११ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

पिछडा वर्गमा दाइजो

'आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् सांस्कृतिकरूपमा पछि परेका आदिवासी/जनजाति तथा दलितको सूचीमा नपरेका जातजातिलाई पिछडा वर्ग (ओबिसी) भनिएको छ। यस वर्गमा पर्ने जातजातिका मान्छेको स्वभाव अलि रुखो किसिमको र आफू–आफूमै लड्ने लडाकु स्वभावको हुन्छ भने यिनीहरु समतल भूमिमा बस्न मन पराउँछन्।

यी जातजातिको मुख्य भाषा मगही, मैथिली, भोजपुरी र अवधी हो। यिनीहरुको विभिन्न परम्परागत जातीय पेसा भए तापनि मुख्य पेसा कृषि नै हो। केही परम्परागत पेसा पनि गर्ने गरेको पाइन्छ। यिनीहरुको आफ्नै किसिमको संस्कृति र चाडपर्व हुन्छ। जसमा– सामाचकेवा, जितिया, संक्रान्ति, आनन्द पूजा, रक्षाबन्धन, घडी पवनी, जुरशीतल, जाटजटिया, लगपाँचे, छठ, भरजुतिया, होली, इन्द्रपूजा, सुवेरात, मोहर्रम, इद, बकर इद, वारहवी अवल पर्छन्। यिनीहरुको खास जातिको खास भाषा र पहिरन नभएर क्षेत्रको आधारमा भाषा बोल्ने र आर्थिक हैसियतअनुसार पहिरनमा पुरुषको धोती, कुर्ता, कमिज, गम्छा र महिलाको हकमा घुम्टोमा बस्ने र साडी, साजा, ब्लाउज मुख्य पहिरन छ। खानपानमा मुख्य गरी दाल, भात, तरकारी, चटनी छ। 
पिछडावर्ग (ओबिसी) का जातजाति नेपालबाहेक मित्रराष्ट्र, भारत, बंगलादेश, भुटान बर्मा, मोरिसस आदि मुलुकमा पनि ठूलो संख्यामा छन्। नेपालको ५५ जिल्लामा यी पिछडा वर्गका जातजातिको बसोबास भएकामा १५ जिल्लामा बाक्लो बसोबास देखिन्छ। सर्लाहीको बबरगञ्ज गाविसलाई एक अध्ययन क्षेत्र मानेर भन्ने हो भने यस गाविसमा पिछडा वर्गका जातमध्ये कुशवाहा, यादव, रौनियार, तेली, कुर्मी, कलवार, नुनिया सोनार, लोहार मुसलमान, हजाम, हलुवाईलगायत अन्य जातिमा ब्राह्मण, भूमिहार, दुसाध, मुसहर, आदि जाति बसोबास गर्छन्। यस गाउँका यी सबै जाति प्रायः कृषिमा नै आश्रित देखिन्छन्। यी पेशाबाहेक विदेश रोजगार तथा व्यवसायमा आश्रित भएर जीवन निर्वाह गर्ने पनि छन्। थोरै मात्र शिक्षित तथा सरकारी जागिरमा कार्यरत् छन्। 
पिछडा वर्गका महिला दाइजो प्रथाको अमानवीय व्यवहारबाट शोषित र दमित छन्। जहाँ घर व्यवहारमा लैङ्गिक विभेद तथा सामाजिक हिंसाबाट पीडित भएका छन्। यस समुदायमा वर वा वर पक्षले माग गरेअनुसार पुर्या उन नसकेमा वधूलाई शारीरिक यातना, मानसिक यातना एवं जलाएर मार्नेसमेतका घटना पर्याप्त मात्रामा देख्न सकिन्छ। यस्ता हिंसात्मक कार्य परिवारका सदस्यबाट नै भएको हुन्छ। यस समुदायमा दाइजोको रकम दिन/प्रतिदिन बढ्दै गएकाले छोरी पाएका अभिभावक बढी चिन्तित भएका देखिन्छन्। जसले गर्दा कतिपय ठाउँमा छोरी भएको थाहा पाउनासाथ दुःखी भई गर्भमा नै भ्रुण हत्या गर्न बाध्य भएका पनि देखिन्छन्। 
यस्ता समस्या यस समुदायको अशिक्षित महिलामा मात्र हैन कि शिक्षित महिलामा पनि देखिन्छ। अभिभावकले आफ्ना छोरीलाई उच्च शिक्षा दिए पनि बढीभन्दा बढी दाइजो दिनुपर्ने बाध्यता हुन्छ जसले गर्दा अभिभावक वर्ग छोरीको पढाइतिर ध्यान पुर्याढउन चाहँदैनन्। यस्तो नराम्रो प्रथा एवं कुरीतिले महिला वर्गको विभिन्न पक्ष, जस्तै– सामाजिक, शैक्षिक, आर्थिक, पारिवारिक पक्षमा असर पारेको देखिन्छ। नेपालकै तराई क्षेत्रअन्तर्गत पर्ने बबरगञ्ज गाउँका जातिमा पनि दाइजो प्रथा कायम रहेको र जुन ठूलो समस्याका रूपमा देखिन्छ। 
हिन्दू संस्कृतिमा दाइजोको चलन प्राचीन कालदेखि नै चल्दै आएको मनुस्मृति रामायण, महाभारतबाट प्रष्ट देखिन्छ। जुन आधुनिक युगमा विकराल समस्याको रूपमा छ। परिवारमा अभिभावक वर्ग छोरीको जन्मपश्चात् विवाहमा लाग्ने दाइजो रकमले साह्रै चिन्तित हुन्छन्। जसले गर्दा केटीहरूको सामाजिक सांस्कृतिक, शैक्षिक अवस्थामा नकारात्मक असर पुर्यावएको हुन्छ। जुन समस्या बबरगञ्ज गाउँको पिछडा वर्गमा पनि देखिन्छ। वर पक्षबाट निर्धारित रकम नदिउञ्जेल विवाहको कार्यक्रम नै अगाडि बढ्दैन साथै दाइजो लिएर गएकी छोरी/बुहारीलाई परिवारका अन्य सदस्यले माया गर्ने तथा दाइजो नलिइ जानेलाई हेला तथा हिंसात्मक व्यवहार गर्ने चलन पनि छ। जुन स्थितिमा बुहारी माइती भागेर गएको वा आत्महत्या गर्नुपर्ने विवशतासमेत हुन्छ। त्यसैले यस्तो किसिमका समस्याको अध्ययन/अनुसन्धान गर्न नै यो जातिमा यो अनुसन्धान निकै गर्नुपर्ने देखिन्छ।

पिछडा वर्गका जातजातिमा दाइजो दिन नसकेर योग्य वर नपाई जीवन निराश भएका, कोही माइतीमा नै बस्न बाध्य भएका त कोही जिन्दगी नै गमाउनुपर्ने अवस्थामा पुगेको पनि देखिन्छ। यस्तो समस्या सिर्जना हुँदा पनि यो प्रथाको विरोधमा कुनै कानुन, कार्यक्रम कसैले चालेको देखिन्न। महिलाको हक, हितमा कतिपय कुरा उठाए पनि यो दाइजो प्रथा निर्मूल पार्नेसम्बन्धी कुनै कार्यक्रम सञ्चालनमा आएको देखिँदैन। जुन धैरै पहिलादेखि नै समाजमा विद्यमान छ। धनी तथा शक्तिवान मानिसले विवाहमा दाइजो दिएर आफ्नो क्षमता प्रदर्शन गर्न खोजेको पनि देखिन्छ। तर पनि पिछडा वर्गमा व्याप्त यस्तो विकृतिबारे कुनै सामाजिक कार्यकर्ता, समाजशास्त्री, मानवशास्त्री आदिले नीति निर्माण तथा योजना निर्माण तहमा सहयोग पुग्नेगरी अध्ययन/अनुसन्धान गरेको भने पाइएको छैन। 
महासचिव, पिछडा वर्ग महासंघ

प्रकाशित: १५ भाद्र २०७१ १९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App