२३ असार २०७९ बिहीबार
विचार

श्रम, भ्रम,र समाजवाद

‘तपाई आफैँ जानुहुन्छ?’– पत्रकारले सोधे।  

‘म जान्छु,– सुप्रिमोले जवाफ दिए।

‘आफैँश्रम गर्न जानुहुन्छ?’– पत्रकारले फेरि सोधे।  

‘म आफैँ श्रम गर्न जान्छु’– सुप्रिमोले झनै कन्फिडेन्ससाथ जवाफ दिँदै करोडका गाडी चढेर आठौँ महाधिवेशनस्थलबाट निस्किए,दर्जनौँ सुरक्षाकर्मीको घेरासँगै।

नमानौँ त अन्धकारमा डोर्‍याइदिने अर्को खोइ? मानौँ त नाटकै मान्ने कि यथार्थपरक चिन्तन र जवाफ सुप्रिमोको? इमान्दार कार्यकर्ता पङ्तिमा गम्भीर अन्योल छाएको छ नेकपा माओवादी केन्द्रमा।

त्यसो त तन्नेरी अवस्थासम्म हलो कोदालो नै गरेका हाम्रा राजनीतिक पाका पुस्ताले अन्य किसान मजदूरसँगै दैनिक श्रम गर्न गए पनि कुनै नौलो कुरो हुँदै होइन। तर आजको युगमा राजनीतिक नेतृत्वले भन्ने के हो र गर्ने के हो भन्ने सवाल प्रमुख हो। प्रचण्डले ‘अब आफैँश्रम गर्न जान्छु’ भन्नु कि सरासर झुट बोलेर कार्यकर्तालाई भ्रममा राख्नु हो, कि आजको विज्ञान नचिन्नु र नेतृत्वकर्म नबुझ्नु हो।प्रचण्ड वा अरू कुनै नेता एक/दुई दिन खेतबारीमा खेलिदिएर श्रमिक मजदूरले न्याय पाउने पनि होइनन्, बाबुराम वा कुनै नेताले कुनै गरिबको भान्सामा खाना खाइदिएर उसको चूलोमा समृद्धि आउने पनि होइन। करोडौँका गाडी चढे हुन्छ, पाँचतारे होटेलको खाना खाए हुन्छ नेताले। तर नीति बनाऊ। यस्तो नीति बनाऊ कि तिम्रा कार्यकर्ताले पनि केही वर्षमा सहजै दुई छाक खान सकून्, खेतबारीमा हात पाखुराको सट्टा मेसिन चलाउन पाउन्, उत्पादन दोब्बर गर्न पाउन्, उत्पादित वस्तुको उचित मूल्य पाउन्, जोसुकैले केही न केही काम पाउन्।

यस्तै नारा र सपना बाँडिएको थियो बिपीको प्रजातान्त्रिक समाजवाददेखि माओवादीको सशस्त्र क्रान्ति हुँदै ६२–६३ को आन्दोलनसम्म। माओवादीमै केन्द्रित रहेर हेर्दा सर्वसाधारण कार्यकर्ताको सपना पनि यही थियो र यसकै लागि हजारौँले जीवन बलिदान दिएका हुन् प्रचण्ड र बाबुरामहरूको आह्वानमा भरोसा गरेर। तर यी सबै नारा र सपना भ्रममात्र रहेछन्, राजनीति पेसा र व्यापार बन्न गइरहेको छ भन्ने बुझेपछि लोकेन्द्र बिष्ट जस्ता प्रभावशाली तर इमान्दार पङ्ति आज राजनीति नै छाडेर स्वमजदूरी अँगाल्दै स्वच्छ जीजिविषामा लागेकाछन्।बाँकी ठूलै कार्यकर्ता पङ्ति आज पनि नयाँ नयाँ शब्दजालभित्र रुमलिइरहेकाछन् र आठौँ महाधिवेशनको आँगनमा लामबद्ध भएर सोधिरहेका छन्– ‘मौलिक समाजवाद भनेको के हो कम्रेड, यसको रूपरेखा कस्तो हुन्छ? कार्यान्वयन विधि कस्तो हुन्छ?...के तपाईँ पनि मजदूरी गर्न जानुहुन्छ त अब?’

प्रचण्ड वा अरू कुनै नेता एक/दुई दिन खेतबारीमा खेलिदिएर श्रमिक मजदूरले न्याय पाउने होइनन्, बाबुराम वा कुनै नेताले कुनै गरिबको भान्सामा खाना खाइदिएर उसको चूलोमा समृद्धि आउने पनि होइन।

हो, नेता धेरै पनि चहिँदैन। अनुत्पादक मान्छेको जमात धेरै भयोभने देश स्वतः घाटामा जान्छ। अहिले देखिएका साना–ठूला सबै नेतामध्ये सत्तरी प्रतीशत खेत खन्न गए भने देशको ठूलो आर्थिक भार सन्तुलनमा आउँछ। तर प्रचण्डले लोकेन्द्र बिष्टहरूको नक्कल, त्यो पनि शब्दमा गर्न आवश्यक छैन। प्रचण्ड नेता नै भएर बसे हुन्छ। लाजिम्पाट, सिंहदरबार जता बसे पनि हुन्छ। चितवन जान पनि पर्दैन। काठमाडौँ  छाड्न पनि पर्दैन।तर साँच्चिकै भनिएको समाजवादको रूपरेखा र कार्यनीति कस्तो हो त?नयाँ दिन नजाने कि फलानो देशको जस्तो भनेहुन्छ। फिनल्याड, डेनमार्क, स्विडेन, नर्वे, अस्ट्रेलिया आदि देशमा अहिले संसारकै उत्कृष्ट समाजवाद छ। उद्योग व्यवसाय गर्नेलाई सरकारले प्रोत्साहन दिन्छ। कमाउने, धनीले कर तिर्छन्, गरिब, बेरोजगार तथा असहायले घर–घरमै भत्ता, सेवा पाउँछन्।ती कुनै एक देशको नक्कल गर्ने कुरा आयो भने साँच्ची के हुन्छ माओवादीभित्र? पुँजीवादी, साम्राज्यवादी, फासिवादी, प्रतिगमनकारी आदि सबै भइन्छ?

ती कुनै पनि देशको भन्दा भिन्दै,मौलिक समाजवाद भनेको कस्तो हो त कम्रेड? कि राजा महेन्द्रको जस्तो नेपाली हावापानी र माटो सुहाउँदो प्रजातन्त्र र समाजवाद? भन्न त नेपालमा कम्युनिस्ट शासन ल्याइदिन पर्‍यो भनेर गुहार्न जाने नेपालका तत्कालीन कम्युनिस्ट नेताहरूलाई माओले भनेकै थिए रे नि– ‘म भन्दा त नेपालका राजा महेन्द्र नै सच्चा कम्युनिस्ट छन्’ भनेर। कि बिराएको बाटो समात्ने हो कम्रेड? धर्म नछाडीकन भन्दा राजा महेन्द्रले निर्माण गरेका राजनीतिक, औद्योगिक तथा प्रशासनिक खाकामा आजको विज्ञान प्रविधिमात्र थपिदिने नेता भए पुग्छ नेपालमा २१ औँ शताब्दीको मौलिक समाजवाद आउन।

आफूमात्र हिँड्ने पाइला हो। कर्ता हो। व्यक्ति हो। त्यस्तो नेता हुन सक्दैन। त्यस्तो बाटो फराकिलो पनि चाहिँदैन र क्रमशः साघुँरिँदै जान्छ आजको माओवादी मार्ग जस्तै। नेता भनेको त बाटो देखाउने उज्यालोको स्रोत हो। राम्रो नीतिगत बाटो बनाइदिए कार्यकर्ता, जनता आफैँ हिँड्छन्।आफूमात्र खाने मान्छे भान्से हुन पनि सक्दैन। नेता हुन त भान्से भन्दा नि धेरै माथिको जिम्मेवारी बहन गर्न जान्ने र सक्ने मान्छे चाहिन्छ। भान्सेले त भान्सामा उपलब्ध पाक्य सामग्री सही तरिकाले पकाएर दिनुपर्ने जतिलाई न्यायसंगत वितरण गरिदिए सकियो। तर नेताले खेतबारीदेखि भान्सासम्मको, भान्सादेखि शिक्षा स्वास्थ्य, वातावरण आदि सम्पूर्ण पक्षको दिगो र भरपर्दो नीतिनियमहरू, निर्माण र सुधारमा ध्यान दिनुपर्नेहुन्छ।  

त्यस कारण कम्रेड सुप्रिमो, तपाईँ नेता नै हो। नीति बनाउने हो तपाईँले। र, आफूले बनाएको नीतिभित्र आफू बस्ने पनि हो तपाईँ, जसलाई नैतिकता भनिन्छ। ठूलो मान्छेलाई नैतिकताको पाठ सिकाइरहन नपर्ने हुनाले ठीकै छ नि त हाम्रा नेताले चरम पुँजीवादी जीवनशैली अपनाए पनि जनतालाई कम्तीमा पनि समाजवाद ल्याइदिएहुन्थ्यो भनेर अझै आशावादी छ तपाईँसँग निरीह जनताको एक अंश। साँच्चै छ त तपाईँसँग नेपाली मौलिक समाजवादको खाका? अनगिन्ती इमान्दार र सक्षम सहयोद्धाहरू पहिले नै पाखा लागिसकेतपाईँको मार्गबाट। कतिपय इमान्दार, सिद्धान्तनिष्ठ कार्यकर्ता फलामको च्युरा चपाउँदै, किंकर्तव्यविमुख भएर जबर्जस्ती भनिरहेछन्– ‘गल्ती त धेरै छ नेतृत्वको, गुनासा धेरै छन् तर जाने कहाँ त हामी माओवादी छाडेर? जाने ठाउँ नै देखिँदैन।’यसरी शायद अन्तिम मौका दिएकाछन् प्रचण्डलाई उनकादानवीर कार्यकर्ताले। यो सबै महसुस भएको हो भने के अब कार्यकर्तालाई अल्मल्याउने शब्दजाल र खोक्रो भाषणबाजी त्यागेर, उपयुक्त नीति निर्माण र कार्यान्वयनमा लाग्ने कि? हाम्रालाई पछि राखेर राम्रालाई जिम्मेवार तहमा ल्याउने कि? विदेशी शक्तिराष्ट्रहरूको पछिपछि नकुदेर आफ्नै भूगोल र परिस्थिति सुहाउँदो, स्वावलम्बी र दीर्घकालीन नीति निर्माण थालनी गर्ने कि?

हो, मौलिक चाहिन्छ। संसारका सबै देशले आफ्नो देशको आन्तरिक तथा बाह्य परिस्थितिको समग्र अनुसन्धान र मूल्याङ्कन गरेर राज्य सञ्चालनको नीति बनाउँछन्।भारत र नेपालको समग्र परिस्थितिमा धेरै अन्तर छ, त्यसैले भारतकै जस्तो लोकतन्त्रले नेपालमा चाहेजस्तो काम गर्दैन। चीन र नेपालको समग्र परिस्थितिमा धेरै भिन्नता छ। त्यसैले चीनको जस्तो कम्युनिज्म वा सोसलिज्म पनि नेपालमा सफल हुँदैन। नेपालले हामी पनि तिमी जस्तै हो नि भनेर अरू कसैसँग नाटक गर्नु पनि पर्दैन। सत्विचार र नैतिक बल छ भने आत्मविश्वास पनि छ, गर्न सकिन्छ कम्रेड। विचार स्खलित भैसकेको हो, नैतिक धरातल कमजोर भैसकेको हो भने अब पनि धोका दिने काम नगर्नूस्।

crew.edu@gmail.com

प्रकाशित: १९ पुस २०७८ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App