हालैका वर्षमा अस्ट्रेलियाका केही प्राज्ञमाथि जातिवाद, यौनिक अल्पसंख्यकप्रतिको घृणा र यहुदीवादको विरोधलगायत धेरैथरी गलत अभिव्यक्तिको दोषारोपण भयो। यसै वर्षको सुरुवातमा एक जना अफ्रिकी–अस्ट्रेलियाली अनुसन्धानकर्ताको शोधमाथि जातिवादीको आरोप लाग्यो। सुडानमा जन्मेका युवाहरूको फौजदारी अपराधमा बढ्दो संख्या जातीय कारणले नभएको सो अनुसन्धानको निष्कर्ष थियो।
हालै मेलबर्न विश्वविद्यालयको समलिंगी अधिकारसम्बन्धी एउटा राजनीतिक समूहले दर्शनशास्त्र विषयअन्तर्गत महिलावादको पाठमा ‘यौनिक अल्पसंख्यकप्रति अवहेलना गर्ने सामग्री’ समेटिएको भन्दै पाठ्यक्रममा पुनर्विचार गर्न माग गरेको थियो।
मेलबर्न विश्वविद्यालयले नयाँ ‘लिंगीय अभिव्यक्तिसम्बन्धी आचारसंहिता’ जारी ग¥यो। त्यसमा लिंगीय विविधताप्रति हेयभाव आउने सार्वजनिक अभिव्यक्ति दिन वा कुनै पनि कार्यक्रम गर्न निषेध गरिएको छ। संहिताको आलोचकहरूले त्यसले कुनै पनि लिंगीय अभिव्यक्तिले पु¥याउने ‘हानि’ को मापदण्डलाई विस्तार गरेको र त्यस्ता संहिताले प्राज्ञिक स्वतन्त्रतालाई सीमित बनाउने सम्भावना भएको तर्क गरे।
यी उदाहरणले प्राज्ञिक स्वतन्त्रताको सीमितताबारे प्रश्न उठाएको छ। के कुराले प्राज्ञिक अभिव्यक्तिमाथिको रोकलाई जायज बनाउँछ ? यस्ता घटनाको व्याख्यामा राजनीतिक समझदारी अन्तरनिहीत हुन्छ। केही मानिस नियोजितरूपमा आएका हानिकारक अभिव्यक्तिप्रति चासो राख्छन् र समाजका अल्पसंख्यक तप्काको रक्षाको आधारभूत पक्षका रूपमा प्राज्ञिक अभिव्यक्तिमाथि सीमिततालाई सही ठहर्याउन खोज्छन्।
अरू कोही भने प्राज्ञिक स्वतन्त्रतालाई सीमित बनाउँदाका नकारात्मक प्रभावलाई बढी जोड दिन्छन्। उनीहरू अनुदार सांस्कृतिक धारको प्रतिरोध गर्ने बृहत् पहलको हिस्साका रूपमा आफ्नो दृष्टिकोणलाई सही ठहर्याउने गर्छन्। यस्ता गम्भीर विषयको लेखाजोखा गर्न हामीले उदार समाजमा विश्वविद्यालयको महत्व बुझ्न जरुरी हुन्छ। हामीले विश्वविद्यालय र बृहत् लोकतान्त्रिक पर्यावरणमा प्राज्ञहरूका बहुआयामिक भूमिका पनि बुझ्न जरुरी छ।
सत्यको खोज
सत्यको खोजमा सहजीकरण गर्न विश्वविद्यालयले खेल्ने विशेष भूमिका आमरूपमा चर्चा हुने विषय हो। यस्तो खोजका निम्ति खुला र निर्भय वैचारिक छलफलको खाँचो पर्छ। कहिलेकाहीँ विवादास्पद, झुटा र कतिबेला अनैतिक विचारमाथि पनि मन्थन हुने गर्छ। यो दृष्टिकोणअनुसार प्राज्ञहरूका अभिव्यक्तिमाथि सेन्सर सत्यको सघन खोजका निम्ति अनुपयुक्त छ। त्यसकारण अभिव्यक्ति स्वतन्त्रता विश्वविद्यालयको मूल आधार हो।
तर, कुरा त्यत्तिमै सकिहाल्दैन। प्रथमतः विश्वविद्यालयका अरू पनि काम हुन्छन्। जस्तै– विद्यार्थीलाई शिक्षित बनाउनु, विश्वविद्यालय जीवनपछि जीवन हाँक्न योग्य बनाउनु र सार्वजनिक बहसमा सुधार ल्याउनु। दोस्रो, क्याम्पसमा पढाइँदा प्रयोग हुने कतिपय अभिव्यक्तिले अनावश्यक हानि निम्त्याउने गर्छ। जब त्यस्ता कुनै अभिव्यक्तिले कसैको अधिकार जस्तै विभेदविरुद्धको अधिकार हनन हुन्छ भने तिनमाथि सीमा रेखा कोर्नुपर्छ। प्राज्ञिक स्वतन्त्रताको सीमितताबारे बुझ्न प्राज्ञिक कार्यका दुई पक्ष–शिक्षण र अनुसन्धानबीच प्रष्ट अन्तर गर्नु उपयोगी हुन्छ।
शिक्षकका रूपमा प्राज्ञहरूले सत्यको खोजीमा सहजकर्ताको भूमिका खेल्छन्। तर कक्षाकोठामा सम्मानपूर्ण वातावरण बनाउनु पनि उनीहरूको जिम्मेवारी हुन्छ। जसले हरेक विद्यार्थीलाई बौद्धिकरूपमा स्वच्छ अवसर प्रदान गर्छ। त्यस्तो वातावरणमा हुर्केका उनीहरूले अरू कोही व्यक्ति वा समूहलाई न्यूनांकन, अवहेलना वा त्रसित नबनाउने गरी आफ्नो खोज प्रस्तुत गर्ने बनाउनुपर्छ।
एक जना पारलैंगिक विद्यार्थीलाई उसले इच्छाएको सर्वनामबाट बोलाउन अस्वीकार गर्दा अमेरिकाको अदालतमा दर्शनशास्त्रका एक जना प्राध्यापकविरुद्ध मुद्दा चलेको थियो। पारलैंगिक विद्यार्थीलाई उसले इच्छाएको सर्वनाम प्रयोग नगर्ने व्यवहारले अन्य विद्यार्थीबाट उसलाई अलग बनाउने र कक्षाकोठामा उसको समान हैसियत उपेक्षित हुने अवस्था बन्यो। प्राज्ञिक स्वतन्त्रताको नाममा यस्ता व्यवहारलाई संरक्षण गर्न उचित हुँदैन। तर एक जना अध्येताका रूपमा प्राज्ञले आधारभूतरूपमा सत्यको खोजीमा भने उत्सुक हुनैपर्छ। उनीहरूले आफ्नो, विद्यार्थी र सहकर्मीका राजनीतिक दृष्टिकोणलाई चुनौती दिने फरक दृष्टिकोणको सम्भावनालाई साँघुरो बनाउन हुँदैन।
त्यस्तै कुनै अनुसन्धानले खराब प्रभाव पार्न सक्ने भन्ने आधारमा त्यो अनुसन्धानमै अंकुश लगाउन सकिँदैन। बहुमूल्य अनुसन्धानको प्रायशः केही खराब प्रभाव पनि हुने गर्छ। अमेरिकाका एक जना प्रभावशाली अर्थशास्त्रीको अनुसन्धानबाट एउटा गजबको निष्कर्ष निस्कियो। उनको अनुसन्धानले प्रहरीको घातक हमलाको काला अमेरिकीहरू सिकार बन्ने सम्भावना बढी हुने गरेको कुरा उजागर ग¥यो। यो निष्कर्षलाई असान्दर्भिक प्रयोजनमा पनि प्रयोग गरियो। कतिले यो अनुसन्धानको निष्कर्षलाई प्रहरीभित्र जातिवाद नभएको तर्क पुष्टि गर्न पनि प्रयोग गर्न खोजे। हामी कुनै पनि अनुसन्धानको खराब राजनीतिक परिणामको तर्कबाजी गरेर प्राज्ञका चासोका विषयमा अनुसन्धान गर्ने स्वतन्त्रता सीमित बनाउने आधार पुगेको ठान्छौँ।
कक्षाकोठामा सघन बहस
कुनै प्राज्ञिक अभिव्यक्तिले कसैलाई निराश बनाउँदैमा, कसैको भावनामा चोट पार्दैमा वा विद्यार्थीलाई असहज बनाउँदैमा अभिव्यक्तिमाथि अंकुश लगाउने मनग्य आधार बन्न सक्दैन। समाजवादी विचार बोकेका विद्यार्थीले बृहत् अर्थशास्त्रको कक्षामा असहज अनुभव गर्न सक्छन्। आदिबासी विद्यार्थीले अस्टे«लियाको साहित्यको कक्षामा असहज अनुभव गर्न सक्छन्। बाइबलका उदार सत्यप्रति प्रतिबद्ध कतिपय विद्यार्थीलाई विकासक्रमको जीवविज्ञान असहज लाग्न सक्छ। फौजदारी कानुनको कक्षामा यौनहिंसा भोगेका विद्यार्थीले आफ्नो अपमान भएको अनुभव गर्न सक्छ। यस्ता प्रतिक्रियालाई गम्भीरतापूर्वक लिनुपर्छ। तर गम्भीरतापूर्वक लिनुको अर्थ यस्ता प्रतिक्रिया आउनै नदिने भने होइन।
विद्यार्थीको हतास व्यवहार कतिबेला कक्षाकोठामा शिक्षकको अस्वीकार्य व्यवहारको कारण पनि हुनसक्छ। अर्थशास्त्रको प्राध्यापकले कक्षामा कोही पुँजीवादविरोधी दृष्टिकोण राख्ने विद्यार्थीलाई उसका तर्कमा त्यति बलियो तुक नभए पनि हाँसोमा उडाउने गर्नु ठीक होइन। त्यस्तै लैंगिक समालोचनाका प्राध्यापकले लंैगिक र जैविक यौनिकताबीच भिन्नता र जैविक यौनिकता राजनीतिकरूपमा महत्वपूर्ण भएको कुरा पढाउँदै गर्दा आफ्नो भनाइसँग विमति राख्ने विद्यार्थीको अपमान गर्ने, तर्साउने वा चूप लगाउनु ठीक होइन। प्राज्ञहरूले निकै सम्मानहीन ढंगले व्यवहार गर्दै आफ्ना पेसागत जिम्मेवारीको मर्यादा नाघ्छ भने उसमाथि उपयुक्त तरिकाबाट निषेध गर्न जरुरी हुन्छ।
जब कुनै प्राज्ञिक सामग्रीमाथिको बहसले कसैलाई हतास बनाउँछ भने पनि हामी प्राज्ञिक स्वतन्त्रताको पक्षमा उभिनुपर्छ। कसैको न्यूनांक, अपमान वा त्रसित बनाउने, कसैको भावनामा चोट पुग्ने वा हतास बनाउनु नै कुनै पनि प्रश्नमाथिको अभिव्यक्तिलाई सीमित बनाउने आधार बनेको हुँदैन।
(लेखक सम्पादक र पत्रकार हुन्।स्रोतः द कन्भरसेसन। नेपाली अनुवादः नीरज लवजू)
प्रकाशित: ६ श्रावण २०७८ ०४:०८ बुधबार