२० मंसिर २०७८ सोमबार
विचार

पृथ्वीनारायणको पदमार्ग

‘मेरो भाइ पराइसेनासँग मिल्न गयो। रामको भाइ उनीसँगै छ। लंकाधिपति रावणले पनि हार्नुप¥यो। पराजयको मुख्य कारण यत्ति नै हो’– रावणले जीवनको अन्तकालमा भनेका थिए। रामायण र महाभारतलगायतका प्राचीन ग्रन्थमा जीवन उपयोगी अनेक प्रेरक प्रसंग छन्। उत्प्रेरणा, इच्छा, आकांक्षा र अदम्य मनोबल जगाउने चेतनाका बीज छन्। एकता भएन भने घर, समाज र राष्ट्र नासिन्छ, भासिन्छ र मासिन्छ। यो ध्रुवसत्य हो। एकता भाँड्न घरभित्रैकै शत्रु पर्याप्त हुन्छन्। उनीहरूको आवरण एउटै नभए पनि आचरण उस्तै/उस्तै हुन्छ।

बिपी कोइरालालाई पनि बेलाबखत खर्च दिने एउटा पुरानो व्यापारी घरानालाई उनीहरूकै ज्वाइँले भाँडिदिए। काठमाडौँमा चन्द्रशमशेरका पालादेखि बसेको परिवारका सदस्यबीच अतुल्य एकता थियो। भारतबाट आएर बसेको त्यो परिवारमा आदर, प्रेम, सद्भाव, संस्कार सबै थिए। म भन्दा झण्डै पन्ध्र–सोह्र वर्ष जेठा थिए घरमूली। उनी राजा वीरेन्द्रका प्रिय थिए। राजनीतिमा सक्रिय भएनन् तर राष्ट्रिय÷अन्तर्राष्ट्रिय परिस्थितिको विवेचना गर्थे।

भारतका मुर्धन्य धर्मगुरु र विशिष्ट व्यक्तिहरूसँग उनको सम्पर्क थियो। उनी भन्थे– ‘नेपाल स्वतन्त्र हिन्दु अधिराज्य हो। इजरायलको धार्मिक र राष्ट्रिय पहिचान यहुदी धर्मले राष्ट्रिय एकता बचाएको छ। सनातन धर्म र त्यससँग जोडिएका अनेक संस्कृतिले हिन्दु÷बौद्ध सबैलाई एकीकृत बनाएको छ। राजा रत्नमल्लका पालादेखि बसेका नेपाली मुसलमानले राजतन्त्र रहुन्जेल आफूलाई अत्यन्त सुरक्षित ठानेका थिए। तपाईँहरूले काठमाडौँका सयौँ साल पुराना वर–पीपलका रुख मासेर त्यससँग संरक्षित पर्यावरण बिगार्नुभएको छ। गलत गर्नुभएको छ। नेपालमा अब युरोप÷अमेरिका बलियो हुनेछन्। यसले नेपालमात्र होइन, भारत–चीन पनि घेरामा पर्नेछन्। विदेशी धर्म फैलनेछ।’ नभन्दै त्यस्तै भएको छ आज।  

अन्ठानब्बे करोड रुपियाँको सम्पत्ति थियो उनको। घरभित्रकै शत्रु बनेर पुत्र बराबर मानेर हुर्काएको भाइले सबै कुम्लो पारेपछि साथीहरूसँग आठ/दश लाख रुपियाँ मागेर उनले क्यान्सरग्रस्त पत्नीको उपचार गराए पनि उनी बाँचिनन्। पत्नीको शव पशुपतिनाथकै नजिक बिसर्जन गर्न मुम्बईबाट विमानमार्फत काठमाडौं ल्याए। एकपछि अर्को वज्रपात सहँदै उनको पनि प्रणान्त भयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत चरणस्पर्श गर्ने अशोक सिंघलका साथी थिए उनी। सिंघल नेपाल आउँदा उनकै घरमा बस्थे। राजा वीरेन्द्रमाथि अप्रत्याशित प्रहार हुन सक्ने गुप्त सूचना पाएपछि सिंघलले दरवारका उच्चपदस्थहरूलाई सूचित गरे पनि उनीहरू घरभित्रैका शत्रु भएकाले समयमा चासो देखाएनन् भन्ने सिंघलको गुनासो थियो। सिंघलले भनेका कतिपय कुरा अत्यन्त सम्वेदनशील थिए।

धेरैले २०६२/६३ सालपछि नेपालमा अस्थिरता, अनकेता, बेथिति र विदेशी दबाब बढ्ने विश्लेषण गरेका थिए। आज त्यही देखिएको छ। राष्ट्रिय एकता कमजोर बनाउन अनेक कोणबाट हमला भइरहेको प्रष्ट देखिन्छ। कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्रै ‘अरूका लागि’ काम गर्नेहरू पनि धेरै छन् भने टिप्पणी सुनिन्छ। यी सबै ‘आरोप’  मिथ्या छन् भन्न सकिँदैन। कतिलाई नकारात्मक पनि लाग्न सक्छ, नेपालका अधिकांश नेता चीन र भारतपरस्त छन्। पछिल्ला वर्षमा युरोपियन र अमेरिकी भक्तहरु बढेका छन्। उनीहरूलाई राष्ट्र होइन, गणतन्त्र रहेमात्र पुग्छ। राष्ट्र नहुँदा पनि गणतन्त्र रमाउँछ भन्ने उदाहरण सिक्किम नै छ।

बिपी कोइरालाले २०३८ पुस १४ गते भनेका थिए– ‘हाम्रा छिमेकीलाई चिढ्याउने काम हामीले गर्नुहुँदैन। म जहिले पनि जोड दिन्छु, चीन र भारतको मित्रता होस् भनेर। हिन्दुस्तान वा चीनमा निर्भर रहेर कोही यहाँ राजनीति गर्न चाहन्छ भने त्यो सफल हुँदैन।’ २०४६ सालमा बरालिएको र २०६२÷६३ सालपछि टाँगाको घोडाझैँ ‘आइप्याड’ लगाएको नेपाली कूटनीति पचास फिट गहिरो इनारभित्र गाना गुन्गुनाइरहेको छ– ‘तिमीविना म त मरिहाल्छु नि...।’ एउटाको काखमा बसेर अरूलाई हात हाल्दा राष्ट्रघातमात्र हुन्छ भन्ने नबुझ्दा राष्ट्रको समस्या अरू गहिरिएको छ।  

पृथ्वीनारायण शाहले सिकाएको राष्ट्रिय एकताको मन्त्र सार्थक बनाउने हो भने छल गर्ने दलको पछि लाग्नु उचित हुँदैन। स्पष्ट मार्गचित्र बनाएर राष्ट्रिय एकता बलियो बनाउन जनता र सेना एकीकृत हुनु आवश्यक छ। दलहरूको आदेश आएपछि मात्र आगो निभाउने चाँजोपाँजो मिलाउन थाल्ने हो भने राष्ट्र खरानी हुन सक्छ। झण्डै तीन वर्षअघि प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयको कमान्ड सम्हालेपछि उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई आदर्श मानेर राष्ट्रिय एकताको जगेर्नालाई नेपाली सेनाको अभियानका रूपमा केही नवीन कार्यक्रम ल्याए। पृथ्वीनारायण अध्ययन केन्द्र स्थापना गरे। हिमाल, पहाड र तराईबीच भावनात्मक एकता बढाउन अनेक काम गरे। प्राचीन गढी र किल्लाको संरक्षण गरेर पर्यटकलाई आकर्षित गर्ने योजना सुरु गरे।  

नेपाल एकीकरणको इतिहास, ऐतिहासिक गढी–किल्लाबारे गहन अध्ययन/अनुसन्धान गरेर पुस्तक प्रकाशन गराए। सैनिक इतिहासप्रति भावी पुस्तालाई समेत सजग र सम्वेदनशील बनाउन गवेषणाको प्रथा चलाए। राष्ट्रिय एकता प्रवल नभएमा घरभित्रका शत्रुले ध्वस्त बनाउने भएकाले बाह्य र आन्तरिक रिपु चिन्नुपर्ने उनको मान्यता छ। कतिपय योजना उनले गुप्त राखेका होलान् तर राष्ट्रको सार्वभौमसत्ता, एकता र अखण्डता खरानी बनाउन चाहनेलाई राम्ररी चिनेको संकेत गरेका छन्, प्रधानसेनापति थापाले।

‘एकीकरण मार्ग’ नेपाली सेनाले तयार गरेका धेरै महत्वपूर्ण काममध्ये एक हो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा सयौँ पहाड, खेत, नदी र खोला तरेर गोर्खाबाट काठमाडौंँसम्म पैदल यात्रा गरेका इतिहास विश्वमै अतुल्य छ। बीस वर्षको उमेरमा राजा भएपछि भोगविलास, परिवार सबै बिर्सेर राष्ट्र एकीकरणमा अहर्निश, अदम्य र अविराम अभियानमा लाग्दा के/कति दुःख भोगे होला, त्यो कल्पना पनि गर्न सकिँदैन।

काठमाडौँ उपत्यका आफ्नो नियन्त्रणमा लिएका पृथ्वीनारायणले इलामपूर्व दार्जिलिङलगायतको भूभाग जितेको इलामका प्राध्यापक युद्धप्रसाद वैद्य बताउँछन्। नागरी (हाल दार्जिलिङ जिल्ला) लाई कोटका रूपमा प्रयोग गरेर उनले गोर्खाली सेना राखेका थिए। पछि करफोक (इलाम) मा ल्याएर तैनाथ गरियो। टिस्टा नदीसम्म जितेका पृथ्वीनारायणले गोर्खाबाट लगिएका सैनिकलाई ठाउँठाउँमा बसोबास गराए। धनकुटा र इलाममा ‘चुङमाङ’ भनिने गाउँ छन्। 

पश्चिमतिर चुनवाङ भनिने मगर भाषाका यस्ता अनेक शब्द पूर्वतिर पुगे। यो मगर भाषा साहित्यकी ज्ञाता बमकुमारी बुढा बताउँछिन्।  इलाम पशुपतिनगर नजिकै गोर्खाबाट लगिएका पाँडेहरूको बसोबास छ। तर गण्डकी, लुम्बिनी प्रदेशको तुलनामा मेची, कोसी र सगरमाथा क्षेत्रमा धेरै नै सांस्कृतिक विकार बढेको देखिन्छ। प्राचीन धर्म, संस्कृति, मूल्य÷मान्यतामा ह्रास आएको छ। माओवादीले चलाएको दश वर्षे द्वन्द्वले साँझमा शरण पर्न आएको अतिथिलाई ‘देवता’ सरह मान्ने परम्परा लोप हुँदै गयो र नचिनेको मानिसलाई सज्जन नै भए पनि असुर ठान्न थालियो। देवभूमि मानिएका कैयन् इलाका असुर भूमि भए। मनोवैज्ञानिकरूपमा राष्ट्रिय एकता नै कमजोर भयो।

२०७६ पुस १८ देखि २७ गतेसम्म गोरखा–काठमाडौँबीच पृथ्वीनारायण हिँडेको पदमार्गमा सेनाले सयौँलाई पदयात्रा गरायो। मिडियाले यसको प्रशंसा गरे। धेरैले सेनालाई धन्यवाद दिए। सैनिक मुख्यालयको प्रवेशद्वारमा रहेको पृथ्वीनारायणको सालिकमा पुस २७ गते माल्यार्पण गरेर सेनाले राष्ट्रनिर्माताप्रति अगाध श्रद्धा प्रकट गर्‍यो। यसले नेपाल एकीकरणप्रति राजा र सेनाको सत्प्रयासको इतिहासलाई ताजा बनायो। पृथ्वीनारायण हिँडेका बाटो नै ‘सेनाको बाटो’ हो भन्ने कुरामा नेपाली सेना आगामी वर्षहरूमा पनि प्रबल, अविचल र निर्भय बनेर उभिएमा राष्ट्रका शत्रु–भञ्जन गर्न जनताले पनि मद्दत गर्नेछन्। होइन, सेना पनि लोभी/पापी बनेर विदेशी षडयन्त्रको सिकार भएमा जनताले विश्वास गर्ने अवस्था रहँदैन।

नेपालको राष्ट्रिय झण्डा बोकेर श्रीनाथ, कालीबक्स, पुरानो गोरखा, वर्दवाणी र सबुजजस्ता पृथ्वीनारायणकालका पल्टन ऊबेलाकै पोशाक, हतियार र ढाँचामा गोरखा–काठमाडौंँको पदयात्रा गरेको दृश्य इतिहास हेरेझैँ प्रतीत भयो। नेपालको राष्ट्रिय एकता, स्वतन्त्रता, स्वाभिमान र जाज्वल्यमान इतिहास बचाउन सेना सदैव तत्पर रहन्छ भन्ने सन्देश दियो सेनाले।

ऐतिहासिक गढी, किल्ला, वीरगाथा, प्राचीन धर्म–संस्कृति बचाउन चाहने सेनाले यदाकदा उत्ताउला, उरन्ठेउला र पराधीन राजनीतिक नेतृत्वको ताइ न तुइका निर्देशन मान्नुपर्दा पीडा हुँदो हो। राष्ट्र ढल्न र जल्न लाग्दा सेनाले यदाकदा कठोर निर्णय गरेर आफ्नै मार्गचित्र बनाउने साहस पनि गर्नुपर्ने हुन्छ। राष्ट्रका शत्रु र मित्र समयमै चिनेर शत्रुलाई बदर र मित्रलाई कदर गर्ने साहस गर्नुपर्छ। त्यसो गर्न सकेन भने कतिपय नेताले राष्ट्रघात गर्दा सेनाले पनि त्यसको दोष बोक्नुपर्छ। इतिहासले भोलि प्रश्न गर्छ– राष्ट्र जल्दै गर्दा सेना के हेरेर बसेको थियो त ?

प्रकाशित: ८ श्रावण २०७८ ०९:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App