१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

वैद्य फोबिया

सिद्धान्त शुद्धताका लागि कसैको नाम सम्भि्कनुपर्‍यो भने पहिलो नम्बरमा मोहन वैद्य 'किरण' आउँछन्। उनलाई मार्क्सदेखि माओसम्मका सैद्धान्तिक सूत्र कन्ठै छन्। दुर्भाग्यवश, कुनै बेला 'लिटरेरी एलिट' देखि रामझुपडीसमेतलाई फकाउन र थकाउन प्रयोग हुने राता किताब आज उनका व्यक्तिगत तुष्टि पूरा गर्ने औजारमा बदलिन पुगेका छन्। कुनै बेला त्याग र समर्पणका प्रतिमूर्ति मानिने उनी आज निजी आग्रह र खुद्रा कुण्ठाबाट निर्देशित हुन पुगेका छन्। त्यसको मूल्य संविधान सभाको अर्को चुनावले चुकाउनु परिरहेको छ।मानिस वैद्य पक्षधरसँग छिटफुट डराउन थालेका छन्। वैद्यदेखि डराउने रोगलाई वैद्य फोबिया भनिन्छ। वैद्य फोबिया केही समय लम्बिने देखिन्छ। पटक पटक म्याद थप्दा पनि संविधान जारी गर्न नसकेकामा अस्तिसम्म आलोचित आम नेता जनताको सामूहिक गाली सुनिरहेका थिए। चुनाव आउन बीस दिन बाँकी छँदा ती सर्वसाधारण उमेदवारको अघि–पछि हिँड्न थालेका छन्। वैद्य नेतृत्वको नेकपा–माओवादीले चाहे पनि नचाहे पनि जनता चुनावमा भाग लिने मनस्थिति बनाउन थालिसकेका छन्। देशैभरि भइरहेका चुनावी सभा, घरदैलो यसका प्रमाण हुन्। युद्धको जगमा पार्टी बनाएको माओवादीमध्ये फुटेर गएको वैद्यपक्षसँग आममानिसमा भय अझै बाँकी छ। वैद्य–फोबियाले गर्दा उमेदवारहरू जनतासँग सोझै हात मिलाउने, कुरा गर्ने सहज अवस्थामा छैनन्। मंगलबार बिहान कीर्तिपुर क्षेत्र आएका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले यस्तै अवरोध सामना गर्नुपर्‍यो। 
आफ्नो क्षेत्रबाट छ वर्षअघि जितेर गएका उमेदवार प्रचण्डसँग जनताको साक्षात्कार हुनु त परै जावस्, बर्दी र सादा पोशाक दुवैमा खटिएको बाक्लो सुरक्षा दस्ता र वाइसिएल कार्यकर्ताको जालोभित्र जेलिएका प्रचण्डले धेरै परबाट मतदाताका दैलो, बार्दलीतिर हात हल्लाए। सुरक्षाको कारण देखाउँदै प्रत्यक्ष हात मिलाउँदा समेत सचेत हुन निर्वाचन आयोगले गरेको आग्रहका पछाडि वैद्य–फोबिया जिम्मेवार छ। प्रचण्ड एउटा उदाहरण मात्रै हुन्। मुख्य दलका शीर्षनेतादेखि प्रत्येक उमेदवारसम्मलाई वैद्यका कार्यकर्ताको डर छ।

नेपाली कांग्रेसबाट काठमाडौं– ५ का उमेदवार नरहरि आचार्यलगायत उमेदवारका गाडीमाथि आगजनी सुरु भएका छन्। प्रचण्डका सभानजिकै सुतली बम र पुतली बमको आतंक जारी छ। रुख ढालेर सडक अवरोध गर्नु वैद्यवादीहरूको डायरीका प्रत्येक दिनको कार्यसूचीभित्र पर्न थालेको छ। शान्तिपूर्ण अभियान हो चुनाव तर आजसम्मको कुनै पनि चुनाव हिंसाका घटनाबाट पूर्णतः मुक्त भएको देखिन्न। व्यक्तिगत तहमा हुने हमला, आक्रमणको अनुपात घटाउँदै जानुपर्ने युगमा संगठित प्रतिकारमा उत्रने वैद्य–नीति पूरै अनपेक्षित छ।
वैद्यहरू दाबी गर्छन्– हामीविरुद्ध सेना लगाइयो। सत्य के हो भने उममेदवारलाई जनतामा जान रोक्ने, आक्रमण गर्ने, हिंसात्मक वातावरण सृजना गर्ने उनीहरुको क्रियाकलापले सेना बोलायो। सेनासहितको चुनाव संसारको जुनसुकै कुनामा भए पनि त्यो अप्रिय, अनुचित हो। सम्भावित भिडन्त र हिंसा घटाउने भूमिका भने वैद्य पक्षसहित चुनाव विरोधी साना दलमै निहित छ।
उनीहरू दाबी गर्छन्– विदेशीको इशारामा चुनाव गराइँदैछ। यो आफ्नै निर्णय क्षमतामाथिको अविश्वास हुँदै हो। जनताको चेतनाप्रति समेत ठाडो उपहास हो। उनीहरू दाबी गर्छन्– यो संविधान सभाबाट बन्ने संविधानले जनताको संविधान आउँदैन। जनताले मान्ने छैनन्। प्रष्ट छ, हिजोको विद्रोहले 'जनताको सत्ता र संविधान' दुवै ल्याएन। बरु जनताको अनुमोदनसहित सरकार र संविधान सभामा जाने बाटो उनीहरूले नै अख्तियार गर्नुपर्‍यो। गरे पनि। 
वैद्यका गुरु मार्क्स भन्छन्– आजसम्मको समाजको इतिहास भनेको वर्ग संघर्षको इतिहास हो। गुरु गुढ चिनी चेला भन्ने उखान छ। तर छाँटछन्द, लय र गति हेर्दा आजसम्मको यी चेलाहरूको इतिहास कतै निजी कुण्ठा, प्रतिशोध, व्यक्तिगत लाञ्छना, चरित्र हत्या, भ्रष्टीकरणको इतिहास त होइन? यो 'जनयुद्ध' ले सिर्जेको विरासतको निरन्तरता हो कि त्यसैबाट उत्पादित माथिका 'बाइप्रोडक्ट' हरूको निरन्तरता हो? वैद्य पक्षले जवाफ दिनैपर्छ। चुनावबाट भाग्दैमा जनमतको सामना गर्नुपर्र्दैन भन्ने छैन। 
अब वैद्यहरू के गर्छन्? के उनीहरू जारी हिंसात्मक गतिविधि त्यागेर चुनाव बहिष्कारको राजनीतिक अभियानमात्रै चलाउँछन्? त्यसो गरे भने उनीहरूको 'अर्गानिक माओवाद' ले जनताको एउटा तप्का र एनेकपा माओवादीसमेतका थुप्रै कार्यकर्ताबाट शंकाको सुविधा पाउनेछ। उनीहरू राजनीतिक शक्ति ठहरिइरहनेछन्। अरु दलका उमेदवारलाई तारो बनाउने, मतदातालाई मतकेन्द्रसम्म जान नदिने, मतपेटिका जलाउने, सवारी साधन आगजनी गर्नेजस्ता गतिविधिमा उत्रिए भने सुरक्षा संयन्त्रले त छाड्नै छैन नै। उनीहरूले वाक्यैपिच्छे पुकार्ने दुई शब्द 'मार्क्सवाद' र 'जनता' मध्ये दोस्रोबाट समेत बढारिनेछन्। (पहिलो शब्दको त कुरै नगरुँ। वैद्य स्वयं जानकार छन्।)
वैद्यले तय गरेको बहिष्कारको 'महान जनवादी अभियान' लाई आजका मितिसम्म आफ्ना सीमित कार्यकर्ताबाहेक अरुले वाह भनेको सुनिएको, देखिएको छैन। तीन साताको अन्तरालमा पंक्तिकारले पूर्वको मेची कोसीदेखि पश्चिमका गरी थुप्रै जिल्ला चहार्‍यो। जनता बिस्तारै चुनावी माहोलसँग एकाकार हुँदैछन्। राजनीतिक नेतृत्व र उमेदवारसँग पुराना वाचा सम्झाउँदै खेरिरहेको छ। यसपल्ट किन भोट हाल्ने भन्नेबारे प्रष्ट आधार मागिरहेको छ। उनीहरुको आलोचना समर्थनभन्दा कम शक्तिशाली छैन। नेतालाई थर्काउने, वाचा सम्झाउने अभियान चालु छन् तर कोही पनि चुनाव बिथोल्ने मुडमा छैन। बरु स्वयं वैद्य माओवादीका कार्यकर्ता चुनाव भाँड्न मानसिकरूपमा तयार देखिन्नन्। वैद्यले यो कुरो बुझेको हो कि होइन?
प्रचण्डका यी 'राजनीतिक गुरु' सँग पार्टी फुटाउनुपर्ने स्पष्ट केही कारण होलान्। प्रचण्डले 'पार्टी र क्रान्तिलाई धोका दिएको' वैद्यको अभियोग छँदैछ। इतिहासको कठघरामा कुनै बेला यसबारे छलफल होला तर उनीहरूको एक अर्काप्रतिको अभियोग, अहम् र लाञ्छनाको मूल्य सिंगो देशले चुकाउनु सोह्रै आना गलत हुनेछ। कुनै दिन मन लाग्यो भने वैद्यले प्रचण्डलाई विश्वास गरे पनि हुन्छ, मन लागेन भने नगरे पनि हुन्छ तर जनताको भावनालाई विश्वास गर्नैपर्छ। प्रचण्ड, वैद्य, सुशील कोइराला, झलनाथ खनाल नभएका दिन पनि यो देशमा जनता भइरहनेछन्। 'महान तथा गौरवशाली पार्टी नेकपा–माओवादी' का 'अध्यक्ष कमरेड किरण' उनीहरूबाट भाग्न सक्दैनन्, पाउँदैनन्। उनको पार्टीले कार्यशैली नसच्याए जारी 'वैद्य फोबिया' धेरै समय टिकिरहने छैन। जनताले 'ज्ञानेन्द्र फोबिया' को सफल उपचार गरेको धेरै वर्ष भएको छैन। भयको रजाइँ हिजो चल्यो, अब चल्दैन।

प्रकाशित: १२ कार्तिक २०७० २३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App