तीन दिनमा सकिनुपर्ने सम्मेलन अहिलेसम्म नसकिनुको कारक आगामी सम्मेलनबाट चुनिने नेतृत्वका लागि भइरहेको तानातान हो । दुई या सोभन्दा बढी समूहमा लागेर नेता कार्यकर्ता निकट समूहको सूचीमा आफूलाई पार्न र निर्वाचनमा होम्न कस्सिएका हुन् । आफूलाई मुलुककै ठूलो विद्यार्थी संगठन मान्ने समूहले आफ्नो सबैभन्दा ठूला निकाय राष्ट्रिय सम्मेलन दुई दुई ठाउँ सार्दै हिँड्नुपर्ने अवस्था सिर्जना हुनु लाजमर्दो हो । अखिलले यति पनि नबुझेको पक्कै होइन । सम्मेलनको सीमा र अवधि हुन्छ । त्यसको कुनै मर्यादा ख्याल नगरेकामा उसले विद्यार्थीसँग माफी माग्नुपर्ने हो ।
शुक्रबार प्रज्ञा प्रतिष्ठान आसपासमा एमाले अध्यक्ष झलनाथ खनाल निकट नेता र विद्यार्थी छलफलमा व्यस्त छँदैगर्दा अर्का नेता केपी ओलीनिकटहरू पनि त्यतै छलफलमा व्यस्त थिए । देशभरबाट आएका विद्यार्थी भने आफूले जिताउन चाहेको नेतालाई काँधमा बोकेर नाराजुलुस गरिरहेका थिए । एकातिर, तिनको उत्साह हेर्न लायक थियो । युवा वर्ग चुपचाप बसेको भन्दा वाचाल भएको कति राम्रो सुनिएको ! तर अर्कातिर आफू यतिका दिनसम्म अनिर्णयको बन्दी के कारणले बनिरहेको छु भन्नेमा तिनले प्रश्न नगरेको देख्दा दिक्दारलाग्दो परिस्थिति देखिन्थ्यो । कुल मिलाएर भन्दा त्यहाँ उत्रो केही पनि भइरहेको थिएन । सामान्यतयाः सम्मेलन सुरु भएपछि उद्घाटनसँगै बन्दसत्रका कार्यक्रम अघि बढ्नुपर्छ । तर प्रज्ञा प्रतिष्ठानमा भित्र पदीय खिचातानी र बाहिर पोस्टर र जुलुसको रमिताबाहेक केही पनि हेर्न लायक थिएन । विद्यार्थीहरूले आफूलाई जिताउनुपर्ने कारणसहितका पर्चा पम्प्लेट फ्लेक्स बाँडिरहेका थिए । नेतृत्वका लागि निर्वाचन कतिखेर कुन रूपमा हुने हो, केही ठेगान नभएको अवस्थामा उनीहरूको उत्साह निरर्थक देखिन्थ्यो ।
एमाले पनि अरु दलजस्तै पार्टी हो । त्यसैले यसभित्र पनि मोटामोटी दुई गुट छन् । यो आश्चर्यको कुरा भएन । गुटगत गतिविधिलाई पनि व्यवस्थित गरेको भए बन्दसत्र सुरु हुनासाथ थपक्कै कार्यसूची अघि सरिहाल्ने थियो । नेतृत्व कति अकर्मण्य र गैरजिम्मेवार छ भन्ने हेर्न ७५ जिल्लाका विद्यार्थी साक्षी बस्न आएजस्तो पो देखियो ।
एमाले समर्थक विद्यार्थीले आत्मसमीक्षा गर्ने बेला आएको छ । इतिहासका अघिल्ला अखिल सम्मेलनमा भाग लिनेहरूले अझै गम्भीर हुने बेला आएको छ । सम्मेलन यस्तो हुँदैन । अखिलको सम्मेलन भनेपछि हेर्न सर्वसाधारणको कुँडुलो ओइरिन्थ्यो । रोचक गानाबजाना, लोकदोहोरी आदि हुन्थे । सम्मेलन र यस्ता कार्यक्रमको सन्देश ठूलो हुन्थ्यो । त्यही संगठनले राजधानीमा गरिरहेको सम्मेलन चुपचाप जारी छ । जारी पनि के भन्नु ! बल्ल चौथो दिनको साँझतिर निर्वाचनको कार्यक्रम अघि बढिरहेको छ ।
इतिहासमा भएका सम्मेलन नेतृत्व निर्माणभन्दा नीति निर्देशित बढी हुन्थे । पछिल्ला सम्मेलनमा चुनावको चर्चा बढी थियो । यो स्वभाविक थियो किनभने अखिल नेतृत्व छान्ने अधिकार विद्यार्थीमाथि थियो । विधान सम्मेलन र निर्वाचन सम्मेलन छुट्याइसकेपछि यो सम्मेलन निर्वाचनका लागि केन्द्रित गरिनु स्वाभाविक हो ।
हिजोको अनेरास्ववियु भनेको आजका एमाले नेता उत्पादन गर्ने, खार्ने भट्टी थियो । एमाले हाँक्ने प्रभावशालीहरू, एमालेले पटक पटक पाखा लगाउन खोजेका तर जनताले चिनेका असल एमालेहरू हिजोको अनेरास्ववियुबाट आएका छन् । यो संगठनबाट स्थापित हुँदै सक्रिय राजनीति छाडेकाहरू राम्रा प्राध्यापक, कूटनीतिज्ञ, पेसाकर्मी बनेका छन् । हिजोको अखिलले देशमा केही अनिष्ट आइलाग्दा कहिले एक्लै, कहिले अरू संगठनसँग मिलेर साना ठूला आन्दोलन चलाएको छ । देशको राजनीतिक सोचको मानचित्र बदल्न अखिलको प्रत्यक्ष भूमिका छ । पञ्चायत फाल्ने आन्दोलन उसको सबैभन्दा ठूलो भूमिका भएको आन्दोलन थियो । यस्तो समृद्ध इतिहास भएको संगठन अहिले काठमाडौंमा मोबाइल सम्मेलन गर्दै हिँडिरहेको छ ।
कुनै बेला अखिलका महासचिव रहेका एमाले नेता घनश्याम भूसालले अखिलका नेता थोमस बास्तोलालिखित पुस्तक 'विद्यार्थी आन्दोलन र अनेरास्ववियु' मा एक वर्षअघि अनेरास्ववियु स्वयंले गरेको आत्मसमीक्षा सम्झाइदिएका छन् । 'आफ्नै संगठनका साथीहरूबीच झगडा, त्रास, कुटाकुट, मारामार, हतियारको प्रयोग हुने गरेको, एक पक्षले अर्को पक्षलाई गुण्डागर्दीको आडमा तर्साउने, एक साथी अर्को साथीबाट कुटिनुपर्ने, फर्जी कमिटी निर्माण गर्ने, जसरी पनि सम्मेलन भाँड्ने, सम्मेलन हुन नदिने, गोलमटोल बनाइराख्ने, मनोमानी समानान्तर कमिटी घोषणा गरिहाल्ने, मिडियाको गलत प्रयोग गरी प्रचारमा गइहाल्ने प्रवृत्तिको सिकार आजको अनेरास्ववियु भएको' आत्मसमीक्षा अखिलले गरेको रहेछ । (बास्तोला, पृष्ठ२० र २१)
अर्थात्, आज कमलादी र प्रदर्शनीमार्गमा जेको नग्न प्रदर्शनी भइरहेको छ । यसको सम्भावित आकलन एक वर्षअघि नै भइसकेको थियो । किन सच्चिन सकेन अखिल ? यसबाट अखिल र अरु विद्यार्थी संगठनले आत्मसमीक्षा गर्नुपर्ने ठाउँ छ । अरु संगठनको हविगत पनि अखिलभन्दा खासै पृथक छैन । यस्ता क्रियाकलापले संगठनहरूलाई विद्यार्थीबाट टाढा पु¥याउनेबाहेक केही योगदान गर्न सक्दैनन् । फलतः पेट्रोलको भाउ बढ्दा सडकमा निस्कनेबाहेक विद्यार्थी संगठनको भूमिका निस्तेज हुँदै गइरहेको छ । यस्तो प्रकारको निस्तेज अरु कसैले नगरेर स्वयं विद्यार्थी संगठन गरिरहेछन् । अखिलको पछिल्लो सम्मेलन यसैको एउटा दृष्टान्तमात्रै हो ।
अन्त्यमा, अखिलबाट राजनीतिक यात्रा थालेका विश्लेषक झलक सुवेदीसँग केही वर्षअघि उनको हङकङ यात्राबारे कुराकानी भएको थियो । एक सन्दर्भमा उनले हङकङ विश्वविद्यालय जाँदा विद्यार्थी काउन्सिल (यहाँको स्ववियुजस्तै) को कार्यालय छिरेको सन्दर्भ उक्काएका थिए । सोह्र हजार विद्यार्थी नियमित पढ्दै गरेको सो विश्वविद्यालयको काउन्सिल चुनावमा जम्मा मतदाता रहेछन् ३१ जना । तीमध्ये २१ भोट पाउने चाहिँ सभापति चुनिएछ ।
हङकङका विद्यार्थी आफूहरूको हकहितका लागि जुटेको भनिएको संस्था र संगठनप्रति किन यति साह्रो उदासीन भएका होलान् ? नेपालका विद्यार्थी संगठनहरूले यसको जवाफ नेपालको सन्दर्भमा पनि खोज्नैपर्ने हुन्छ । जेनतेन, मोबाइल महाधिवेशन हाँकिरहेको अनेरास्ववियुले त झन् यही बेला खोजिहाल्नुपर्छ ।
प्रकाशित: ७ आश्विन २०७० २३:१० सोमबार