८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

परिवर्तनको अर्थ

राजा महेन्द्र हल्यान्ड (नेदरल्यान्ड्स) भ्रमणमा रहेका बेला त्यहाँ एउटा ऐतिहासिक घटना भयो। १९६७ को अप्रिल २७ साँझ रात्रिभोज चलिरहेको बेला त्यहाँका एकजना विशिष्ट व्यक्तिले व्याङ्कट हलमा उद्घोष गरे–“डच राजपरिवारमा अहिले भर्खरै राजकुमारी बेट्रिक्सबाट युवराज पैदा भएको खबर छ। एकसय चालीस वर्षपछि दरवारमा बालक पैदा भएको सुखद समाचार सुनाउन पाउँदा हामी हर्षित छौं।” ती बालक थिए–विलियम अलेक्जन्डर।

चारदिने राजकीय भ्रमणमा राजासँगै गएका साहित्यकार भीमनिधि तिवारीलाई महेन्द्रबाट संकेत गर्नेबित्तिकै अर्को कोठामा गएर तिवारीले कविता लेखे। डच भाषा जान्नेले तुरुन्त अनुवाद गरे। नेपाली र डच भाषामा हलमा कविता गुञ्जियो। ‘कविता कूटनीति’ नवीन प्रयोग थियो। भोलिपल्ट पत्रपत्रिकाले लेखे– “नेपालका राजा महेन्द्रले हाम्रो राष्ट्रमा पाइला टेक्दा चमत्कार भयो।”

कुनैबेला कहाँ कसरी प्रस्तुत हुनुपर्छ भन्ने कला जानेका महेन्द्र कविमात्र थिएनन्, गायक र संगीतकार पनि थिए। खेलाडी थिए। साहित्य, कला, संगीतलगायत राष्ट्रनिर्माणका यावत् क्षेत्रमा योगदान गर्नेहरू राजा महेन्द्रका प्रिय थिए। उनी राष्ट्रियताका पक्षमा निर्भीक भएर उभिन सक्ने राजा थिए।

एकपल्ट युरोपबाट स्वदेश फर्किने क्रममा राजा महेन्द्र दिल्लीमा चार दिन बस्ने कार्यक्रम बन्यो। भारतस्थित नेपाली राजदूतावास भवनमा बस्ने र भारतीयहरूलाई त्यहीँ भेट्ने कार्यक्रम निश्चित भयो। राष्ट्रपति भीभीगिरी राजा महेन्द्रलाई भेट्न बाह्रखम्बा रोडस्थित दूतावास भवनमै पुगे। महेन्द्रको व्यक्तित्वबाट प्रभावित गिरी शाकाहारी हुन् भन्ने सूचना पाएका महेन्द्रले सबैलाई शाकाहारी खाना खुवाउने निर्णय गरे। राष्ट्रपति गिरीलाई मन पर्ने विभिन्न परिकार तयार गरियो।

हल्यान्डको ‘कविता कूटनीति’ जस्तै दिल्लीमा ‘व्यञ्जन कूटनीति’ सफल भयो। भारतीय राष्ट्रपतिलाई महेन्द्रले भनेछन्–“तपाईँमात्र होइन, तपाईँका पुर्खा सबै शाकाहारी रहेछन्। त्यसैले तपाईँ र तपाईँका सहयोगी सबैलाई रुचि हुने भोजन तयार गरिएको छ। राष्ट्रपति गिरी प्रसन्न भए।

मानिसले अरूको सम्मान गरेपछि स्वतः सम्मान पाउँछ। संसार घुम्दा राजा महेन्द्रले तत्तत् राष्ट्रको कला, साहित्य, परम्परा, धर्म, संस्कृति अध्ययन गरेर जाने र उपहार दिँदा कसलाई के दिने भन्ने हेक्का राख्ने गरेको महेन्द्रका नजिक बसेर काम गरेका भीमबहादुर पाँडे, यदुनाथ खनाल, खड्गमानसिंह बस्न्यात आदिले उल्लेख गरेका छन्।

दिल्ली भ्रमणमा त्यहाँका तत्कालीन पर्यटनमन्त्री करण सिंहले आफ्नो निवासमा रात्रिभोजका लागि महेन्द्रलाई निम्तो गरेछन्। श्री ३ मोहनशमशेरकी नातिनी (शारदाशमशेरकी छोरी) विवाह गरेका डा. कर्ण सिंहले रात्रिभोज सुरु हुनुअघि ‘शान्तकारं भुजनशयनम्’ लगायत तीन चारवटा भजन गाएछन्।

राजा महेन्द्रले सिद्धहस्त कलाकारले झैँ तबला बजाउँदा धेरैजना चकित भएको सरदार भीमबहादुर पाँडेले लेखेका छन्। महेन्द्रको ‘समाजशास्त्र’ अनौठो थियो। हजारौँ बिघा जमिन जमिनदारहरूबाट खोसेर भूमिहीन किसानलाई बाँडे उनले। त्यो एक किसिमको ठूलो क्रान्ति (परिवर्तन) थियो। भन्नु परोइन, क्रान्ति भनेको उत्ताउलो कर्म र निरर्थक भाषण होइन, युग बदल्ने ‘एक्सन’ हो।

मेल जिप्सन, टम क्रुज, ज्याकी चान, एन्जेलिना जोली, सिन कोन्री, ह्यारीसन फोर्डलगायतका हलिउडका एक्टरहरू हुन् वा बलिउडका कलाकारहरू, उनीहरूको प्रसिद्धि सधैँ रहँदैन। राष्ट्रका लाखाँै जनताको उत्थानमा समर्पित नायक हुन राष्ट्रनायक, उनीहरूलाई युगौँसम्म सम्झना गरिन्छ। त्यस्ता महानायकको सत्कर्मको अन्तर्य नबुझेर कतिपय अज्ञानीले अवमूल्यन गर्छन्। त्यो मानसिक दरिद्रता हो।

जर्ज अर्बेलले व्यंग्य गरेका छन्– “धनीसँग ज्ञान, सभ्यता, शिष्टाचार, सदाचार केही नभए पनि हुन्छ किनभने ऊसँग धन छ। ऊ त्यसै पनि धनी छ।” कतिपय राजनीतिकर्मीहरू आफू हिँडेको बाटोमात्र सत्य र बाँकी मिथ्या ठान्छन्। यो मानसिक दरिद्रता हो। इतिहासप्रति पूर्वाग्रही कतिपय मानिस आफूलाई अभिरुचि वा अरूचि भएका कुराहरू केस्राकेस्रा छानेर इतिहासको अपव्याख्या गर्छन्। यो दृष्टिदोष, विद्वेष, विभ्रम र दुराग्रहबाट धेरै ‘नेपाली बुद्धिजीवी’ ग्रस्त छन्।

माया सभ्यतामा टर्की नामको चरा देवदूत मानिन्थ्यो। धन्यवाद ज्ञापन दिवस (थ्याङ्कस गिभिङ डे) मा पछि त्यो अनिवार्य आहारा बन्यो। चित्रकला (फाइन आर्ट) निम्ति सर्वोत्कृष्ट पदक दिन्थ्यो, कुनैबेला ओलम्पिक पदक। सन् १९१२ देखि १९४८ सम्म चल्यो, त्यो परम्परा। आज डेमोक्रेसीको तीर्थ मानिने अमेरिकामा महिलाले सन् १९०८ सम्म सार्वजनिक ठाउँमा चुरोट खान पाउँदैनथे।

कानुन मिचेमा पाँच डलर जरिवाना हुन्थ्यो। त्योबेला नेपालमा गोरखापत्र प्रकाशन भएको सात वर्ष भइसकेको थियो। त्यस पत्रिकालाई श्री ३ देवशमशेरले दिएको लिखित आदेश (सनद) मा कुनै महिलाले चितुवा मारेको खबर आएमा निःशुल्क छापिदिनू भनेका छन्।

अर्थात, घाँसपात लिन जंगलतिर गएका कतिपय महिलालाई चितुवाले आक्रमण गरेमा उनीहरू ‘फाइट’ खेल्थे चितुवासँग। त्यसका लागि दल, समूह, जुलुस, आरक्षण चाहिएन। चितुवा मारेर घाँसको भारीमाथि बोकेर ल्याएको कथा गाउँघरका कतिपय वृद्ध आमाहरू सुनाउँछन्।

सहरबजारमा काँटा चम्चाले खानेलाई ‘सभ्य’ मानिन्छ। आठौँ शताब्दीतिर टर्कीमा भेटिएको ‘काँटा’ सुरुमा असभ्यले प्रयोग गरे। जंगलमा जनावर पोलेर खान त्रिशूल आकारका ठुल्ठूला काँटा बनाइएको थियो। राजदरवार, चर्च र सभ्य मान्छेहरूले काँटा त जंगलीको नक्कली हात हो भने। ‘परिवर्तन’ यसरी फैलियो, काँटाले खान नजान्नेलाई पो असभ्य भन्न थाले।

इजिप्टकी महारानी क्लियोपेट्रा (कतिपय इतिहासकारले महिला राजा अर्थात फिमेल किङ) त्यो राष्ट्रकी होइनन्। उनी ग्रिक हुन भनेका छन्, इतिहासकारहरूले। उनी अलेक्जान्डर द ग्रेटकी वंशज हुन। इतिहासमा उनको छुट्टै स्थान छ। रोमन राजनीतिको महानायक भइन् उनी। अठोट, साहस, शैली र स्वाभिमानका कारण क्रूर शासकहरू पनि डराउँथे उनीसँग। मनोवैज्ञानिक परिवर्तन ल्याएर एकैपल्ट युग हाँक्न सक्ने वीराङ्गना थिइन् उनी।

परिवर्तन स्वैरकल्पना होइन। तसर्थ युग बदल्न खोज्नेहरू पहिले आफू बदलिनुपर्छ। पावरको टावरबाट हेर्दा सबैलाई होचो देख्छ शासकले। जनतासँगै सोच्ने, काम गर्ने र हिँड्ने मार्गदर्शन पाएनन् नेपालीले। त्यसैले उनै प्रभावहीन मुहारहरूमात्र बदलिए सिंहदरवारमा। जो आफैँ भ्रान्त पथिक छन्, उनीहरूले कसरी बाटो देखाउँलान्?

पौराणिककालमा देवतीर्थ भनिने आजको देवघाट (चितवन) र राजा भरतले तपस्या गरेको बागलुङ पर्वत क्षेत्र हुँदै तराई पुग्ने कालीगण्डकीको जल नै तीर्थ मानिन्छ। पवित्र भएकै कारणले मात्र होइन, धेरै पौराणिक तथ्यले पनि कालीगण्डकी नेपालको सर्वाधिक पवित्र मानिएको हो। जयापीड नामका काश्मीरी राजा र उनको सशक्त फौजले धुलो चाट्यो, कालीगण्डकीमा कालीगण्डकी क्षेत्रका राजा अरमुडीबाट काश्मीरी सेना परास्त हुनुपरेको कुरा काश्मीरी विद्वान् कल्हणले राजतरंगिणी ग्रन्थमा लेखे।

अरमुडीको साहस, न्याय र परोपकारको भावना खोटरहित थियो। जन्मभूमिको रक्षा गर्नुपर्छ भनेर अहोरात्र माटो र जनताको चिन्ता गर्थे उनी। जनताले खाएपछि मात्र आफूले भोजन गर्ने कान्तिपुरका राजा महेन्द्र मल्लले त उर्दी लगाए– ‘तिमीहरूले बेलुका बेलैमा खानू। तिमीहरूले अबेर गर्दा मेरो पेटमा बतास भरिन्छ।’

अहिले उल्टो छ। राजनीतिलाई पेसा बनाएर परिवर्तन ल्याउँछु भन्नेहरू पहिले आफू खान्छन्। केही सीमित व्यक्ति अकुत सम्पत्तिको मालिक भए। यसलाई हामी परिवर्तन भनिरहेका छौँ। २०१९/२० सालसम्म नेपाल जस्तै दरिद्र थिए, मलेसिया र दक्षिण कोरियालगायतका राष्ट्र। उनीहरू साँच्चैका लिडर र निडरको संरक्षणमा सुप्रबल भए। हामी विदेशीका डिलरको फेला पर्‍यौँ।

हामीले बुझेनाैँ राष्ट्रनायकमात्र राष्ट्र, जनता, धर्म, संस्कृति र परम्पराको रक्षक हुन्छ। दलनायक र गुटनायकमा त्यो उदार हृदय हुँदैन। परिवर्तनको सही अर्थ बुझेको भए करोडौँ रुपियाँको गाडी चलाउनका लागि नक्कली लाइसेन्सधारीलाई जिम्मा दिने थिएनाैँ।

गाडी भीरबाट तल खोलामा खसेको छ, उत्तानो परेर। केही मानिस ड्राइभरको सिटमा बस्छु भनेर त्यहाँ पनि ठेलाठेल गरिरहेका छन्। विदेशीको क्रेनले तानेर एकपल्ट पुनः मूल सडकमा ल्याए पनि सत्ताको लडाइँमा पुनः अलि पर पुगेर गाडी खोलैखोला जान्छ। थाहा छैन, परिवर्तनको बाटो भन्दै ड्राइभरले कता लग्छ?

प्रकाशित: १४ माघ २०७८ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App