२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

गरिखाने शिक्षा

नेपालीहरु रोजगारीको खोजीमा भौतारिँदै कस्तूरीले आफूमा भएको बिनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै हिँडेजस्तै मृगतृष्णाका रूपमा आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारौ, लाखौं रुपियाँ खर्चेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्ने जस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन्।
छिमेकी देशहरुबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ। तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन्? त्योभन्दा तल्लो स्तरको काम गर्न मुङ्गलान नै पस्नुपर्ने किन? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला? आफ्नो देशमा रोजगारी नपाएमा चारैतिर अभावै अभावले बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ। यसरी तावाबाट उम्केको माछा भुंग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ। त्यही पेशा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाज र व्यक्तिको हेराईमा फरक हुनाको कारण के हो? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला? आदि प्रश्नको उत्तर गम्भीर भएर सोच्न विलम्ब भइसकेको छ।शिक्षालाई गुणस्तरीय जनमुखी प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिन्छ। गुणस्तर प्राप्ताङ्कको आधारमा निर्क्यौल गर्ने प्रचलन प्रशस्तै छ। जसको कारणबाट आमा बुबाको अर्थ नबुझने तर ड्याड ममको संस्कारमा हुर्कने, दूध कहाँबाट आँउछ भन्दा डेरीबाट भन्ने गाई भैंसीको जानकारी नराख्ने, कृषिमा हलो, फाली, करुवा, दांते आदिबारे जानकारी नहुने सैद्धान्तिक ज्ञानमात्र भएको तर अल्प व्यावहारिक ज्ञान भएका नागरिक भन्दा आफ्नो परिवेशलाई समेत साक्षात्कार गर्ने/गराउने गरेर सिक्नेखालको शिक्षा अवल्ाम्बन गरिनुपर्छ। शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ। माछा मारेर खुवाउने भन्दा पनि माछा मार्न सिकाउनेखालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्छ। कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्ताङ्क भन्दा पनि उसले देखाउने बानी व्यवहार, चालचलन र चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित हुनुपर्छ।
पेपर पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धि स्तर गणितीय प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरु खोजिनुपर्छ। उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्छ। हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ। किनकि एक सय पूर्णाङ्कमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावलोकन गरिनुपर्छ। त्यसप्रकरको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ। कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौं आश्चर्य भएको छ। अर्कोतर्फ कतिपय विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरु जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरुको व्यवहार अपेक्षाकृत सकारात्मक भएको पनि देखिन्न। त्यसकारण सिर्जनशील लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील, सफल, पौरखी नागरिक बनाउनेखालको व्यावहारिक शिक्षा आजको आवश्यकता हो। पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थीकेन्द्रित तथा विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्नेखालको हुनुपर्छ। पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनुपर्दछ। साथै उनीहरुको पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक मूल्य/मान्यता, संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनुपर्छ। राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई विद्यालयमा प्रवेश गराउनुपर्छ।
विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्नेखालको बालमैत्री हुनुपर्छ। कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनुपर्छ। शिक्षकले सर्वप्रथम बालबालिकालाई पढ्नुपर्छ अनिमात्र त्यसलाई सम्बोधन गर्नेगरी विषयवस्तु र विधिको छनौट गरिनुपर्छ। अभिभावकले अंगालेको पेशालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनुपर्छ। विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न सक्रिय सहभागी गराउने परिस्थिति बनाउनुपर्छ। विद्यार्थीले सामान्यतया ६ घण्टामात्रै विद्यालय र बाँकी अठार घण्टा घरपरिवार र समुदायमा बिताउँछन्। तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरुमा गरिनुपर्छ।
घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यालयले विद्यार्थीको पठनपाठनबारे अभिभावकसँग निरन्तर सम्पर्क राख्ने नीति लिनुपर्छ। त्यसकारण त्यहाँको वातावरण पनि बालबालिकाको रुचि क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्ने/गराउने सहज अवसर पाउनेखालको हुनुपर्छ। उनीहरुको जीवनशैलीलाई सुविधा सम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउनेखालको प्रगतिशील शिक्षा आजको खाँचो हो। बालबालिका भन्दा हामी जान्ने छौं, हामीले भनेको मात्र उनीहरुले मान्नुपर्छ भन्ने पुरातनवादी सोचका आधारमा उनीहरुलाई जबर्जस्त लाद्नेखालको विषयवस्तु र विधि भन्दा पनि उनीहरुको क्षमता मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादन गर्ने पहिलो सर्तका रूपमा लिन सकिन्छ। कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्नेखालका पाठ्यक्रम निर्माण र कार्यान्यवन गरिनुपर्छ। व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरुमा आत्मबल र आत्मविश्वास जगाउनुपर्छ।

प्रकाशित: ७ श्रावण २०७१ २२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App