कुनै पनि कुराप्रति अपेक्षा नराख्ने भाव र कर्मको अर्थ हो– निरपेक्ष। अर्थात व्यक्ति जब निराश्रित भएर साँच्चै स्वाधीन हुन्छ, त्यो निरपेक्ष अवस्था हो। धर्म निरपेक्ष, संस्कृति निरपेक्ष, राजनीति निरपेक्ष, इतिहास निरपेक्ष र मानवता निरपेक्ष राष्ट्रको कल्पना मानसिक सस्या हो। यथार्थ होइन।
मानिस पापबाट निराश्रित बनेर पाप निरपेक्ष हुन सक्छ। समाज पापबाट पर बस्यो भने राष्ट्र नै पाप निरपेक्ष हुन सक्छ। धर्म निरपेक्ष राष्ट्र हुन्छ कि हुँदैन भनेर धेरै युवा भाइबहिनी मसँग प्रश्न गर्छन्। तसर्थ, यो आलेख ‘सर्वज्ञ छु’ भन्ने वयस्कलाई होइन, सत्य बुझ्न चाहने युवा पुस्ताप्रति समर्पित छ।
ताओ, बौद्ध, इस्लाम, जैन, इसाईलगायतका धर्म भन्दा हजारौँ साल पुरानो सनातन धर्मलाई भारतीयले ‘हिन्दु धर्म’ भनेर सिन्धु घाँटीको सभ्यतासम्म लगेर सीमित गरे। नूतन (नयाँ) पुरातन भन्दा हजारौँ वर्षपहिले अनन्तकाल (सनातन काल) तिर प्रारम्भ भएको जीवनशैली, जीवनदर्शन र आत्मा÷परमात्माको व्याख्यामा आधारित छ सनातन धर्म। मानव जस्तो उदात्त, अनन्त र प्रिय शब्दलाई जात, गोत्र वा वर्णमा थुनेर ‘हिन्दु’ भन्दै सनातन धर्मको अवमूल्यन गरियो। प्राचीन धर्मशास्त्रका पण्डित खेमराज केशवशरणले झण्डै साठी वर्षपहिले नेपालमा सनातन धर्म सेवा समिति स्थापना गरेका थिए। त्यसलाई अनेक सम्प्रदायका नाममा नाफा खाइरहेका पण्डितहरूले कमजोर बनाए।
अंग्रेजीमा ‘सेक्युलर’ शब्दको व्याख्या गर्नेहरूले आध्यात्मिक/धार्मिक ‘म्याटर’ बाट टाढा रहने कर्म भनिएको छ। यो शब्दलाई आधार मानेर ‘धर्म निरपेक्ष’ अनुवाद गरियो। जुनबेला युरोपमा राजा र चर्चका प्रमुखले आफ्ना फौज जुधाएर शक्ति आर्जन गरिरहेका थिए, ऊबेला मध्यमार्गीहरूले दरवार र चर्चले एकअर्कालाई हस्तक्षेप नगर्ने र धर्मका मामिलामा तटस्थ रहने नीति बनाए। यसलाई ‘सेक्युलर’ भनियो।
विचारणीय कुरा, धर्म भनेको कर्तव्य मात्रै हो। शिक्षक, सैनिक, किसान, मजदूर, कर्मचारी सबैको आफ्नो छुट्टै कर्तव्यशास्त्रले त्यसलाई धर्म भनेको छ। गीतामा भगवान श्रीकृष्ण भन्छन्– ‘यदायदा ही धर्मस्य ग्लानिर्भवति भारत, अभ्युत्थानम् अधर्मस्य तदात्मान सृजाम्याहाम्। परित्राणाय साधुनाम विनाशाय चः दुष्कृताम, धर्म संस्थापनार्थाय सम्भावामी युगेयुुगे।’ यहाँ मानिस कर्तव्यच्युत हुँदै गएपछि ‘धर्म (कर्तव्य) सिकाउन र स्थापित गर्न अवतार लिनेछु’ भन्ने सन्देश छ। धर्मको आवरणमा ‘पन्थ’ चलाउनेहरूले भन्ने गरेको ‘रिलिजन’ र सनातन धर्मावलम्बीको धर्म एउटै होइन भन्ने बुझ््नुपर्छ।
महामानव, देवता र देवताहरूको उपासना नै रिलिजन भनेको छ अक्सफोर्ड शब्दकोशले। यसले धर्म (कर्तव्य) भन्ने अर्थ दिँदैन। तसर्थ, विभिन्न बाटो हिँडेका पन्थीहरूले ‘रिलिजन’ भनेकै धर्म भनेका छन्, यो बुझाइ नै गलत छ। मानिस रिलिजन निरपेक्ष हुन सक्छ तर ‘धर्म निरपेक्ष राष्ट्र’ हुँदैन। राष्ट्रप्रति नागरिकको र नागरिकप्रति राष्ट्रको धर्म हुन्छ। त्यसो नभएमा राष्ट्र र नागरिक (जनता) पथभ्रष्ट, अनुत्तरदायी एवं कर्तव्यच्युत हुन सक्छ। धर्म भनेको कर्तव्य र कर्तव्य निरपेक्ष भनेको कर्तव्यच्युत नै हो। त्यसैले धर्म निरपेक्ष राष्ट्र र व्यक्ति दुवै वोध बन्छ।
जाम्बिया, भ्याटिकन सिटी, माल्टा, हंगेरी, ग्रिस, इथियोपिया, एल साल्भाडोर, अर्मेनिया, डेनमार्क, ब्रिटेनलगायतका पन्ध्र राष्ट्रले राष्ट्रको आधिकारिक धर्म ‘क्रिस्चियन’ नै हो भनेका छन्। ब्रिटेनमा ‘चर्च अफ इङ्ल्यान्ड’ गद्दीनसीन राजा वा महारानी हुने गर्छन्।
यस्तै पाकिस्तान, इरान, बंगलादेश, कुवेत, बहराइन, ओमन, इन्डोनेसिया सिरिया, ब्रुनाइ, साउदी अरेविया, कतार, इराक, अफगानिस्तान, लिबिया, जोर्डन, लेवनान, मालदिब्स आदिमा मुसलमान धर्म मान्नेको बाहुल्य छ। तीस राष्ट्रले इस्लाम (मुसलमान) धर्म मानेका छन्। उनीहरूले अग्रगामी, लोकतन्त्रवादी र ‘छलाङ मार्ने’ (?) रहरमा राष्ट्रको परम्परागत धर्म/संस्कृति त्यागेर राष्ट्रलाई किन ‘धर्म निरपेक्ष’ भनेनन् ? नेपालका नेताले मात्र ‘धेरै बुझेकाले’ परम्परागत धर्म संस्कृति मास्ने कुनियतले राष्ट्र नै धर्म निरपेक्ष हुनुपर्छ भनेका देखिन्छ। क्रिस्चियन दाताले यसबापत कैयन् नेतालाई अर्बपति बनाइदिएको स्पष्ट बुझ्न सकिन्छ। गणतन्त्र घोषणापछि कहाँको चिठ्ठाले यी अर्बौँ रुपियाँका मालिक भए ? नेताका पछि लाग्ने केही उपनेता करोडौँका धनी भए। जिल्ला तहमा बसेका आधा पेट खानेहरू पनि बैंकमा पचासौँ लाख थुपार्न सक्ने भए।
धर्म निरक्षेपताका समस्या शीर्षकको लेखमा सोफी चमसको तर्क छ– ‘धर्म निरपेक्ष राजनीतिक अन्तरविरोध चर्काएर राष्ट्र विभाजन गर्ने विष्फोटक पदार्थ बन्दैछ। इजिप्टमा विदेशीले रणनीतिकरूपमा यो विषाक्त विचार फैलाए। जनतालाई विभाजित गराए। यसले धार्मिक तनाव बढाइरहेको छ।’ सोफीको धारणा छ– ‘धर्म निरपेक्ष’ क्रिस्चियन मिसनको डिजाइन हो।
भारतको संविधान बनाउँदा ‘धर्म निरपेक्ष’ उल्लेख गरिएको थिएन। सन् १९७६ मा बयालिसौँ संशोधन गरेर संविधानमा ‘निरपेक्ष’ राखियो। हिन्दु स्वयंसेवक संघको आज्ञाकारी राजनीतिक संगठन भारतीय जनता पार्टी ‘धर्म निरपेक्ष’ शब्द रुचाउँदैन। पार्टीका नेताहरू नरेन्द्र मोदी (प्रधानमन्त्री) पार्टी सभापति अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत धेरैले भारत ‘हिन्दु राष्ट्र’ बन्छ भनेका छन्। यो संविधानप्रति चुनौती पनि हो।
भाजपाले नेपाललाई हिन्दु राष्ट्र (हिन्दु अधिराज्य वा हिन्दु किङ्डम होइन) बनाउँछ भन्ने धेरैलाई भ्रम छ। सनातन धर्मका झण्डै नब्बे प्रतिशत अनुयायी छन् नेपालमा। उनीहरू विदेशीले पालेका दलको पिजराबाट खुला आकाशमा विचरण गर्न तयार रहने हो भने लाखौँ जनताको एउटै आवाज हुन सक्छ।
नेपाली सनातनीहरू भारतका हिन्दु भन्दा फरक चरित्रका छन्। सनातनीहरू सबैलाई एउटै विश्वका नातागोता कुटुम्व मान्छन्। ‘वसुधैव कुटुम्वकम्’ भन्छन्। फरक धर्मलाई शत्रु मान्दैनन्। सनातनीका शत्रु त ती हुन् जसले विदेशीको धन खाएर नेपाल धर्म निरपेक्ष भयो भनिदिए।
पोखराका शिक्षित समाजसेवी विश्व सिग्देलले मुसलमानसँग मित लाए। केही महिनाअघि मितको देहान्त हुँदा सामाजिक सञ्जालमा उनले रुँदै लेखे– ‘प्रिय मितज्यू, जन्नत (स्वर्ग) मा तिम्रो बास होेस्।’ मितका छोरालाई सम्झाए– ‘तिम्रा बा मरे पनि म छु है।’ यो हो उदात्त सनातनीको परिचय। फरक विचार, धर्म, समाज र चिन्तन हुँदैमा मार्नैपर्छ भन्दैछन्, सनातनीहरू। उनीहरू सबैलाई मानव ठान्छन्। कट्टरपन सनातनीको परिचय होइन तर समाज र राष्ट्र भाँड्न धर्म परिवर्तन गराउनेलाई हामी क्षमा गर्दैनौँ।
विदेशीको वीर्य पान गर्ने को को हुन् ? होलीवाइन पिउने नेपाली नेता र उच्चस्तरका पदाधिकारीलाई थाहा होला। दक्षिण कोरियाली गुरु मुनको वीर्य, उनकी पत्नीको दूध र रजस्वला हुँदाको रगत र पिसाब मिसाएर होली वाइन बनाउने गरेको दक्षिण कोरियाली लेखक देउक जिन किमले डिभाइन प्रिन्सिपल किताबमा लेखेपछि संसारले होलीवाइन (पवित्र रक्सी) के रहेछ, चाल पायो। यस्तै मुनस्ट्रक पुस्तक (पृष्ट १७०) अनुसार सन् १९५४ मा मुनले पुसान सहरमा खोलेको युनिफिकेसन चर्च सामूहिक संभोग केन्द्र भएको उल्लेख छ।
दक्षिण कोरियाका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार कु याइ रिनले सन् २०१६ नोभेम्बर २ मा कोरियन हेराल्ड पत्रिकामा सन् १९६३ देखि १९७९ सम्म राष्ट्रपति भएका पार्क चुङ हीले दक्षिण कोरियालाई छुट्टै क्रिस्चियन देश बनाउन मुनलाई प्रयोग गरेको लेखेका छन्। नेपालमा परिवार दल नामको दल मुनपन्थी मानिन्छ। मुनकी पत्नी डाकेर नेपाल राष्ट्रका कैयौँ ‘महापुरुष’ र उनीहरूका समर्थकलाई होलीवाइन खुवाउँदा सो घटना अहिलेसम्म चर्चामा आइरहन्छ। खानेले के बुझेर होलीवाइन खाए ? यो प्रश्नको उत्तर खोज्न पत्रकारको पनि जाँगर चलेको देखिएन।
हाम्रो शालीन, उदार, शिष्ट, सरल र परोपकारी चरित्र कमजोरी होइन। नेपाल राष्ट्रलाई पाप निरपेक्ष बनाऊ। भ्रष्टाचार मुक्त बनाऊ। परजीवी र परावलम्बी चरित्र त्यागेर जनतालाई आत्मनिर्भर बनाऊ। विदेशीको धन खाएर धर्म निरपेक्ष बनाउनेहरूले अपराधप्रति पश्चाताप गरेनन् भने तिम्रा घर–घरमा पसेर जनताले दण्ड दिनेछन्।
केही परजीवी, दास र विदेशीका अनुचरले नेपाल कमजोर बनाउन संविधानमा विदेशीका कार्यसूची घुसाए। त्यसैलाई महान् उपलब्धि भनिरहेका छन्। तिम्रो उपलब्धि तिमीसँग राख। जनआवाजको सम्मान गर्दै ‘धर्म निरपेक्ष’ शब्दलाई बिदा गर। नत्र जनताले तिमीहरूलाई कठोर दण्ड दिनेछन्।
प्रकाशित: २५ असार २०७८ ०६:०० शुक्रबार