coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बहुदलीय जनवादको ‘उत्कर्षकाल !’

समयले हिजोलाई बिर्सन दिँदोरहेनछ। नियत सही भए पनि परिणाम सधेँ उत्तम निक्लदैन्। त्यसैले इतिहास पुनर्पाठ भइरहन्छ। सम्पत्तिको हकवालाझँै विचार, आन्दोलन राजनीतिका पनि उत्तराधिकारी हुँन्छन्। अब जनताको बहुदलीय जनवाद (जबज) को हकवाला को ? भन्ने प्रश्न उठे। हकदाबी भैरहेका छन्। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जबज विचार निर्माण गर्न आफूले मदन भण्डारीलाई यथोचित वैैचारिक सहयोग गरेको भनेका छन्। व्यावहारिक एवं पारिवारिक हकवाला राष्ट्रपति श्रीमती विद्यादेवी पाण्डे (भण्डारी) हुन्। यसै पनि उनको राजनीतिक योग्यता, क्षमता, आन्दोलनको सहभागिता वा लगानीले नभै मदन भण्डारीसँगै जोडिएकाले हो। भण्डारीकोे शासकीय अभ्यास गर्न र परीक्षा दिनै नपाइ ‘मृत्यु’ भयो। अहिले राज्य र पार्टी सञ्चालनमा अध्यक्ष र राष्ट्रपतिको ‘लय’ मिलेको छ। 

 नेकपा एमालेको  अहिलेको अवस्था र अभ्यास, राज्यको शासकीय भूमिका भनेको उत्तराधिकारीहरूले जबजको उच्चतम व्यावहारिक प्रयोग हो। प्रयोगले एक–एक पत्र उधार्दैछन्। संसारकै संसदीय ‘प्रजातान्त्रिक’ इतिहासको ‘पहिलो घटना—!’ बहुमत संसद् सदस्य आफू ‘जिउँदो’ प्रमाणित गर्न सर्वोच्च अदालतमा सशरीर हाजिरी जनाए। बोरिस यल्तसिनले त रुसी संसद् ड्युमा ह्वाइटहाउसमा बमबार्डिग (४ अक्टुबर १९९३) गरेर कैयौँ सांसदकै हत्या गरे। डोनाल्ड ट्रम्पले अमेरिकी संसद् क्यापिटल हिल आक्रमण गर्न उक्साए (६ जनवरी २०२१) नेपालमा भने अध्यादेशले ‘करामत’ देखायो। 

जबजको पृष्ठभूमि 

सिद्धान्त किताबमा थियो, सपना मस्तिष्कमा। समाज फेरिन छट्पटाइरहेको थियो। सामान्यजन नयाँ कुरा सोचिएला कि भनेर डराइरहेका थिए। ‘ज्ञानीजन’ आफ्ना ज्ञान सत्तासेवामा अर्पिएर स्वर्गीय सुख भोग्दै थिए। त्यसैबेला २०४५÷४६ को वाम—प्रजातान्त्रिक नेतृत्वमा सफल जनआन्दोलनद्वारा व्यवस्थाले रूपमा कोल्टे फे¥यो। नेपाली जनमत वामढल्को थियो। आन्दोलनको राप र चापले नयाँ वैचारिक आधार खोज्थ्यो। पहिलाभन्दा फरक देखिनु, सर्वस्वीकार्य र पाच्य हुन नेकपा मालेको नयाँ नेतृत्वलाई आवश्यकता थियो। सोभियत मोडल भत्किँदै थिए।

चीनको नयाँ अर्थनीतिले कम्युनिस्ट राजनीतिलाई नयाँ दिशा निर्देशन गर्दै थियो। त्यसैबेला ‘उत्साह पत्रिकामा !’ प्रगतिशील लेखक संघका पूर्वअध्याक्ष एवं १५ वर्ष चिनिया रेडियोसँग जोडिएका चीन विशेषज्ञ वामबुद्धिजीवि गोविन्द भट्टले सांस्कृतिक बहुलवाद केन्द्रित लेख लेखे। फेरिँदो परिवेशमा भट्ट र क.भण्डारीको उठ्बस्, बहस झाँगिँदै गएर नयाँ विचार निर्माण तहमा समेत पुग्यो। त्यसै भावभूमिमा उभिएर जबजको राजनीतिक दस्तावेज तयार भयो। यसै पनि उदार राजतन्त्रवादी माक्र्सवादी मनमोहन अधिकारी र क. पुष्पलालको मुक्ति मोर्चा स्कुलिङ (क.भण्डारी, क.जीवराज आश्रित, क.मोदनाथ प्रश्रित र क. वामदेव गौतम) का माले र चौथो महाधिवेशनको जुझारु वर्ग संर्घषलाई माले प्रवेश गरे तापनि मन, वचन र कर्मले भने स्वीकार्दैनथे। 

माक्र्सवादी र मालेको एकीकरणपछि बनेको एमालेको पाँचौँ महाधिवेशनमा जबज पास भएको सो दस्तावेज अहिले एमालेका लागि रेफ, कमा नफेरिने बाइबल बन्न पुग्यो। जबजको अन्तिम खेस्रा तयारीमा भट्ट जोडिएका थिए भने ड्राफट बहसकै क्रममा प्राध्यापक माणिकलाल श्रेष्ठले भण्डारीलाई ‘यो वामआवरणको दक्षिणपन्थी घोषणापत्र’ भनेर असहमति जनाए। क.भण्डारीको सहयोगी भूमिका निभाएका प्रगतिशील साहित्यकार वासुदेव अधिकारीले जबजको विचारधाराका जग र अन्तरकुन्तरबारे ‘मदन भण्डारी स्मृतिग्रन्थ’ मा सविस्तार वर्णन गरेका छन्। ‘सम्झनामा गोविन्द भट्ट’ स्मृतिग्रन्थ विमोचनमा पनि थप स्पष्ट पारे।

२०४६ को जनआन्दोलनपछि वर्चश्वशाली समूह वामपन्थीलाई सत्तासाझेदारीमा पत्याउन, पचाउन र फेरिन तयार थिएन्। तब सामञ्जस्यता आवश्यक परेर परम्परा र ‘आधुनिकता’ अन्तरघुलन गर्दै संवाद स्थापित गर्ने एमाले नयाँ नेतृत्वसामु चुनौती भएर जबज तयार भयो।  गैरकांग्रेस अभिजन र सामान्यजनलाई जबजको विकल्पमा अर्को भरसिलो शक्ति नदेखिँदा स्वीकार्न व्यावहारिक राजनीतिक शक्ति सन्तुलनको दबाब थियो। सुविधाको राजनीतिमा प्रतिक्रिया नै चालक शक्ति बन्थ्यो। तब ग्रान्ड न्यारेटिभ (महागाथा) तयार भएर आफ्नै महागाथामा रमाउने नेताहरू गर्व गर्न थाले। त्यसभित्रको मनोविज्ञान बुझ्न संकेतले मात्रै पुग्दैनथ्यो, उत्कर्ष परिणाम कुर्नु अनिवार्य हुन्थ्यो। तब विचारको क्षेत्रमा मनचिन्ते झोली बनेको लोकप्रिय राजनीति जबज अंगाल्न क.भण्डारीहरू अग्रसर भए।

जबजमा नाम र झण्डाबाहेक कम्युनिस्टका आधारभूत दार्शनिक, राजनीति र अर्थनीतिमा कुनै पनि मान्यता थिएन। राजा, पुँजीवाद, कर्पोरेट, धर्म, विस्तारवाद, साम्राज्यवाद सबै अटाउन सक्थे। २०४८ को संविधान केन्द्रमा थियो। जबजको सार– जमिनदारसँग मिलेर सामन्ती सत्ता अन्त्य गर्ने, कर्पोरेट र उद्योगपतिसँग मिलेर शोषण अन्त्य गर्ने, भ्रष्टाचारीसँग मिलेर सदाचारी व्यवस्था ल्याउने, दलालसँग मिलेर दलाल–व्यवस्था अन्त्य गर्ने र एनजिओ आधारित संगठनद्वारा सम्राज्यवादसँग भिड्ने कुरा समाजवादउन्मुख सोच अहिले अझ अभ्यासक्रममा छर्लङ्ग देखा परे। व्यक्ति वा विचारले संकटका घडीमै  परीक्षा दिनुपर्छ।  

जबजको सार– जमिनदारसँग मिलेर सामन्ती सत्ता अन्त्य गर्ने, कर्पोरेट र उद्योगपतिसँग मिलेर शोषण अन्त्य गर्ने, भ्रष्टाचारीसँग मिलेर सदाचारी व्यवस्था ल्याउने, दलालसँग मिलेर दलाल–व्यवस्था अन्त्य गर्ने र एनजिओ आधारित संगठनद्वारा सम्राज्यवादसँग भिड्ने कुरा समाजवादउन्मुख सोच अहिले अझ अभ्यासक्रममा छर्लङ्ग देखा परे।

जबज अभ्यासक्रममा जे देखियो

वर्ग समन्वयको कसैलाई नचिढाउने वामआवरणको राजनीतिक दस्तावेज व्यावहारिकरूपमा सामाजिक–प्रजातन्त्र (सोसल डेमोक्रेट) जस्तो सामाजिक उत्तरदायीसमेत रहेन। सबै वर्ग र पक्ष, पात्र र प्रवृत्तिको छहारी बन्दै सर्वस्वीकार्य र हानिरहित वैचारिक दस्तावेज बनेर यो कम्युनिस्ट ‘आतंक’ बन्नु परेन। क. भण्डारीले शासकीय अभ्यास गर्न पाएनन्, नभ्याए पनि त्यसै वैचारिक आधारमा अहिले सरकारी एमाले पार्टी र सरकार अभ्यासरत छ। त्यसैले २०६२/६३ को परिवर्तनलाई उपयोग र उपभोग गरे पनि नयाँ संविधानको भाव र मर्म पछ्याउन सकिरहेको छैन्। तब नयाँ संविधानकै रक्षक को ? भन्ने प्रश्न उठे।

 सत्ता र ‘कम्युनिस्ट’                                                                              

जबजको सुरुवातमा क. भण्डारीले बुर्जुवा प्रजातन्त्र, मान्छे र आदर्शलाई नै केन्द्रमा राखेका थिए। उत्तराधिकारीले यस्तो अभ्यास गर्लान् भन्ने कल्पनै नगरेको हुन सक्छ।  प्रयोगकर्ताको राजनीतिक–संस्कृति, मानसिकता र स्वभावअनुसार विचारले राजनेता जन्माउँछ, तानाशाह पनि। शक्ति अहंकारी मात्रै हुँदैन् भयग्रसित हुँदा सुरक्षा र सुविधाका लागि सधैँ सत्तामा टिकिरहन चाहन्छ। अझ संसारकै कम्युनिस्ट शासकहरूमा जिउँदो रहुन्जेल सत्तामा रहिरहने सत्ता रोग देखियो। तब दर्शन र विचारैप्रति प्रश्न पनि उठे। मूल नेतृत्व सरकारमा जाँदा आन्दोलनको मर्म थेग्न नसक्ने मान्यतामा माओवादीले ‘एक्काइसौँ शदीको जनवाद’ मा पहिलो पंक्तिको नेतृत्व सत्तामा सामेल नहुने, पार्टी वा सरकारमा आवधिक नेतृत्वको निर्णय गरेर अन्तरिमकालमा सत्तामा गएनन् पनि। तर आफैँ नै निर्णय थेग्न भने सकेनन्। ‘लाली देख्ने मै गया, हो गया.. मै भी लाल’ भन्ने भयो।

व्यक्तिका आचरण, स्वभाव र अहंकारले समस्या संकट निम्त्याएपछि विषयान्तरको प्रयास फरक ढंगले गरिन्छन्। कुशल व्यवस्थापकद्वारा विश्वासको कलामय व्यवस्थापन गरिने कोसिस हुन्छन्। तर, अहंकारले बदला सोच जन्माउँदै सगोत्रीलाई अनुशासन वा कानुनी डण्डा बर्साउन थाल्छन्। पार्टी र सत्ताको टुप्पोमा व्यक्ति रहेपछि आदेशका हुकुम चल्न थाल्छन्। निजी समस्यालाई पार्टी र राज्यका समस्यामा अथ्र्याइन्छन्। विचार अभ्यासद्वारा हल गर्नुपर्ने समस्याको समाधान षडयन्त्र र प्राविधिक तहमा खोजिन्छ। तब राजनीतिक संकटको रूप लिन्छ। जबजको यो उत्कर्षकालमा तीनै समस्या यत्र, तत्र र सर्वत्र देखापरेका मात्र हुन्।

अन्तमा,  

– हामी शब्दको अर्थ महत्व, संकेत, सन्देश र सामथ्र्य गुमाइरहेको समयमा बाँचिरहेका छौँ। मानिस र पार्टीको चिनारी विचारधाराले दिन्छ। अगुवा वा पुस्तकमा रहेका योजना र मार्गचित्रलाई कार्यकर्ताले आदर्श र निष्ठाद्वारा समाजमा प्रयोग गरेर औचित्य सावित गर्छन्। विचार फेर्न सकिन्छ, ध्वस्त गर्न सकिँदैन। तर लोकप्रिय मिश्रित सोच जबजको यो आवेगी उत्कर्षकालको यो संकेत विचारहीन राजकीय अभ्यास हो। हरेक आवेगी सोचका उत्कर्ष स्खलित भएर कालान्तरमा पतन हुन्छन्।  

– व्यक्तिकेन्द्रित राज्यसत्ताले समस्याको संकेत थाहा पाउन सक्दैन, चाहँदैन्।  कसरी असली मुद्दाबाट ध्यान अन्यन्त्र हटाउने ? नयाँ न्यारेटिभ बनाउने भन्नेमा सधैँ सक्रिय हुन्छ। उसलाई छवि ध्वस्तको चिन्ताले सताइरहन्छ। विरोधीलाई कमजोर र हल्का सोच्दा प्रतिरोधको योजना बनाउन चुक्छ। समय र शक्ति सधैँ हुकुममा चल्दैनन्। परिस्थितिको आकलन गर्न नसक्दा लोकप्रियता, साधन, स्रोत र संगठन गलत ठाउँमा प्रयोग गरिन्छन्।

– शासक कमजोर हुँदै गएपछि चिडचिडाहट हुन्छन्। प्रतिशोध र क्रोध हावी हुन्छ। आखिर रिस मूर्खताबाट सुरु भएर पछुतोमा गएर टुङ्गिदा समय घर्किसकेको हुन्छ। प्रतिक्रियाले कुनै विचार वा दर्शन सुरु गर्न सक्दैन। समाज विकासक्रम, उत्पादनका सम्बन्ध र स्वामित्व विचारको चालक राजनीतिक शक्तिद्वारा हुन्छ।

– सोच्नु र प्रयोग गर्नु फरक विषय हो। राजनीति सामाजिक प्रयोगका बनिबनाउ उपाय हुँदैनन्। आचार्य, योद्धा र कर्मी फरक हुन्छन्। सत्ता भय र सपनाको फन्दामा फसेपछि जनतालाई भिडमा फेरिएर आवेगी बनोस्, नसोचोस् सोच्छ।  

– हवाई गफमा रम्ने मुर्ख र सन्काहा शासकहरू पनि मेहनती त हुन्छन् तर उल्टो दिशामा। शक्ति केन्द्रीकरण भएपछि संवैधानिक संस्थाको कुनै अर्थ रहँदैन्। ‘सर्वज्ञ’ हुँदा निर्णयको टुप्पोमा नेतृत्व रहेर अरूलाई साक्षी किनारामा मात्र राख्न चाहन्छन्। तर्क कालान्तरमा कुतर्कमा फेरिएर तथ्याङ्क मिथ्याङ्क बन्न सक्छन्। श्रेयको हिस्सा सहकर्मी र सहयोद्धालाई  साझा गर्न नसक्दा  हार्दिकता र विश्वास आर्जन नभएर भ्रम पैदा हुन्छन्।  

भ्रम नकरात्मक ऊर्जा र प्रतिक्रियाको प्रेरक शक्ति बनिदिन्छ। प्रणालीमै समस्या परेपछि सरकारलाई संकट मात्रै हैन, व्यवस्थामाथि नै संकट आइपर्छन्। तब अक्षमता लुकाउने अनेकाैं तरिका खोजिन्छन्, रोजिन्छन्। आफूभन्दा अरू कोही ठूलो होला वा बन्छ कि ! भन्ने चिन्ता र आतंकले सधैँ घेरिरहन्छ। सत्ताको हात लामो र असहिष्णु हुन्छ। आप्mना मतविरुद्धलाई मुर्ख, पागल वा  विदेशी शक्तिको एजेन्ट भन्ने  हल्ला मच्चाइन्छ या कानुनी फन्दामा फसाइन्छ।  

— नालीमा फिनेल हालिदिनेबित्तिकै  सबै कीरा छिचडिएर बाहिर देखिए जस्तै सुविधाका मौका पाउनेबित्तिकै आदर्श समयसँगै छताछुल्ल हुन्छन्। बुर्जुवा राजनीतिमा जबजले कम्युनिस्ट आन्दोलनको ‘जड परम्परा र आधुनिकताको संवाद र सम्बन्ध स्थापित गर्ने अभ्यास’ त गर्‍यो तर उत्कर्षमा पुग्दा उत्तराधिकारी असफल मात्रै बनेनन्, सामान्य बुर्जुवा चरित्र थेग्नसमेत नसक्दा जबजमाथि नै प्रश्न उठे। अहिले राजनीतिक व्यवस्थाको वैधता बचे पनि नेता र संस्थाको वैधता भने बचेन।  

– एकै पटक विपरित दुवै कुरा सही हुनै सक्दैन्। नेतृत्वमा खुला दिमाग र ठूलो हृदय आवश्यक हुन्थ्यो। जबजका नयाँ हकवालाहरू आफैँले बनाएका नायकलाई भने पछ्याएनन्। समूहलाई साथमा लिएर हिँड्न सकेनन्। आदेशबाट त कारिन्दा, कमारा या चाटुकार मात्रै हाँकिन्छन्। 

– प्रतिक्रियाले उत्पन्न विचार सिर्जनात्मक हुनै सक्दैनथ्यो। नैतिकता, आदर्श र दायित्व किन्ने÷बेच्ने वस्तु पनि हैनन् न कसैले लगाइदिने गहना। स्वअनुभूति गरिने आत्मादेश मात्र हो। परीक्षित व्यक्तिले न जनमतको विश्वास लिन सक्छ न पहल लिने इच्छाशक्ति नै रहन्छ। विचारहीन मान्छे त मूर्दा हुन्छन्।  

– जबजलाई इतिहासले एउटा दुर्लभ मौका दिएको थियो तर यो किन र कसरी थेग्न सकिएन  भन्ने कुरा क्रमशः गल्दै र भ्रष्ट हुँदै गएको नेतृत्वले पत्तै पाएन, आफूसहित सत्ताले विचारलाई नै ध्वस्त पार्दै गयो।  

– पहिलो कम्युनिस्ट देश रुसमा कम्युनिस्ट पार्टी अझै भए पनि राज्यमा त्यसले चोटिलो हस्तक्षेप गर्न भने सक्दैन्। कम्युनिस्ट आन्दोलनमा खुस्चेभले रोपेको विषवृक्ष मिखायल गोर्वाचोभले चिहान खने पनि अन्तिम चपरी वोरिस एल्सिनले ठोके। पुटिनले चिहान पुरेका मात्रै हुन्। के जबजको उत्कर्षकालले उत्तराधिकारीलाई कतै त्यही सन्देश दिइरहेको त छैन ?  

प्रकाशित: १२ जेष्ठ २०७८ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App