२ आश्विन २०८१ बुधबार
image/svg+xml
विचार

उद्धारपछि उपचार कि प्रक्रिया?

पंक्तिकार कान्तिपुर दैनिकमा छँदा चितवनका संवाददाता मित्र रिपोर्टिंङको सिलसिलामा ट्रयाक्टर दुर्घटनामा परे। चितवनको उत्तरी पहाडी क्षेत्रबाट फर्कंदा उनीलगायत धेरै यात्रु ट्रयाक्टरको ट्रलीमा बसेका थिए, पल्टियो।सबैभन्दा गम्भीर रहेका संवाददाता दिपेन्द्र बडुवालको साँझ स्वास्थ्य अवस्था गम्भीर भएपछि चितवनको अस्पतालले तुरुन्तै काठमाडौँ लैजान सल्लाह दियो। यता काठमाडौँमा तुरुन्तै प्रकाशक र सम्पादक मण्डलले ‘उद्धारमा कुनै कसर बाँकी नराख्ने' निर्णय गर्योस। एम्बुलेन्समा ल्याउँदा जटिलता र ढिलो होला भनेर साँझमा सेनाको हेलिकप्टर परिचालन हुन्छ कि भनेर सहकर्मी सम्पादक प्रतीक प्रधानले तुरुन्तै नेपाली सेनाका तत्कालीन सेनापति रुक्मांगद कटवाललाई फोन गरे। मिटिङमा व्यस्त सेनापतिलाई आकस्मिकताको खबर पुर्याकई कुराकानी गरियो। उनले तुरुन्तै उद्धारको लागि सेनाको हवाइ विभागलाई ठाडो आदेश दिए र करिव डेढ घन्टाभित्रै दिपेन्द्रलाई काठमाडौँको न्युरो अस्पताल पुर्यारइयो। ‘एक घन्टा ढिलो भएको भए नबाँच्ने' सफल शल्यवि्र्कयापछि न्युरो सर्जनले भनेका थिए। यो करिब ८ वर्षअघिको घटना हो।
पोखरामा एक्कासी मुर्छा परेका कवि तिर्थ श्रेष्ठलाई हेलिकप्टरबाट सिधै काठमाडौंको वयोधा अस्पतालमा ओरालीयो। पोखरामै आशा मारिएका उनको उपचार सफल भयो।
एक दशकअघि पंक्तिकार जापानी टोलीसँग सगरमाथा क्षेत्रको ट्रेकिङमा गएको थियो। पचास वर्ष कटेका १२ जापानी ५ हजार ४ सय मिटर अग्लो कालापत्थर चढ्न आएका थिए। जापानीको तयारी र व्यवस्था हाम्रा लागि अनौठो हुन्थ्यो। समयमा हिँड्ने, समयमा पुग्ने, समयमा खाने, समयमा सुत्ने, हतार नगर्ने, हिँड्नुअघि १५ मिनेट खुट्टा र जिउ तन्काउने, सन्तुलित आहार, सन्तुलित भारी, सन्तुलित व्यायाम आदि। तेङ्बोचे पुगेपछि एक सदस्यलाई लेक लागेको लक्षण देखापर्योत। तुरुन्तै ग्यामो ब्यागभित्र (हावाको चाप बढाउने)हालेर राखियो। स्याटलाइट फोनमार्फत काठमाडौँमा फोन गरियो। बिहान ७ नबज्दै हेलिकप्टरबाट उद्धार गरियो। अन्यले सकुशल यात्रा सम्पन्न गरे।
दुई साताको ट्रेकिङका बखत सबै जापानी सदस्यको घाँटीमा सिठी, कम्मरमा टर्चलाइट र पानीको तुम्लेट हरहमेसा झुन्डिएको हुन्थ्यो। पंक्तिकारलगायत कुनै नेपाली सदस्यसँग सिठी थिएन। जापानीको सचेतताले पंक्तिकारलाई पत्रकार कनकमणि दीक्षितको दुर्घटना याद दिलायो। कनक मनाङबाट फर्कने क्रममा चिप्लिएर मर्स्याङ्दीको भीरमा ४ दिन अड्किएका थिए। स्पाइनमा चोटका कारण हल न चल, खानु न खुट्नु भएको थियो। उनको घाँटीमा जापानीको जस्तै सिठी हुँदो हो त फुक्ने कोसिस गर्दा हुन्। सायद मसर्याङ्दीपारिका गोठालाले सुन्दा पनि हुन्। त्यो त खोजटोलीका सदस्य पदम घलेको छैठौँ इन्द्रियले काम गरेकाले उनको ठेगाना पत्ता लागेकै कारण सायद कनक जीवितै फेला परे। आज हामी प्रविधिमा अगाडि, तर संवेदनामा निकै पछाडि छौँ। त्यसैले हरेक दिन सभासद् हरिबहादुरलगायत आफन्त गुमाउँदै छौँ।
बाग्लुङका सभासद् हरिबहादुरको गत बुधबार जिप दुर्घटनालगत्तै समाचार आएको थियो। घाइते सभासद्लाई सेनाको हेलिकप्टरमा बाग्लुङबाट पोखरा ल्याइए पनि ‘सोझै काठमाडौँ ल्याइएन, पोखरामा अलमल भयो' भन्ने परिवारको आरोप छ भने हेलिकप्टरलाई पोखरासम्मको अनुमति रहेको पनि समाचारमा आएको छ। घटना भएको ५ दिनपछि आइतबार साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा हरिबहादुरको निधन भयो। नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभासद् हरिबहादुरको पार्थिव शरीरमा झन्डा ओढाउँदै उनको सम्झनामा ‘धौलागिरि अञ्चल अस्पतालमा ट्रमा सेन्टर स्थापना गर्ने' निर्णय गरेको बताए। पौडेल र उनको सरकारले तिनैका सभासद् घाइते हरिबहादुरको उद्धारमा तदारुकता देखाए वा देखाएनन् एक सातामा छानबिन समितिको रिपोर्टले त्यो बताउला नै। उनलाई बचाउन सकिन्थ्यो वा सकिन्नथ्यो, त्यो पनि चिकित्सा विज्ञानको हातमा हुन्छ, तर ‘उद्धारमा कुनै कसर बाँकी नराख्ने' निर्णय नेतृत्व वर्गको संवेदनामा हुन्छ, तिनको सोचमा हुन्छ र तिनको व्यवस्थापकीय क्षमतामा हुन्छ। पौडेलहरूले ठूला अस्पताल भवन मात्र देख्छन्। ट्रमा सेन्टरको शिलान्यास वा उद्घाटन नै पूर्ण हुन्छ यिनका निम्ति। यिनको व्यवस्थामा ती अस्पतालको सञ्चालन भने यमराजले गर्दै आएका हुन्छन्। यो हाम्रो व्यवस्थापकीय कमजोरी हो। ‘स्वास्थ्यसम्बन्धी आकस्मिक सेवामा प्रक्रियापट्टि नलागी पहिला उपचार गर्नु–गराउनु' भनी न्यायालयको आदेश जारी भएको छ नेपालमा। तर, यसको कार्यान्वयन र नियमन भएको भने देखिन्न। स्वास्थ्य र संकटजस्तो संवेदनशील विषयमा भीभीआइपी, भीआइपी र सर्वसाधारणमा राज्यको भेदभाव हुनुहुन्न भन्ने कुरामा हामी सचेत छौं, तर कार्यान्वयन फितलो छ। 
हामी सभासद् उद्धारमा ढिलाइको समाचार प्राथमिकताका साथ लेख्छौँ। दिनैपिच्छेको दुर्घटना र मानवीय क्षतिले ‘सडक दुर्घटना' समाचार शीर्षक नै सुरु गरेका छौँ। हामीलाई स्थितिको गाम्भीर्य थाहा हुन्छ। त्यसैले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनका बेला काठमाडौँका विभिन्न सरकारी तथा निजी अस्पताल चिल्ला सडकसहित तन्दुरुस्त राखेका थियौँ भीभीआइपी र आकस्मिकताका लागि। हाम्रा राजमार्गमा सुरक्षा निकायको उद्धार टोली तैनाथ छन्। उद्धार टोलीका प्रहरीले त्रिशुली नदीबाट बोकेर सडकसम्म ल्याएको त देखियो, तर त्यहाँ प्राथमिक उपचार विधि नभएर सडकमै असरल्ल परेपछि तत्काल उद्धारको अर्थ रहेन। पंक्तिकारले जोगिमारामा देखेको यो घटनापछि कुनै चौकी वा पोस्टमा कम्तीमा एक स्वास्थ्यकर्मी वा तालिमप्राप्त सुरक्षाकर्मी हुँदा हुन् त घाइतेको प्राथमिक उपचार खोलाबाटै सुरु हुन्थ्यो भन्ने लाग्यो।
मुटु सर्जन भगवान कोइरालाले गंगालालमा हेलिप्याड बनाउने प्रयत्न गरेका थिए। यो दुर्भाग्य हो कि, इञ्जिनियरिङले योग्यता दिएनछ। नयाँ अस्पतालमा हेलिप्याड नहुनु हाम्रो अपरिपक्वता हो। अस्पतालका लागि सरकारी मापदण्ड नहुनु, उद्धारका लागि क्षेत्रीय विमानस्थलमा हेलिकप्टर वा जहाज तैनाथ नहुनु अदूरदर्शिता हो।
जापान प्रकोपको लागि हरदम तम्तयार रहने मुलुक हो। तर पनि सन् २०११ को चुनामी (सुनामी)ले थलै पर्योम। मानौँ हाम्रो उपत्यकामा महाभूकम्प आयो। हामी आफै कत्तिको तयार छौँ त? सोचौँ, खूब सोचौँ! अरूबाट तत्काल उद्धार हुनै सक्दैन, किनभने काठमाडौँ विमानस्थलको धावनमार्ग चर्कन्छ, पुलहरू भत्कन्छन्, यथेष्ट उद्धारकर्मी र सामग्री आउँदैन। पानीका पाइप फुट्छन्। बिजुलीका लठ्ठा ढल्छन्। टेलिफोन सम्पर्क विच्छेद हुन्छ। हामी ५० लाखमध्ये आधा नरहन सक्छौँ, रहेका घाइते हुन्छौँ। हाम्रो आफ्नो तयारी के छ त, था'छ?
पुरानो वीर अस्पतालसँगै थन्केकोे बुढो ट्रमा सेन्टरको बृद्ध मोदी र बयोबृद्ध सुशीलमार्फत् अस्तिमात्रै उद्घाटन गर्न सक्यौँ। सत्य यही हो। त्यसैले पशुपतिनाथले पनि भन्दा हुन्– ‘तिमी आफैसँग राख­ जगेडा पानी, खानेकुरा र केही प्राथमिक उपचार सामग्री!'

प्रकाशित: २४ मंसिर २०७१ २३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App