१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

साहित्यमा आशावादी स्वर

जीवन र जगत्लाई कलात्मक र वैचारिक आधारमा चित्रण गर्ने अभिव्यक्तिको माध्यम साहित्य हो। यसका आफ्नै व्याख्या र मान्यता छन्। तर्क र विश्लेषणका आधार पनि आ–आफ्नै छन्। यद्यपि शैली र बुझाइमा विभिन्नता भए पनि साहित्यको मूल प्राप्ति, सार्थकता र मानिसलाई यसको उपयोगी पक्ष के, कहाँ र कस्तो रहेको छ भन्ने सवाल महत्वपूर्ण भएर आउँछ।  

साहित्य मानिसले मानिसका निम्ति सिर्जना गर्छ। त्यस सिर्जनाभित्र मानिस र मानिस बाहेकका कुनै पनि विषयले प्रवेश पाउँछ। साहित्यकारको चयन र उद्देश्य अनि क्षमताका आधारमा विषय, विचार कलाको संयोजन भएपछि साहित्यको निर्माण हुन्छ। साहित्यका बारेमा विश्लेषण गर्ने असंख्य कोण, बुझ्ने अनगिन्ती माध्यम छन्। तीमध्ये यो लेख मूलतः साहित्य आशावादी कि निराशावादी हुन्छ ? साहित्यमा आशावादी स्वर के कसरी व्यक्त हुन्छ ? निराशाको बदला आशावादी जागरणका निम्ति साहित्य लेखिने हो ? वा, साहित्यमा आशावादी स्वरका सवालमा स्रष्टा र समालोचकको मूल धारणा के कस्ता रहेका छन् ? जस्ता जिज्ञासामा केन्द्रित छ।

साहित्य आशावादी हुन्छ र हुनुपर्छ। त्यसो भए निराशावादी भाव व्यक्त सामग्री साहित्यिक हुँदैन त ? प्रश्न उठ्न सक्छ। निराशावादी साहित्य पनि अभिव्यक्त भएका छन् र तिनमा कलात्मक, भावुकता प्रशस्त पाइन्छन्। मनको तहबाट निस्केका र लेखेर छापिएका सबै सामग्री साहित्य हुन्छन् भन्ने मापन केही छैन। एउटा सूत्रमा बाँधिएर कुनै संरचनामा तयार गरिँदैमा त्यो साहित्य हुन्छ भन्ने निश्चित हुन्न। साहित्य भनेर छापिएका सामग्री साहित्यिक बनेको छ या छैन भनेर निक्र्योल गरेपछि छाप्ने संस्कृति पनि हाम्रो सन्दर्भमा भेटिन्न। साहित्यको रूपमा यो सामग्री छाप्न उपयुक्त छ भनेर छापिने गरेका दृष्टान्त आंशिक रूपमा मात्रै रहेको पाइन्छ। खासगरी साहित्य के कस्तो स्तरको छ भन्ने मापनका धेरै आधार होलान्। तीमध्ये एउटा बलियो आधारका रूपमा त्यस साहित्यमा निहित आशावादी या निराशावादी स्वरको मापन र विश्लेषण गर्न सकिन्छ। मेरो विचारमा निराशावादी स्वर व्यक्त भएका साहित्य निम्नस्तरीय र आशावादी स्वर भएका साहित्य उच्च स्तरीय मापनमा पर्छन्। यसका साहित्यिक, सामाजिक, सांस्कृतिक र वैचारिक कारण छन्।

समाजमा अराजकता, शोषण, भ्रम, विभेद र अन्धविश्वास रहेका हुन्छन्। निराशावादी कित्ताका मान्यता बोकेका मानिसले त्यसलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ग्रहण गरेको पाइन्छ। हो, त्यस्तै लेखक र त्यही कोटिका पाठकले निराशावादी साहित्यको नकारात्मक प्रभाव छुट्ट्याउन सक्दैनन्। ती साहित्यिक सामग्रीले मानिसलाई निराशा नै यथार्थ, सत्य र शाश्वत हो भन्ने चिन्तनको विकास गराउँछ। 

मूलतः साहित्य शब्दको परिभाषालाई नै लिन सकिन्छ। हितलाई साथमा राखिएको, हित भएको, हितका निम्ति लेखिएको, हित भाव र विचारले पक्षपोषण भएको अभिव्यक्तिलाई साहित्यको शाब्दिक अर्थ मानिएको छ। यस आधारले हेर्ने हो भने निराशामूलक भाव, विचार र दर्शन बोकेको साहित्यले हित गर्छ कि गर्दैन भन्ने सवाललाई उठाउनुपर्ने हुन्छ। सामान्यतया निराशाले मानिसलाई कमजोर बनाउँछ। कमजोर बनाउने सामग्री हितकारी र हितग्राही बन्न सक्दैन। यसले यथास्थिति, भुलभुलैया, भाग्यवाद र नियति दर्शनलाई नै समर्थन गर्छ। यस्तो प्रवृत्तिबाट उद्वेलित भएर लेखिएका साहित्यले मानिसको संघर्ष, धैर्य, प्रयत्न, शान्ति, समन्वय, वस्तुवादी चिन्तन, आधुनिकता, आलोचनात्मक चेतना, साझा प्रगति, विभेदहीन व्यवहार, मानवतावाद, समानता, समता, सामूहिकताजस्ता प्रगतिशील अभिलक्षणलाई कमजोर बनाउँछ। यस सन्दर्भमा निराशावादी साहित्य मानव कल्याणका निम्ति उपयुक्त रहेको हुन्न। यसका विरुद्ध सशक्त र सक्रिय भएर आशावादी साहित्य लेख्नुपर्छ। लेखिएका आशावादी साहित्यको प्रचार र स्थापना गर्नुपर्छ।  

साहित्यका पनि संकुचित र व्यापक अर्थ छन्। विशुद्ध रूपमा विधा मान्यताले किटान गरेका कविता, कथा, उपन्यास, नाटक, गीत, गजल, लोकसाहित्य, समालोचनात्मक विश्लेषण मात्रै साहित्य होइनन्। यसका साथै विद्यालय, विश्वविद्यालयमा पढाइने अभिव्यक्तिमूलक सामग्री पनि साहित्य हुन्। पत्रपत्रिकामा स्तम्भ र विशेष सन्दर्भलाई लिएर रचिएका अभिव्यक्ति सामग्री पनि साहित्य हुन्। प्रबन्धात्मक रूपमा कला र विचार संयोजन गरेर व्यक्त भएका लेख्य स्वरूपका विभिन्न अभिव्यक्ति साहित्य हुन्। घटना, परिघटनामाथि समीक्षा गरिएका तार्किक, तुलनात्मक र वैचारिक आलेख पनि एक प्रकारका साहित्य नै हुन्। आवाज र शब्दका माध्यमबाट मिडियाले केलाउने अभिव्यक्तिका दैनिक प्रस्तुति पनि साहित्य हुन्। विशिष्ट अर्थबोधक विधागत साहित्य र व्यापक अर्थबोधक अभिव्यक्तिका साहित्य दुवैको समाजमा गहिरो प्रभाव पर्छ। विधागत मान्यताका शास्त्रयुक्त साहित्य लामो समय अभिलेख भएर रहेको हुन्छ भने अन्य प्रकार सन्दर्भगत अभिव्यक्तिमूलक साहित्य तत्क्षणिक तातो प्रभाव छाडेपछि विलीन हुने सम्भावना बढी हुन्छ। जेहोस्, जुन प्रकारको भए पनि साहित्यको सम्प्रेषणमा के कस्ता भाव, विचार प्रस्तुत भएका छन् ? तिनले मानिसको मनोदशामा के कस्तो प्रभाव पार्छ ? र, त्यो मनोसंरचनाको प्रभावले फेरि समाजमा के कस्तो भूमिका निर्वाह गर्दछ भन्ने सवाल महत्वपूर्ण रहेका छन्।  

समाजमा अराजकता, शोषण, भ्रम, विभेद र अन्धविश्वास रहेका हुन्छन्। निराशावादी कित्ताका मान्यता बोकेका मानिसले त्यसलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा ग्रहण गरेको पाइन्छ। हो, त्यस्तै लेखक र त्यही कोटिका पाठकले निराशावादी साहित्यको नकारात्मक प्रभाव छुट्ट्याउन सक्दैनन्। ती साहित्यिक सामग्रीले मानिसलाई निराशा नै यथार्थ, सत्य र शाश्वत हो भन्ने चिन्तनको विकास गराउँछ। यस्ता साहित्य निराशावादका दुरुत्साहन सामग्री नै हुन् भन्दा अतिशयोक्ति नहोला। यसविरुद्ध पनि आशावादी साहित्यको जरुरत पर्छ। आशावादी साहित्यले मानिसलाई भुलभुलैयावादको सिकार हुनबाट बचाउने चेतना प्रदान गर्छ। भ्रमित यथार्थबाट कार्य–कारण स्वरूपको खास यथार्थ पहिचान गर्ने मार्ग प्रदान गर्दछ। सामाजिक प्राणीका रूपमा व्यक्तिगत सुखका साथै सामूहिक सुख र प्रगतिलाई जागरुक पार्ने बौद्धिकता निर्माण गर्दछ। आशाको सञ्चारले मृत्युमूलबाट जीवनमूल प्रवृत्तिमा फर्कन सहज बनाउँछ। यसले मानिसलाई नकारात्मक चिन्तनको जालोबाट उम्कन सकारात्मक सोचाइ र शक्ति प्रदान गर्दछ। आशावादी साहित्यमा विचलित मानिसलाई उचित मनोपरामर्श गर्ने सामथ्र्य रहेको हुन्छ। 

मूलतः साहित्य शब्दको परिभाषालाई नै लिन सकिन्छ। हितलाई साथमा राखिएको, हित भएको, हितका निम्ति लेखिएको, हित भाव र विचारले पक्षपोषण भएको अभिव्यक्तिलाई साहित्यको शाब्दिक अर्थ मानिएको छ। यस आधारले हेर्ने हो भने निराशामूलक भाव, विचार र दर्शन बोकेको साहित्यले हित गर्छ कि गर्दैन भन्ने सवाललाई उठाउनुपर्ने हुन्छ। सामान्यतया निराशाले मानिसलाई कमजोर बनाउँछ।

निराशावादले जीवन दुई दिनको घामछाया हो। यहाँ हामीले चाहेर केही हुन्न। सबै लेखेर आएको हुन्छ भन्नेजस्ता निराशाकै दर्शन बोध गराउँछ। तर, आशावादी साहित्यले जीवनभित्रबाट सार्थकताको खोजी गर्न सिकाउँछ। जीवन जति दिनको होस्, सही र सत्य काम गर्नुपर्छ भन्ने मान्यता स्थापित गराउँछ। मानव मस्तिष्क श्रेष्ठतम उपलब्धि हो र यसले मानव जीवनलाई क्रमशः उन्नति र सभ्यताको शिखरमा पुर्‍याइरहेको छ भन्ने अग्रगामी विचार बनाउँछ। आशावादले हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भन्ने शक्ति जागृत गराउँछ। समस्या हुनु भाग्य र नियति होइन, आन्तरिक र बाहिरी कारणले भएको हो। हरेक समस्याको समाधान हुँदैन। तर समाधान खोज्ने क्रममा नयाँ मान्यता, मार्ग र विकल्पको संसार बन्दै जान्छ भन्ने समाधानमुखी बुद्धिको विकास पनि आशावादी साहित्यले नै गराउँछ। यसर्थ निराशावादी साहित्यका विरुद्ध आशावादी साहित्यको स्वरलाई यथासक्य बढाउनुपर्छ भन्ने मत बढी तार्किक र वैज्ञानिक रहेको छ।

‘धेरै उत्पीडितलाई आशा र थोरै उत्पीडकलाई डर प्रदान गर्नु नै हाम्रो कर्तव्य हो। हामीले पहिलो कर्म गरेर धेरैलाई आशा प्रदान गर्‍यौँ भने उनीहरूको आशाबाट थोरैले डरले थुर्थुर हुनुपर्छ।’ (विलियम मोरिस, सत्य र सत्ता, २०७७)।

विलियम मोरिसको ‘हामी कसरी बाँचेका छौँ र कसरी बाँच्न सक्दा हौैँ ?’ शीर्षकको निबन्धमा उल्लेख भएका उपर्युक्त हरफका आशावादी साहित्यिक अभिव्यक्तिले यस प्रवृत्तिको सुन्दर दृष्टान्त प्रदान गरेको छ। यसले आशावादी साहित्यको औचित्य र सामथ्र्य दुवैलाई एक साथ औँल्याएको छ। साहित्यको प्रयोजनलाई पनि यसले संकेत गरेको छ। साहित्यको मूल धरातल जीवनलाई उठाउनु नै हो भन्ने विचारलाई यसले निकै स्पष्ट पारेको छ। उत्पीडकलाई आशावादी विचारले माथि उठाउन सकिन्छ। उत्पीडकहरू माथि उठ्नु अर्थात् तिनको मनोसंरचना बलियो हुनु भनेको अन्याय गर्नेवाला उत्पीडक वर्गलाई चुनौती प्रदान गर्नु हो। मोरिसको निबन्धमा उत्पीडकहरू थोरै र उत्पीडितहरू धेरै रहेको तथ्यापन र सत्यापन पनि तार्किक रूपमा आएको छ। यो साहित्य अभिव्यक्ति आशावादी साहित्यको आह्वानका रूपमा पनि प्रस्तुत भएको छ। आशावादी साहित्यको सामाजिक योगदान पनि यसमा व्यक्त गरिएको छ। उत्पीडितलाई आशा प्रदान गर्दा जीवनका सकारात्मक सन्देश, सत्यको चिरफार र उन्नतिका निम्ति अघि बढ्न प्रेरित गर्ने विचारलाई साहित्यकारले प्राथमिकता दिनुपर्छ। उत्पीडकलाई डर प्रदान गर्न तिनले बोकेका भ्रमको चिरफार र आलोचनात्मक शक्तिको अधिकतम उपयोग गर्नुपर्ने हुन्छ। यो वर्गीय दृष्टिले आएको वैचारिक अभिव्यक्ति जस्तो देखिए पनि यसले साहित्यको भूमिकालाई नै प्रकाश पारेको पाइन्छ। साहित्यको भूमिका सांस्कृतिक, सामाजिक, राजनीतिक र वैचारिक दृष्टिले शक्तिशाली रूपमा प्रकट हुन सक्ने आधारलाई यसले स्पष्ट पारेको छ।

गरिब, पहिचानहीन, अस्तित्व खोसिएका, पछि पारिएका, उत्पीडनमा परेका तथा पारिएका, दासदासी, कमाराकमारीका रूपमा शोषणमा परेका, आर्थिक विपन्नता र अन्य विविध कारणले कमजोर भएका मानिसलाई हेर्ने दृष्टिको के हा ? सो दृष्टिकोणअनुसार नै साहित्य आशावादी र निराशावादी कित्ताका रूपमा पर्गेल्ने गर्दछ। पाठकका ठाउँबाट पनि सोही विश्वदृष्टिका आधारमा आशावादी या निराशावादी साहित्यको चयन, मनोविलासी वा सामाजिक यथार्थवादी रचनाको छनोट गरिनु स्वाभाविक हुन्छ। यसै त गरिबी र उत्पीडित भएर सामाजिक तहबाट दबिएको, हेपिएको, पहिचान अस्वीकार गरिएको कारण मनोवैज्ञानिक तह कमजोर भएको अवस्थामा तिनले निराशावादी साहित्यको आस्वादन गरेमा कस्तो प्रभाव पर्दछ ? निश्चय पनि तिनलाई भन्ने गरिएको र मान्ने गरिएको सामन्ती चिन्तनको विश्वदृष्टि तथा भाग्यवादलाई पुष्टि गर्ने मनोदशा नै प्रबल बन्ने सम्भावना हुन्छ। गरिब हुनुको कारण त्यो जुनीको फल, भाग्यमा ललाटमा लेखिएको आफ्नो भाग, यो जुनीमा सुखीको सेवा गरे अर्को जुनीमा सुखको केही हिस्सा प्राप्त गरिनेछ जस्ता नकारात्मक मनोविज्ञानले ढाकिदिएको अवस्थामा त्यसलाई भत्काउन त आशावादी साहित्यको अनिवार्य आवश्यकता पर्दछ। मनोसंसारमा मात्रै होइन, अनौपचारिक शिक्षा प्रणालीले धेकेलेको ‘गरिब हुनु पापको भारी बोक्नु हो’ भन्ने अन्धविश्वासलाई खुर्कन र बलियो मनोविज्ञानसहित यही गजत्मा मेरो सुखको भाग खोज्न, निर्माण गर्न, पत्ता लगाउन र तिनलाई उपभोग गर्न यही जीवनमा सकिन्छ भन्ने मानवतावादी यथार्थ चेतना आशावादी साहित्यको माध्यमबाट सम्प्रेषण भएको हुन्छ। त्यति मात्रै होइन, सम्पन्न वर्गका मानिसलाई मानवता, समानता, यथार्थता बोध गराई सकारात्मक चेतनाको विकास गराउन पनि आशावादी साहित्यले केन्द्रीय भूमिका निर्वाह गर्छ। आधारभूत आवश्यकताले भरिपूर्ण भएका वर्गमा पनि निराशावादी साहित्यले संसार केही होइन, जीवन केही होइन, मैले गरेका सबै कर्म निरर्थक छन्, म पापी हुँ, मेरो अस्तित्व केही छैन, म रहनुको अर्थ छैन भन्नेजस्ता नकारात्मक चिन्तनको विकास गराउँछ। त्यसले विचलन, भ्रम, अन्धविश्वास, कल्पनाको दुनियाँ, अमानवीय चिन्तन, अस्थिरता, अनावश्यक आवेग, आक्रोश जस्ता असामान्य मनोदशाको स्थितितिर धकेल्छ। यसविरुद्ध दीर्घकालसम्म जुध्नका निम्ति मानिस भएपछि समस्याको समाधान आफ्नो समाजबाटै खोज्नुपर्छ र गलत परिस्थितिको अन्त्यका निम्ति हरेक बाधाको सामना गर्नुपर्छ भन्ने जीवनवादी साहित्य आवश्यक हुन्छ।  

पश्चिमी विद्वान् आर्नोल्डले कुन प्रकारको साहित्य मानिसका लागि सही, सार्थक र उत्तम हुन्छ भन्ने विषयमा बहस चलाएका छन् र आफ्नो धारणा पनि राखेका छन्। उनले विश्वप्रसिद्ध बनेका स्रष्टा साहित्यिक कृतिहरूमा मानवीय अनुभूतिको गम्भीरता रहने, त्यस्ता उत्तम प्रकारका साहित्यले समाजलाई विसंगत हुनबाट बचाउँछ भनेको विचार लेखक उप्रेतीको अध्ययन समीक्षामा साभार भएको छ (सिद्धान्तका कुरा, २०६९, पृ.२९)। पाठकको सस्तो मनोरञ्जनलाई मात्रै ध्यान दिइएको साहित्यले पाठकका लागि नभएर आफ्नो सस्तो लोकप्रियताका निम्ति रचना गरेको सन्दर्भलाई पनि आर्नोल्डले उठाएको पाइन्छ। लोकसाहित्यमा अभिव्यक्त प्राचीन किंवदन्ती, मिथक, जासुसी कथ्य स्रोतभन्दा बाहेकका मौलिक, वैचारिक, सांस्कृतिक विषय केन्द्रित, सामाजिक धरातलमा आधारित साहित्यले पाठकलाई आशावादी भाव, विचार दर्शनको सञ्चार गराएको पाइन्छ। यस्ता साहित्यले समाजलाई हेर्ने, बुझ्ने र विश्लेषण गरी सत्य र सौन्दर्यका लागि अगााडि बढ्ने मानसिक शक्ति प्रदान गर्छन्। यसले प्रत्यक्ष रूपमा उत्पादक नभए पनि मानिसलाई पूर्णतः मानवीय दृष्टिकोण बनाउन र संसारका मानवबीचको भाइचारा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। साहित्यले इतिहास र वर्तमानलाई वैज्ञानिक आधारमा अध्ययन गर्न सिकायो भने, यथार्थ ज्ञानलाई अनेक कलात्मक आकर्षण शैलीमा सम्प्रेषण गर्‍यो भने मानिसको जागृतिमूलक चेतना र व्यवहार बढ्छ। यसले मूलतः मानवीय कर्तव्यलाई अँगाल्ने मनोविज्ञान निर्माण गर्दछ र साहित्यको उत्पादनशील भूमिका पनि सार्थक भएर प्रकट हुन्छ। यस्ता साहित्य संसारका महान् स्रष्टाले रचना गरेको पाइन्छ। तर, यिनका बीचमा आएका साहित्यका नामका अनेक सामग्री रहेका छन्। बाहिर रूपरङमा अत्यन्तै कलात्मक, आवरणीय सुन्दरताले ढाकेका, मिडियाले पनि प्रचार प्रसारको उच्च कसरत गरेका तर अन्तर्यमा निराशा पोख्ने साहित्यले आशावादी साहित्यको गुणात्मक छविलाई छोप्ने गरेको पाइन्छ। सबै पाठकलाई आरम्भमै कुन निराशायुक्त र कुन आशायुक्त साहित्य हो भन्ने ठम्याउन गाह्रो हुन्छ। स्रष्टाले नै पाठकलाई पस्कने साहित्यका सामग्रीका बारेमा गम्भीर विचार गर्नु उचित हुन्छ र सकेसम्म आशावादी भाव, विचारको सञ्चार गराउन सक्ने अभिव्यक्तिमा जोड गर्नु उचित हुन्छ। आशावादी साहित्यले मात्रै मानिसलाई सही ठाउँतिर रूपान्तरण गर्छ र त्यसले समाज रूपान्तरणको सकारात्मक वातावरण सिर्जना गर्दछ।

अल्बर्ट आइन्स्टाइनले भनेका छन्– ‘समाज नै त्यो वस्तु हो, जसले मानिसलाई भोजन, पोसाक, घर, काम गर्ने औजार, विचारका स्वरूप र विचारका धेरैजसो विषय जुटाइदिन्छ’, (सत्ता र सत्य, २०७७, पृ.६३)।  

हो, यहीँनिर हामी साहित्यलाई राखेर बहस गर्न सक्छौँ। आइन्स्टाइनको सारगर्भित अभिव्यक्ति मानिसलाई समाजले विचार र विचारका स्वरूप जुटाइदिने कुरामा केन्द्रित भएको छ। साहित्यकार, साहित्यका सामग्री, साहित्य ग्रहण गर्ने पाठक र साहित्य केलाउने शिक्षक, प्राध्यापक, समालोचक, बुद्धिजीवी समाजकै अभिन्न अङ्ग हुन्। यी सबै पक्षले गर्ने क्रियाकलापको प्रभाव सोझै समाजमा अर्थात् आम मानिसमा पर्छ। साहित्यकारले जन्माएका साहित्य सकारात्मक, आशावादी र प्रेरणादायी भएमा यसले समाजलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ। समाजमा विचारका स्वरूप उत्पादन विभिन्न पक्ष रहेको भए पनि साहित्यको स्थान बलियो रहेको हुन्छ। दर्पण सिद्धान्तका अनुसार साहित्य जीवन र जगत्को दर्पण हो। यस्तो दर्पणलाई निराशावादी बनाउने कि आशावादी बनाउने भूमिका स्रष्टा र समालोचकको हातमा रहेको हुन्छ। स्रष्टाद्वारा रचिएका साहित्य सामग्रीलाई समाजमा सकारात्मक भूमिका निर्वाह गर्न सके नसकेको छुट्ट्याएर विश्लेषण गर्ने काम समालोचकले गर्छ। यहाँ साहित्यकारलाई सही विचार दिने भूमिकामा समालोचकको स्थान महत्वपूर्ण देखिन्छ। यसरी हेर्दा आलोचनात्मक चेतनासहित यो साहित्य आशावादी छ र यो निराशावादी छ भन्ने निष्कर्षका साथ निराशाको नकारात्मक असर र आशावादी स्वरको सकारात्मक प्रभावलाई स्पष्ट पार्ने काम समालोचकले गर्नुपर्छ। साहित्य स्रष्टा वा साहित्यकार र साहित्य द्रष्टा वा समालोचकको सही समन्वयले उचित र सान्दर्भिक विचारको साहित्य उत्पादन हुन्छ। जसले जे लेख्यो, चिनेको साहित्यकार हो, किन मन दुखाउने राम्रो भनिदिऊँ भन्ने भावनामा पर्ने समालोचकले सही द्रष्टा व्यक्तित्व पनि कायम गर्न सक्दैन। आइन्स्टाइनले भने जस्तो समाजले मानिसलाई विचारको स्वरूप जुटाइदिँदा नकारात्मक विचारको स्रोत जुटाइदिने समस्या यथावत रहिरहन्छ। समाजमा कस्तो विचार आवश्यक छ भन्ने सवाललाई स्रष्टाले केलाउन सके उसले क्षमता र रुचिअनुसारको कलात्मक आकर्षणमा जीवनवादी भावभूमियुक्त साहित्य सिर्जना गर्न सक्छ। अथवा, त्यस्तो प्रकारको साहित्य सिर्जनामा उत्प्रेरित हुन्छ। त्यस्तो साहित्यले वास्तविक साहित्यको स्थान प्राप्त गर्छ र लहडी साहित्यलाई निस्तेज पार्ने भूमिका पनि पूरा गर्दै जान्छ।

जेरेमी बेन्थम भन्छन्– ‘सामाजिक सुखका चारवटा तत्व छन् : अस्तित्वको साधन, समृद्धि, समानता र सुरक्षा।’ उनी अर्को स्थानमा लेख्छन्– ‘समानताको स्थापना एक कपोलकल्पना हो, असमानता त केवल घटाउन मात्र सकिन्छ’, (राजनीतिक सिद्धांतों का इतिहास, १९८६, पृ. ५२)।

राजनीतिकशास्त्री र न्यायशास्त्री बेन्थमका अभिव्यक्तिलाई लिएर साहित्यशास्त्री तथा समालोचकले विभिन्न धारणा व्यक्त गरेको पाइन्छ। सामाजिक सुखका चार पक्षभित्र उनले समानताको उल्लेख गरेका छन्। तर, समानतालाई कपोलकल्पनाका रूपमा पनि चित्रण गरेका छन्। हो, व्यावहारिक रूपमा असमानता घटाउन सकिन्छ, निर्मूल हुँदैन। तर सैद्धान्तिक मान्यतामा समानता कपोलकल्पना भएको उद्घोष गर्ने अभिव्यक्तिलाई साहित्यले समर्थनयुक्त विषय बनाउनु सामाजिक न्यायका दृष्टिले गलत हुन्छ। साहित्य सिर्जनामा व्यक्तिको रुचि, शक्ति र अधिकारको सन्दर्भ पनि उठाएर आलोचनात्मक चेतनालाई ढाकछोप गर्ने प्रवृत्ति रहेको छ। तर, जतिसुकै ढाकछोप गरे पनि साहित्यको कसी समाजमा घोटिन्छ र त्यो के कति ‘केरेट’को रहेछ भन्ने यथार्थ मूल्यांकन अवश्य हुनेछ। राज्यमा तथा विश्वमा ठूला प्रभाव जमाएका व्यक्तित्वबाट पनि साहित्यले आशावादी समाजदर्शन लिने कि मनोगत र भाग्यवादी दर्शनलाई विलासका रूपमा ग्रहण गर्ने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ। बेन्थमको योगदान सकारात्मक राजनीतिक प्रणालीका क्षेत्रमा धेरै रहेको छ। तर निराशावादी साहित्यले उनको निराशाजन्य भनाइलाई सुन्दर देख्छ भने आशावादी साहित्यले त्यसलाई अस्वीकार गरी आशामूलक चेतनालाई मात्रै आफ्नो चयनभित्र पार्दछ। एउटै व्यक्तिका फरकफरक मान्यता र व्यवहारलाई पनि आशावादी र निराशावादी स्रष्टाले कसरी प्रेरणा ग्रहण गरेको हुन्छ भन्ने एक नमुनाका रूपमा बेन्थमको धारणा र त्यसमाथि साहित्यले लिएका फरक फरक उत्प्रेरणा तथा वैचारिकता सान्दर्भिक नमुना हुन्।

महाकवि देवकोटाको मुनामदनमाथि चर्चा गर्ने क्रममा उक्त काव्यमा व्यक्त आशावादी स्वरलाई स्पष्ट पार्दै समालोचक कृष्ण गौतम लेख्छन्, ‘समाउने र अड्ने आधार कमजोर हुँदाहुँदै पनि जीवनप्रति हाम्रो जुन विश्वास छ, त्यसलाई दह्रो राख्नुपर्छ भन्ने कविको आह्वान छ। कृति पढेर जीवनप्रति हाम्रो दृष्टिकोण त्यसैगरी खारिन्छ, जसरी कि आगोमा सुन। काव्यको दुःखान्तले हामीलाई सामूहिक वा पारिवारिक आत्मसंहारको पाठ सिकाउँदैन, बरु सामना गर्दै र संघर्ष गर्दै बाँच्ने सही उपायको बोधतिर हामीलाई सचेत पार्छ’, (देवकोटाको प्रबन्धकाव्य, २०५६, पृ.१)।  

महाकवि देवकोटा स्वच्छन्दतावादी कवि व्यक्तित्व हुन्। तर उनको स्वच्छन्दताभित्र मानवताको गम्भीर भाव सौन्दर्यको खोजी भएको छ। उनले मानिसको जागरण, स्वतन्त्रता, मनोकांक्षाको आशावादी स्वरलाई आफ्ना कविता काव्यमा प्रचुर मात्रामा प्रस्तुत गरेका छन्। माथिको समालोचकीय अंशमा देवकोटाको जीवनवादी स्वरसन्धानयुक्त साहित्य सिर्जनाको प्रतिनिधि अभिव्यक्ति पाइन्छ। एउटै सेरोफेरोमा बाँचिरहेका मानिसमा एउटाले अर्कोलाई अछुत बनाएको, एउटाले अर्कोलाई दासानुदासका रूपमा व्यवहार गरेको, एकले अर्कोलाई निम्छरा र कायर हेय पात्र बनाएको अवस्थामाथि देवकोटा दाह्रा किटेर व्यंग्यात्मक आलोचना गर्दै र निबन्धकार मोरिसले भनेझैँ थोरै उत्पीडकलाई थुर्थुर पार्ने डरको साहित्य निर्माण गरेका छन्। मुनामदन मात्रै होइन, उनका अरू कवितामा पनि मानवभित्र ईश्वर रहेको भन्दै त्यो ईश्वर कल्पनाको फगत ईश्वर नभएर मानिसभित्रको आशा, जीवनमूल शक्ति, करुणा, मानवीय सद्भाव र अति उच्च कल्पनाले मानवीय भविष्यको उज्यालो परिकल्पना व्यक्त गरेका छन्।  

समालोचक गौतमले मुनामदनको दुःखान्तले जीवनको आर्थिक विपन्नता, सामाजिक विभेद, आइपरेको विपत्ति जतिसुकै बढी भए पनि फेरि संघर्ष गर्न एकजना पात्र मदनलाई प्रयोग गरेर आशावादी साहित्य नै लेखिएको समीक्षा गरेका छन्। त्यो काव्य निराशाको डिलमा पुगेर पनि अरस्तुको विरेचन सिद्धान्तजस्तो पाठकलाई दुःखान्तमा डुबाएर विरेचित गरी एक त्यान्द्रो आशालाई बौराउँदै जीवनको लयमा फर्कन सकिन्छ भन्ने विचारलाई सुरक्षित गरिएको आशावादी स्वर बोकेको साहित्यिक प्रस्तुति बनेको पाइन्छ।

मेक्सिम गोर्कीले वेल्सलाई यसरी चिठी लेखेका छन्, ‘अहिले सम्भवतः अरू कुनै समयमा भन्दा बढी हाम्रा केटाकेटी यो विश्वका लागि सबभन्दा महत्वपूर्ण र सबभन्दा आवश्यक आशाका केन्द्र छन्। यो विभत्स र भयानक युद्धको रक्तपातपूर्ण विकृतिबाट हाम्रो केटाकेटीको हृदय चोखो बनाउनुपर्छ, मानवताप्रतिको आदर सम्मानलाई हाम्रो शिशुको हृदयमा पुनजीर्वित गराउनुपर्छ’, (जेह्राल्ड ह्यावरमन्, मेक्सिम गोर्कीको जीवनी, २०३७, पृ.७५)।

गोर्कीको उपरोक्त पत्रनिबन्ध आशावादी साहित्यको विश्वविख्यात नमुना नै हो। वेल्सलाई लेखिएको चिठी अन्ततः आम पाठकका लागि जागृतिको सुन्दर निबन्ध बन्न पुगेको पाइन्छ। आमा उपन्यासमा विश्वप्रसिद्ध आशावादी साहित्यको दृष्टान्त दिएका गोर्कीले वेल्सलाई लेखिएको चिठीमा बाल जगत्लाई विश्व जगत्को उज्यालो भविष्य देखेका छन्। उनको लेखाइमा बाल साहित्य सकारात्मक हुनुपर्छ भन्ने मात्रै नभएर सिंगो बालबालिकाको विकास हाम्रो आशा भरोसाको केन्द्र भएको स्वीकार गरेका छन्। युद्धले युवालाई घायल बनाएको, निराश पारेको, वृद्धवृद्धालाई नैराश्य जगाउने युद्धको कालरात्रि बढ्दै गएको भयानक विश्वयुद्धको विरोध गर्दै गोर्कीले मानव संसारको भोलिको आशा बाल जगत् भएको प्रखर समाधानमुखी अभिव्यक्ति र सत्यको झलक उद्घाटन गरेका छन्। युद्धबाट बालबालिकाको हृदयलाई बचाउनुपर्छ भन्ने गोर्कीको विचारले त्यस बेलाको भयानक अवस्थामा आशावादी स्वरको औचित्यलाई साहित्यकार गोर्कीले स्पष्ट पारेको पाइन्छ।

‘युगयुगदेखिका र संसारभरिका ती अज्ञात आदि विद्रोही स्पार्टाकसहरू र तिनका जननीप्रति जसले मानव समुदायलाई तिनका स्वाधीनता, गरिमा र विकासको वर्तमान महिमामय चुलीमा पुर्‍याउन विश्वभरि नै आत्मोत्सर्ग गरे, तथा मेरी माताजीलाई जसका सामाजिक पीडाले मलाई लेखक बन्न प्रथम प्रेरणा दिएका थिए’, (मदनमणि दीक्षित, माधवी)।  

निराशालाई आशामा रूपान्तरण गर्नुको प्रतिफल कति महत्वपूर्ण परिणाममा परिणत हुन्छ भन्ने दृष्टान्त मदनमणि दीक्षितको माधवी उपन्यास सन्दर्भ रहेको पाइन्छ। उपन्यासकार दीक्षितले आफ्नो समीक्षा पत्रिकामाथि नौ पटकसम्म तत्कालीन राज्यले प्रतिबन्ध लगाएकाले खाइनखाई प्रकाशन गरिएको प्रिय पत्रिका बन्द गरिएको आवेगमा जीवनबाटै निराश भई यसको बदला राजदरबारको ढोकामा आत्मदाह गर्ने निर्णय गरेका रहेछन्। केही समयअघि समकालीन साहित्यकार रामप्रसाद पोख्रेलले जीवन त्याग्नुभन्दा महान् कृति रचना गरेर राज्यसित बदला लिनुपर्छ भन्ने सुझाव दिएपछि माधवी उपन्यास लेख्न थालेको र सो उपन्यासले दीक्षितलाई महान् स्रष्टाको रूपमा स्थापित गरेका पाइन्छ। पछि दर्जनौँ पुस्तकका लेखक भएर मदनमणि दीक्षितको दीर्घ साहित्य जीवनले नेपाली साहित्यलाई बलियो बनाएको छ। आफूले आत्महत्या गर्न खोजेको समयबाट लेख्न थालिएको बृहत् माधवी उपन्यासभरि आशावादी साहित्यिक अभिव्यक्ति प्रस्तुत गरेका छन्। युनानी दास विद्रोहलाई स्पार्टाकसले नेतृत्व गरेको ऐतिहासिक संघर्षलाई आशावादी स्वरमा रूपान्तरण गरी उपन्यासको पृष्ठ चेतना बनाइएको छ। यसले पनि साहित्यको आशावादी मूल्य र मान्यतालाई प्रबल रूपमा पक्षपोषण गरेको छ। मानिसको जीवनलाई आशाको झिल्कोले तान्न सक्छ र त्यसले विशाल सफलता प्राप्त गर्न सक्छ भन्ने साहित्यिक तथ्यका रूपमा माधवी उपन्यास रहेको पाइन्छ। निराशाका विरुद्ध आशावादी साहित्यको रचना विश्वका अनगिन्ती साहित्यमा पाइन्छ। यो यथार्थलाई अनुसन्धानको विषय बनाउनु जरुरी रहेको देखिन्छ।  

केही दृष्टान्तसहित गरिएको विवेचनामा प्राप्त सारलाई राख्दा साहित्यको उच्चतम गुण आशावादी स्वर नै हो भन्ने स्पष्ट हुन्छ। माथि उल्लेख गरिएका केही सन्दर्भ विलियम मोरिस, आर्नोल्ड, आइन्स्टाइन, मेक्सिम गोर्की, जेरेमी बेन्थम, लक्ष्मीप्रसाद देवकोटा, मदनमणि दीक्षितका साहित्यमा व्यक्त आशावादी स्वर र आशा सञ्चार गर्ने वैचारिक अभिव्यक्ति प्रतिनिधि मात्रै हुन्। साहित्यको नवीन अनुसन्धान क्षेत्रका रूपमा आशावादी स्वरलाई विषय बनाउन सकिने कुरा पनि उक्त पूर्वकार्यको अध्ययन र समीक्षाले स्पष्ट पारेको छ। निराशा छर्ने साहित्यको नकारात्मक भूमिका विरुद्ध आशावादी साहित्यको गतिशील भूमिकामाथि व्यापक बहस र विमर्श गर्नु पनि आवश्यक छ। साहित्यमा आशावादी स्वरको स्थान मानव हितसित जोडिएको साहित्यिक विचारधारा हो भन्ने निष्कर्षलाई यहाँ प्राप्तिको रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित: ५ असार २०७८ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App