७ वैशाख २०८१ शुक्रबार
विचार

नेपाल एअरलाइन्सका चुनौती

विसं २०१३ मा शाही नेपाल वायुसेवा निगमका रूपमा एउटा डगलस डिसी–३ विमानका साथ स्थापित हाम्रो राष्ट्रिय ध्वजाबाहक वायुसेवा, शाही नेपाल वायुसेवा निगम कुनैबेला नेपालको सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबभन्दा बढी नेपालीलाई रोजगार दिने संस्थाका रूपमा परिचित थियो।

तर अहिले स्थापनाको ६५ वर्षपछि पनि अनेकौँ भ्रष्टाचारका काण्ड, अरबौँको ऋण र संस्थागत कुव्यवस्थाबाट मुक्त हुन सकेको छैन। अहिले पनि नेवानिमा लखनौ लुट जारी छ।

२०२६ मा निगमले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गराएको थियो। यसपश्चात् २०२७ मा ट्विन अटर र २०२८ मा बोइङ ७२७ विमान सेवामा ल्याइएका थिए। २०४३ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्थापित गरेको थियो।२०४१ मा नेपाल भित्रिएका १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाईमार्गबाट आएका थिए।

तीमध्ये ३८ प्रतिशतलाई निगमले सेवा दिएको थियो। तर यो संख्या २०३५ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। निगमको मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र लुफ्थान्सा जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले २०४३ मा काठमाडौँ र फ्रान्कफर्टबीच सिधा उडान थालेपश्चात अन्य वायुसेवा पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक बने।

त्यस समयमा शाही नेपाल वायुसेवाको सञ्जाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् २०४३ मा निगमले हङकङ, फ्रांकफर्ट, लन्डन, पेरिस, नारिता, कराची, दुबई र दक्षिण एशियाली मुलुकका प्रायः सबै राजधानीमा उ बोइङ ७५७ बाट सिधा उडानको थालनी गरेको थियो भने पछि निगम र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौँ र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासाबीच सिधा उडान सुरु गरिएको थियो।

विसं २०४४–४५ मा ५.४३ करोड अमेरिकी डलरको कारोबार गरेको निगमले १.७ करोड अमेरिकी डलर नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठूलो रोजगारदाताका साथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठूलो संस्था थियो।

निगमले करिब १.५ करोड डलर विदेशबाट भित्र्याएको थियो। निगमका यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। यस समयमा निगममा काम गर्ने कर्मचारीको ठाटबाट नै अर्को हुन्थ्यो। उनीहरू आफूलाई अभिजात्य वर्गमा गणना गर्थे। त्यतिबेलाका निगमका कार्यकारी एक प्रमुखले लेखकसँग एअर होस्टेसमा भर्ना हुन नेपाली युवती नआएका कारण दार्जिलिङका युवती भर्ना गर्नुपरेको बताएका थिए।

२०४६ पछिका दिनमा निगमलाई अरबौँको धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथवेस्ट काण्ड, लाउडा काण्ड, एयरबस काण्ड जस्ता भ्रष्टाचारका काण्डले गाँज्यो। यसमा त्यतिबेलाका राजनीतिक नेतृत्वको संलग्नता थियो भनिन्छ। किनभने राजनीतिक नेतृत्वको छत्रछायाबिना यति ठूला भ्रष्टाचार असम्भव छ।

वर्तमानमा निगमसँग एअरबस ए ३३०–२०० दुई थान, एयरबस ए ३२०–२०० र डे ह्याभिल्यान्ड क्यानाडा डिएचसी–६ ट्विन अटर २ थान सञ्चालनमा छन्। एअरबसले दिल्ली, दुबई, दोहा र जापानको उडान गरिरहेका छन् भने ट्विन अटरले सीमित आन्तरिक उडान गरिरहेका छन्। ५ वटा चाइनिज विमान थन्किएका छन्।

एअरबसहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। त्यसैले नेवानि अरबौँको सरकारी तथा बैंकहरूको ऋणमा चुर्लुम्म डुबेको छ। कर्मचारीले हडताल गरेका महिनौँ बितिसकेको छ। कर्मचारीलाई तलब खुवाउने ग्राउन्ड ह्यान्डलिङको कमाइबाट हो।

अर्बौको एअरबसबाट कमाइ हुन सकेको छैन। दर्जनौँ विमान कम्पनीले नेपाल उडान गरेर कमाइ गरिरहेका छन् तर नेवानिलाई भने रोगी बनाइएको छ। कर्मचारी नेवानिको तलब खाएर विदेशी हवाई कम्पनीको पक्षपोषण गरिरहेका छन्।

नेवानिको यस्तो दुर्दशाबीच नेपाल सरकारले गत साता मात्र त्यसै संस्थामा तल्लो तहमा प्रवेश गरेर विभिन्न विभागमा निर्देशकसमेत ३४ वर्ष काम गरी सेवा निवृत्त भएका पूर्व कर्मचारी युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाएको छ।

अधिकारीको के असाधारण क्षमता देखेर सरकारले नियुक्त गर्‍यो ? त्यो आफ्नो ठाउँमा छ। तर अधिकारीले विभिन्न विभागको निर्देशक हुँदा गरेका कामको लेखाजोखा पनि अहिले हुन आवश्यक छ। अधिकारीले सेवाकालमा नेवानिको आरोह/अवरोह देखेकाले राष्ट्रिय ध्वजाबाहकको गौरवमय इतिहास फर्काउन कस्तो काम गर्लान्? प्रतीक्षाको विषय छ।

प्रकाशित: १५ कार्तिक २०७८ ०१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App