२ असार २०८१ आइतबार
image/svg+xml
विचार

उम्किएको सुनौलो अवसर

२०४० सालतिरको एक प्रसङ्ग। नयाँ सडक प्रवेशद्वार नजिकै रहेको शाही नेपाल वायुसेवा निगम भवनको भुइँतल्लाको सभाकक्षमा आयोजित एक कार्यक्रमका दुई मुख्य वक्तामध्ये एक थिए नेपालका मन्त्री डम्बरनारायण यादव र अर्का थिए भारतका राजदूत एच.सी. सरिन। भाषणको क्रममा राजदूत सरिनले झुक्किएर एकचोटि मन्त्रीलाई ‘प्रधानमन्त्री’ भनी सम्बोधन गर्न पुगे। सरिनले आफू झुक्किएको तत्काल थाहा पाए र थाहा पाउनासाथ सच्याए पनि। तर त्यहीं रोकिएनन्। थपेः तराईका नेता पनि त्यस पदमा पुग्न सक्छन् नि। उतिखेर कतिलाई त्यो सम्भावना टाढाको लागेको लागेको हुँदो हो यद्यपि सैद्धान्तिक कोणबाट त्यो कुरो त्यतिखेरै पनि असम्भव चाहिं थिएन।

त्यसपछिका दशकमा नेपालमा उथलपुथलले त्यो टाढाको सम्भावनालाई नजिक ल्याउँदै गयो। तराईको कुनै नेताले कार्यकारी प्रमुख भएर सिङ्गो नेपाल हाँक्ने परिस्थिति टड्कारो हुँदै आयो। २०७७ वैशाख १० गते राजपा र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ (जसपा) निर्माणपश्चात् ठाकुर सम्भावना भएका एक नेता देखिए यद्यपि २७५–सदस्सीय प्रतिनिधिसभामा उनको पार्टीको स्थान गणितीय हिसाबले निकै तल थियो। एमाले, माओवादी केन्द्र र काँग्रेसभन्दा पछि।  

यसबीचमा, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र एकीकृत भएपछिको  सत्तारुढ दल ‘नेकपा’ का अर्का अध्यक्ष पुष्पकमल दहालसँग खिचातानीमा परे। आफ्नै दलका सहयोगीहरूको निरन्तरको असहयोगबाट आजित भएका ओली तनावमुक्त हुने अवसरको खोजीमा थिए। त्यसको उपायस्वरुप २०७७ पौष लाग्नेबित्तिकै प्रतिनिधिसभालाई नै राष्ट्रपति मार्फत् विघटन गराए र २०७८ वैशाखमा निर्वाचन तोक्न लगाए। यसप्रकार राजनीतिक तहको विवाद एकाएक न्यायिक निरुपणको मुद्दा बनेर सर्वोच्च अदालत प्रवेश गर्‍यो। 

अदालतले ओलीको कदमलाई असंवैधानिक भनेर प्रतिनिधिसभालाई पुनःस्थापना गरिदियो। तर ओलीले नैतिक जिम्मेवारी वहन गर्दै राजीनामा गर्नुको साटो ‘विश्वासको मत’ लिने बाटो समाते। तर उनको पक्षमा जम्मा ९३ मत मात्र परेकोले ‘पदमुक्त’ भए। त्यसैबीचमा अदालतको अर्को एक फैसलाको परिणामस्वरुप नेकपा फुटेर साबिककै एमाले र माओवादी केन्द्र बन्न पुगे; यता एमालेमा माधवकुमार नेपालको छुट्टै समूह बन्यो जसले तानाशाही शैलीको ओलीनेतृत्वलाई समर्थन गर्न चाहेन। बरु वैकल्पिक सरकार बनाउन राजी भएका नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्नु उपयुक्त ठान्यो। माधव नेपाल समूहका सांसद् दोस्रो मुद्दा सँगसँगै अदालत पुगे। देउवा पक्षका लागि निर्मित गठबन्धनको माग असार २८ गतेको अदालती फैसलाले पूरा पनि गरिदियो। देउवा पदासीन भए, विश्वासको मत पनि लिइहाले।

उदेकलाग्दो दृश्य

आश्चर्यको कुरो, वैकल्पिक सरकार गठन हुने, गराउन सकिने यतिकसो अभ्यासहरू भइरहँदा जसपाका वरिष्ठ अध्यक्ष महन्थ ठाकुर भने निष्क्रिय रहे। आफैं प्रधानमन्त्री भएर मधेसका माग पूरा गर्ने र सिङ्गो मुलुकलाई स्थिरताको बाटोमा डो–याउने अवसर हाकाहाकी गुमाए। पहल पैरवी गरेको भए प्रचण्ड, बाबुराम, माधव नेपाल सबैको सद्भाव र सहयोग जुट्ने अवस्था थियो। सार्वजनिक तवरबाटै यस्ता प्रस्ताव आएका थिए। तर विगतमा आफैंले ‘मधेस विरोधी’ भन्दै आएका व्यक्ति ओलीको पछुवा हुनु र उनले मधेसका भनिएका माग पूरा गर्छन् भन्ठान्नुले ठाकुरलाई परिपक्व नेता मान्दै आएकाहरूलाई निराश तुल्यायो। नेपाली काँग्रेसमा छँदैदेखि स्वच्छ छवि कायम राख्न सफल ठाकुर मधेसीका अगुवा हुँदा पनि सम्मानित नै थिए। तर यसपालि उनमा अथाह विचलन आएको देखियो– आँखा चिम्लेर ओलीको समर्थनमा लागिरहेका ठाकुर एक्कासि देउवालाई विश्वासको मत दिनेहरूको लहरमा उभिए। उदेकलाग्दो स्थिति देखियो।

जानिफकारहरू भन्छनः कि उनमा राजनीतिक सीप/चातुर्य पर्याप्त छैन कि त भने कसै÷कतैको कडा निर्देशन वा चर्को दबाबमा परेका छन्। यस्तो आकलन स्वाभाविक पनि हो। बरु पौष ५ गतेको विघटनपछि तरल हुन पुगेको राजनीतिक परिवेशमा नयाँ समीकरणहरू बन्ने अवस्थालाई ठम्याएर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले आफूभन्दा वरिष्ठ ठाकुरलाई सकिन्छ आफ्नै सरकार बनाऔं नसके राष्ट्रिय सरकारमा जाऔं भन्ने आग्रह नै गरेका रहेछन्। यसको जानकारी यादवले श्रावण १४ गते बिहान रेडियो नेपालसँगको अन्तर्वार्तामा खुलाएः– सहमति भएकै हो तर त्यो कुरा सार्वजनिक हुनेबित्तिकै उहाँलाई अब कल्ले हप्कायो कुन्नि एकै घण्टापछि उहाँको...बदलियो। मैले त उहाँलाई पीएम् बनाउनलाई अगाडि बढेको थिएँ...कति सफल हुन्थें, हुन्नथें त्यो बेग्लै कुरो...तर उहाँ त पियन बन्न जानुभयो केपी ओलीकहाँ।...त्यो आफ्नो निर्णय चाहिं होइन जस्तो लाग्छ।’ (अन्तर्वार्ताकार नवराज लम्साल)

छिमेकीको ‘मित्रशक्ति’ ?

अपरिपक्वताको कारण होस् अथवा कतैको थेग्न नसकिने दबाबले किचिएको कारणले होस्, हानि–नोक्सानी ठाकुर र जसपा (ठाकुर समूह) दुबैलाई भयो। २५ श्रावणको निर्वाचन आयोगको निर्णयपछि ठाकुरको अध्यक्ष रहने हक समेत समाप्त भएको छ। अर्थात् नोक्सानी जति सबै ठाकुरकै थाप्लामा प–यो। प्रोफेसर विजयकान्त कर्णको १६ श्रावणको एक अङ्ग्रेजी छापामा निस्केको विश्लेषण अनुसार ठाकुर यतिखेर ‘सङ्कटमा’ परेका छन्। टिप्पणीकार सुरेन्द्र लाभका अनुसार, ओलीसँगको गठबन्धनमा पसेपछिका ठाकुर अन्ततोगत्वा तराईमा नै असान्दर्भिक हुन पुगेका छन; निस्स्वार्थ राजनीतिककर्मी भन्ने छवि पनि धमिलिएको छ। ठाकुरले नयाँ पार्टी खोल्छन्, त्यसैले हालै तराईतिर झरेका हुन् भन्नेहरू पनि छन्। तर एक त नयाँ पार्टी गठन गर्न सजिलो छैन, अर्को कदाचित् गठन भैहाल्यो भने पनि त्यो आन्तरिक अभ्यास वा प्रतिस्पर्धाबाट भएको ठहरिँदैन– यस्तो अड्कलबाजी गरिंदै छ। ठाकुरकै कार्यनीति÷शैलीबारे चर्चा गर्ने सन्दर्भमा टिप्पणीकार सीके लालको यो कथन श्रावण १३ गते एक नेपाली अखबारमा आएको छः–‘भाजपा (भारतीय जनता पार्टी) लाई नेपालमा ‘भातृदल’ नै नभए पनि भरोसायोग्य ‘मित्रशक्ति’ नभई नहुने भएको छ।’

विगतमा उपप्रधानमन्त्रीको कार्यभार सम्हालिसकेका उपेन्द्र यादव जसपा दुई समूहमा विभाजित नहोउञ्जेलसम्म महन्थ ठाकुरसँग सहकार्य गरेका राजनीतिककर्मी हुन्। तसर्थ उनलाई ठाकुरका सबलपक्ष र दुर्बलपक्षबारे जानकारी हुनु स्वाभाविक छ। साथै, एक समय ठाकुर र यादव दुई अलग पार्टी सञ्चालक भएर तराईमै प्रतिस्पर्धा गर्दथे। यसरी पनि एक–अर्काबारे जानकार रहेकै हुन्। यस्तोमा यादवले ठाकुरलाई कतैको हप्काइ–दप्काइमा परेपछि नेतृत्व लिनबाट पछि हटेको आरोप लगाएको स्थिति छ। नत्र राष्ट्रिय स्तरको उभ्भिइसकेको जसपाको कार्यसूची लिएर अघि बढ्ने अवसर त्यागी ठाकुरले फेरि क्षेत्रीय राजनीतिलाई कर्मथलो बनाउन अग्रसर नहुनु पर्ने हो।

गणतन्त्र नेपालको प्रथम राष्ट्रपति भएर डा.रामवरण यादवले तराईको प्रतिनिधित्वलाई सर्वोच्च स्तरमा पु–याइसकेको हो। तर संविधानतः राष्ट्राध्यक्ष आलङ्कारिक संस्था हो। यस्तोमा कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्री बनेर इतिहास रच्ने अवसर ठाकुरको निकै निकट आएको थियो। तर त्यो मौका यस पटकलाई गुम्यो, फेरि कहिले आउला भन्न कठिन छ। लोकोक्ति छः मौका आउँछ पर्खिंदैन, बगेको खोला फर्किंदैन। यहींनेर प्रश्न उठ्छः मौका आउँदा पछि हट्नेले फेरि मधेस काठमाडौंबाट सदैव उपेक्षित रह्यो भनिरहन मिल्ला र ? कक्षा उक्लिन नचाहने छात्रले घरी–घरी अनुत्तीर्ण रहने तारतम्य मिलाएजस्तो पो भयो। आखिर ठाकुरको समूहले सम्पूर्ण तराईको प्रतिनिधित्व गरिरहेको पनि थिएन; छैन।  

निर्णायक दृष्टिकोण

दृष्यपटलमा देखिएका गतिविधिले नेपालको राजनीति नेपालकै राजनीतिकर्मीले सञ्चालन गरेको पुष्टि गर्दथ्यो। निर्णायक शक्ति देशभित्रै रहेको देखापथ्र्याे। नेपाली मतदाता त्यसकै आधारमा मतदान गर्थे। महन्थ ठाकुरको राजनीति पनि तराई–मधेसको परिधिबाट उठेर राष्ट्रिय स्तरको ‘जसपा’ मा परिणत भैसकेको थियो। सके यो कदम उनको पहिले राष्ट्रिय स्तरको पार्टी नेपाली काँग्रेसको उपल्लो जिम्मेवारी छोड्दा भएको गल्ती सच्याउने कोशिस थियो। यसलाई सकारात्मक कोणबाट हेर्दा ठाकुरको योग्यता र अनुभवले उनलाई सर्वोच्च कार्यकारीमा निर्वाचित गर्नु अनुचित हुने थिएन। उनलाई डेढ–दुई वर्षपछि हुने नियमित चुनावसम्मका लागि अन्तरिम प्रधानमन्त्रीको रूपमा स्वीकार गर्दा के नै विपत्ति आइलाग्दो होला र। जथाभावी गर्न स्वतन्त्र प्रेसले दिने थिएन नै।    

पौषमा संसद् विघटन र त्यसलाई सर्वोच्चले बदर गरेको नयाँ परिस्थितिको आलोकमा ठाकुर एक भरपर्दो वैकल्पिक उम्मेदवार हुन सक्छन् भनेर मैले  वैशाखको आरम्भमा एउटा लेखमा उल्लेख गरेको थिएँ। अङ्ग्रेजी दैनिक ‘राइजिङ् नेपाल’ को २३ अप्रिलको अङ्कमा प्रकाशित त्यस लेखोटमा २०७४ सालको निर्वाचनमा महोत्तरीबाट विजयी भैआएका ठाकुरले ज्येष्ठ सदस्यको हैसियतबाट प्रतिनिधिसभाका सबै सदस्यहरूलाई शपथ दिलाएको सन्दर्भ पनि जोडेको थिएँ।ठाकुरसँग कानूनको पढाइ तथा उप–सभामुख र विभिन्न अवधिमा मन्त्रिपद र मन्त्रालयहरू सम्हालेको अनुभव छँदै थियो। सरकारको नेतृत्व गर्ने अवसर पाए आफ्नो क्षमता प्रदर्शन गर्नसक्थे। 

विगतमा काँग्रेस छोड्दैमा उनले राजनीति छोडेका थिएनन्,र सम्भवतः आकांक्षा पनि त्यागेका थिएनन्। तर चर्चित लेख पढ्नेमध्ये कतिपयले आँखीभौं तन्काएको पाइयो। ‘सरकारी’ चिनारी भएको छापामा आएको हुनाले त्यस लेखले कतै कसैलाई कुत्कुती लगायो होला, कतै कोही झस्किएको मुद्रामा प्रकट भए हुनन्। विहारीकृष्ण श्रेष्ठलाई विशिष्ट पाठकको कित्तामा राखौं किनभने उनको प्रतिक्रिया लगत्तै त्यही अखबारमा निस्कियो जसमा उनले लेखक महन्थ ठाकुरप्रति ज्यादै उदार त्यो लेख कतै ‘मूल्य तिरेर गराइएको प्रचार’(पेड प्रोपगण्डा) त होइन? भन्ने प्रश्न उठाएका थिए।  

श्रेष्ठको विचारमा ठाकुरको ठूलो कमजोरी नेपाली काँग्रेस छोडेर त्यस पृथक्तावादी गुटसँग जोडिन पुग्नु थियो जसलाई भारतीय संस्थापनको पुठ (पृष्ठ–पोषण) प्राप्त थियो। म श्रेष्ठलाई शङ्का गर्दिनँ।। किनभने समकालीन नेपालमा विश्वासको खडेरी यति व्यापक भैसकेको छ कि कतै कहीं राम्रै जँच्ने कुरा स्वस्फूर्त ढङ्गले प्रस्तावित भयो भने पनि त्यसलाई ‘यसमा पक्कै केही रहस्य हुनुपर्छ’ भन्ने औसत सोचले उछिनिसकेको हुन्छ। ठाकुरसँग गाँसिएको विषय पनि यस परिप्रेक्ष्यमा अपवाद हुन सकेन। 

प्रकाशित: २८ श्रावण २०७८ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App