१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

यस्तै छ आजको नेपाल !

मेरा एक जना मित्र छन् – विद्वान् मित्र। कुनै व्यक्ति विद्वान् कहलिन उसको प्राज्ञिक प्रमाणपत्र नै काफी हुने भने उनलाई देशकै ठूलो विद्वान् मान्न सकिन्छ । अझ उनलाई बोल्न दिने हो भने कुनै पनि विषयमा एकाध घन्टा सजिलै बोल्छन्। देश किन बिग्रियो र कसरी बनाउने भन्ने नजानेको केही छैन। उनको 'पीएचडी' र 'पोस्ट डक्टरेट' पनि विदेशमै भयो । केही समय विदेशमा नै बसेर काम पनि गरे। अहिले नेपाल फर्केका छन्।

 

विसं २०४६ सालको राजनीतिमा निकै योगदान गरेका र जेल पनि बसेका विद्यार्थी कार्यकर्ता भएकाले स्वदेश आउनेबित्तिकै कुनै न कुनै राजनीतिक पदको वरमाला पहिर्‍याइ देलान् भन्ने उनले ठानेका थिए । ठूला नेता पनि चिनेका र नेताको झोला बोकेर पनि हिँडेका । यस्ता व्यक्तिले आफ्नै दलको सरकार आएका बखत पद नपाउनुपर्ने कुनै कारणै थिएन । तर उनले पद पाएका छैनन् र सम्भवतः उनले कुनै अचुक जुक्ति लगाउन सकेनन् भने पदै नपाई पुनः विदेश पलायन हुनेछन् । यतै बसे भने धेरै पढेर बौलाएको पगरी भिर्नुपर्ने अवस्थामा पुग्नेछन् । त्यसमा शंका छैन । किनभने उनले अहिलेको नेपाल बुझ्न सकेका छैनन्। उनलाई नेपालका नेताहरू सही र गलत छुट्याउनसक्ने र देश हितका लागि सही तत्वको सहयोग लिने मानसिकतामा छन् भन्ने भ्रम छ।

विसं २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएपश्चात पञ्चायतले गरेको गल्तीबाट नेपाल उम्कन नसक्नुको प्रमुख कारण पञ्चायतको नातावाद यता आएर नेतावादमा परिणत हुनु नै थियो । आफ्ना दलका नेता तथा कार्यकर्ताको आर्थिक अवस्था सुधार्ने एक सूत्रीय अभियानले नै देशलाई थला पारेको थियो । तत्कालीन शासन प्रणालीविरुद्ध जनतामा वितृष्णा जगाएको थियो । नेपाली कांग्रेसले को आफ्नो कार्यकर्ता हो र को होइन भन्नेमात्र हेर्‍यो । राजनीतिक नियुक्तिका लागि अरू कुनै आधार र योग्यता तय हुनु ठीक लागेन । जुन व्यक्ति बढी जेल बसेको थियो, आन्दोलनमा जस्ले ढुंगा हानेको थियो उसले उत्तिनै बढी प्राथमिकता पायो राज्यको महत्वपूर्ण पदमा । पदमा बसेका व्यक्तिले देश हितका काम गर्‍यो वा गर्न चाह्यो कि चाहेन भन्ने मापदण्ड बनेन । कांग्रेसमात्र होइन नेकपा (एमाले) पनि यही लाईनमा थियो । जनआन्दोलनलगत्तै एमालेका केही वर्ष त ढुंगा हान्न, सडकको रेलिङ भाँच्न र टेलिफोन क्याबिनेट जलाउनमै बिते । तर जब ऊ चुनावमा नेपाली कांग्रेसलाई पछारेर सत्तामा आयो उसले विकृति र नेतावादमा पनि कांग्रेसलाई उछिन्ने काममात्र गर्‍यो । गैरसरकारी संस्थालाई राजनीतिक भर्‍याङ बनाएर पदमा पुगेपछि यिनले आफ्ना नेता र कार्यकर्ता सिवाय जनताको अनुहारै देखेनन् । तिननका दृष्टिमा जो एमाले थिएन त्यो कांग्रेस वा पंच थियो । स्वतन्त्र जनता कोही थिएन । यस्तो विकृति र विडम्बनाबीच उच्च शिक्षाका लागि नेपाल छाडेका मेरो मित्रलाई लागेको हुँदो हो नेतावाद अझै पनि नेपालमा जीवितै छ । उनी त अझ शिक्षित र सक्षम भएकाले उनले कुनै पद पाउँदा नेतावाद भन्ने आरोप पनि नलाग्ने सोच उनको थियो । तर अफसोच, त्यस्तो भएन । उनले बुझेका छन् वा छैनन् तर नेपाल बदलिईसकेको छ ।

के नेपाल फेरि पंचायतको झै नातावादमा फर्केको हो ? के नेपाली नेता पनि पंचायतका नेता झै साली, भान्जा, भेनामै अल्झेका हुन् त ? होइन । अहिलेको नेपाल र सत्ताधारी राजनीतिक दल त्यसभन्दा धेरै अगाडि पुगिसकेका छन् । अहिलेको नेपालमा नातावाद, कृपावाद र नेतावाद केही चल्दैन । यो एक्काइसौं शताब्दीको नेपाल हो । यहाँ त पैसावादमात्र चल्छ । कुनैपनि राजनीतिक पदमा नियुक्ति चाहिएको छ भने अब नाता र नेता खोज्नुको कुनै अर्थ छैन । अब राजनीतिक दलले पनि कुनै पनि व्यक्तिलाई कसको पक्षको भनेर सबैतिरबाट ठोकठाक गरेर हेर्दैन । हिजो कोइराला परिवारको अनन्य मित्र भएको व्यक्ति भोलिपल्ट माओवादीको सिफारिसमा नियुक्ति पाउँछ । माओवादीलाई प्रशस्त आर्थिक सहयोग गरेको व्यक्ति तुरुन्तै नेपाली कांग्रेसको उमेदवार बन्छ । त्यस्तो किन हुन्छ भने पैसा खर्च गर्ने व्यक्तिले दल र विचार हेर्दैन । कुन दलको नेतासम्म पुग्न उसले सबैभन्दा छोटो दूरी पहिल्याउँछ उ त्यही नेतामा पुग्छ मोटो ब्रिफकेस बोकेर । कसलाई समात्यो भने दलालका लागि थोरै खर्च हुन्छ र नेताले सजिलै पत्याउँछन् भन्ने आर्थिक तर्कले यहाँ काम गर्छ । आफू कुन राजनीतिक आस्थाको हुँ र कसले मलाई नियुक्ति दिनु पर्छ भनेर अडान राख्ने व्यक्ति सदाबहार आशामुखीमात्र बन्छ ।

अब कुरो गरौँ, अर्का एकजना सज्जनको । उनी केही वर्षदेखि कुनै राजनीतिक नियुक्ति पाइन्छ कि भनेर नेपालमा दौडधुप गरिरहेका छन् । विदेशी नियोगमा ठूलै पद धारण गरेका ती व्यक्तिलाई नेपालको सेवामा अलि बढी नै जोस भएका कारण हजारौं डलरको जागिर दुई चार वर्ष खाने समय हुँदाहुँदै पनि पेन्सनमै चित्त बुझाउँदै काठमाडांै उत्रे । उनलाई लागेको थियो आफू जति अनुभव, अध्ययन र विदेशी सम्पर्क भएको व्यक्तिलाई सबै राजनीतिक दलले तानातान गरेर आफ्नो बनाउन खोज्नेछन् । उनले रोजीछाडी पद पाउनेछन् र आफूले जानेको, सिकेको र चिनेको सम्पूर्ण शक्तिले केही वर्ष देश सेवाको जस कमाउनेछन् । तर दुर्भाग्य, उनले पनि अहिलेसम्म कुनै पद पाएका छैनन् । पहिले त आफूजस्तो सक्षम व्यक्तिलाई मन्त्री पद नै देलान् भन्ने ठानेका थिए, बरु राज्य वा सहायक मन्त्री खाने कि नखाने भन्ने दोधार थियो । बिस्तारै मन्त्री त हैन योजना आयोग, अनि के आयोग, अनि कुन देशको राजदूत अनि अन्त्यमा जहाँको भए पनि राजदूत त्यो पनि नभए अन्त्यमा कतै न कतैको सल्लाहकार । तर कतै केही भएन । किन भएन उनलाई थाहा छैन ।

सुरुमा उल्लेख गरिएका मित्रले पैसावादको कुरो बुझेकै छैनन् । झर्रो राजनीतिक कार्यकर्ता न परे । तर यी सज्जनले त पैसाको कुरा बुझेका छन् र केही सहयोग दिन पनि सक्छन् तर पनि यिनको कतै नियुक्ति भएको छैन । सायद मोलतोल चल्दै होला । तर यिनले नबुझेको के हो भने उनले दिनसक्ने आफूले पाएको तलबको ठूलो अंश हो तर चाहिएको चाहिँ सम्पुर्ण तलबभन्दा अझै धेरै बढी हो । लिनेलाई दिने अरू पनि भएकाले तिनले कुरा खोल्दैनन् । दिन तयारी गरेका सज्जन गुह्य बुझ्दैनन् । हरेक नियुक्तिको घोषणा पश्चात एकपल्ट घोत्लिन्छन् उनको नियुक्ति किन भएन भनेर । अनि फेरि अर्को नियुक्तिका पछि दौडन्छन् ठूलो आशा लिएर ।

यो अहिलेको नेपाल हो । यहाँ राजनीतिक सिद्धान्त, नैतिकता, इमानदारी भाषणमा सीमित छ व्यवहारमा त पैसामात्र चल्छ । पैसाले बोल्छ, पैसैले सिफारिस गर्छ, पैसाले लेख्छ, पैसैले तोक लगाउँछ र नियुक्ति दिन्छ । नियुक्ति भएको केही दिनमै अर्को पैसाले उसलाई पदबाट खसाल्ने खेल सुरु गर्छ । पैसा भएको व्यक्ति छ भने माओवादीले प्रस्ताव गर्छ, एमालेले समर्थन गर्छ र कांग्रेसले नियुक्त गर्छ । पैसा नभएको व्यक्ति हो भने कुनै पनि दलले नियुक्त गर्ने संभावना न्यून हुन्छ । तर पख्नुस् । सबै नियुक्ति पैसाले मात्र हुने चाहिँ होइन । कहीँ कतै आफ्नो विश्वास पात्र व्यक्ति स्थापित गर्नैपर्ने अवस्था आउँदा त्यस्तो बेलामा पैसा हेरिँदैन । एक दुई नियुक्तिमा कार्यकारी प्रमुखले अडान नछाडेकाले पैसाको खेल भएन भन्ने सुनिन्छ तर वास्तविकता के हो भने नब्बे प्रतिशत नियुक्ति पैसाकै बलमा हुन्छ । तपाईंलाई पनि नियुक्ति चाहिएको हो भने समयमै विचार पु¥याउनुस् । पदको मोल कति पुगेको छ बुझ्नुस् । अनि त्यहीअनुसार भविष्यमा कति भ्रष्टाचार गरेर लगानीभन्दा कति बढी उठाउन सकिन्छ गणना गर्नुस् । त्यसपछि, लाग्नुस् नियुक्ति दिने व्यक्तिको मनले खाने व्यक्तिको शरणमा ।

भनिन्छ नि, आवश्यकता नै सम्पूर्ण आविष्कारकी जननी हुन् । नेपालले अरू कुरो आविष्कार गर्न नसकेपनि यहाँ अनेकाँै यस्ता नेपाली छन् जो यस्तो नक्कली काम, चोरी, छली, तस्करी, लुट आदिमा नयाँ नयाँ विधि र उपाय निकाल्न खप्पिस छन् । एक जना भरपर्दा व्यापारी मित्रका अनुसार पुराना र बहालवाला कर्मचारी, प्रहरी अधिकृत, पत्रकार, वकिलजस्ता समाजका खलिखाँटहरूको एउटा सेवा समूह बनेको छ – सर्भिस सेन्टर । तपाईंको समस्या के हो ? करले समात्यो कि ? भन्सारमा गाह्रो प¥यो कि ? तस्करीको मुद्दा हो कि ? पुलिस लगाएर कसैलाई समाउनु प¥यो वा बदमासलाई छुटाउनु प¥यो कि ? कुनै नियुक्ति चाहियो कि वा कसैलाई भएको पदबाट हटाउनु प¥यो ? सबै समस्याको निदान यो समूहसँग छ । समस्या भन्नुस्, तिनले त्यसको मूल्य भन्नेछन् । कुरो मिलेपछि तपाईं घरै बस्नुस् । तपार्इँको काम सबै मिल्नेछ । किनभने त्यस समूहलाई थाहा छ को कतिमा बिक्छ र उसलाई किन्न कुन उपाय प्रयोग गर्नुपछ ? कोही आफँै लिन्छन् । कसैकी गृहलक्षी सहयोगी हुन्छिन् । कसैको भाइ त कसैको छोरा भरपर्दा हुन्छन् । कोही वरिष्ठ वकिलमार्फत काम गर्छन् भने कोही पत्रकारमार्फत् । अलि अप्ठेरो कर्मचारी, प्रहरी वा न्यायाधीश छ भने उस्की नयाँ पुराना 'गर्लफ्रेन्ड'सम्म पत्ता लगाएर ब्ल्याकमेल गर्नसम्म पनि तम्सन्छ यो समूह ।

मैले सुरुमै उल्लेख गरेका मित्र र पछि उल्लेख गरेको सज्जनलाई अब यस्तै समूहको सहारा नलिई उपाय छैन भन्ने सुझावबाहेक अहिलेको नेपालमा अरू केही मद्दत गर्न सकिन्न । देशलाई तिनको ज्ञान, विवेक, अनुभव चाहिएको छैन । देशको कसलाई मतलब छ ? देश त अरू बेला वास्ता नगरे नि आमाको मुख हेर्ने एकदिन फेसबुकमा आमाको मुख हेर्ने दिनको शुभ कामना लेखेजस्तै न भएको छ । लोकतन्त्र, गणतन्त्र र सहिद दिवसको दिनको भाषणमा देशप्रेम छँदैछ । अन्त किन चाहियो ?

प्रकाशित: ५ वैशाख २०७२ २१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App