केही समयअगाडि सिद्धार्थनगर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा शिक्षण गर्ने शिक्षकहरूका लागि मनोसामाजिक परामर्श विषयमा तीन दिने तालिमको सहजीकरण गर्ने अवसर जुर्यो।
कोरोना महामारीका कारण बालबालिका तथा शिक्षक/शिक्षिकामा परेको मानसिक प्रभावको पहिचान र नकारात्मक असरको न्यूनीकरण विषयमा केन्द्रित उक्त तालिममा लामो समयको शिक्षण अनुभव भएका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक/शिक्षिका सहभागी थिए। कार्यक्रममा आआफ्ना विद्यालयमा देखिएका समस्या र समाधानका लागि आफूले गरेका कार्यबारे अनुभूति आदान–प्रदानसमेत भयो।
दुर्गम क्षेत्रका विद्यार्थी न्यूनतम आधारभूत आवश्यकताको परिपूर्ति हुन नसकेको र चेतना अभावका कारण विद्यालयबाट बाहिर रहेको वर्तमान सन्दर्भमा सिद्धार्थनगर जस्तो सुगम र सुविधा सम्पन्न क्षेत्रमा समस्याहरू कम हुनुपर्ने अनुमान गर्न सकिन्छ। छलफल कार्यपछि उक्त क्षेत्रमा आकलन गरे भन्दा भिन्न किसिमका समस्याबाट बालबालिका र विद्यालय आक्रान्त रहेका तथ्य उजागर भयो।
विद्यालयमा हुनुपर्ने बालबालिका सीमामा सामान ओसारपसार गर्न भरियाका रूपमा प्रयोग हुने प्रवृत्तिले मौलाउने अवसर पाएको त्यस क्षेत्रमा बालश्रमशोषण मात्र नभएर बालबालिकालाई दुर्व्यसनमा फसाउने गिरोह नै सक्रिय रहेको पाइयो। प्रशासनका आँखा छली बालबालिकाबाट अपराधजन्य काम गराउँदा सहज उन्मुक्ति पाउन सकिने भएकाले बालबालिकालाई जोखिमपूर्ण लागु औषधको ओसारपसारमा संलग्न गराउने समूहको सक्रियता निकै बढेको देखियो।
यसको प्रत्यक्ष प्रभाव त्यहाँका विद्यालयमा समेत परेको देखियो। सीमा क्षेत्रमा असामान्य गतिविधिका कारण विद्यालय भर्ना उमेरका धेरै बालबालिका अझै पनि औपचारिक शिक्षाबाट वञ्चित छन् भने भर्ना भएका विद्यार्थीसमेत विद्यालयमा नियमित हुन सकेका छैनन्। सुगम हुँदाहुँदै पनि रूपन्देही जिल्लाको साक्षरता दर कम हुनुको कारण विद्यार्थी तथा अभिभावकका लागि विद्यालय आकर्षणको केन्द्र बन्न नसक्नु नै हो।
कलिलो उमेरका बालबालिकालाई उपयोग गरेर अवैध किसिमले सामान तस्करी गर्नेमात्र होइन, लागुऔषध ओसारपसार जस्तो जघन्य अपराधमा समेत बालबालिकाको बढ्दो प्रयोगले सीमा क्षेत्रमा दिनानुदिन जोखिम बढेको छ भने राज्यद्वारा राखिएका बालबालिकाको शैक्षिक लक्ष्य प्राप्त गर्न कठिन हुने गरेको छ।
सुरुसुरुमा आर्थिक प्रलोभन देखाएर ओसारपसारमा प्रयोग गरिएका बालबालिकालाई विस्तारै लागुऔषध सेवन गर्ने लत बसाल्न तस्करहरूले नै प्रयास गर्दा रहेछन्। परिपक्व निर्णय तथा सोचविचार गर्न नसक्ने उमेरका बालबालिकाका हातमा नगद रुपियाँ पर्नु र अर्कोतिर तस्करहरूले नियमितरूपमा भरियाका रूपमा प्रयोग गर्न बालबालिकालाई नशाको लत बसाउन सघाउने भएकाले विद्यालय जानुपर्ने उमेरका बालबालिका समस्याको चक्रब्यूहबाट बाहिर निस्कनै नसक्ने अवस्थामा पुगेका देखिए।
त्यसो त सिद्धार्थनगरलगायतका सीमा क्षेत्रमा कलिला बालबालिका अवैधरूपमा सामानहरू ओसारपसार गरिरहेका अवस्थामा त केही नशालु पदार्थको सेवनका कारण झुम्मिएर बसेको अवस्थामा भेटिनु सामान्य जस्तै मानिन थालेको छ।
कुनै समय धनीमानी बाबुआमाका मात्तिएका छोराछोरी कुलतमा फस्ने गरेका थिए भने अहिलेको अवस्था त्यस भन्दा नितान्त फरक छ। केही दिनअघि नेपालगन्जका मजदूरी गर्ने व्यक्तिहरू दुर्व्यसनमा परेको समाचार सार्वजनिक भएको थियो।
अनजानमा नशा सेवन सुरु गरेका उनीहरू लत लागेपछि बाँच्नका लागि लागु औषध सेवन गरेको अनुभव सुनाएका थिए। किशोर/किशोरीहरू कौतुहलता र साथीको लहलहैमा दुर्व्यसनमा फस्ने गरेको पाइए पनि यस क्षेत्रमा तस्करहरूले नियोजितरूपमा बालबालिकालाई लागुऔषध सेवन र तस्करीमा लगाउने गरेको विषय सबैका लागि चिन्ताको कुरा हो।
पारिवारिक र आर्थिक अवस्था राम्रो नभएका बालबालिका पहिलो निशानामा भए पनि समयान्तरमा यस समस्याको सिकार जो कोही हुन सक्ने सम्भावना रहन्छ। चेतनाको अभावका कारण निम्न आर्थिकस्तर भएका अभिभावक आफ्ना बालबालिका स्कुल गएकामा भन्दा सीमाबाट सामान ओसारपसार गरेर आयआर्जन गरेकामा दङ्ग पर्ने वातावरण रहुन्जेल यस प्रकारका समस्या बढ्दै जाने देखिन्छ।
कलिलो उमेरमा र छोटो समयमा नगद हात पार्न थालेपछि बालबालिकाको रुचि विद्यालय भन्दा सामान ओसारपसारमा बढ्नु स्वाभाविकै हो। यस्तो अवस्थामा बालबालिकालाई मात्र नभएर अभिभावकलाई समेत उचित परामर्श आवश्यक पर्छ। विद्यालयको सम्पर्कमा आएका अभिभावकलाई शिक्षकहरूले परामर्श गर्ने गरेका भए पनि केही बालबालिकाका अभिभावक विद्यालयको सम्पर्कमै नरहेका कारण उनीहरूसँग दोहोरो संवाद हुन सकेको देखिन्न।
केही विद्यार्थीलाई आभिभावकलाई सरसल्लाहका लागि आफूसँगै विद्यालयमा ल्याउन आग्रह गर्दा अर्को दिनदेखि विद्यार्थी नै सम्पर्कविहीन हुने गरेका घटनासमेत देखा परे। एकातिर भाषिक जटिलताका कारणले विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप प्रभावित हुने गरेको र अर्कोतिर त्यस क्षेत्रमा विद्यमान गरिबी र अशिक्षाका कारण बालबालिकाहरू दिनानुदिन दुव्र्यसनीको कुचक्रमा फस्दै गएका देखिन्छ।
विद्यालय उमेरका धेरै बालबालिका विद्यालय नगई नाकामा सामान ओसार्न र नशालु पदार्थ सेवन गर्न थालेपछि यसको प्रभाव अन्य विद्यार्थीमा समेत पर्ने गर्छ। समान उमेरका आफ्ना साथीहरूलाई तुरुन्तै प्रभाव पार्न सक्ने भएकाले दुर्व्यसनमा लागेका बालबालिकाको सङ्गतमा आउने अन्य बालबालिकासमेत उच्च जोखिममा रहेका हुन्छन्। त्यसो त केही विद्यालयमा विद्यार्थीको नियमित स्वास्थ्य तथा सरसफाइ परीक्षणका क्रममा समेत नशालु पदार्थ भेटिएका उदाहरणहरू प्रशस्तै रहेछन्।
भैरहवा क्षेत्रमा व्याप्त रहेको दुर्व्यसनीका कारण आर्थिकरूपमा सम्पन्न व्यक्तिहरूले आफ्ना बालबालिकालाई दुर्व्यसनबाट बचाउन बुटवल र अन्य बाहिरी क्षेत्रमा समेत पढ्न पठाउँदा रहेछन्। स्थानीय प्रशासनले बालश्रम र दुव्र्यसनीका बारेमा औपचारिक सचेतना कार्यक्रम सञ्चालन गरे पनि लक्षित वर्गमा यसको कुनै प्रभाव परेको देखिँदैन।
दुर्व्यसनमा परिसकेपछि उपचार गर्नु भन्दा दुव्र्यसनमा लाग्नबाट बचाउनु ठूलो काम हो। दुव्र्यसनसँग त्यस ठाउँको शान्ति, सुरक्षा र सामाजिक वातावरण प्रत्यक्ष सम्बन्धित हुने भएकाले यो समस्या व्यक्ति वा समूहविशेषको नभएर आमनागरिकका लागि उत्तिकै चासो र सरोकारको विषय बन्न सक्नुपर्छ।
सामुदायिक विद्यालयको दयनीय अवस्था, अभिभावकको कमजोर आर्थिक अवस्था तथा चेतनाको अभावका कारणले यस क्षेत्रमा दुर्व्यसनी भुसको आगोझैँ दिनानुदिन फैलिँदै गएको छ। यस अवस्थामा कहिलेकाहीँ विद्यालय आउने विद्यार्थीलाई नियमित बनाउनु निकै कठिन देखिन्छ।
धेरै समय विद्यालयबाहिर र कहिलेकाहीँ विद्यालय आउने विद्यार्थी लागुऔषध ओसारपसारकर्ताका एजेन्ट बन्न सक्ने भएकाले उनीहरूलाई विद्यालय ल्याउनु अति आवश्यक हुँदाहुँदै पनि उनीहरूकै कारण अन्य विद्यार्थीसमेत जोखिममा पर्ने भयले गर्दा शिक्षकहरूलाई झनै अन्योलमा पारेको देखिन्छ।
विद्यालयमा दिवा खाजा, शिक्षकहरूलाई उत्प्रेरणा, मनोसामाजिक स्वास्थ्यसम्बन्धी तालिमको व्यवस्था तथा अभिभावकहरूमा सचेतना ल्याउने किसिमका कार्यक्रमहरू आयोजना नगरी शिक्षा सुधारका लागि गरिएका प्रयासहरू सिद्धार्थनगर जस्तै सीमावर्ती क्षेत्रहरूमा प्रभावकारी हुने सम्भावना निकै न्यून देखिन्छ। यही तथ्यलाई मध्यनजर गरी नगरपालिकाले शिक्षकहरूलाई मनोसामाजिक स्वास्थ्य तथा परामर्शसम्बन्धी विभिन्न तालिम आयोजना भने गरेको देखिन्छ।
गरिबी, लागुऔषध र सीमावर्ती क्षेत्रका अन्य नकारात्मक प्रभावका कारण मानसिक स्वास्थ्यका गम्भीर विषयहरू सामना गर्नुपरेका बालबालिकासँग काम गर्नुपर्दा पनि त्यहाँका शिक्षकहरू आफ्नो क्षेत्रमा निकै सक्रिय पाइए।
नगरपालिकाअन्तर्गतको शिक्षा शाखाबाट सचेतनामूलक कार्यक्रमलाई जोड दिँदै निकै अप्ठेरो अवस्थामा पनि दैनिक पठनपाठनका क्रियाकलापहरू सञ्चालनका लागि उत्प्रेरणा प्रदान गरेको देखियो तर समाजमा डरलाग्दो रोगका रूपमा प्रवेश गरिसकेको लागुऔषध ओसारपसार र दुर्व्यसनको प्रभावलाई पूर्णरूपमा नियन्त्रण गर्न नगरपालिका एक्लैको प्रयास पर्याप्त हुन नसक्ने भएकाले आमनागरिक, गैरसरकारी संघ/संस्था तथा सरकारी निकायबीच समन्वयकारी भूमिका आवश्यक छ। सिद्धार्थनगरमा देखिएको समस्या शायद नेपालका दक्षिणवर्ती सबै सीमा क्षेत्रमा रहेको हुन सक्छ। जसको निराकरणका लागि आमनागरिक, शिक्षक तथा प्रहरी प्रशासन सजक र सक्रिय हुनुपर्ने देखिन्छ।
प्रकाशित: १३ माघ २०७८ ०२:५२ बिहीबार