बिहान ९ बजेबाट साँझ ३ः३० बजेसम्म चल्ने छोरीको विद्यालयबाट अत्यन्त जरुरी भन्दै पठाइएको पत्र प्राप्त भयो। चार कक्षामा पढ्ने छोरीका हातमा थमाइएको पत्रमा लेखिएको बेहोराले भने गम्भीर रूपमा सोच्न बाध्य बनायो। ‘महामारीका कारण विद्यार्थीको पढाइ बर्बाद भएकाले पठन संस्कृतिको विकास गर्नका लागि साँझ ३ः५० देखि ५ः३० सम्म कोचिङ कक्षाको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँछौँ।’
यस अवसर नगुमाउन अभिभावकलाई आग्रह गरिएको थियो पत्रमा। कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय जान नपाएका बालबालिका भर्खर विद्यालय गई नियमित तालिकामा फर्कन सुरु मात्र के गरेका थिए विद्यालयले उनीहरूको मनोविज्ञान, रुचि र अवस्थालाई पूरै बेवास्ता गरी पढाइका नाममा लाद्ने काम सुरु गर्दा बालबालिकाको वृद्धि र विकासमै प्रतिकूल असर पर्ने अवस्था सिर्जना हुन थालेको देखियो।
संक्रमणको स्थिति यथावतै रहेका कारण ढुक्क भएर विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन हुन नसके पनि केही समय विद्यालय सञ्चालन गर्दा साथीसँगीसँग खेलेर र विद्यालयका दैनिक गतिविधिमा संलग्न भएर मनोसामाजिक रूपमा स्वस्थ रहन तथा सिकाइको आदत जोगाइराख्न सहयोग पुग्ने अपेक्षा गरिएको थियो। विद्यालयले भने विगत एक/डेढ वर्षदेखि छुटेका कुरा जसरी हुन्छ पूरा गरेरै छाड्ने अठोटका साथ ३–४ कक्षामा पढ्ने कलिला बालबालिकालाई समेत कोचिङ कक्षाको व्यवस्था गरेको रहेछ।
विद्यालयबाट पठाइएको पत्रमा १० अंकको एकाइ परीक्षा समेत पर्सिबाटै हुने भएकाले आफ्ना बालबालिकालाई भोलिबाटै कोचिङ कक्षामा भर्ना गरी उनीहरूको भविष्य उज्ज्वल बनाउन आग्रह गरिएको थियो।
विद्यालय तहको शिक्षामा पढाउनेभन्दा सिकाउने कुरामा ध्यान दिनुपर्छ। विषयवस्तुगत सिकाइ र सूचनाको संग्रहभन्दा व्यावहारिक र सामाजिक सिपहरूको सिकाइलाई जोड दिनुपर्ने अवस्थामा विद्यालयले भने सम्पूर्ण सामाजिक सम्बन्ध र व्यावहारिक वृद्धि र विकासलाई समेत ठप्प पारेर जसरी हुन्छ पाठ्यपुस्तक घोकाउने उद्देश्य राखेको देख्दा हाम्रो शिक्षा नीति र शैक्षिक क्षेत्रमा संलग्न जनशक्तिको अवस्थाप्रति दया लागेर आयो।
त्यसो त निजी विद्यालय खोलेर शिक्षामा खुलेआम व्यापार गर्न पाइने कानुनी व्यवस्था रहेकाले नाफाका लागि यो काम गरेका हौँ भन्ने उत्तर दिए पनि विद्यालय सञ्चालकसँग विवाद गर्न सकिने ठाउँ रहँदैन।
स्वास्थ्य र शिक्षा जस्ता गम्भीर र जनसरोकारका विषय निजी क्षेत्रलाई सुम्पिँदाको पीडाको राप कलिला बालिकामाथि पढाइका नाममा बिहानदेखि साँझसम्म दिन खोजिएको यातनाबाट महसुस भयो। बालबालिकालाई केका लागि र किन कोचिङ कक्षामा राखिएको हो भन्ने जानकारी नभए पनि सूचनामा बोल्ड गरिएका ठूला अक्षरमा आकर्षक खाजा र यातायातको व्यवस्था स्कुलले नै गर्ने कुराले भने एक किसिमको आकर्षण सिर्जना गरेको थियो।
कक्षामा पढाउने बेलामै बालबालिकालाई कोचिङको महत्त्वबारे अभिमुखीकरण गरिएको रहेछ। जुन कुरा छोरीले कोचिङको महत्त्व बुझाउन राखेका तर्कबाट स्पष्ट झल्कन्थ्यो। ‘कोचिङ पढ्ने हो भने गृहकार्य त्यहीँ गर्न पाइन्छ। परीक्षामा सोधिने सबै प्रश्नको उत्तर लेख्न कोचिङ कक्षामै सिकाउने अरे’– छोरीले लेग्रो तान्दै भनेकी थिइन्। कक्षाकोठामा गरिएको अभिमुखीकरणबाट बालबालिकामा आकर्षक खाजाको लालसा र कोचिङ कक्षाका लागि प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना गरिएको स्पष्ट बुझिन्थ्यो।
छोरीलाई मानसिक रूपमा असर नपर्ने गरी समस्या समाधान गर्ने ठूलो चुनौती मेरासामु सिर्जना भएको थियो। ‘अरू विद्यार्थीको घरमा गृहकार्य गर्न सिकाउने मानिस नभएकाले उनीहरू विद्यालयमा नै बसेर गृहकार्य गर्छन्, तिमीलाई त हामी सिकाइहाल्छौँ नि’ भनेर बल्लतल्ल बच्चालाई सम्झाएर उनी कोचिङ कक्षामा नबस्ने जानकारी विद्यालयलाई गराइयो तर अपेक्षा गरिएजस्तो नतिजा देखा परेन।
भोलिपल्ट विद्यालयबाट फर्किनासाथ छोरीले प्रश्न गरिन्– ‘कोचिङ नपढ्नेहरू त नराम्रा मान्छे रे हो’, मिसले भन्नुभएको। केही समयको मौनतापछि उनले फेरि अर्को प्रश्न राखिन्– ‘मलाई किन कोचिङमा नराखेको ?’ ‘अहिले जाडोको समय छ, धेरै लामो समयसम्म विद्यालयमा बस्नु राम्रो होइन। तिमी छिटै घर आएर केही समय खेल्न पाउँछौ भनेर नि।’ मैले उत्तर दिइनसक्दै ‘अनि फेल भएँ भने...’ उनले प्रश्न गरिहालिन्। ‘हुन्नौ, राम्रै हुन्छ। परीक्षामा फेल भए के भयो त, खुसी हुन, रमाउन फेल हुँदैनौ क्यारे’ मैले उत्तर दिएँ। पुरै चित्त नबुझे पनि छोरी मसँग प्रतिवाद गर्न लागिनन्।
कलिला बालबालिकालाई अनावश्यक रूपमा पढाइप्रतिको रुचि नै मर्ने गरी अतिरिक्त कक्षाको व्यवस्था गर्ने विद्यालयको प्रयास क्षणिक रूपमा आयआर्जनको अतिरिक्त माध्यम बन्न सके पनि बालबालिकाको वृद्धि र विकासका लागि पूर्णतया हानिकारक देखिन्छ। ससाना बालबालिका केही समय विद्यालयमा बसेर सिक्ने र लामो समय घरपरिवार, छरछिमेकी, समाज र साथीसँगीसँग खेलेर र अन्तरक्रिया गरेर व्यावहारिक सिप सिक्ने काममा संलग्न हुनुपर्छ। पढ्नुको वास्तविकता समेत नबुझी परीक्षामा अङ्क ल्याउने उद्देश्यले अव्यावहारिक र अनावश्यक सूचनाहरू घोक्नु मानसिक विकासका लागिसमेत सहयोगी हुन सक्दैन।
लामो समयसम्म पढाइ छुटेकाले जसरी भए पनि ती कामलाई पूरा गर्ने ध्येय राख्नु विद्यालयमा शैक्षिक व्यवस्थापक भन्दा पनि अर्थोपार्जनको मात्र उद्देश्य रहेका ठेकेदारहरू हाबी भएको स्पष्ट संकेत हो। महामारीको त्रास सर्वत्र विद्यमान रहेकै सन्दर्भमा बालबालिकालाई त्रसित हुनबाट रोक्नु, कठिन अवस्थामा पूर्वसावधानी अपनाउन सिकाउनु र सामाजिकीकरणका लागि सहजीकरण गर्नु विद्यालयको प्रमुख दायित्व हो तर यी सम्पूर्ण कुरा बिर्सेर जसरी हुन्छ, छुटेको समयको शुल्क असुल्ने ध्येयमा लाग्नु पटक्कै सुहाउने कुरा होइन।
विद्यालयले तीन–चार कक्षामा पढ्ने विद्यार्थीका लागि कोचिङ कक्षाको वैकल्पिक व्यवस्था गरेको भए पनि ९ र १० कक्षामा पढ्ने विद्यार्थीलाई भने अनिवार्य रूपमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै बसेर पढ्नुपर्ने भनी सूचना पठाएको रहेछ। सोही स्कुलमा विद्यार्थी पढाउने अर्का अभिभावकले ‘मैले त घरमै ट्युसनको व्यवस्था गरिदिएको थिएँ, जाडो समयमा बिहानदेखि रातिसम्म स्कुलमा राख्ने भएछन् कसो गर्ने होला’ भन्दै आफ्नो पीडा बताएपछि विद्यार्थीमाथिको अत्याचारले सीमा नाघेको महसुस भयो।
उनीहरूलाई पठाइएको पत्रमा सरकारले अब सबैलाई पास हुन नदिने नियम ल्याएको छ। परीक्षामा कमजोर विद्यार्थीलाई ग्रेड नै नदिएर फेल गराउने नीति सरकारले लिएको छ। यसरी न्यूनतम अङ्क प्राप्त गर्न नसक्ने विद्यार्थीले माथिल्लो तहको अध्ययन गर्न नपाउने भएकाले र परीक्षाका लागि थोरै समय बाँकी भएकाले अनिवार्यरूपमा सबै विद्यार्थी बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्यालयमै बसेर पढ्नुपर्ने उर्दी जारी गरिएको रहेछ।
बिहान ६ बजेदेखि ९ बजेसम्म बिहानको चिसोमा स्कुलमा बसेर कोचिङ कक्षा लिने ९ बजेदेखि ३ः३० बजेसम्म नियमित कक्षाहरू सञ्चालन गर्ने र साँझ ४ बजेदेखि ६ बजेसम्म नमुना परीक्षा सञ्चालन गरेर विद्यार्थीलाई पूर्ण रूपमा व्यस्त राख्ने र तिखार्ने कार्यतालिका विद्यालयले तयार गरेको रहेछ। यसैमा पनि विद्यार्थीलाई घर जाँदा केही गृहकार्य दिन भने विद्यालयले छुटाएको रहेनछ।
कुनै समय फलामे गेटका रूपमा चिनिएको एसएलसी यसपटक त विद्यार्थीलाई दीर्घकालीनरूपमै अपाङ्ग बनाउने खड्को बन्न पुगेको महसुस भयो। घरमै पठनपाठनका लागि उपयुक्त वातावरण भएकाले बिहान साँझको कोचिङ कक्षा अनिवार्य नगराउन आग्रह गर्दा यो अभिभावकको विषय मात्र नभएर विद्यालयको इज्जतसँग पनि जोडिएकाले कोचिङमा पढेर राम्रो रिजल्ट ल्याउनै पर्ने तर्क विद्यालयले राखेको रहेछ।
परीक्षामा प्राप्त भएको अङ्कमात्र सबै कुरा नभएकाले आफूलाई औसत अङ्क मात्र भए पुग्ने तर कोरोनाको महामारीको डर र काठमाडौँको कडा चिसोमा विद्यार्थीलाई लामो समय विद्यालयमा नराख्न आग्रह गर्ने अभिभावकलाई विद्यालयले छोराछोरीको शिक्षामा खर्च गर्न नडराउनुहोस्, समय घर्केपछि पछुताउनुपर्छ भन्दै परामर्श गरी बोल्न नसक्ने अवस्था सिर्जना गरेको रहेछ।
एसइइ र बिएलइका नाममा यस किसिमको दबाब केवल एउटा विद्यालयमा मात्र सीमित छैन। काठमाडौँका धेरैजसो निजी विद्यालयले ९–१० कक्षामा पढ्ने विद्यार्थीलाई बिहान झिसमिसेमै विद्यालय बोलाउने र रात परेपछि मात्र घर पठाउने गर्न थालेका छन्। यही लहलहैमा लागेर केही विद्यालयले प्राथमिक र पूर्वप्राथमिक तहका विद्यार्थीलाई समेत अतिरिक्त ट्युसन र कोचिङ कक्षाको प्रबन्ध गरेका छन्।
जतिसुकै मीठा र सहयोगी कुरा गरे पनि यी सबै कार्यक्रमको उद्देश्य विद्यार्थीको सर्वाङ्गीण विकासका लागि भन्दा विद्यालय सञ्चालकका लागि अतिरिक्त आम्दानी गर्ने उद्देश्यमा केन्द्रित छन्। त्यसो त केही हदसम्म विद्यालयको रिजल्ट राम्रो बनाउने र यसैलाई प्रयोग गरेर अर्को वर्ष विद्यार्थी जम्मा गर्ने उद्देश्यले पनि उनीहरूलाई उत्प्रेरित गरेको हुन सक्छ।
विद्यालय तहको शैक्षिक क्रियाकलापमा विद्यार्थीले के/कति पढे भन्दा के/कस्ता कुरा सिके भन्ने विषयले महत्त्व राख्नुपर्नेमा निरर्थक सूचनाहरू घोकाउने र तिनलाई जस्ताको तस्तै परीक्षामा लेख्न लगाउने प्रवृत्तिले नेपाली शिक्षा क्षेत्रमा विकृतिलाई आमन्त्रण गरेको छ। विकसित राष्ट्रका उत्कृष्ट शैक्षिक संस्थाहरूले ३–४ घण्टा भन्दा बढी विद्यार्थीलाई विद्यालयमा राख्दैनन्।
आफ्नो घर/परिवार र समाजबाट धेरै कुरा सिक्न सकिने भन्दै परियोजनामा आधारित गृहकार्य दिएर विद्यार्थी स्वयंलाई नयाँ कुरा सिक्न उत्प्रेरित गर्ने काम गरेका हुन्छन्। नेपालमा भने विद्यार्थीलाई दायाँबायाँ नै गर्न नदिई विषयवस्तु रट्नमात्र प्रेरित गर्ने प्रवृत्तिले बालबालिकाको पढाइतर्फको आकर्षण दिनानुदिन घट्दै गएको छ। यसले विद्यार्थीको सिकाइ उपलब्धिमा समेत नकारात्मक प्रभाव पारेको छ।
बालबालिकाको सर्वाङ्गीण विकासका लागि परिवार, समाज, साथीभाइ र ज्ञानका अन्य विभिन्न क्षेत्रहरूसँगको संलग्नता महत्त्वपूर्ण हुन्छ तर लामो समयसम्म विद्यालयमै राखेर पाठ्यपुस्तक घोक्न लगाउँदा उनीहरूको सिकाइ सिप र सिक्ने इच्छामा समेत ह्रास आउँछ।
तयार गरिएका उत्तरहरू विद्यार्थीलाई घोकाउनुको सट्टा विद्यार्थीलाई सिक्नका लागि अभिप्रेरित गर्ने वातावरण सिर्जना गर्न सकेमात्र विद्यार्थीको सिर्जनशीलता फस्टाएर जाने तथा विश्व परिस्थितिमा समेत समायोजन हुन सक्ने अवस्था आउँछ। विशेष गरी निजी विद्यालयहरूले यस कुरालाई बिर्सेकाले नियामकका रूपमा रहेको नेपाल सरकार शिक्षा मन्त्रालयले उपयुक्त नीति, विद्यालय सञ्चालन सम्बन्धी कार्यविधि तथा अनुगमनको व्यवस्था गरी विद्यार्थीमाथि गरिएको शोषण नियन्त्रणका लागि पहल गर्नुपर्छ।
विद्यालय तहका बालबालिकालाई सरकारले तोकेको छ घण्टाको अवधि नै पर्याप्त हुने भएकाले यसै समयमा उनीहरूका सिप विकासका लागि विभिन्न सिकाइ क्रियाकलाप सञ्चालन गर्ने वातावरण सिर्जना गरी बिहान र साँझको समय आफ्नो घरपरिवारबाट व्यावहारिक कुरा सिक्ने अवसर सिर्जना गरिदिनुपर्छ।
कठ्यांग्रिंदो जाडोको समयमा बालबालिकालाई जबर्जस्ती विद्यालय बोलाइ लामो समयसम्म राख्दा उनीहरूको पढाइप्रतिको वितृष्णा र स्वास्थ्यमा हुने खराबीले दीर्घकालीन रूपमा बालबालिकालाई नै क्षति पुग्छ। यसैले बिहान र साँझ सञ्चालन गरिने अतिरिक्त कक्षालाई निरुत्साहित गर्न स्थानीय पालिका र शिक्षा मन्त्रालयले यथाशीघ्र उपयुक्त कदम चाल्नैपर्छ।
प्रकाशित: २ माघ २०७८ ०१:४३ आइतबार