५ आश्विन २०७८ मंगलबार
विचार

गुरूपूर्णिमा: ज्ञानको महत्व झल्काउने चाड गुरूपूर्णिमा

आज आषाढ पूर्णिमा अर्थात् चान्द्रमास अनुसार असारको अन्तिम दिन। आजको दिनलाई समस्त हिन्दू धर्मावलम्वीले गुरूपूर्णिमा वा व्यास जयन्तीका रूपमा लिन्छन्। त्यसैले यस दिन उनीहरूले आफ्ना गुरुलाई सम्मन प्रकट गर्ने र व्यासले दिएको ज्ञानको महत्वलाई स्मरण गर्ने गर्छन्।

 व्यासलाई वेदको विषयअनुसार ऋक्, साम, यजुः र अथर्व गरी चार भागमा विभाजन गर्ने व्यक्ति मानिन्छ। त्यसैले उनलाई वेदव्यास पनि भनिन्छ। यिनै व्यासले १८ पुराण, कैयौँ उपपुराण, ब्रह्मसूत्र, अध्यात्म रामायण तथा महाभारतको रचना गरी हिन्दुधर्म र संस्कृतिको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएका छन्। त्यसैले व्यास समस्त हिन्दुधर्म र संस्कृति बुझ्न चाहनेका लागि ज्ञानका स्रोत व्यक्ति हुन्। आज तिनै व्यासको जन्मदिन परेको मानिने भएकाले गुरूपूर्णिमा पर्व पनि मनाइन्छ। त्यसैले गुरूपूर्णिमा समस्त ज्ञानका पिपासुका लागि विशिष्ट पर्व हो।  

गुरु को हो ? गुरुको महत्व के छ ? भन्ने सम्बन्धमा पूर्व तथा पश्चिमतर्फ धेरै चर्चा परिचर्चा भएको छ। सबैतिर गुरुलाई समस्त शिक्षा वा ज्ञानको स्रोत मानिएको छ। गुरुको महत्वलाई कवीर दासजीको तलको पद्यले राम्रोसँग स्पष्ट पारेको देखिन्छ :  

‘गुरु गोविन्द दोनो खडे, काको लागि पाउ,  

बलिहारी गुरु आपने, गोविन्द दियो बताई’

कवीर भन्छन् : गुरु र गोविन्द अर्थात् भगवान् दुवैलाई एकै साथ आफ्नो सामुन्ने देखियो भने ढोग गर्दा सबैभन्दा पहिले गुरुलाई गर्नुपर्छ, किनभने गोविन्द भगवान् हुन् भनेर चिनाउने व्यक्ति गुरु नै हुन्। त्यसैले गोविन्दभन्दा गुरु महान् हुन्। यसबाट गुरुको महत्व कति छ भन्ने कुरा प्रस्टिन्छ। गुरु शब्दको बनावटले पनि माथिकै कुरालाई पुष्टि गर्छ। ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ प्रकाश भन्ने लाग्छ। यसको अर्थ हुन जान्छ, अँध्यारोलाई हटाएर जसले उज्यालो दिन्छ, त्यो नै गुरु हो। वेदमा भनिएको ‘तमसो मा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट मलाई प्रकाशतर्फ लैजाऊ भन्ने वाक्यले पनि गुरुले गर्ने कार्यलाई स्पष्ट संकेत गरेको छ। त्यसैले जसले अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी प्रकाशतर्फको यात्रा गराउँछ, त्यो नै गुरु हो। यस सम्बन्धमा संस्कृतमा भनिएको तलको श्लोक निकै प्रख्यात छ :  

‘अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जन शलाकया  

चक्षुरुन्मीलितम् येन तस्मै श्री गुरुवे नमः’  

अर्थात् ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारलाई हटाएर मेरो आँखा खोलिदिने गुरुलाई प्रणाम छ। यस्तै गुरुको कार्यलाई स्पष्ट पार्ने हिन्दीमा एउटा कहावत प्रख्यात छ : ‘अन्धकार है तो अन्धकारको क्यों धिक्कारेँ, एक दीप जलाएं।’ अर्थात् कहीँ अन्धकार छ भनेर जतिपटक चिच्चाए वा धिक्कारे पनि अन्धकार हट्दैन। अन्धकार त्यतिबेला स्वतः हट्छ, जब हामीले प्रकाश दिन्छौँ। प्रकाश दिनका लागि बत्ती, सलाई वा यस्तै प्रकाशक चिजको आवश्यकता पर्छ। यस्तै हाम्रो अज्ञानरूपी अन्धकार हटाउन पनि ज्ञानका प्रकाशक गुरुको आवश्यकता पर्छ। गुरुबाटै अज्ञानरूपी अन्धकारलाई हटाउन सकिन्छ। यसैले गुरुको जतिसुकै महिमा गाए पनि कमै हुन्छ भन्ने मानिन्छ। त्यसैले गुरुका सम्बन्धमा भनिएको पनि छ :

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः

गुरुः साक्षात् परब्रह्मः तस्मै श्री गुरवे नमः  

गुरु ब्रह्मा, विष्णु, महेश्वर सबै हुन्, अर्थात् गुरु साक्षात् परमेश्वर परब्रह्म हुन् भनिएको छ। गुरुले असत्यबाट सत्यतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र मृत्युबाट अमरत्वतिर जाने बाटो बताइदिन्छन्। गुरुले बताएको यही मार्गलाई पछ्याएर शिष्यले आफ्नो जीवनलाई सफलताको मार्गतिर डोर्‍याउने गर्छ। त्यसैले शिष्यले जुन प्रगति गरेको हुन्छ, त्यहाँ गुरुको ज्ञानको अहम् भूमिका हुने गर्छ। त्यसैले गुरूप्रति शिष्यको कर्तव्य के हो भन्ने सम्बन्धमा भनिएको छ:

ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम्  

मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोर्कृपा।

अर्थात् ध्यानको मूल गुरुको मूर्ति, पूजाको मूल गुरुको पद, मन्त्रको मूल गुरुवाक्य र मोक्षको मूल नै गुरुको कृपा मानिन्छ। गुरुको यही महिमाको बोध गरेरै नेपाली समाजमा गुरूपूर्णिमाका दिन गुरूपूजा गर्ने परम्परा बसेको देखिन्छ।  

यस प्रसंगमा गुरु को हो त ? भन्ने कुराको चर्चा पनि आवश्यक छ। समाजमा प्रायः औपचारिक रूपमा पुस्तकीय ज्ञान दिने र जनैधारीलाई व्रतबन्धका समयमा गायत्री मन्त्र दिने व्यक्तिलाई गुरु भन्ने मान्यता प्रचलनमा छ। के गुरु भनेका ती मात्र हुन् ? यसलाई हामीले गहिरिएर हेर्‍यौँ भने त्यो अर्थलाई मात्र गुरु शब्दले टिप्दैन, किनभने मानिसको सिकाइ जन्मदेखि मृत्युसम्म चलिरहेको हुन्छ। त्यसैले विद्यालय, महाविद्यालय वा अन्य ठाउँमा पुस्तकीय ज्ञान दिने वा मन्त्र दिने मात्र गुरु हो भन्ने कुरामा अव्याप्ति दोष देखिन्छ। त्यसो भए नयाँनयाँ कुरा सिकाउने सबै गुरु हुन् त ? भन्ने अर्को प्रश्न पनि आउँछ। यसलाई मान्ने हो भने हामीले प्रत्येक क्षण नयाँनयाँ कुरा सिकिरहेका हुन्छौँ। ती सबैलाई गुरु मान्दै जाने हो भने गुरुको संख्या अनन्त हुन्छ। यसमा पनि अतिव्याप्ति दोष हुन्छ। त्यसैले गुरु भनेको को हो भन्ने सम्बन्धमा हामीले खास आधारलाई लिनुपर्ने हुन्छ। ज्ञानको आधार निकै फराकिलो भए पनि धार्मिक/दार्शनिक सन्दर्भका आधारमा जीवन र जगत्लाई बुझाई धर्म, अर्थ, काम र मोक्षसम्मको यात्रालाई उत्प्रेरित गर्न सक्ने व्यक्तिलाई गुरु भन्न सकिन्छ भने अन्य सन्दर्भमा आफ्नो जीवनलाई अग्रगति दिन विशेष महत्वको ज्ञान दिने व्यक्तिलाई नै गुरु भन्न सकिन्छ। 

यस सन्दर्भमा ज्ञानका लागि गुरुविना सम्भव छैन ? प्रश्नन गर्न सकिन्छ, तर गुरुविना ज्ञानको पूर्णता नहुने माानिन्छ। गुरुको आवश्यकता निगम अर्थात् वैदिक प्रक्रियामा पनि मानिएको छ भने आगम अर्थात् तन्त्रविद्यामा पनि मानिएको छ। तन्त्रसाधनामा त गुरुविनाको दीक्षालाई मान्यता दिइएकै छैन। यहाँसम्म कि एकलव्य द्रोणचार्यबाट तिरष्कृत भएर जाँदा पनि गुरुविनाको ज्ञान अपूर्ण हुने मानिएकाले तिनै द्रोणाचार्यको प्रतिमा बनाई त्यसमा प्राणप्रतिष्ठा गराई गुरु स्थापना गरेर साधना गरेको र त्यसबाट ज्ञान प्राप्त गरेको सन्दर्भ आउँछ। यसबाट पनि गुरुको आवश्यकतालाई बुझ्न सकिन्छ। यसपछि मानवको गुरु मानव मात्र हुन्छ, या मानवेतर प्राणी पनि हुन सक्छ भन्ने सन्दर्भलाई पनि बुझ्न आवश्यक छ। यस सम्बन्धमा दत्तात्रयको पौराणिक सन्दर्भ विशेष महत्वको मानिन्छ।  

पौराणिक सन्दर्भ अनुसार दत्तात्रयमा सांसारिक मोह, माया, चञ्चलता, प्रेम, घृणा, आसक्ति आदि केही नदेखिँदा यदु (यिनैको वंशपछि यदुवंश भनेर चिनिएका) ले संसारी जीव भएर पनि तपाईंमा सांसारिक वस्तुप्रति यस्तो निस्पृहता कसरी सम्भव भएको हो भनी प्रश्न गर्दा दत्तात्रयले आफूले स्थावर जङ्गमका विभिन्न व्यक्ति र वस्तुबाट अनौपचारिक तहका गुरुबाट अप्रत्यक्ष रूपमा विशेष ज्ञान प्राप्त गरेको र त्यसलाई जीवनमा क्रियात्मक रूपमा उपयोग गरेकाले यो सम्भव भएको बताएका छन्। उनले मानेका २४ गुरुमध्ये एक पृथ्वी हुन्। पृथ्वीबाट उनले सहनशीलताको शिक्षा लिएका थिए भने वायुबाट सँगै रहेर पनि कुनै पनि कुरामा लिप्त नहुने, आकाशबाट आत्माको व्यापकता, जलबाट मधुरता, स्वच्छता र स्निग्धता, सूर्यकिरणबाट व्यापक भएर पनि निर्लिप्तता, चन्द्रमाबाट शक्तिको घटबढ भएर पनि स्वभावमा अपरिवर्तनशीलता तथा चराबाट बच्चाको मोहले जालमा पर्न सकिने भएकाले मोहबाट मुक्तिको ज्ञान पाएको र त्यसलाई आफूले क्रियात्मक प्रयोग गरेको बताएका छन्। यस्तै उनले मानेका अन्य गुरुमा अग्नि, अजिङ्गर, सागर, पुतली, मौरी, हात्ती, भमरो, हरिण, मान्छे, वेश्या, चखेवा, बालक, कुमारी, लोहकार, सर्प, माकुरो र कुमालकोटीबाट जीवनमा ज्यादै महत्वपूर्ण ज्ञान पाएको बताएका छन्। यस उदाहरणबाट ज्ञान जोसुकैबाट लिन सकिने, तर त्यस ज्ञानलाई व्यवहारमा लागू गर्नुपर्ने उनको मान्यता छ।  

अतः कुनै व्यक्तिको अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानरूपी प्रकाश छरी उसको जीवनमा क्रियात्मक स्वरूपमा परिवर्तन ल्याउन सक्ने नै गुरु हो। यी गुरुमा हाम्रो जीवनको प्रारम्भिक अवस्थामा व्यावहारिक ज्ञान दिने मातापितादेखि जीवन र जगत्का विविध विषयको ज्ञान दिने विद्यालय वा महाविद्यालयका औपचारिक गुरु र जीवनका अनेकौँ घुम्तीमा जीवनलाई वैचारिक वा क्रियात्मक व्यवहारमा परिवर्तन गर्न सक्ने व्यक्ति हुन सक्छन्। यी सबै गुरूप्रति श्रद्धा राखी उनीहरूले दिएको ज्ञानप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूको सम्मानका लागि गरिने पूजा नै गुरूपूजा हो। हाल लोक समाजमा गुरूपूजा वैयक्तिक र संस्थागत गरी दुई किसिमले हुने गरेको छ। वैयक्तिकमा जसले जसलाई गुरु मान्छन्, उसले शारीरिक र मानसिक रूपले पवित्र भई गुरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष भेट गरी गुरुले दिएको ज्ञानको स्मरण गर्दै गुरूप्रति रहेको आफ्नो सम्मान व्यक्त गर्दछ। यस समयमा गुरुबाट आशीर्वचन पनि ग्रहण गर्ने गर्छ। कसैले यस समयमा गुरु वा गुरु आमालाई उपहार पनि दिन सक्छ। उपहार अनिवार्य सर्त भने होइन। गुरुले कुनै उपहारको अपेक्षा पनि गरेको हुँदैन। अर्कोतर्फ संस्थागत गुरूपूजामा कुनै विद्यालय वा महाविद्यालयमा पढ्ने छात्रछात्राले त्यहाँ सामूहिक रूपमा औपचारिक कार्यक्रम राखी गुरुहरूलाई बोलाई उनीहरूलाई सम्मान गर्ने कार्य गरिन्छ। 

प्रकाशित: ९ श्रावण २०७८ १०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App