गान्धी सुरुमा ब्रिटिस शासक विरोधी थिएनन्। सन् १८८८ मा अध्ययनका लागि लन्डन पुगेका गान्धी सन् १८९१ मा भारत फर्किँदा उनमा वकालत गर्ने उमंग थियो। २ वर्षको भारत बसाईपछि उनी व्यावसायिकरूपमा वकालत गर्न सन् १८९३ मा दक्षिण अफ्रिका पुगे। २२ वर्षको द.अफिका बसाइपछि सन् १९१५ मा उनी भारत फर्किए। गोपालकृष्ण गोखले (भारतीय राष्ट्रिय कंग्रेस) को आग्रहमा भारत फर्किएका गान्धी दक्षिण अफ्रिकाको अहिंसात्मक आन्दोलन (सत्याग्रह) को अनुभव लिएर फर्किएका थिए। सत्याग्रह प्रवर्तक गान्धीले भारतमा आफ्ना गतिविधि गर्न गृह राज्य गुजरात नै रोजे। गुजरातकै अहमदवादमा सन् १९१५ मा उनले भाडामा लिएको जग्गामा (कोचरव/सत्याग्रह) पहिलो आश्रम स्थापना गरे।
द.अफ्रिकाबाट भारत फर्किंदा उनीसँग श्रीमती कस्तुरबा र भतिज मगनलाल गान्धीसहित १३ अनुयायी आएका थिए। भारतमा उनको पहिलो आश्रम २५ जनाबाट सुरु भएको हो। त्यो आश्रम सञ्चालनमा आर्थिक अभावका कारण कठिनाई भएपछि सन् १९१७ मा सावरमती नदीको तटमा आश्रम सारे। जुन सावरमती आश्रमका नामले चिनिन्छ। जुन भारतको दोस्रो (सावरमती) आश्रम बन्यो। भारतको इतिहासमा यो आश्रमले ऐतिहासिक महत्व राख्छ। सावरमती आश्रमबाट उनले आफ्ना गतिविधिलाई निरन्रतरता दिइरहे। ब्रिटिस शासकविरुद्ध सचेतना जगाउन आश्रमबाट उनले गतिविधि सुरु गरेका थिए। त्यस बखत उनले पागलको संज्ञासमेत पाएका थिए तर पनि उनी प्रतिवादमा लागेनन् बरु लक्ष्यमा पुग्न निरन्तर लागिरहे।
सन् १९१९ अप्रिल ६ तारिखका दिन पंजाबको अमृतसरस्थित जालियालावाला वाग काण्डले ब्रिटिस शासकविरुद्धप्रतिको उनको सम्मान भष्म भयो। शान्तिपूर्ण भेला भएका निहत्था जनतामाथि ब्रिटिस शासकले बर्बरतापूर्ण दमन गर्दै नरसंहार मच्चाएप्छि उनी शासकविरुद्ध धावा नै बोले। जालियावालवाग काण्डपछि क्रुद्ध बनेका गान्धीले अन्नततः खुलेर ब्रिटिस शासकको विरोधका कार्यक्रम सार्वजनिक गरेरै विरोध गर्न थाले। त्यस शोकलाई शक्तिमा बदल्दै अहिंसात्मक आन्दोलनबाट नै ब्रिटिस शासकलाई भारतबाट हटाउनेे उद्घोष गरे। त्यसैको सुरुवात हो असहयोग आन्दोलन। सरकारी शिक्षा, सरकारी पेशा र विदेशी सामान बहिस्कारबाट आन्दोलन सुरु गरे। सन् १९२० मा शिक्षा बहिस्कार गर्ने विद्यार्थीलाई अध्यापन गराउन आफँै गुजरात विद्यापीठ सञ्चालन गरेर ‘असहयोग' आन्दोलनलाई मूर्त रूप दिए। साथै चर्खालाई आन्दोलनको प्रतीक मानेर देशव्यापी बनाए। उनले गरेको उद्घोषप्रति भारतिय कंग्रेसले पनि सहमति जनाएपछि असहयोग आन्दोलनले राष्ट्रिय रूप लियो।
भारत आगमनपछि गान्धीको जीवनका ३ दशकको छुट्टै इतिहास र महत्व छ। सन् १९२० को दशक असहयोग आन्दोलन, सन् १९३० को दशक सविनय अवज्ञा आन्दोलन, (सन् १९३० मार्चको दाण्डी मार्च अर्थात (साल्ट सत्याग्रह, कानुनको अवज्ञा) र सन् १९४२ को भारत छोडो आन्दोलन। यस अवधिमा उनले भारतमा ३ वटा आश्रम सञ्चालन गरे। पछिल्लो आश्रम महाराष्ट्रको बर्धामा सन् १९३४ मा स्थापना गरेर अहिंसावादी आन्दोलनलाई निरन्रतरता दिन उनी सफल रहे।
जालियावालबाग काण्डपछि खुलेर शासकको विरोधमा उत्रिएका गान्धीले आफँै सञ्चालन गरेको नवजीवनको सन् १९२० अक्टुबर २ को अंकमा आफ्नो भनाइ सार्वजनिक गरेका थिए– “ब्रिटिस सरकारलाई मैले जति पनि निस्वार्थ सेवा गरेँ सायदै कसैले गरे होला। जीवनका २९ वर्ष मैले यिनीहरुकै सेवामा बिताएँ, त्यतिबेलासम्म मानवीय भावनाले ओतप्रोत भएर स्वेच्छिक विश्वासले स्वतन्त्ररूपमा सहयोग गरँे। साथै यस अवधिमा मैले ४ पटक उनीहरुको सहयोगका लागि जोखिम पनि उठाएँ।” जुन घटनाको शासकले पश्चताप गर्दैं माफी मागोस् भन्ने उनको चाहना थियो। तर उल्टै घटनाको बचावट गर्दै हुलहुज्जत नियन्त्रण गर्दा भएको सामान्य घटना भन्दै शासक पक्षले जनताप्रति दोषारोपण गरेपछि उनी झनै क्रुद्ध बने। उनले भनेका छन्– ‘सबैभन्दा पहिले जनतालाई सचेत र जागरुक बनाउन आवश्यक छ, त्यो नै मेरो पहिलो कर्तव्य हो भन्दै आन्दोलनको स्वरूप अहिंसक हुनेछ।'
अहिंसा र गान्धी विचार अध्ययनकर्ता
प्रकाशित: १४ आश्विन २०७१ २२:५१ मंगलबार