यस सचेतना अभियानअन्तर्गत लैंगिक विभेदको अन्त्य, महिला हिंसा तथा यौन दुर्व्यवहारको अन्त्य, महिलाको कार्यबोझमा कमी ल्याउने कार्यक्रम रहेका छन्। साथै, पुरुषको भन्दा महिलाको बढी अधिकार हुने, छाउपडी प्रथा उन्मुलन, गर्भवती तथा सुत्केरीको स्वास्थ्यको हेरचाह, पोषण, पाठेघरसम्बन्धी रोगको समयमा उपचारको विषय पनि समावेश छन्। र, स्थानीय निकायमा महिलाको नाममा आउने बजेट कम्तीमा १० प्रतिशत महिलाकै आर्थिक स्तर बढाउनका लागि छुट्याउन दबाब दिने, हरेक क्षेत्र र तहमा कम्तीमा ३३ प्रतिशत महिलाको अर्थपूर्ण सहभागिता गराउने, बालविवाह, बहुविवाह, चाँडो विवाहबिरुद्ध चेतना वृद्धि तथा अटेर गरेको खण्डमा कानुनबमोजिम सजायका लागि उजुरी गर्ने, महिलालाई आदरसम्मान गर्ने र महिलाको कार्यमा सघाइ छाउपडी हटाउन सहयोग गर्ने पुरुषलाई मर्दपुरुष घोषणा गरी सम्मान गर्ने आदि विषय परेका छन्।
यी विषयमा हाल कायम रहेका समस्या, त्यसको न्यूनीकरण तथा निर्मूल गर्नका लागि ककसले कुनकुन ठाउँ/क्षेत्रबाट कसरी कदम चाल्ने भन्ने कुरामा सहभागितामूलक रूपमा एकदमै सरल शैलीमा जुम्लाकै गाउँको परिवेशमा छलफल गरी निर्क्यौल निकालिएको थियो। निर्क्यौलअनुरूप सबैलाई आफ्नै घरबाट अभियान सुरु गर्न प्रतिबद्ध गराउने, कार्ययोजना बनाउन लगाउने राधाको शैली निरक्षरका लागि पनि अति प्रभावकारी बनेको छ।
शिक्षकहरूको यसै तालिममा छाउपडी प्रथा बार्नुनपर्ने कुरा उठ्नेबित्तिकै तलियुमका माविका प्रधान अध्यापक निकै रिसाए। अचम्म लाग्दो कुरा त जब एक विद्यालयका प्रधान अध्यापक कुनै राम्रो कुरा, सत्य कुरा सुन्न चाहँदैन, उनको आफ्नो पुरातन, रुढीवादी सोचमा माथि उठ्न चाहँदैन, महिनावारीकै कारण महिलामा हिंसा हुनु हुँदैन भन्ने समेत सुन्न पनि चाहँदैन भने त्यस्ता गुरुले सयौँ विद्यार्थीलाई के सिकाउलान्, कसरी नयाँनयाँ ज्ञान देलान्? उनीहरूबाट उत्पादन हुने विद्यार्थी कस्ता होलान् भन्ने सहजै अनुमान लगाउन सकिन्छ। अझ विद्यालयको मावि तहको पाठ्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य शीर्षकअन्तर्गत महिनावारी के हो? यो कसरी हुन्छ? यस्तोबेला केके गर्नु पर्छ आदि स्पष्टसँग उल्लेख गरिएको छ।
एक शिक्षक जो निदाएका बहाना गर्छन् वा आफ्नो अहंकारको डम्फुमात्र बजाउँछन् भने गाउँका निरक्षर तथा साधारण लेखपढमात्र गरेका महिला तथा पुरुष सहजकर्ताहरूचाहिँ यस अभियानमा राम्रो काम गर्दैछन्। समाजमा सकारात्मक परिवर्तनका लागि स्वयंसेवक बनेर अहोरात्र खटेका छन् भने यस्तो अवस्थामा यी निस्वार्थरूपमा लागिपरेका समूहका सहजकर्ताहरूलाई त सलाम गर्नैपर्छ। उदाहरणका लागि डिल्लीचौरकी लाउरीमाया थामी, बैसनीका स्याङ्बो कामी, तलियुमकी चैती गिरि, तारा तिरुवा, पदम रोकाया, लाम्राकी देवीकन्या उपाध्याय, कुडारीकी विमला शाही आदि हुन्।
राधाले हरेक तालिममा उदाहरण दिँदै आएकी छन्, ‘मुक्तिनाथका पुजारी, सुर्खेतका देउतीबज्यैका पुजारी महिला हुन्। उनीहरू महिनावारी नबारी हरेक दिन मन्दिरमा पूजा चालू राख्छन् भने जुम्लामा मात्र महिनावारी भएका महिला आफ्नो सुत्ने कोठा वा भान्छाभित्र छिर्दा किन देउता रिसाउलान्?' राधा आफै पनि स्टाफ नर्सको पढाइपछि मात्र महिनावारीलाई महिलाको गौरव र गहना हो भन्ने बुझेको र त्यसपछि यस्तो विभेद र बन्देजलाई निर्मूल गर्दै महिनावारीका बेला आफ्नी आमाको श्राद्ध गर्ने, पूजाआजा, मन्दिर सबै ठाउँ भ्याउँछिन्। महिनावारी भएको बेला सफासुग्घर हुनु, भित्री लुगा तथा टालो फेर्नु, गुप्तांग धोएर सफा राख्ने, झोलिलो र पोषिलो खाना खाने गर्दा केही समस्या आउँदैन, जुम्लाका देउता पनि रिसाउँदैनन्। जुम्लामा अहिले केही धामीसमेत सकारात्मक परिवर्तनको पक्षमा आइसकेका छन्। सबै धामी यस सत्यतथ्य कुरामा विश्वास गरी छुईछाई हुने कुरा भ्रम र शंकाको उपज हो भन्ने बुझेर गाउँघरका सीधासोझा महिला–पुरुषलाई गलत सूचना दिने काम रोक्छन् भने छाउपडी प्रथामा छिटै परिवर्तन आउने देखिन्छ।
शिक्षकहरूको तालिममा राधाले भनेकी थिइन्, ‘सबैका घरमा छोरी, आमा, श्रीमती, दिदीबहिनी, भाउजु, बुहारीका रूपमा महिला हुन्छन् र त्यस्ता महिलालाई महिनावारी भएको निहुँ बनाइ जुम्लाको जाडो तथा हिउँ परेको कठ्यांग्रिने बेला पनि छुट्टै गोठमा, घरको तल्लो तल्लामा, असुरक्षित चिसो कोठामा गाईवस्तुसरह बस्न बाध्य बनाइ आफू भने तातो कोठामा ओढ्नेओछ्याउनेसहित सुत्ने पुरुष त पापी, नामर्द हुन्।' यसरी उनले चुनौती दिँदा तालिममा सहभागी शिक्षकहरूले मुन्टो निहुराएर तीतो यथार्थलाई स्वीकारेका थिए। हुन पनि हो कालिकोट र जुम्लामा एक्सन वर्क्स नेपालले सन् २०१३ मा गरेको अध्ययनमा महिनावारी भएको २/३ वर्ष भैसक्दा पनि यहाँका किशोरीहरूलाई महिनावारीकै कारण छोरी भएर जन्मेकोमा धेरै दुःख लाग्ने, रुन मनलाग्ने र ८० प्रतिशत किशोरीलाई मर्न मनलाग्ने सोचाइ आएको देखिएको थियो।
दुई दिने तालिमबाट धेरै चेतना वृद्धि भएको भन्दै शिक्षकहरूले आआफ्नै घरबाट छाउपडी बार्ने प्रथाको अन्त्य गर्ने, विद्यालयमा व्यवस्थापन समितिसँग बैठक राखेर छात्राका लागि छुट्टै शौचालय, पानीको व्यवस्था गर्ने, छात्रछात्रामा विभेद नगर्ने, विद्यालय हातालाई यौन दुर्व्यवहारमुक्त क्षेत्र बनाउने, प्राथमिक उपचारको बाकसजस्तै सेनेटरी प्याडको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।
अब मात्र हेर्न बाँकी छ, सन् २०१५ मा निरक्षर सामाजिक कार्यकर्ता र यी प्रबुद्ध व्यक्तिमध्ये जुम्लामा को बढी जागरुक बन्ला! सन् २०१४ मा तीन चरणमा तालिम सम्पन्न भैसकेको यस अभियानमा सबै क्षेत्रका, संस्थाका तथा स्थानीय मिलेर एकैचोटी लाग्ने हो भने यो अभियान छिटो सम्पन्न हुने विश्वास गर्नसकिन्छ।
प्रकाशित: २४ पुस २०७१ २२:१२ बिहीबार