२० मंसिर २०७८ सोमबार
विचार

वीर गोर्खाली, इमान्दार नेपाली

नेपालीले वीर गोर्खालीको नाम कमाइसकेका छन्। नेपाली संसारभर गोर्खालीको नामले पनि चिनिन्छन्। पृथ्वीनारायण शाहले काठमाडौँ खाल्डो कब्जा गरेपछि नयाँ राज्यलाई कहिले नेपाल र कहिले गोर्खाली भनिन्थ्यो। तर कालान्तरमा यस नयाँ राज्यलाई नेपाल नै भनेर नामांकन गरियो।

संसारका कतिपय देशमा अहिले पनि यी दुई जाति हुन् कि भनेर ठान्छन् तर सो होइन। बेलायती र भारतीय सेनामा नेपालीलाई गोर्खाली फौज भनेर चिनिन्छ। ती फौजमा नेपालका केही खास जातिलाई मात्र भर्ना गर्ने चलन थियो। त्यस कारणले केही आफ्नो जातीयता लुकाएर अर्को जातीयताको नामकरण गरेर भए पनि ती सेनामा भर्ना हुने गर्छन्।

आखिर किन नेपाली वीर गोर्खाली भनेर कहलिए भन्दा पहिलो कारण त भारतका अंग्रेजहरूसित नेपाली जुन वीरताका साथ लडे त्यसबाट अंग्रेज मात्र होइन, संसारका सबै मानिस छक्क परे। लडाइँपछि नेपालीलाई अंग्रेज सरकारले आफ्नो सेनामा राख्ने अनुमति पाए। यो अनुमति अंग्रेज र भारत सरकारहरूलाई आजसम्म पनि प्राप्त छ।

आखिर अंग्रेज सरकारले पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ गोर्खाली सेनालाई युद्धमा होमिदिए। त्यस्तो युद्ध क्षेत्रमा गोर्खालीहरू वीर कहलिए। उनीहरूलाई बेलायतको सर्वोच्च भिसी पदक पनि दिए।

आखिर यस्तो भिसी पदकको माने के रहेछ भनेर हेर्दा केही तथ्य बाहिरिएका छन्। जस्तो कि पहिलो विश्वयुद्धमा राइफलमैन कुलवीर थापा जर्मनविरुद्ध लडेका थिए। उनले आफ्नो ज्यानको ख्याल नगरी एउटा अंग्रेज र दुई जना गोर्खालीलाई बचाएका थिए। उनको बहादुरीबाट प्रभावित भएर उनले भिसी तक्मा पाएका रहेछन्।

त्यसैगरी सुवेदार लालबहादुर थापा ट्युनिसियामा दोस्रो विश्व युद्धमा लडेका थिए। उनले युद्ध मैदानमा आफ्ना शत्रुलाई सफाया गरेका थिए। यसै लडाइँको सिलसिलामा आफ्नो हातको खुकुरीले ५–६ जना शत्रु मारे। आखिरमा उनले आफू लडेको ठाउँ नै कब्जा गर्न सफल भए।

यस्तै वीरताको कथा सुनेर होला, जर्मनीका हिटलरले भनेछन्– ‘यदि मसँग गोर्खाली थिए भने कुनै पनि देशको सेनाले मलाई हराउन सक्दैनथे।’ यो त सबैलाई थाहा छ कि दोस्रो विश्वयुद्धमा हार भएपछि हिटलरले आत्महत्या गरेका थिए।  

यस्तै वीरताका कथाले गोर्खालीको नाउँ फैलिएको छ। भारतका सैम मनेक्साले भनेका छन्– यदि कुनै मान्छे मर्नबाट डराउँदिन भन्छ भने कि त्यो मानिस झुटो बोल्दैछ कि त्यो गोर्खाली हुनुपर्छ।’

त्यसैगरी एक पाकिस्तानी सैनिक जनरलले भनेका छन्– ‘यदि मेरो पक्षमा गोर्खाली भइदिएका भए नयाँ दिल्लीमा आनन्दले डिनर खान्थेँ।’ बिन लादेन (जसले अमेरिकाको ट्विन टावरमा हमला गर्ने योजना बनाएका थिए र पाकिस्तानमा अमेरिकी सेनाबाट मारिए) ले भनेका छन्– यदि मसँग गोर्खाली सेना भएका भए अमेरिकालाई काँचै खाइदिन्थेँ।

इमान्दार नेपालीको कथा अलग छ। के नेपाली इमान्दार हुन्छन् भनेर कहलिएका होइनन् ? त्यसै कारणले संसारका मानिस भन्छन्– नेपाली हो भने बेइमानी गर्दैनन्, उनीहरूमाथि विश्वास गरे हुन्छ। के यो अवस्था अहिले छ ?

१९८९ तिर नेपालीका लागि जर्मनी जान भिसा चाहिन्नथ्यो। नेपालीले बेइमानी गर्दैनन्, उनीहरू कसैलाई ठगेर खाँदैनन् र मर्नुपरे पनि दिएको कर्तव्य पुरा गर्छन्। के त्यो अवस्था अहिले छ ? अहिले त कहाँ जाने, कति दिन बस्ने, किन जाने, बस्ने खर्च छ कि छैन, के कामले जाने, त्यो कामको बारेमा कागजात के छ, फर्कन्छ भनेर के ग्यारेन्टी छ ? घर कहाँ छ, को को छ, के गर्दैछन् आदि प्रश्न सोध्ने गर्छन्। भन्नुको माने यो नेपालीले कतै झुट त बोलिरहेको छैन भनेर सुरुदेखि नै शंका गरिन्छ। त्यो बिनाकारण होइन। नेपालीले यति बदमासी गरे, अरूको विश्वास यति तोडे, यति नक्कली कागज बनाए कि नेपाली अब विश्वासपात्र रहेनन्।

बेलायती प्रधानमन्त्री डेभिड क्यामेरुनले बेलायती जनतालाई सम्बोधन गर्दै भनेका थिए कि बेलायतीहरू उद्योगी र अनुसन्धानात्मक हुनुपर्छ। जे कुरामा बेलायतीहरूले सफलता हासिल गरेका छन् त्यही कुरामा उनीहरूले जोड दिनुपर्छ। त्यसैगरी सबै देशले आआफ्नो चरित्र र विशेषताहरू तय गरेर त्यहाँका बुद्धिजीविहरू र सामाजिक अग्रजहरू बोल्छन्।

नेपालीहरू इमान्दार हुन्छन् भनेर संसारभर नाम कमाएका छन्। त्यसकारण उनीहरूले नाफानोक्सान जस्तै भए पनि आफ्नो इमान्दारिता छाड्न हुन्न। यो कुराको महत्त्व तब मात्र बुझिन्छ जब नेपालीहरू बेइमान ठहरिन्छन्, छल गर्छन्, नक्कली कागजात बनाएर अरू देशमा घुस्न कोसिस गर्छन्। यतिसम्म कि कुनै बखत रातो पासपोर्टसम्म बिक्री गरेर गलत मानिस अरू मुलुक छिरे, अवैध कारबाही गरे, मूर्ति आदि चोरी गरेर लगे।

मलेसियाको सरकारले एक समयमा के उर्दी जारी ग¥यो भने कसैले घरको सुरक्षाका लागि सुरक्षाकर्मी राख्न चाहन्छ भने त्यो मानिस मलेसियाकै हुनुपर्छ अथवा नेपालको हुनुपर्छ। यसबाट नेपालीले दुःख पाए पनि चौकिदारीको काम इमान्दार साथ निभाउने रहेछन् भन्ने थाहा हुन्छ।

यसै कारण संसारका कतिपय देशमा नेपालीलाई खोजी खोजी काममा लगाउने गरिन्छ। तर के नेपालमै नेपालीमाथि विश्वास गर्ने वातावरण छ ? नेपालीले सहकारी एकताका खुब खोले। मानिसले विश्वास पनि गरे। खुब चल्यो पनि। तर जब सहकारी संस्थाका सञ्चालकहरूले बेइमानी गर्न थाले र ती सहकारीको रकम हिनामिना गर्न थाले यस प्रथामाथि ठूलो धक्का  पर्‍यो। आज कसैले इमान्दारीपूर्वक यस्तो संस्था चलाए पनि मानिस शंका/उपशंका गर्छन्। यो साह«ै दुःखको कुरा हो।

हुन त नेपाली जन्मैले इमान्दार हुन्। त्यो छवि आजसम्म कायम नभएको होइन। तर नेपालीले देशभित्र र बाहिर त्यो छविको अनुचित फाइदा उठाउने गरेकाले नेपाली आज बेइमान सावित भएका छन्। विदेशमा जाने नेपाली त्यसको नराम्रो मारमा परेका छन्।

नेपालको भूत, वर्तमान र भविष्य हेर्दा लाग्छ, नेपाली पहिले वीर गोर्खालीका रूपमा प्रकट हुनुपर्छ र त्यसपछि इमान्दार नेपाली भएर बाँच्नुपर्छ।

प्रकाशित: २ कार्तिक २०७८ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App