सन् २०१९ को डिसेम्बरमा चीनको वुहान प्रान्तमा पहिलोपटक देखापरेको भनिएको कोराना भाइरसको संक्रमणले विश्व नै प्रभावित भइराखेको छ। यो भाइरसको साम्राज्य तीव्ररूपले विश्वमै विस्तारित भयो। त्यसबाट नेपाल अछूत हुने अवस्था थिएन। वि.सं. २०७७ साल लगभग रोग, शोक, भोक र भयको अवस्थामा नै बित्यो। बीचमा केही साम्य तथा मत्थर देखिएको थियो।
फेरि यो वैश्विक महामारीले आफ्नो रौद्र रूप दोस्रो वा तेस्रो चरणमा फैलाइरहेको छ अहिले। उपत्यकालगायत कतिपय जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा लगाइएको छ। यस्तो अत्यन्त संवेदनशील क्षणमा पनि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा जे/जस्तो राजनीतिक गतिविधि र चलखेल भयो, त्यसलगायत अन्य राजनीतिक गतिविधिप्रति प्रशस्त टिकाटिप्पणी र विश्लेषण भइरहेको छ। त्यसले आफ्नो पनि ध्यान आकृष्ट भयो। निशब्द भएको आभाष भयो। त्यसैले कुनै वाद वा राजनीतिक दर्शनका आधारमा नभएर पौराणिक कथाको मानकमा सत्ता प्रकृतिको चर्चा गर्नु सान्दर्भिक हुन्छ जस्तो लाग्यो।
पितृ मुक्तिका लागि भनी आयोजना गरिने श्रीमद्भागवत सप्ताह पुराणको कथामा मुख्यतः राजा परीक्षित् आउँछन्। उनी महाभारत युद्धको प्रधान पात्र अर्जुनका नाति, अभिमन्युका छोरा हुन्। उनी गर्भावस्थामै रहेको अवस्थामा युद्ध मैदानमा रहेका उनका बाबु अभिमन्युको मृत्यु भएको थियो। चलनचल्ती बोलीचालीको भाषामा भन्ने हो भने उनी गर्भे टुहुरा हुन्। महाभारत युद्धका अवशेष पनि हुन् उनी। आमा उत्तराको गर्भावस्था रहँदा नै उनको विनाशका लागि कौरव पक्षधरबाट ब्रह्मास्त्र योग भएको थियो, लगभग मृत अवस्थामा पुगेका उनलाई कृष्णले जीवन दान दिएको महाभारतको कथामा आउँछ।
कृष्णले धरती छाड्नु, यादव वंशको विनाश भएको खबरले आहत भएका पाण्डवहरूले परीक्षित्लाई राजसिंहासनमा राखेर द्रौपदीको साथ हिमालयतर्फ लाग्छन्। उनको संरक्षण र हेरचाहका लागि धृतराष्ट्रका छोरा युयुत्स (दासी पुत्र) लाई जिम्मेवारी दिएका हुन्छन्। सत्ताको प्रकृति कस्तो हुन्छ भन्ने कुराको बोध राजा परीक्षित्ले गराएका घटनाले बोध गराएको छ। प्रायःजसो जहाँ सत्ता छ, त्यहाँ दम्भ र अहंकार पनि हुन्छ। कहिलेकाहीँ विवेक बन्धनमा पनि पर्छ। सत्ता भन्नाले सरकार भन्ने अर्थमा मात्र बुझ्नुहुँदैन। जसले शक्तिको बाँडफाँट र विभाजन गर्ने अधिकार राख्छ, चाहे सामान्य संस्था नै किन नहोस्, त्यो सत्ता हो।
कलिबाट आहत भएकाको पुकार सुनेर उसलाई ठीक पार्न गएका राजा परीक्षित्ले उसले निश्चित स्थानमा मात्र बस्न गरेको आग्रह स्वीकार्छन्। ऋषि समीको आश्रममा पुग्छन्। ऋषि समाधिको अवस्थामा हुन्छन्। राजाले उनीसँग पानी पिउन माग्छन्। समाधिमा रहेका ऋषिले दिने अवस्था थिएन। दिएनन्। त्यसपछि रुष्ट भएका परीक्षित्ले एउटा मरेको सर्प लगेर ऋषिको शरीरमा बेरिदिन्छन्। पानी लिन भनेर गएका ऋषिका छोरा ऋगी आइपुग्छन्।
त्यसबेला परीक्षित् गइसकेका हुन्छन्। बाबुको त्यो अवस्था देखेर ऋषिपुत्र आवेगमा आउँछन्। जुन स्वभाविक पनि थियो। त्यसपछि उनले ‘जसले मेरो बाबुप्रति यो हर्कत गरेको हो त्यसको आजको ७ दिनभित्र कर्कट नागले डसेर मृत्यु होस्’ भनेर श्राप दिन्छन्। ऋषि समीले आफ्नो समाधि तोड्छन्। छोराले दिएको श्राप थाहा पाउँछन्। बाबु तैँले के गरिस्, यो त अनर्थ भयो। उनी त राजा परीक्षित् थिए भन्छन्।
श्राप फिर्ता हुने अवस्था थिएन। राजाले आफू श्रापित भएको थाहा पाउँछन्। त्यसपछि राजगद्धीमा आफ्नो छोरा जन्मजयेलाई राख्छन्। आफूले ऋषिमाथि गरेको व्यवहारप्रति पश्चाताप गर्छन्। आफ्नो जीवनको बाँकी सात दिन जीवन सुधारका लागि सप्ताह पुराण सुन्न थाल्छन्। भनाइ पनि छ कि उनलाई कथा सुनाउन शुकदेवले चाहेका थिएनन्। ऋषि नारदले भनेपछि मात्र सुनाएका हुन्।
सत्ता शाश्वत सत्य हो। सत्ता हुन्छ जहाँकहीँ पनि। तर सत्ता कस्तो प्रकृतिको छ त्यो अर्थपूर्ण हुन्छ। श्रीमद्भागवत् कथाको मानकमा भन्दा सत्ता प्रकृतिभित्र अहंकार हुन्छ। भ्रम हुन्छ। जे÷जस्तो भए पनि स्तुति प्रशंसा र आज्ञापालन गर्नुपर्छ भन्ने मान्यता र विश्वास हुन्छ। कहिलेकाहीँ विवेक गुमाउन पुग्छ। इहलोक मात्र होइन, परलौकिकको समेत भय राख्ने पौराणिक कथाका पात्र राजा परीक्षित्बाट समेत त्यस्तो भुल हुन गयो। आफ्नो भुललाई आत्मसात गरे। छोरालाई सत्ता सुम्पेर आफ्नो भुलको प्रायश्चित गर्नपट्टि लगाए।
अहिले वैश्य युग हो अर्थात् व्यापारिक युग जहाँ नाफा नोक्सान मात्र हेरिन्छ। तर सत्ता भिन्न कुरा हो। यसले सबैको अभिभावकत्व ग्रहण गरेको हुन्छ। बेला कुबेला सत्ता बनाउने र गिराउने सत्ताप्रति वितृष्णा निश्चय पनि जन्मन्छ। जन्मेको छ। फेरि जन्त जाने र मलामी जाने अवस्थाको तुलना नै हुन सक्दैन। यो कुरालाई राजनीतिक गतिविधिले आत्मसात गरेको छ जस्तो लाग्दैन।
३० वर्षको राजनीतिक अभ्यासमा पटक–पटक राजनीतिक शक्ति नराम्ररी चुकेका छन्। संवेदनशील क्षणमा संवेदनशीलता प्रदर्शन गरेको पटक्कै पाइएन। कुनैबेला इन्द्रबहादुर राई लिखित कृतिको नाम ‘आज रमिता छ’ भन्ने थियो। त्यो कृति पढेको छैन। कृतिको सार के थियो भन्ने पनि थाहा छैन तर उनै राईको कृतिको शीर्षक सापटी लिएर आज रमिता छ भन्न आपत्ति हुन्छ जस्तो लाग्दैन।
राष्ट्र वैश्विक महामारीको चपेटामा छ। यसको रोकथाम, उपचार र नियन्त्रणमा यो वा त्यो नभनी सबै एकजुट हुनुपर्ने अवस्था हो अहिले। रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेका वर्ग पनि समाजमा छन्। दैनिक ज्यालादारीले जीवन निर्वाह गर्ने मजदूरका अवस्थाप्रति संवेदनशील हुनुपर्ने हो। के/कस्तो अवस्थामा छन् उनीहरू? धरतीका प्रत्यक्ष देवता कोही हुन् भने ती मजदूर किसान हुन्। भो हामी पनि अब त विश्राम लिन्छौँ भनेर उनीहरू बसेका अवस्थामा उनीहरूको जस्तो सिप र ज्ञान नभएकाको के अवस्था हुन्छ? फेरि सर्वसाधारण जनता सधैँ कहिलेसम्म मत दिने र कर तिर्ने ? यान्त्रिक मानव मात्र बनिरहने? राजनीतिक शक्तिमा थोरै मात्र भए पनि आफ्नो समीक्षा गर्नका लागि परीक्षित्को प्रसंग सहायक भइदिए आलेखको सार्थकता हुने थियो।
प्रकाशित: २६ वैशाख २०७८ ०३:४९ आइतबार