अचेल बेलाइत चर्चामा छ
सन्दर्भ दुइटा छन्। पहिलो सन्दर्भकी स्रोत स्वयं महारानी एलिजाबेथ द्वितीया हुन् भने दोस्रो चर्चित विषयका कारक भएका छन् बहालवाला प्रधानमन्त्री बोरिस जोन्सन। महारानीलाई स्थायित्वकी प्रतीकको रूपमा उल्लेख गरिंदैछ भने विवादास्पद कार्यशैलीका कारण प्रधानमन्त्री चाहिँ अस्थिरताका परिचायक हुन पुगेका छन्।
पहिलो विषय कोट्याउँदा २००८ माघको अन्त्यतिर फर्किनु पर्ने हुन्छ। नेपालमा राजा त्रिभुवन सम्भवतः सात साल फागुनमा प्रजातन्त्र घोषणा भएपछिको संक्रमणकाल व्यवस्थापनमा व्यस्त थिए। त्यसैताका लण्डनबाट विश्वभर खबर प्रवाहित भयोः ६ फेब्रुअरी १९५२ का दिन संयुक्त अधिराज्य (बेलाइत) का राजा जर्ज छैटौंको देहावसान भयो।
उत्तराधिकारी तोकिएकी राजकुमारी एलिजाबेथ पति फिलिपका साथ केन्याको भ्रमणमा थिइन्। भ्रमण छोट्याएर लण्डन पुगिन्। २५ वर्षीय राजकुमारी बेलाइतको राजगद्दीमा चढिन्। महारानी भइन्। अहिले तिनै महारानीको उमेर ९५ वर्ष भयो; गतवर्ष उनी पतिवियोगमा परिन्। कोरोना प्रकोपको परोक्ष असर उनको निजी जीवनमा समेत पर्यो।
महारानीको राज्यारोहण १९५२ मा भयो भने राज्याभिषेकचाहिं सन् १९५३ को जून महिनाको प्रारम्भमा भएको थियो। सगरमाथा (एभरेष्ट) को पहिलो आरोहणको समाचार राज्याभिषेकको लागि कोसेली बनेर लण्डन पुगेको थियो।
बेलाइती पर्वतारोहण दलका सदस्य न्यूजील्याण्डका एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पा चुचुरोमा पुगेको सूचनाले बेलाइतीहरू निकै खुसी भएका थिए। आज पनि न्यूजील्याण्ड, अष्ट्रेलिया र क्यानडा समेत १४ अन्य देशले यिनै महारानीलाई आफ्ना राष्ट्राध्यक्ष मान्दछन्। महारानी ५० भन्दा बढी सदस्य–राष्ट्र भएको राष्ट्रमण्डल (कमनवेल्थ) की पनि अध्यक्ष हुन्। भारत, पाकिस्तान र बङ्गलादेश यसै समूहमा पर्छन्।
निकट विगतका प्रसङ्ग
महारानी एलिजाबेथ द्वितीयाले पहिले राजा महेन्द्रको राज्यकालमा र पछि राजा वीरेन्द्रको राज्यकालमा गरी दुई पटक नेपालको भ्रमण गरेकी छिन्। राजा महेन्द्र र राजा वीरेन्द्र पनि बेलाइतमा राजकीय पाहुना भएका छन्। औपचारिक भ्रमणका सिलसिला नपरे तापनि ब्रिटिश महारानी राजा त्रिभुवन र राजा ज्ञानेन्द्रसँग पनि परिचित थिइन्। राजसंस्था भएका देशका प्रमुखहरू त्यसै पनि निकटस्थ रहने भए।
महारानी एलिजाबेथको राज्यकाल जीवन्त इतिहास हो। बितेका ७० वर्षको कालखण्डमा बेलाइतमा र बाँकी विश्वमा अभूतपूर्व परिवर्तनहरू भएका छन्। गए साता एसोसिएटेड प्रेस (एपी) वितरण गरेको महारानीसम्बन्धी आलेखमा लेखेको छ– राज्यारोहण हुँदा उनलाई संसारभर फैलिएको ब्रिटिश साम्राज्यकै महारानीको सम्मान र आदर प्राप्त थियो; राजपरिवारको स्थान त्यसै पनि विशिष्ट मानिन्थ्यो।
अनि टेलिभिजन नौलो प्रविधि थियो। सन् १९५३ को राज्याभिषेक समारोह शायद टेलिभिजनको पहिलो प्रत्यक्ष प्रसारण हुन गयो। बेलाइतका बासिन्दा लण्डनका सडक–गौंडा–दोबाटामा उभिएर महारानीप्रति आदरभाव प्रकट गरेको दृश्यको चर्चा मैले (स्व.) यदुनाथ खनालबाट सुनेको छु। खनाल त्यस बेला शिक्षा विषयको कुनै तालीमको सिलसिलामा बेलाइत बस्नुभएको रहेछ।
यथार्थमा, सूर्यास्त नहुने भनिएको ब्रिटिश साम्राज्य खुम्चिने प्रक्रिया सन् १९४५ मा दोस्रो विश्वयुद्धपछि तीव्र भएको देखिन्छ। एलिजाबेथ महारानी भएपछि त स्वतन्त्र हुने देशहरूको संख्या झन् बढ्दै गयो। उपनिवेशबाट स्वाधीन हुने कतिपय घटनाहरूमा महारानी साक्षी/प्रत्यक्षदर्शी नै रहिन्। सन् १९५७ मा घाना स्वतन्त्र भयो। सन् १९७० दशकको अन्त्यसम्ममा अफ्रिका र क्यारिबियन क्षेत्रका धेरै उपनिवेश स्वतन्त्र देश बने।
सन् १९९७ मा हङकङ चीनलाई फिर्ता गरेको घटनालाई ब्रिटिश साम्राज्यको आखिरी अध्याय नै मान्ने चलन छ। महारानीको जीवनकालमा भएका यी र यस्ता अनेक परिवर्तनका सिलसिला आजको पुस्तालाई भने सुदूर विगतको झलक दिने इतिहासका कथाजस्तो मात्र लाग्न सक्छ। तर खासमा यो निकट विगत हो, अझ भनौँ, जिउँदो वर्तमान हो। किनभने बेलाइत आज पनि तिनै महारानीको संरक्षकत्वमा छ।
जङ्गबहादुर बेलाइत जाँदा त्यहाँकी महारानी थिइन् भिक्टोरिया। उनको राज्यकाल ६४ वर्ष रह्यो। फ्रान्सका लुई १४ औं ७२ वर्ष (सन् १६४३–१७१५) शासक रहे। अहिलेकी महारानीको ‘प्ल्याटिनम’ जयन्ती मनाउने तयारी चल्दैछ; आउँदो जून महिनामा वर्षभर रहने कार्यक्रमको थालनी हुँदैछ।
यसबीच, विगत सात दशकमा ब्रिटिश राजपरिवारले बेहोरेका पारिवारिक र अन्य चुनौतीले राजसंस्थालाई समयानुकूल हुन बाध्य तुल्याएको छ भन्ने टिप्पणीकार देखापरेका छन्। सन् १९९७ मा युवराज चाल्र्सकी पत्नी (युवराज्ञी) डायनाको मृत्यु हुँदा सम्पूर्ण घटनाप्रति महारानी उदासीन रहेको भनेर उनको चर्को आलोचना भएको थियो।
नभन्दै डायनाप्रतिको जनसमर्थनलाई महारानीले धेरै समय बेवास्ता गर्न सकिनन्। तर राजसंस्थालाई विवादमुक्त राख्न महारानीले बेला–बखत कडा पारिवारिक अनुशासन पनि कायम गराउने गरेकी छिन्। यस्तो मत राख्नेहरू बेलाइतभित्र र बाहिर दुबैतिरका प्रेसमा छन्। अनुचित यौन सम्बन्धको मामिलामा अमेरिकामा मुद्दा खेपिरहेका छोरा एण्ड्रुलाई महारानीबाट राजकीय पदवीहरूबाट अलग गरिएको र नाति ह्यारीलाई राजपरिवारबाट बाहिर राखिएको घटनालाई जनचासो सम्बोधन क्रमको महारानीको प्रयास हो भन्ने सार्वजनिक मूल्याङ्कन छ।
सन् २०२१ को अप्रिल ९ का दिन महारानीको ७३ वर्षीय दाम्पत्यजीवनको अन्त्य भयो। तर राजकुमार फिलिपको अन्त्येष्टि समेत कोभिड–१९ का कारण राम्रोसित हुन पाएन। हालैका महिनामा महारानीको स्वास्थ्य पनि पटक–पटक चिन्ताको विषय हुन थालेको छ। स्वास्थकै कारण चार महिनाअघि ग्लास्गो, स्कटल्याण्डको जलवायु सम्मेलनमा महारानीको उपस्थिति हुन सकेन; भीडीओ सन्देशबाटै सम्मेलनलाई सम्बोधन भयो।
आधुनिकताको अपेक्षा
बेलाइतका राजा वा महारानीलाई जनसाधारणको बीचमा जान वा घुलमिल हुन नदिने सयकडौं वर्षदेखिको शाही प्रचलनलाई महारानी एलिजाबेथले सन् १९७० मा अष्ट्रेलियाको भ्रमणको समयमा तोडेको अभिलेखले बताउँछन। र, बदलिंदो जनरुचि ‘आधुनिक राजसंस्था’ तर्फ उन्मुख भएको लेखाजोखा महारानीबाटै हुँदै आएको छ; महारानी आफैंले आफ्ना सार्वजनिक गतिविधि सहज र पारदर्शी बनाउँदै लगेको देखिन्छ।
प्रजातान्त्रिक परिपाटीको सन्दर्भमा अगुवा मानिने देशका राष्ट्राध्यक्षले अनुशरण गर्ने प्रचलन र परम्परा अरूहरूका लागि पनि अनुकरणीय स्तरको हुने अपेक्षा स्वाभाविक हुन्छ। राजसंस्थाको आधुनिकीकरण गर्ने महारानीका अभ्यास र प्रयास सही दिशामा रहेको सङ्केत हालैको एक जनमत सर्वेक्षणले दिएको छ। तीन महिनाअघि ‘युगोभ पोल’ नामक संस्थाले गरेको सर्वेक्षण अनुसार, बेलाइतकी महारानी विश्वमै ‘सर्वाधिक प्रशंसित’ तेस्री महिला हुन् (पहिलो मिसेल ओबामा र दोस्रो अमेरिकी चलचित्र कलाकार एञ्जेलिना जोली)।
बेलाइतको शासन–व्यवस्थामा निर्वाचित प्रधानमन्त्रीले परम्परागत शक्तिको रूपमा रहेको राजसंस्थाको सर–सल्लाह र सुझाउमा आफ्ना कामहरू सम्पादन गर्दैआएको देखिन्छ। र, यस मान्यताले संस्थागत रूप लिएको सयकडौं वर्ष भैसक्यो। यति मात्र होइन, महारानीको संरक्षकत्व पाएका अन्य १४ देशले पनि एक उल्लेखनीय स्तरको स्थायित्व हासिल गरेका छन्। यो चान्चुने उपलब्धि होइन।
अहिलेका बेलाइती प्रधानमन्त्री बोरिस जोन्सन अपवाद हुन् जसले अन्यत्र निषेधाज्ञा (लक्डाउन) लगाएर आफ्नो निवासमा भने भोज–भतेरका कार्यक्रम गरेछन्। त्यसको चर्चा अहिले आएर बाक्लो भएको छ र उनको आफ्नै पार्टीका नेताहरू समेत जोन्सनको राजीनामा माग गर्दैछन्। राजनीतिक अस्थिरता चर्किने जोखिम बढ्दो छ। तैपनि ट्रम्पको कार्यकालमा अमेरिकामा देखिएको तहको अराजकता बेलाइतमा हुने सम्भावना छैन। किनभने राज्य–सञ्चालन प्रक्रियामा महारानीको उपस्थिति रहने परिपाटीले देशवासीलाई आश्वस्त राख्दैआएको छ।
यसअघि देखिसकिएको छ, अमेरिकामा निर्वाचित राष्ट्रपति नै सर्वेसर्वा हुने पद्धतिले गर्दा त्यहाँको जनताले चारवर्ष डोनाल्ड ट्रम्पजस्ता निरंकुश,स्वेच्छाचारी शासक बेहोर्नु प¥यो; अमेरिकीहरू आज पनि त्यस बखतका घटनाको सामना गर्दैछन्। समाज विखण्डन र विभाजनका रेखाहरूको भुमरीमा परेको छ। छालाको रङ गोरो हुनेले अरूलाई पेल्ने, लखेट्ने गरिरहेका छन्। र, ट्रम्पको उक्साहटमा यस्तो अराजक बाटो समातेको अमेरिकालाई नै आज पनि संसारकै उम्दा प्रजातन्त्र मानिदिनु पर्ने बाँकी विश्वको बाध्यता छ। यसलाई विडम्बना नभने के भन्ने त?
@dhurbari
प्रकाशित: २४ माघ २०७८ ०३:१७ सोमबार