१५ मंसिर २०७९ बिहीबार
विचार

साझा पर्व बन्दै छठ

केही वर्षअघिसम्म तराईमा मात्र सीमित छठ पर्व बिस्तारै सम्पूर्ण नेपालीको पर्व बन्दै गएको छ। अहिले के पहाड,के भित्री मधेस, के संघीय राजधानी,सबैतिर छठको रौनक लाग्ने गरेको छ।खास गरी पहाडी समुदायले यस पर्वलाई अपनत्व ग्रहण गरेसँगै छठको उत्सव निकै फरासिलो बन्न पुगेको देखिन्छ।

खासमा छठ पर्व चार दिनसम्म धूमधामले मनाइन्छ तर सरकारले बिदा भने एक दिनमात्र दिन्छ। त्यसैले यो पर्व मनाउनेलाई समस्या परेको छ तापनि सरकारी तवरबाट कुनै सुनुवाइ भएको छैन। कम्तीमा पनि यो पर्वमा ३ दिन बिदा दिन सकियो भने धेरैले हर्षोल्लासका साथ छठ मनाउने अवस्था सिर्जना हुनेमा शंका छैन।

विधिवत् रूपमा सोमबारबाट सुरु भएको छठ चार दिनसम्म अर्थात बिहीबारसम्म मनाइन्छ।बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि बल्ल सम्पन्न हुनेछ। सबै जातजाति,भाषाभाषी र धर्मावलम्बीका लागि साझा पर्वका रूपमा विकसित हुँदै गरेको यो पर्वप्रति यही कारण अब मिथिलाञ्चलको मात्र एकाधिकार रहेन। सबैले ग्रहण गर्न सक्नु यो पर्वको मात्र नभएर सिंगो मिथिलाञ्चलका लागि पनि खुसीको विषय हो।

छठ पर्वमा पहिलो दिन नुहाएर नूनको अंश नहुने खाना खाने, दोस्रो दिन दिनभर निराहार बस्ने (खाना नखाने) र साँझपख छठी माईको पूजा गरी घरका सम्पूर्ण परिवारजनलाई प्रसाद ग्रहण गराइन्छ।

तेस्रो दिन दिनभर निराहार बसी पुरी,गैहँ पीठोमा सखर हाली ठेकुवा तथा विभिन्न प्रकारका परिकार बनाइन्छ।फलफूल तथा पूजाका लागि आवश्यक सामग्रीको जोहो दिनभर गरिन्छ।त्यसपछि साँझपख नजिकको पोखरी, नदी, ताल, तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। यसैगरी चोथौ दिन भने बिहान उदाउँदो सूर्यलाई अर्घ दिई अन्तिममा समापन गरिन्छ।

यस अर्थमा पनि छठ हिन्दुहरूको महान् चाड हो भन्ने प्रष्टिन्छ तर धेरैलाई भने अझै पनि यो पर्व मधेस वा तराईसँग मात्र सम्बन्धित छ कि भन्ने परेको छ। जुन सरासर गलत हो।यतिसम्म कि यो पर्व नेपाली मुस्लिम समुदायले समेत उत्साहपूर्वक मनाउने गर्दै आएका छन्।

छठ पर्व विशेष गरी सूर्यको आराधनाबाट चर्म रोग निको हुने, निसन्तान व्यक्तिले छठी मैयाप्रति आस्था राखी सूर्य भगवानको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जस्ता विश्वासमा आधारित छ। त्यसैले पनि यो पर्वप्रति धेरैको आकर्षण बढेको मान्न सकिन्छ।

के ठूला जाति,के साना जाति,के हिन्दु,के मुस्लिम,सबै समुदाय मिलेर सामूहिक रूपमा यो पर्व मनाउँछन्। कतिपय ठाउँमा हिन्दू धर्मबाहेकका अन्य धर्मावलम्बी समेत यो पर्व रमाइलो गरेर मनाएका दृश्य अब सामान्य लाग्न थालेका छन्।

राष्ट्रिय पर्व दसैँ र तिहार हिन्दूबाहेक अन्य धर्मावलम्बी मनाउँदैनन्।इदको कुरा गर्ने हो भने मुस्लिमबाहेक अन्य धर्मावलम्बीले मनाउँदैनन् तर छठमा यस्तो अनेकता पाइँदैन।यस अर्थमा छठ पर्व राष्ट्रिय एकताको मियो पनि हो भन्न सकिन्छ।

नेपाल बहुभाषिक,बहुसांस्कृतिक, बहुजातीय मुलुक हो। सबै जनताको आआफ्नै रीतिरिवाज छ।विभिन्न किसिमको धर्म,संस्कृतिले धनी रहेको यस मुलुकमा दसैँ,तिहारलाई मात्र राष्ट्रिय पर्वको मान्यता दिइँदा छठ जस्ता ठूला पर्वको महिमा छायामा परेको हो कि भन्ने लाग्छ। यसतर्फ संघीय सरकारले सोच्नु आवश्यक छ।

जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर जाग्राम बस्ने यो पर्व कम्ता आकर्षक र महत्त्वको छैन। यो पर्वमा खास गरी महिला लगातार चार दिनसम्म खट्छन्।

निराहार बसे पनि सूर्यको आराधना गर्नेदेखि पूजाका सामान जुटाउने हुँदै पाहुनापासालाई सत्कार गर्ने कर्मसम्ममा उनीहरू कुनै थकान महसुस गर्दैनन्।घरका परिवार तथा बस्तुभाउ र बालबच्चा तथा ज्येष्ठ नागरिकलाई गर्नुपर्ने स्याहार र रेखदेख त छँदैछ। तर पनि महिलामा कुनै ग्लानि देखिन्न। बरु उनीहरू झन् फुर्तिला भएर लागेका देखिन्छ। सायद छठी माईकै आशीर्वादले हो महिलामा यस्तो उत्साह र सक्रियता पैदा भएको।

प्रकाशित: २४ कार्तिक २०७८ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App