्छ भन्ने सिकाइ बालबालिकामा आउन सहज हुन सक्छ।

केहीवर्षअगाडि ललितपुरको एक विद्यालयमा प्रधानाध्यापकद्वारा छात्राहरूमाथि गरिएको निरन्तर यौन शोषणको समाचारको कुरा गरौँ वा गत साता चितवनको एक विद्यालयमा शिक्षकद्वारा कक्षामा पढाउने क्रममा यौनजन्य दुव्र्यवहार गरेको भन्दै त्यहाँ पढ्ने विद्यार्थीले सार्वजनिक प्रतिरोध गरेको समाचार, ती सबैमा प्रायः एउटा समानता के देखिन्छ भने सकेसम्म यसलाई लोकलाजको विषय बनाउँदै भित्रभित्रै मिलाउन खोज्नु। यस्ता विषय बाहिर ल्याउँदा विद्यालय, समुदाय, परिवार सबैको बेइज्जत हुने सोच बोकिराख्नु तथा लैंगिक संवेदनशील बन्न नसक्नु प्रमुख रहेको भेटिन्छ।

अझै पनि कतिपय दुर्गम र विपन्न परिवार जसको आवाज प्रायः समाजमा सुनिँदैन, ती छात्राहरूसँग निकट भै खुलारूपमै यौनजन्य दुव्र्यवहारबारे कुरा गर्दा, शब्दमा व्यक्त गर्न नसकिने तर असहज अनुभूति हुने गरी होलीमा रंग दल्ने, कक्षामा पढाउने क्रममा पिठ्यँसुम्सुम्याउने, भित्रीबस्त्रको फित्ता तान्नेदेखि मोबाइलमा विभिन्न भिडियो देखाउने जस्ता उदाहरण प्रशस्तै दिन्छन्।

त्यसका साथै यी कुरा कसलाई भन्ने, यसको समाधान कसले गर्ने, कतै आफू कुनै थप सजायको भागीदार त बन्नु पर्दैन जस्ता अलमलमा पर्ने गरेका अवस्था पनि व्यक्त गर्ने गर्छन् जसको समाधानको बाटो विद्यालयले तयार पारेको लैंगिक संवेदनशीलताको नीतिले दिन सक्छ।

यो विषयमा जति बढी खुलारूपमा छलफल गरियो त्यति सहज हुँदै जाने हुँदा विद्यालयले समय समयमा अभिभावक भेलामा समेत यो विषयप्रतिको संवेदनशीलता बढाउने विषयवस्तु पस्कन आवश्यक हुन्छ ताकि ती बालबालिकामा देखिएका कतिपय परिवर्तन वा संकेत समयमै अभिभावकले महसुस गर्न सकून् र समाधानको साझा पहल हुन सकोस्।

यसका साथै पीडित वा अन्यले समेत गोप्यरूपमा यस्ता सूचना प्रधानाध्यापकसम्म पुर्‍याउने व्यवस्था हुँदा झनै सहज हुन सक्छ। एक लैंगिक संवेदनशील प्रधानाध्यापकले समयमै यस्ता विषयलाई समाधान गर्न सक्छन् र ठूलो दुर्घटना हुनबाट विद्यार्थी र विद्यालय दुवैलाई जोगाउन सक्छन्। साथसाथै सम्बन्धित स्थानीय सरकारका नेतृत्व तहमा रहेका व्यक्तित्वहरूको उपस्थिति र यस विषयप्रतिको शून्य सहनशीलता झल्कने व्यवहारले समेत लैंगिक हिंसा घट्ने सम्भावना बढ्छ।

विद्यालयका विद्यार्थी भनेका समाजका ती वर्ग हुन् जो हरेक परिवार र समुदायसँग कुनै न कुनै रूपमा जोडिएका हुन्छन्। त्यसैले तिनलाई लैंगिक संवेदनशील बनाउनुको फाइदा पूरै समाजलाई हुन्छ। समाजमा नाबालक छोरीहरू जसरी असुरक्षित भैरहेका देखिन्छ त्यसमा विद्यार्थीको सक्रिय भूमिकाले ती अपराध निरुत्साहित पार्न मद्दत गर्न सक्छ। पाएको सूचना कहाँ/कसरी पुर्‍याउने, कस्तो प्रक्रिया अपनाउने जस्ता विविध विषयप्रतिको सचेतनाले विकृति हटाउन थप सहयोग मिल्छ।

मुख्य कुरा भनेको विद्यालयको भौतिक संरचना खासै राम्रो नभए पनि, त्यो विस्तारै बनाउन सकिन्छ तर विद्यालयभित्रको शिक्षण संस्कृति र वातावरणप्रति बेवास्ता गर्ने हो भने त्यसले अनेक समस्या उब्जाउने निश्चित हुन्छ। जस्तो कि शिक्षकको आचरण, व्यवहार र विद्यार्थीसँग बोल्ने तरिका र शब्द चयन इत्यादि पनि महत्वपूर्ण हुन्छ विद्यालयभित्रको स्वस्थ वातावरण निर्माणका लागि। पछिल्ला कतिपय समाचार जहाँ लैंगिक दुव्र्यवहार जस्ता विषयमा मिलापत्र गर्न खोज्ने, विभिन्न स्वरूपले प्रभावित गर्न खोज्ने अनेक उदाहरण देखिनुका साथै आफ्नै विद्यालयका शिक्षकबाट यौन दुव्र्यवहार भोग्ने गरेका अनेक घटना बढ्दो छ। यसले गर्दा लैंगिक संवेदनशीलता बढाउनेप्रति हरेक विद्यालय परिवार सचेत हुनुको विकल्प छैन।

(समाजशास्त्री)

प्रकाशित: १५ चैत्र २०७८ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App