गान्धीको जीवनशैली र वाणी वर्तमान विश्वजगत्मा उक्ति र कथन बनेका छन्। उनले भनेका छन्, ‘प्रत्येक मनुष्यले आफ्नो जीवनको भूलको नतिजा भोग्नुपर्छ। मलाई जुन दुःख भोग्नुपरेको छ, त्यो पनि मेरो कुनै न कुनै भूलको परिणाम हो। उनको भनाई कुनै पूर्वाग्रहबिना मनन् गर्ने हो भने वर्तमान आधुनिक समाज हिंसाको सिकार हुनुपर्ने थिएन। आज मानिस आधुनिक छ, सभ्यता र मानवताका लागि कुनै न कुनै बादको घोडामा सवार छ। त्यही बादको सहारामा अरूलाई सिकाउन अग्रसर छ। तर आफूभित्रका दुर्गुण विसर्जन गर्न सकिरहेको छैन। गान्धी त्यस्ता व्यक्ती हुन्, जसले सबैभन्दा पहिला स्वयं आफ्नो आत्मालाई शुद्ध गरेरमात्र अरूलाई अनुकरण गर्न प्रेरित गरे। विरोधीप्रति जाइलाग्ने रणनीति होस् वा सहानभूति प्रकट गर्ने उदारता। तत्कालीन समयमा कसैसँग नझुकेको ब्रिटिस साम्राज्यलाई नैतिक शक्ति (आत्मबल )ले उनले झुकाए।
गान्धी २१ वर्ष दक्षिण अफ्रिका बसाईपछि सन् १९१५ मा भारत फर्किएका थिए। ब्रिटिस शासन रहेको आफ्नो देशमा स्वतन्त्र भारतको सपना लिएर। भारत फर्किएपछि उनले दक्षिण अफ्रिकामा जस्तै सामूहिक जीवन शैली (आश्रमको बसाई ) अपनाए। गृहराज्य गुजरातको अहमदाबादस्थित सावरमती नदी तटमा आफ्नो पहिलो (कोचरव र सावरमति) आश्रम बनाए। त्यहीँबाट नै उनले स्वतन्त्र भारतका लागि गतिविधि सञ्चालन गरिरहे। भारतमा सन् १८८५ मा स्थापना भएको भारतीय राष्ट्रिय कांग्रेसले पनि उनलाई नेता मान्यो। उनले स्वतन्त्रताका लागि सिंगो आन्दोलनको नेतृत्व गरिरहे। आन्दोलनको रथ हाँकिरहदा पनि समाजिक विभेद र उत्पीडनको सन्दर्भलाई पहिचान गरेर आन्दोलनसँगै समाजको द्वन्द्वलाई ऊर्जामा रूपान्तरण गर्नतिर ध्यान दिए।
त्यसक्रममा उनले चलाउने चर्खा स्वतन्त्रता आन्दोलनको प्रतीक बन्यो। पत्रकारितालाई उनले आन्दोलनको बिगुल बनाए। तत्कालीन समयमा पराधीन भारतलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर उपाय खोज्नथाले। भारतमा आयात हुने वस्तुको पहिचान गरेर आन्दोलन चलाए। आयात हुने वस्तुमा कपडा र नून ठूलो परिमाणमा थियो। त्यसलाई विस्थापन गर्न उपाय खोजी गरे। सुरुवात आफैबाट गर्नुपर्छ भनेर आधा मिटर सुतीको धोती धारण गरे। जीवन त्यसरी नै गुजारे। त्यसैले गान्धीलाई ‘सादा जीवन, उच्च विचार' का धनी व्यक्तिका रूपमा दुनियाँले स्मरण गर्छ। नूनको उत्पादन भारतीय समुद्रबाट गर्न पाउनुपर्छ भनेर सन् १९३० मा दान्डी (नमक सत्याग्रह) गरे।
गाउँगाउँमा चर्खा प्रचारक संघ स्थापना गरे। चर्खाबाट सर्वसाधरणलाई काम, माम र न्यायको अनुभूति गराए। उनले चलाएको अभियानलाई भारतबासीले साथ दिए। अन्ततः चर्खाले जनतामा विश्वास जित्यो। त्यसले गर्दा खादी वस्त्र धारण यति प्रसिद्ध भयो कि यसले बेलायतबाट आउने कपडा आयात विस्थापन गरिदियो। सन् १९३० को ‘नमक सत्याग्रह' पछि सन् १९३१ मा गोलमेच सम्मेलनका लागि बेलायत पुगेका गान्धीसँग त्यहाँका कपडा मिलका श्रमिकले तिमीले गर्दा हाम्रो रोजीरोटी नै बन्द भयो भनेर गुनासोसमेत गरेका थिए।
उनले स्वतन्त्रताको आन्दोलन गरिरहँदा छुवाछुतविरुद्ध पनि अभियान चलाए। सन् १९२७ अक्टुबर १० मा दक्षिण भारतको त्रिबेन्द्रमा बोल्दै ‘हाम्रो आफ्नो जडताका लागि सरकारलाई दोष दिनु गलत हुनेछ। छुवाछुत कायम रहनु हाम्रो संस्कृतिको उपज हो। त्यसैले यसबारेमा सरकारलाई दोष दिनु उचित हुँदैन' भने। ‘परन्तु प्रत्येक जाति र देशमा सुधारकको संख्या औलामा गन्न लायक हुन्छ। मलाई यो पनि थाहा छ कि सबै सुधार एकैपटक गर्न सकिँदैन। सुधार गर्दा आफ्नै वरिपरिको परिवेश चुनौती बन्नेगर्छ। तर त्यतिबेला सुधारक स्वयं निष्ठावान रहेको खण्डमा मात्र अभियानले गति लिन्छ। दुनियाँमा सुधार वा परिवर्तन दुई किसिमले हुनेगर्छ। हिंसा र अहिंसाको मार्गबाट। हिंसामा विश्वास गर्नेले जंगली किसिमबाट आन्दोलन गर्छन्। एकैपटकमा आफूले चाहेको परिवर्तनमात्र स्वीकार गर्छन्। आमनागरिकको शान्तिपूर्ण जीवनशैलीमा समेत खलबल मच्चाउँछन्। हिंसाबाट नै सरकारलाई हैरान गर्छन्। तर अहिंसावादीले त्यही सुधार र परिवर्तनका लागि नम्र र शिष्टतापूर्ण तरिकाले सबैभन्दा पहिला जागरण अभियान चलाउँछन्। आफैले दुःख सहन गरेर आफ्ना मागको सम्बोधन गर्न बाध्य तुल्याउँछन्। यसमा सुधारक वा अभियानकर्ताको अनुशासन र संयमताको आवश्यक रहन्छ ,' उनले भनेका थिए।
उनले बिहानसाँझको नित्य प्रार्थनामा सबै धर्मलाई पुकार्थे। ‘सर्व धर्मे समानत्व' उनको उपदेश हो। उनको जीवनमा ‘ग' अक्षर प्रेरणाको स्रोत बन्यो। गीता, गरिबी र गुलामी। त्यसमध्ये हिन्दु ग्रन्थ ‘गीता' प्रेरणाको स्रोतको शिखर बन्यो। गीतामा हिंसाको वर्णन छ, तर सत्यको पक्षपोषण गरिएको छ। उनले सत्यलाई त्यहीँबाट चुमेका हुन्। गीताको भावअनुसार नै गान्धी सत्मार्गी हुन रुचाए। सन् १९४७ जनवरीमा बंगाल प्रान्तको नोआखलीमा उनी सद्भाव कायम गर्न आफै गएका थिए। १९४७ जनवरी ३० मा त्यहाँ पुगेका बेला गान्धी सख्त बिरामी भएर थलिए। हिन्दु र मुस्लिम समुदायबीचको दंगाले उग्र रूप लिएपछि सरकारले पनि नियन्त्रण गर्न नसक्दा उनी आफ्ना केही सेवकसहित त्यहाँ पुगेका थिए। बिरामी हुँदाका बखत पनि उनले रामनामप्रति आगाध विश्वास प्रकट गर्दै भनेका थिए, ‘संसारमा यदि कुनै अचुक औषधि छ भने मेरा लागि रामनाम नै हो। रामनाम जप्ने अधिकार प्राप्त गर्न नियमको पालना गर्नुपर्छ। त्यसका लागि सबै योग्य रहुन्। तर त्यो रामवाण औषधि अपनाउनसक्ने योग्यता हामीसँग कहाँ छ र...?'
जीवनका अन्तिम समयमा सँगै रहेका सेविकामध्ये एक (नातिनी समेत) मनुवहन गान्धीले भनेकी छन्, ‘रामनामप्रति बापुको सधैँ अगाध श्रद्धा रह्यो।' हत्याका बखत पनि सँगै रहेकी उनले बापुले अन्तिम समयमा राम, रा...म मात्र उच्चारण गरेको आफूले सुनेको बताएकी छन्। जीवनभर अहिंसाको मार्ग अपनाएका गान्धीको इहलीला हिंसाबाट समाप्त भयो। गान्धी आजको दुनियाँमा भौतिक रूपमा नरहे पनि उनको जीवन दर्शन र आत्मिक शक्ति विश्वले अनुभव गरिरहेको छ। केही दिन अघिमात्र भारत भ्रमण गरेका अमेरिकाका राष्ट्रपति बाराक ओबामाले समेत उनको समाधिस्थलमा पुगेर पुष्पगुच्छा चढाए। अहिंसा, सत्य, प्रेम र करुणाका प्रवर्त्तक गान्धीले मृत्युवरण गरेको ३० जनवरीका दिन ६७ वर्ष पूरा भएको छ। संयोगले आज नेपालमा पनि सहिद सप्ताहको अन्तिम दिन परेको छ। अहिंसाका स्रोत गान्धीसँगै नेपाली समाजलाई अधिनायकवादबाट मुक्ति दिलाउन जीवन आहूति गर्ने सहिदप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु।
अहिंसा र गान्धी विचारका अध्येता
प्रकाशित: १७ माघ २०७१ २२:४१ शनिबार