१२ मंसिर २०८१ बुधबार
image/svg+xml
विचार

भारत स्वतन्त्र आन्दोलनमा नेपालीको भूमिका

भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे। सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो। भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको विद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ। यसलाई दबाउन अङ्ग्रेज सरकारले नेपाली शासकसित सहयोग मागे। सोही बमोजिम तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको नेतृत्वमा नेपाली फौज लड्न गए। दुवैतर्फका धेरै सिपाहीका साथै आमजनता भिडन्तमा मारिए। दुवै पक्षबीच महिनाँसम्म भिडन्त हुँदा पनि अङ्ग्रेज शासक पराजित भएनन्।

त्यसपछि पनि भारतीय जनता अङ्ग्रेज शासकविरुद्ध आन्दोलनरत थिए। सन् १९२१ मा अफ्रिकाबाट महात्मा गान्धी फर्किएपछि आन्दोलनले तीव्ररूप लियो। उहाँको नेतृत्वमा ‘नमक सत्याग्रह’, विदेशी वस्त्र बहिष्कार आन्दोलन भए तर पञ्जाबको अमृतसरनजिकै जालियानावाला बागमा अङ्ग्रेज फौजले निर्दोष भारतीय जनतामाथि अन्धाधुन्ध गोली चलाई मारे। त्यहाँ रगतको आहाल देखेर महात्मा गान्धी विरक्त भए। 

त्यसको केही महिनापछि १९४२ अगस्त ८ मा बम्बईमा भारतीय राष्ट्रिय काँग्रेसको सम्मेलन बोलाई त्यसमा अङ्ग्रेज शासकविरुद्ध कडारूपमा आन्दोलन गर्ने निर्णय गरे। त्यसलाई भारत छोडो आन्दोलनको नाम दिई “गर या मर” भन्ने नारा अघि सारे। त्यही महिनाको १५ तारिखदेखि सम्पूर्ण भारतमा अङ्ग्रेजविरुद्ध सशक्त आन्दोलन सुरु भयो। सरकारी कार्यालय, संस्थानहरू, रेल कम्पनी तथा सम्पूर्ण यातायात क्षेत्र ठप्प पारियो। रेलका लाइन सडक तोडफोड गरी अवरुद्ध पु¥याइयो। अङ्ग्रेजका सिपाहीमाथि अन्धाधुन्ध आक्रमण गरियो। भारतभर आन्दोलनले उग्ररूप लियो।

त्यसपछि अङ्ग्रेज शासकले आन्दोलनकारी नेता र कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थाले। महात्मा गान्धी, जवाहरलाल नेहरू, डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायत उच्च तहका नेता गिरफ्तारीमा परे। तिनीहरूलाई पटना, हजारीबाग, छपरा, लखनउ, दिल्ली, कानपुर जस्ता जेलमा राखे। भारतमा अध्ययनरत नेपालीहरू जो भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए, तिनीहरू पनि गिरफ्तार भए।

त्यस सिलसिलमा वी.पी. कोइराला, मनमोहन अधिकारी, सूर्यप्रसाद उपाध्याय, सुन्दरराज चालिसे, भद्रकाली मिश्र, श्यामानन्द मिश्र, कुशेश्वर पाठक, कृष्णप्रसाद भट्टराई, देवीप्रसाद सापकोटालाई गिरफ्तार गरी विभिन्न जेलमा राखियो। बी.पी. कोइरालालाई हजारीबाग जेलमा नै राखे। त्यहाँ डा. राजेन्द्रप्रसाद, राम अनुग्रह सिंह जस्ता ठूला नेता पनि बन्दी बनाइएका थिए। सूर्यप्रसाद उपाध्यायलाई चाहिँ लखनउ जेलमा बन्दी बनाइएको थियो, जहाँ जवाहरलाल नेहरू र किदवई भन्ने नेतालाई पनि सँगै राखिएको थियो। 

यसरी भारतमा अध्ययन र कामको सिलसिलामा बस्ने सयाँ नेपालीका साथै दार्जिलिङ्, आसाम र देहरादुनका प्रवासी नेपाली पनि भारतीय स्वतन्त्रता आन्दोलनमा लागेका थिए। भारत छोडो आन्दोलनले उग्ररूप लिन थालेपछि अङ्ग्रेज शासक कडारूपमा प्रस्तुत भई ठाउँ–ठाउँमा कफ्र्यु लगाउन थाले। यसैबीच भारतीय समाजवादी नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया तथा सुरजनारायण सिंहहरू हजारीबाग जेलमा बन्दी अवस्थामा रहेकाले तिनीहरूलाई जेलबाट छुटाउन केही आन्दोलनकारीले योजना बनाउन थाले। त्यही योजना अनुसार जेलरहरूलाई झुक्याई सर्वप्रथम सुरजनारायण सिंहलाई निकाल्न सफल भए।  

उहाँ निस्किसकेपछि नेपालको सप्तरी जिल्लाको कोइलाडी बरसाइन गाउँस्थित रामेश्वरप्रसाद सिंहको घरमा आई जयप्रकाश नारायण र डा. लोहियाहरूलाई जेलबाट भगाएर भूमिगतरूपमा नेपाल ल्याउने योजना सुनाउनुभयो। यसमा रामेश्वरले जोखिम मोलेर भए पनि स्वीकृति दिनुभयो। तदनुसार सुरज सिंहले बडो मुश्किलले हजारीबाग जेलबाट ती नेतालाई निकाली कैयौँ दिनको कष्टकर जङ्गलको बाटो भएर रामेश्वरको घरमा ल्याई भूमिगत रूपमा राख्नुभयो। 

यसमा सूर्य सिंहलाई सप्तरी सीमावर्ती भारतीय गाउँ नियोर निवासी क्रान्तिकारी अवध सिंहले सहयोग पुयाउनुभएको थियो। सन् १९४२ को आन्दोलन सुरु हुनेबित्तिकै पक्राउ पर्ने डरले भारतीय सीमाक्षेत्रका नेता कार्तिकप्रसाद सिंह, नित्यानन्द सिंहलगायत दर्जनौँ नेता कार्यकर्ता सप्तरी, बरसाइनस्थित रामेश्वरको घरमा आएर आश्रय लिइबसेका थिए। तिनीहरूलाई रामेश्वरले बडो आतिथ्य प्रदान गर्नुभएको थियो। सरकारी कर्मचारीले थाहा नपाउन् भनेर सुरक्षा पनि प्रदान गर्नुभएको थियो।  

केही महिना त्यहाँ बसेपछि सुरक्षालाई ख्याल गर्दै रामेश्वरले कोशीपारि आफ्नो मौजा (जिमिदारी) मा फुसको घर बनाई तिनीहरूलाई त्यहाँ सार्नुभयो। त्यहाँ बस्दै जाँदा राणाशासकका स्थानीय बडाहाकिमले आफ्नो सुराकीबाट थाहा पाए। त्यसपछि सेनालाई पठाएर गिरफ्तार गरी हनुमाननगर जेलमा बन्दी बनाए। भारतीय नेताहरूलाई पक्रिएको थाहा पाएपछि सप्तरीवासी जुर्मुराउन थाले। अब तिनीहरूलाई जेलबाट कसरी निकाल्ने भनी आपसमा विमर्श गर्न थाले। उता सप्तरीकै पश्चिम भेग कुशहादेखि माथि चुरे–पहाड फेद सुरुङ्गा जङ्गलमा भारतीय नेताहरूकै एउटा समूहले भूमिगत रूपमा बेतार (आकाशवाणी) जडान गरी लडाकुहरूलाई तालिम दिन थालेका थिए।

तिनीहरूले जयप्रकाश नारायण र डा. लोहियाकै निर्देशनमा तालिम शिविर सञ्चालन गरेका थिए जसलाई राशन पानीको आपूर्ति स्थानीय सम्पन्न धनी, जमिन्दारहरूले गरेका थिए। तिनीहरूलाई पनि खबर पठाइयो। करिब ५० जनाको समूहमा रहेका आजाद दस्ताका लडाकुहरू रातारात बरसाइनस्थित रामेश्वरको घरमा आइपुगे। त्यहाँ आपत्कालीन बैठक बोलाइयो। सयौँ संख्यामा रहेका कार्यकर्ताले हनुमाननगर जेलमा थुनिएका भारतीय नेतालाई छुटाउन जेलमा नै आक्रमण गर्नुपर्दछ भनी एकमत भए। स्थानीय जमिन्दारको घरमा रहेका बन्दुक ल्याए। जेलमाथि कसरी आक्रमण गर्ने, कुन बाटो जाने, जेलको वरिपरि सेनाको पहरालाई कसरी सामना गर्ने ? जेल परिसर क्षेत्रको नक्सा बनाइयो।  

रातारात त्यहाँबाट आक्रमणकारीहरू हनुमाननगर जेलनिर आइपुगे। पथप्रदर्शकका रूपमा रामेश्वरका भतिजा तारिणीप्रसाद सिंह हुनुहुन्थ्यो। उहाँकै निर्देशनमा आक्रमणकारीहरूले पहिला बडाहाकिमको निवासमा बलिरहेको पेट्रोम्याक्समा गोली हानेर चकनाचुर पारे र धमाधम गोली बर्साउन थाले। बडाहाकिम सोमशमशेर खाटमुनि लुक्न गए। उता आक्रमणकारीको अर्को समूहले त्यहाँस्थित फुसको घरमा आगो लगाएदिए। सबै प्रहरी आगो निभाउनतिर लागे।

यसैबीच मौका छोपेर आक्रमणकारीले जेलको मुख्यद्वारमा उभिई पहरा दिइरहेको सन्तरीमाथि गोली हाने, ऊ घटनास्थलमै ठहरै भयो। त्यसपछि जेलको ढोका तोडी आक्रमणकारीहरू भित्र पसेर जयप्रकाश नारायण, डा.राममनोहर लोहियालगायतका नेतालाई निकाली कोशीको नाउमा चढाएर सीमा कटाए। यसरी सप्तरीका युवाले भारतीय स्वतन्त्रता आन्दोलनका नेताहरूलाई जेलबाट निकाल्न सफल भए। यस घटनामा राणाशासकले सप्तरीका करिब ५० जनामाथि आरोप लगाई केन्द्रीय कारागार काठमाडौँ चलान गरे। मुख्य आरोपितहरूमा रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, जयमङ्गल सिंह, तारिणीप्रसाद सिंह, अब्दुल मियाँ, कृष्णवीर कामी, सीताराम अर्याल, जयनारायण कानूनगो कामानन्द मिश्र, यमुनाप्रसाद सिंह, दलबहादुर प्रजापति आदि थिए। तीमध्ये कृष्णवीर कामीको जेलभित्रै मृत्यु भयो भने तारिणीप्रसाद सिंह सिकिस्त बिरामी भई जेलबाट निस्किनेबित्तिकै दिवंगत भए।

यसरी भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेका तथा मृत्यु भएका र लडेकाहरूलाई सम्मान गर्नु साथै निवृत्तिभरण भत्ता दिइनु राजनीतिक इमान हुन्थ्यो। विगतमा पनि यी कुरा पटक–पटक उठेका छन्। यसतर्फ नेपालस्थित भारतीय दूतावासले पहल गर्ला कि नगर्ला ? भारतीय स्वतन्त्रता आन्दोलनका लागि शहीद भएका तथा लडेका नेपाली सेनानीहरूको उच्च मूल्याङ्कन गर्नुपर्दछ। हनुमाननगर काण्डदेखि विभिन्न काण्डमा लागेका व्यक्तिहरूको नामावली सङ्कलन गरी उचित राहत प्रदान गरिनु राम्रो हुनेछ।

प्रकाशित: ३१ श्रावण २०७८ ०४:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App