२७ कार्तिक २०८१ मंगलबार
image/svg+xml
विचार

तथ्यांक र महामारी

मार्क ट्वेनले लेखेका छन्, झुट तीन प्रकारका हुन्छन्– पहिलो–झुट, दोस्रो–खराब झुट र तेस्रो– तथ्यांक। कोभिड–१९ संकटका बेलामा ट्वेनको यो सुन्दर वाक्य धेरै पटक प्रयोग गरियो। महामारीविरुद्ध लड्न तथ्यांक अपरिहार्य छ तर देश–देशबीचको तथ्यांकीय तुलनाले हामीलाई गलत निष्कर्षमा पुर्‍याउने गरेको छ। त्यस्ता गलत निष्कर्ष केही राजनीतिक नेताहरूलाई महामारीको न्यूनांकन गर्न बलियो बहाना बनेको छ। त्यस्ता बहाना नै संसारमा लाखौँ मानिसको मृत्युको कारण पनि बनिरहेको छ।  

विज्ञ र मूलधारका सञ्चारमाध्यमप्रति समेत आमअविश्वास व्याप्त रहेको यो बेला सकेसम्म कोभिड–१९ सम्बन्धित बढी जानकारीमूलक र भरपर्दो तथ्यांकका लागि सजग बन्न आवश्यक छ। यतिबेला धेरैको ध्यान विभिन्न देशका आधिकारिक सङ्क्रमण र मृत्यु दरमा केन्द्रित छ। त्यसमध्ये पनि सबैको पहिलो प्राथमिकतामा पर्ने तथ्यांक प्रष्टै छ, कुल सङ्क्रमित र मर्नेको सङ्ख्यालाई कुल जनसङ्ख्याले भाग गरेर प्रतिव्यक्तिका आधारमा निकालिएको तथ्यांक।

प्रतिव्यक्तिका आधारमा तथ्यांक निकाले पनि सामान्यतः आधिकारिकरूपमा अथवा सरकारी निकायबाट सार्वजनिक हुने सङ्ख्याले वास्तविक सङ्क्रमण र मृत्यु सङ्ख्यालाई छायामा पारेको हुन्छ। सरकारी तथ्यांकमा कसैको पिसिआर पोजिटिभ आएपछि अथवा अस्पतालमा भर्ना भएपछि मात्र कोरोना भाइरस सङ्क्रमितका रूपमा गणना गरिन्छ। अनि सरकारी मृत्यु प्रमाणपत्रमा कोभिड–१९ का कारण मरेको भनेर दर्ता भएको अवस्थामा मात्र कोभिडको मृत्यु सङ्ख्यामा चढाइन्छ।  

सङ्क्रमण र मृत्युको खास सङ्ख्या र अनुमानित सङ्ख्यामा ठूलो अन्तर छ। अर्थशास्त्रीहरूको अधिकतम मृत्यु मोडल (एक्सेस मोर्टालिटी मोडल) ले संसारभर हालसम्म ७० लाखदेखि १ करोड ३० लाखसम्म मानिस मरिसकेको हिसाब निकालेका छन् भने अहिलेसम्म आधिकारिक आँकडामा मर्नेको सङ्ख्या ३५ लाखमात्र छ। विशेषतः कम आयका देशहरूमा सङ्ख्या गिन्तीमा ठूलो अन्तर छ। उदाहरणका लागि इजिप्टलाई हेर्नोस्। कोभिड–१९ का कारण मरेकाको आधिकारिक (सरकारी) सङ्ख्या भन्दा खास मरेकाका सङ्ख्या १३ गुणाले बढी छ।  

आर्थिक सहकार्य र विकास संगठन (ओइसिडी) मा आबद्ध धनी देशहरूमा यस्तो अन्तर केही साँघुरो देखिन्छ। सरकारी आँकडा र वास्तविक सङ्ख्याबीच औसतमा १७ प्रतिशतको अन्तर भएको अनुमान गरिएको छ। अमेरिकामा यो वर्षको मार्च र अप्रिलमा यस्तो अन्तर ७ प्रतिशतमात्र भएको अनुमान गरिएको छ। बरु गत वर्ष सन् २०२० को जुलाइमा त्यहाँ सङ्क्रमणको खास सङ्ख्या आधिकारिक सङख्या भन्दा दुईदेखि छ गुणाले बढी भएको अनुमान गरिएको छ।  

कोभिड–१९ सङ्क्रमितका आधिकारिक सङ्ख्या र मृत्यु दरले मात्र सङ्कटको अवस्थालाई कतै न्यूनांकन गर्न सक्दैन। बरु यसले शासनमा रहेका नेताहरूलाई पिसिआर परीक्षण कम गर्न वा अरुचिकर समाचारहरू दबाउनतिर अभिप्रेरित गर्छ। उदाहरणका लागि चिकित्सकहरूलाई कोभिड–१९ को कारण भन्दा मधुमेह जस्ता अन्य दीर्घ रोग वा निमोनिया जस्ता जटिलताका कारण मानिसको मृत्यु भएको भन्न लगाइन्छ।

सञ्चारमाध्यम र सर्वसाधारणले शासकहरूको प्रभावबाट मुक्त रहने अन्य मापन र आधारलाई बढी ध्यान दिनु बुद्धिमानी हुन सक्छ। सुरुमा देशको जनसङ्ख्याको अनुपातमा सङ्क्रमण दरको हिसाब गर्नु भन्दा जम्मा परीक्षण गरिएको सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको सङ्ख्याको हिसाब निकाल्दा थप विश्वसनीय तथ्यांक हुन सक्छ। 

भारतको अहिलेको सङ्क्रमण दर डरलाग्दो छ। चार जनामा परीक्षण गरिएकामध्ये एक जनामा सङ्क्रमण देखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले केही महिनाअघिदेखि नै यो मानक (कुल परीक्षण गरिएकामध्ये सङ्क्रमितका आधारमा हिसाब गर्ने मानक) मा जोड दिएका भए उनले अपरिपक्व अवस्थामै भाइरसमाथि विजय घोषणा गर्ने गल्ती गर्ने थिएनन्। भाइरसलाई परास्त गरिसकेझैँ गरी उनले ठूलठूला जनसभा र धार्मिक मेला जस्ता संक्रमणका बाहकहरूलाई उत्साहित गर्न सहजकर्ताको भूमिका खेले।  

बरु अमेरिकामा सङ्क्रमण दर हालै ३ प्रतिशत भन्दा तल झरेको छ। यसले युरोपेली सङ्घ र अधिकांश अन्य देशको तुलनामा अमेरिकाको उच्च खोप दरको परिणाम प्रतिविम्बित गरेको छ। सङ्क्रमण दरलाई बढी प्राथमिकता दिँदा सरकारलाई परीक्षण बढाउन दबाब पर्छ। तर कुल सङ्ख्याको अनुपातमा प्रमाणित संक्रमणको सङ्ख्यामा जोड दिँदा नीति निर्माताहरूलाई परीक्षण न्यून गर्न घातक अभिप्रेरणा प्राप्त हुन्छ। ‘यदि हामीले परीक्षण नै नगरे, सङ्क्रमितको सङ्ख्या ज्यादै कम हुने थियो’, अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को मे महिनामा भनेका थिए। त्यतिबेला उनले संसारका अधिकांश देशको तुलनामा अमेरिकाले बढी परीक्षण गरिरहेको झुट बोलेका थिए।  

यस्तो मामिलामा ट्रम्प एक्लै भने छैनन्। ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारोले पनि कम सङ्क्रमण देखाउन परीक्षण नै सीमित गराएका थिए। कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला उनले परीक्षणमा कटौती गर्न लगाएका थिए। भाइरसको गम्भीरतालाई न्यूनांकन गर्ने अन्य नेतामा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मागुएल लोपेज ओब्राडोर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र हालै दिवंगत भएका तान्जानियाका राष्ट्रपति जोन मागुफुली हुन्।  

तथ्यांकको न्यूनांक पहिल्याउनु भनेको महामारी हामीले सोचेको भन्दा निकै भयाबह अवस्थामा पुगिसकेको बुझ्नु हो। तर ऐतिहासिक अवधारणाको प्रयोगले हामीलाई तथ्यांकको सही परिचालन गर्न सके कम्तीमा केही उत्साहित भने बनाउनेछ। उदाहरणका लागि, हालै ‘द न्यु योर्क टाइम्स’ मा प्रकाशित एउटा लेखमा सन् २०२० मा अमेरिकाको मृत्यु दर केही दशककै सब भन्दा खराबमात्र नभई सन् १९१८ को विश्वव्यापी इन्फ्लुयन्जा महामारीका कारण मारिएको सङ्ख्या भन्दा बढी हुने अवस्था भएको उल्लेख छ। 

आधुनिक चिकित्सा विज्ञान र बृहत् आर्थिक स्रोतका सबै सुविधा भएर पनि अमेरिकी जनताले सन् १९१८ को तुलनामा सन् २०२० मा बढी दुःख भोग्नुपर्ने अवस्था बनेको भए आश्चर्यको कुरा हुने थियो। धन्न खासमा त्यस्तो अवस्था थिएन। कोभिड–१९ को सामना गर्न अमेरिकाको सङ्घीय र राज्य सरकारहरूले अझ धेरै काम गर्न सक्थे। तर परिणाम भने तथाकथित स्पेनिस फ्लुभन्दा खराब नै भइसकेको भने थिएन। ‘द टाइम्स’ को लेखमा सन् १९१८ र २०२० बीच मृत्युको तुलनाको वृतान्तले गलत सन्देश दिएको छ।  

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी) का अनुसार सन् २०१९ देखि २०२० सम्म अनुमानित उमेर–अनुकूलित (एज–एडजस्टेड) अमेरिकी मृत्यु दर प्रतिएक लाखमा ७१५.२ बाट ८२८.७ मा वृद्धि भएको थियो। अर्थात् मृत्यु दर ०.११४ प्रतिशत अंकले बढेको थियो। यो अत्यन्त दुःखद वृद्धि हो जसले महामारीलाई प्रतिविम्बित गरेको छ। तर के यसलाई मृत्यु दरमा १६ प्रतिशतले वृद्धि भएको भनी व्याख्या गर्नु उपयुक्त हुन सक्छ ?  

सन् १९१७ मा प्रतिएक लाख उमेर अनुकूलित मृत्यु दर २ हजार २ सय ७६ थियो। सन् १९१८ मा त्यो दर बढेर २ हजार ५ सय ४२ पुगेको थियो। अर्थात् मृत्यु दरमा ०.२६६ प्रतिशत अड्ढले वृद्धि भएको थियो। सन् १९१८ को महामारीको तुलनामा सन् २०२० को मृत्यु दर दोब्बर भन्दा बढेको देखिन्छ। सन् १९१८ मा मृत्यु दर १२ प्रतिशत उक्लिएको र त्यसलाई कम भयाबह अवस्था भन्नु गलत सूचना हो।  

बितेको शताब्दीमा मानिसको निधन हुने अन्य धेरै कारण घट्दै गएको अवस्थालाई आधार मान्ने हो भने सन् १९१८ को तुलनामा सन् २०२० को मृत्यु दरलाई खराब मान्नुपर्ने हुन्छ। तर अमेरिकाको मृत्यु दरको तालिका हेर्ने हो भने सन् १९१० देखि अहिलेसम्म नै निकै ओरालो गतिमा रहेको देखिन्छ। सन् २०२० मा मृत्यु दर ०.७ बाट ०.८ मा उल्टो फर्कन खोजे पनि सन् २००० को पछिल्लो चरणको तुलनामा मृत्यु दर ओरालो नै झरेको देखिन्छ।

सन् २०१८ मा प्रकाशित स्टेभन पिङ्करको पुस्तक ‘इन्लाइटमेन्ट नाउ’ मा संसार अब नर्क बन्दैछ भन्ने हाम्रो बुझाइको प्रतितर्क भेट्टाउन सक्छौँ। स्वास्थ्य, आयु दर, साक्षरता, व्यक्तिगत सुरक्षा र गरिबी न्यूनीकरणले लामो समयदेखि सकारात्मक दिशातिर नै इंगित गरिरहेको छ। यस्ता सबै प्रगति स्वाभाविक वा स्वचालित होइनन्। पिङ्करको शब्दमा यसले ‘विवेक, विज्ञान र मानवता’ प्रतिको आस्था झल्काइरहेको छ। नेताहरूलाई जिम्मेवार बनाउनुपर्छ। त्यसनिम्ति महामारीले हामीलाई देखाइसकेको छ– असल तथ्यांक अत्यन्त जरुरी छ।  

(लेखक हार्वर्ड विश्वविद्यालयमा पुँजी विकास र वृद्धिका प्राध्यापक हुन। स्रोत: प्रोजेक्ट सिन्डिकेट। नेपाली अनुवाद: नीरज लवजू।) 

प्रकाशित: १६ जेष्ठ २०७८ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App