रुकमाङ्गद कटवालको आत्मवृत्तान्तमा देखिएको सबैभन्दा महत्वपूर्ण कडी नै उनको इच्छाशक्ति हो जुन उनले आफू केवल आठ वर्षको हुँदै प्रदर्शन गरेका थिए। पहिलो पटक उनले राजालाई देखेपछि उनलाई पछ्याउँदै बुइँपा भन्ने ठाउँसम्म तीन दिन पैदलै हिँडेर पुगेका थिए। यहाँ इच्छाशक्तिसँगै सुक्ष्म निरीक्षण शक्तिको पनि उल्लेख गर्नैपर्छ। उनले राजाको पालभित्र–बाहिर गर्ने सिपाहीहरुको गतिविधि निकै सुक्ष्म अध्ययन गरे र एक दिन मौका पारेर पालभित्र छिरेका थिए। यसले उनको सुक्ष्म निरीक्षणको शक्ति धेरै सानो हुँदादेखि नै थियो भन्ने प्रष्ट्याउँछ। साथै यो घटनाले धेरै खुबीहरु मानिसमा अन्तर्निहित हुन्छ र त्यसको प्रयोग गर्न सकेको अवस्थामा यो अझै निखारिँदै जान्छ। कतिपय मानिसले सोचेजस्तो तालिमबाट मात्रै सिकिने कुरा भने होइन।
प्रधान सेनापति रुकमाङ्गद कटवाल अरु सेनापतिहरु भन्दा फरक हुनुमा उनको यही असल गुणले सबैभन्दा बढी भूमिका खेलेको छ। जसले उनलाई उनका अरु समकक्षीभन्दा धेरै माथिल्लो तहमा पुर्याअउन सहयोग गर्योी। यो पनि हुन सक्छ कि यो गुण अरु सबै सेनापतिमा पनि थियो तर उनी जति निर्भिक र निडर भएर अरु कसैले पनि आफूलाई लागेका कुरा आफूभन्दा माथिको प्रभावशाली व्यक्तिसामु राख्न सकेनन्। माओवादीका विषयमा उनले तत्कालीन प्रधान मन्त्री गिरिजाप्रसाद कोइरालासँग जुन निडरता र प्रष्टतासँग राखे त्यसलाई कोइरालाले ध्यान दिएको भए उनले पछुताउनुपर्ने थिएन। त्यतिमात्र होइन, माओवादी होस् वा हट्न लागेका राजा वा अनमिनका इयान मार्टिन हुन्, सबैका विषयमा उनले राखेका तर्क समय सान्दर्भिक र देशको हितका लागि जरुरी थिए। यो बेग्लै कुरा हो कि कोइरालाले उनको सल्लाहलाई समयमा ग्रहण गर्न सकेनन् जसको फलस्वरूप जनआन्दोलनपछिको निर्वाचनमा नेपाली कांग्रेस नराम्रो हार बेहोर्न बाध्य भयो। साथै गिरिजाप्रसाद कोइराला आफँै पनि प्रचण्डले लोभ देखाएको पहिलो राष्ट्रपतिको पद पाउने अवस्थामा रहेनन्।
राजनीतिक नेताले कुनै पनि विषयमा समयमै निर्णय लिनुपर्छ भन्ने पाठ पनि कटवालको यो आत्मकथाले दिएको छ। हार अघिसम्म गिरिजाबाबुले सेना प्रमुखको कुरामा खासै ध्यान दिएका थिएनन् तर जब माओवादीले अनेक छलकपटको भरमा ठूलो मत ल्याएर जिते र जसरी प्रचण्डले त्यसपश्चात आफ्नो असली स्वरूप देखाए, त्यसपछि मात्र गिरिजा निकै आहत भएका थिए तर समय घड्केपछिको पछुतो पनि नेतृत्व क्षमतामा घातसिवाय अरु केही प्रमाणित हुन सक्दैन।
कतिपय विषयमा सेनापति कटवाल पनि तत्कालीन परमाधिपति राजा ज्ञानेन्द्रबाट छलिन पुगे। कटवालले असोज १८ को मन्त्रिपरिषद् विघटनलाई सुरुमा निकै सकारात्मक पाराले लिएका थिए र त्यसको खुलेर समर्थन पनि गरेका थिए। अहिले आएर तत्कालीन राजा ज्ञानेन्द्रको नियत राम्रोसँग नबुझी आँखा चिम्लेर पक्ष लिनु उनको पनि कमजोरी देखिएको छ। जुन पछि उनले मौखिकरूपमा स्वीकारेका पनि छन्। तर राजालाई पत्याउनु स्वाभाविकरूपमा उनको 'व्यावसायिक धर्म' पनि थियो। जब समयान्तर र राजाको चालबारे उनी अवगत भए त्यसपछि उनी राजाको अन्ध समर्थक बनेनन्। आफ्नो आँखा खुलेपश्चात उनले लोकतान्त्रिक व्यवस्था (तर राजाको कुनै रूपको उपस्थितिसहितको) का लागि जे/जति गरे, त्यसैबाट पनि बुझ्न सकिन्छ कि गल्ती गर्नु र गल्ती गरिसकेपछि र गल्ती सुधार्न प्रयास गर्न सक्नु पनि नेतृत्वको ठूलो गुण हो। जसले एउटा नेताको महानता र साँचो स्वरूप दर्साउँछ।
एकातिर उनी राजतन्त्र जोगाउनका निम्ति भरमग्दुर मेहनत गरिरहेका थिए र यसका लागि माओवादी नेताहरु र कांग्रेस सभापतिसँग पनि झगडा गरिरहेका थिए भने अर्कातिर उनको यही कदम पूर्वराजा ज्ञानेन्द्रबाट रुचाइएको थिएन। त्यो समय उनको राजदरबारप्रतिको व्यक्तिगत कृतज्ञता र पेशागत कर्तव्यका बीच प्रत्यक्ष द्वन्द्वको समय थियो। पूर्वराजा ज्ञानेन्द्रले यो कुरा कहिल्यै पनि राम्रोसँग बुझ्न सकेनन् कि रुकमाङ्गद राजतन्त्रको भलाई चाहन्थे न कि यसको अन्त्य। यी सबको बाबजुद पनि रुकमाङ्गद माओवादी उग्रवादीहरुलाई दरबार छिरेर राजालई जबर्जस्ती घोक्रेठ्याक लगाउनेहरुलाई गोली ठोक्न तयार भई बसेका थिए तर त्यो अवस्था आएन। ज्ञानेन्द्र शाहले स्वेच्छाले दरबार त्याग गरे।
कटवालको सुक्ष्म निरीक्षण गर्ने क्षमता राजा महेन्द्रको क्याम्पमा आफू बालक हुँदा मात्र होइन, प्रधान सेनापति भएपछिसम्म पनि कायमै थियो। माओवादी नेताहरु जति नै साखुल्ले हुन आए तापनि उनले तिनको नियत बुझेका थिए। उनले द्वन्द्वताकादेखि माओवादीहरूको एक एक गतिविधि नियालेर बसेका थिए। ती के भन्छन् र के गर्छन् भन्ने विषयमा उनलाई राम्रो जानकारी थियो। तर उनको निरीक्षणात्मक गुणको फाइदा माओवादीहरुसँग संगत भएपछि झन् बढी भयो। जब प्रचण्ड उनलाई भेट्न दर्जनौँ पटक शशीभवनमा जान्थे र मिलेको जस्तो नाटक गरेर राम्रो केमेस्ट्री मिलेको कुरा गर्दै फर्कन्थे, त्यसबेला पनि कटवालले तिनको मित्रतामा लुकेेको कपटता राम्रैसँग ठम्याएका थिए। माओवादी नेता पुष्पकमल दाहाल मात्रै होइन, बरु अन्य नेता पनि प्रधान सेनापतिसँग भेट्न शशी भवन जान्थे र नेपाली सेना र माओवादी मिलेर सँगै जाने कुरामा नै जोड दिन्थे। तर उनी तिनको ललिपप खाएर गिरिजाप्रसाद कोइराला बन्न चाहन्नथे र बनेनन्।
म्ााओवादीसँग दश वर्ष द्वन्द्वराजको अनुभव भए पनि कूटनीतिमा उनीहरु रुकमाङ्गदका अगाडि निकै कमजोर पर्न गएको देखिन्छ। यहाँनेर उनले आफ्नो मन्तव्य कसरी बनाउँथे र यसबारे उनको राय के थियो भन्दा उनले कसरी गिरिजाबाबुलाई सरसल्लाह दिन्थे भन्ने राम्रोसँग देख्न सकिन्छ। भलै गिरिजाबाबुले उनको सल्लाह नसुनेर हारको सामना गर्नुपर्योह र राष्ट्रपति हुनबाटसमेत वञ्चित हुनुपर्योा। तर तिनै खुंखार माओवादीले रुकमाङ्गदलाई आफ्नो इशारामा नचाउन सकेनन्। अंग्रेजीमा एउटा प्र्रसिद्ध भनाइ छ- 'आफ्नो साथीलाई नजिक राख्नू तर आफ्नो दुस्मनलाई साथीभन्दा पनि बढी नजिक राख्नू।' रुकमाङ्गदले यो भनाइलाई आफ्नो जीवनमा शतप्रतिशत लागु गरेको देखिन्छ। उनीहरुको १६ दिनको झगडा हुनुअगाडिसम्म कटवालले आफ्नो शासन ढाल्न सक्छन् भन्ने कहिल्यै प्रचण्डलाई शंका हुन दिएनन्। जब प्रचण्डले प्रधान सेनापति कटवालका कारण राजीनामा दिनुपर्योक, त्यसले नेपालको राजनीतिक धरातलमा ठूलो भुइँचालो ल्याएको थियो।
माओवादीको सही रंग जनतासामु ल्याउन जति प्रधान सेनापति रुकमाङ्गद कटवालले प्रयास गरे त्यो शायद सम्पूर्ण मिडिया मिलाएर पनि बराबर हुनसक्दैन होला। त्यसैले त एक व्यक्तिको नेतृत्व क्षमताको महत्व हजारौँ व्यक्तिले गर्ने कामभन्दा बढी हुन्छ। नेतृत्व क्षमता कुनै विद्यालय वा विश्वविद्यालय गएरै मात्रै हासिल गर्न सकिने कुरा भने पक्कै होइन । हो, यसबारे बुझ्न भने पक्कै सकिन्छ र बुझेर त्यसलाई व्यवहारमा उतार्ने प्रयास पनि खराब भने होइन तर कुनै कुनै खुबी भने हामी सबै जन्मँदा नै लिएर आएका हुन्छौं।
प्रकाशित: २७ आश्विन २०७१ २१:५४ सोमबार