‘अल्जाइमर चेतना दिवस’ मनाउँदै आएको छ। विगत केही वर्षदेखि सेप्टेम्बर महिनालाई ‘अल्जाइमर महिना’ घोषणा गरिन्छ। यस वर्ष ‘विस्मृति रोगबारे जानौं र बुझौं’ नारासहित २८औं विश्व अल्जाइमर चेतना दिवस मनाइँदै छ।
पछिल्लो समय नेपालले पनि बिर्सने रोगलाई सामाजिक र जनस्वास्थ्य समस्या भनेर विभिन्न सामाजिक कार्यक्रममा समावेश गरेको छ। यस रोगलाई सामाजिक समस्याका रूपमा अत्यन्तै कम व्यक्तिले बुझेको पाइन्छ। अरूले केही भन्छन् कि भन्ने सामाजिक डरका कारण यो रोगलाई परिवारभित्र मात्र सीमित गरिन्छ। यस रोगलाई चिन्ने न त सरकारको कुनै कार्यक्रम थियो, न त कुनै नियम नै। अरू संस्थामा पनि यस रोगलाई चिन्ने र निराकरण गर्ने कुनै नियम थिएनन्।
यस रोग र यसबाट हुने सामाजिक परिणामका भयले यसलाई ठूलो सामाजिक समस्याको रूपमा लिइन्थ्यो। नेपाल सरकारले भर्खरै मात्र यस रोगलाई सामाजिक समस्याको रूपमा स्वीकार गरेर यसको निराकरणका लागि आर्थिक र औषधोपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्न थालेको छ।
नेपाल सरकारबाट बिर्सने रोगको निःशुल्क उपचारका लागि एक लाख रूपैयाँ तोकिएको र सोको उपचार स्वास्थ्य मन्त्रालयले तोकेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, पाटन एकेडेमी अफ साइन्सेज, काठमाडौंस्थित नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस र धरानस्थित बिपी कोइराला अस्पतालबाट उपचार गर्नुपर्ने व्यवस्था गरिएको छ।
यद्यपि यस रोगको पूर्ण उन्मूलनका लागि यो रकम थोरै मानिएला, तर यो रोग नियन्त्रणमा सरकारको यो पहिलो पाइलालाई महत्त्वपूर्ण र प्रशंसनीय कार्य मानिएको छ। स्वास्थ्य विभागका अनुसार, यी तीन आर्थिक वर्ष २०१३/१४, २०१४/१५, २०१५/१६ भित्र नौजना यस रोगका बिरामीलाई सरकारी उपचार प्राप्त भएको छ।
यस रोगलाई उपचार गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिकलाई समेत सेवा प्रदान गर्दै आएको छ। यस मन्त्रालयले यस रोगको निराकरणका लागि सेवा गर्ने व्यक्तिलाई गैरसरकारी संस्था मार्फत तालिम समेतको व्यवस्था गर्दै आएको छ।
काठमाडौं उपत्यकाभित्र ‘अल्जाइमर्स एन्ड रिलेटेड डिमेन्सिया सोसाइटी’ (एआरडिएस) नेपाल मार्फत बिर्सने रोगसम्बन्धी ज्येष्ठ नागरिकको अध्ययन अनुसन्धान भइरहेकोे छ। नेपालमा केही गैरसरकारी संस्था बिर्सने रोगसम्बन्धी कार्यमा संलग्न छन्।
डिमेन्सिया तथा बिर्सने रोगमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सुरुका दिनदेखि नै काम गरिरहेको छ भने केही वर्षदेखि एआरडिएस नेपाल, एजिङ नेपाल, होप हर्मिटेज, हार्मोनी होम केयर लगायत संस्थाले यस क्षेत्रमा राम्रो काम गरेका छन् भन्दा अत्युक्ति नहोला। यी संस्थाले डिमेन्सियाका बारेमा जनचेतना जगाउने र यसका रोगीको उपचारमा संलग्न व्यक्तिलाई सहयोग पुर्याउँदै आएका छन्।
एआरडिएस नेपालले काठमाडौं, धरान र पोखरामा मेमोरी क्लिनिक सञ्चालन गरेको छ। माथि उल्लिखित संस्थाले बिर्सने रोग डिमेन्सियासम्बन्धी जनचेतना जगाउने काममा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन लगायत विभिन्न सोसियल मिडिया समेत प्रयोग गर्दै आएका छन्।
डिमेन्सिया अर्थात् बिर्सने रोग एउटा सिन्ड्रोम हो, जसले स्मरण, सोच, व्यवहार र दैनिक गतिविधिमा फरक ल्याउँछ। अल्जाइमर रोग डिमेन्सियाको सबैभन्दा सामान्य रूप हो। यसले ६० देखि ७० प्रतिशत केसमा योगदान गर्दछ।
विश्वमा लगभग ५० करोड मानिस डिमेन्सियाबाट पीडित छन्। जहाँ प्रत्येक वर्ष १० करोड नयाँ घटना वृद्धि भइरहेका छन्। डिमेन्सिया भएका व्यक्तिको कुल संख्या सन् २०५० मा एक अर्ब २२ करोड पुग्ने अनुमान गरिएको छ। यो रोग धेरैजसो कम र मध्यम आय भएका देशमा बढ्दो छ।
अन्तर्राष्ट्रिय आँकडाका अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका चार प्रतिशतलाई यो रोग देखिन्छ भने ६५ देखि ७५ वर्ष उमेर समूहका १५ प्रतिशत र ७५ देखि ८५ वर्ष उमेर समूहका ४४ प्रतिशतमा यो रोग देखिन्छ।सर्सर्ती हेर्दा अल्जाइमर रोग निदान भएकामध्ये ८२ प्रतिशत जति बिरामी ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्छन्।
२०१५ मा डिमेन्सियाको विश्वव्यापी अनुमानित लागत ८ खर्ब १८ अर्ब अमेरिकी डलर अर्थात् ग्लोबल जिडिपीको १.०९ प्रतिशत थियो। विश्वव्यापी लागत अमेरिकन डलर १ ट्रिलियनभन्दा माथि पुग्न सक्छ। यो खर्च अनौपचारिक हेरचाह, सामाजिक रेखदेख र चिकित्सामा हुने खर्च मात्र हो।
हाम्रो देशको परिप्रेक्ष्यमा हालसम्म अल्जाइमरका बिरामीको यकिन तथ्यांक नभए पनि ‘अल्जाइमर डिजिज इन्टरनेसनल’को प्रक्षेपण अनुसार सन् २०१५ मा यस रोगबाट पीडितको संख्या ७८ हजार रहेको छ भने यो संख्या बढेर सन् २०३० मा १ लाख ३४ हजार र सन् २०५० सम्म २ लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ। हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।
अल्जाइमर मस्तिष्कमा लाग्ने एक प्रकारको रोग हो। यसले मानिसको मस्तिष्कलाई तीव्र रूपमा ह्रास गराउँछ र अल्जाइमर रोग लागेपछि बिरामीले बढीमा १०–१५ वर्षभित्रै कसैलाई नचिन्ने अवस्था सिर्जना हुन्छ। यहाँसम्म कि श्रीमान्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई समेत चिन्न नसक्ने जस्तो पीडालाई कल्पना पनि गर्न सकिँदैन, तर यो रोगले त्यस्तो नियति ल्याउने कुरा सुन्दा जोकोहीको शरीर काम्न थाल्छ।
लक्षण
लक्षणका हिसाबले यो रोगलाई कम कडा (माइल्ड स्टेज), अलि कडा (मोडरेट स्टेज) र अति कडा अवस्था (सिभियर स्टेज) गरी तीन अवस्थामा वर्गीकरण गर्न सकिन्छ।
कम कडा अवस्था प्रारम्भिक अवस्था हो। स्मरण शक्तिमा क्रमिक रूपमा कमी हुनु, चिनेको मानिस, आफन्त, नातागोता एवं ठाउँ चिन्न समस्या हुनु, पहिलेदेखि गरी आएको काम गर्न पनि पहिलेको दाँजोमा धेरै समय लिनु, कारोबार एवं व्यवसाय गर्न समस्या हुनु र क्रमिक रूपमा गलत किसिमका निर्णय गर्दै जानु र व्यवहार र व्यक्तित्वमा क्रमिक परिवर्तन हुँदै जानु जस्ता लक्षण कम कडा अवस्था (माइल्ड स्टेज)मा देखापर्छन्।
यस्तै, यस्तो समस्या क्रमिक रूपमा बढ्दै गएर परिवार भित्रैका सदस्य पहिचानमा समस्या हुनु, पढाइ लेखाइ सामान्य गन्ती गर्ने र गणितीय काममा समस्या देखिनु, नयाँ कुरा र काम गर्न समस्या हुनु, दिनहँु हिँडिरहेको बाटो बिराउनु, एउटै कुरा दोहोर्याइरहनु, शंका गर्नु, नभएको कुरा देख्नु, सुन्नु, अधिक डराउनु, अधिक आवेशमा आउनु, सामाजिक रूपमा आपत्तिजनक काम व्यवहार भाषा प्रयोग गर्नु दोस्रो अवस्थाका लक्षण हुन्।
तेस्रो अर्थात् अति कडा अवस्थामा पहिलेका लक्षण क्रमिक बल्झिँदै जानुका साथै थप समस्या देखापर्छन्। खाना खान चपाउन निल्नमा क्रमिक रूपमा समस्या आई सर्केर हुने निमोनिया (एस्पिरेसन निमोनिया)बाट बिरामी बारम्बार पीडित भइरहनु, तौल घट्दै जानु, आलस्य र निद्रा बढ्दै जानु, दिसापिसाब नियन्त्रण गर्न असमर्थ हुनु, कपडा वा बिस्तारामै दिसापिसाब हुनु, अस्पष्ट रूपमा आवाज निकाल्नु, बिस्तारामै सीमित भई सोसम्बन्धी जटिलता बढ्दै जानु यस अवस्थाका विशेष लक्षण हुन्।
उपचार
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन। खाली चिकित्सकले संस्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउनेछन्। नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गतिलाई मत्थर पार्न सक्छन्।
रोकथाम
जीवन शैलीका केही तरिकाले अल्जाइमर रोग हुने सम्भावनालाई घटाउन सक्छन्। सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुने खालका काममा लाग्नाले तपाईंको मस्तिष्कको कार्य क्षमतालाई जोगाउन सक्छ।
सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्तदुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नुबाट जोगाउने क्षमता राख्छ। चिल्लो पदार्थ कम भएको सागसब्जी र फलफूल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो। ‘मेडिटेरेनियन’ आहारलाई अल्जाइमर रोग हुन नदिने राम्रो आहारका रूपमा लिइएको छ।
अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाका रूपमा लिई अल्जाइमरसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा, हाम्रो नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, अल्जाइमर रोगसम्बन्धी कार्य गर्ने संस्था अल्जाइमर विस्मृति समाज र महासंघ अन्तर्गत रहेका ज्येष्ठ नागरिक जिल्ला संघहरू र अन्य विभिन्न संघ–संस्थाले अल्जाइमर रोग लागेको हो होइन भनी डाइग्नोसिस गर्ने, अल्जाइमर रोगीका परिवारका सदस्यलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहका लागि अल्जाइमर केयर तालिम सञ्चालन गर्ने, विभिन्न सञ्चारका माध्यमबाट अल्जाइमर विशेषज्ञबाट अन्तर्वार्ता कार्यक्रम सञ्चालन गर्ने, अल्जाइमर रोगका बारेमा लेख–रचना प्रकाशन गर्ने जस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कुरालाई आत्मसात् गर्न सकिन्छ।
(लेखक राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव हुन्।)
प्रकाशित: ५ आश्विन २०७८ ००:४२ मंगलबार