१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

वैद्य माओवादीको क्रुरता

माओवादी विद्रोहका बेला एक विदेशी मित्रले संकोच मान्दै सोधेका थिए– तिम्रो देशमा त मान्छेको मासु खान्छन् रे हो? उनको प्रश्नले मलाई लज्जा, अपमान र क्रोधको अनुभूति एकैसाथ भएको थियो। देशमा चलिरहेको माओवादी विद्रोहका क्रममा दिनहुँ हुने व्यक्ति हत्यालाई नेपाली जनताले बाध्यतापूर्वक सहँदै आएका थिए। आकासमा कुनै दिन हेलिकोप्टर उडेको देख्नासाथ कतै माओवादीले प्रहरी चौकी अथवा कुनै जिल्लाको सदरमुकाममा हमला गरेको अनुमान लगभग सही सावित हुने गर्थ्यो।त्यसैले आकासमा हेलिकोप्टर देख्दा नै डर लागेर आउँथ्यो। त्यस विद्रोहका क्रममा माओवादीले आफूले हत्या गरेका व्यक्तिका छोरालाई समेत किरिया बसिरहेको अवस्थामा समातेर हत्या गरेका घटना पनि कम थिएनन्। आमाको काखबाट सन्तानलाई तानेर हत्या गरिन्थ्यो। त्यसका लागि माओवादीको आफ्नै 'जनअदालत' थियो। आफैँ वकिल आफैँ न्यायाधीश थिए। 
त्यही हिंसात्मक आन्दोलनको गलत सन्देश विदेशमा फैलिएको थियो। त्यसकै चरम रूप थियो नेपालमा मानिसले मानिसकै मासु खान्छन् भन्ने। आज पनि त्यस हिंसात्मक विद्रोहलाई माओवादीले महान् क्रान्तिको संज्ञा दिन्छ। हो, त्यो हिंसात्मक विद्रोहका क्रममा राज्य पक्षबाट पनि अन्याय भएको थियो। राज्य पक्षबाट पनि हत्या भएको थियो। आज कुनै माओवादी नेता अथवा कार्यकर्तासँग उनीहरूले हिंसात्मक आन्दोलनका क्रममा गरेको हत्याबारे प्रश्न राख्नूस्, उनीहरूको रेडिमेड जवाफ आउँछ– तपाईँले हाम्रो पक्षबाट भएको क्रान्तिलाई बढाइचढाई भन्नुहुन्छ तर राज्य पक्षबाट भएको ज्यादति बिर्सनुहुन्छ। मानौँ, राज्य पक्षबाट भएको ज्यादतिमा जनताको समर्थन थियो, राज्यको सुरक्षा निकायबाट भएका हरेक हत्यामा जनताको लालमोहर थियो। 
त्यस किसिमका हिंसात्मक आन्दोलनको सन्देश देशबाहिर त्यसैगरी जाने रहेछ। मानिसले सुनियोजितरूपमा गर्ने मानिसको हत्यालाई कुनै पनि अर्थमा सामान्य मान्न सकिँदैन। हत्या गरेपछि क्रान्तिका क्रममा त्यस्ता एकाध घट्ना हुन्छन् भनेर आफ्नो जघन्य अपराधलाई समेत टक्टक्याएर फाल्ने क्रम शान्ति प्रकृयापछि पनि देखिँदै आएको हो। तर पनि मुलुकमा कछुवाको चालमा भए पनि शान्ति प्रकृयाले गति लिइरहेकोमा अनेक असन्तुष्टिपछि पनि नेपाली जनतामा एक किसिमको राहत अनुभव भएकै हो। नेकपा–माओवादीका कार्यकर्ताले धुलिखेलमा यात्रुबाहक बसमा आगो लगाएपछि पुनः तिनै विदेशी मित्रले सोधेको प्रश्नको सम्झना भयो। र, अहिले पनि मनमा आक्रोस, लज्जा र अपमान बोध भएको छ। हामी कुन युगमा छौँ? 
यही कुरालाई लिएर वैद्य समूहसँग जाने हो भने उनीहरूले राजनीतिक दर्शन छाँटेर पठाइदिन्छन्। उनीहरूसँग एउटै जवाफ हुन्छ– क्रान्तिका क्रममा हुने यस किसिमका क्रियाकलाप सामान्य हुन्। तर माफ गर्नुहोस्! तपाईँको पाशविक व्यवहारबाट कतिपय परिवार विचल्लीमा परेका छन्। यो कसरी सामान्य हुन सक्छ? आफ्नो जिद्दी पूरा गर्न यस किसिमको मानवता विरोधी क्रियाकलापको औचित्यलाई तपाईँहरू कुनै पनि हालतमा सिद्ध गर्न सक्नुहुन्न। वैद्य माओवादीका नेताहरूले अहिले आफ्ना जिद्धी पूरा नभएसम्म चुनावमा नजानेमात्र होइन, चुनाव कुनै पनि हालतमा हुन नदिने बताउँदै आएका छन्। उम्मेदवारको गोडा भाँच्ने, चुनावमा बम खस्ने जस्ता धम्की त्यस पार्टीका जिम्मेवार नेताबाट दिइँदै आएको छ। धुलिखेल घटना त्यसैको त्रु्करतम सन्देश हो। 
तपाईँहरू बन्द आह्वान गर्नुहुन्छ अनि डराएर धम्क्याएर बलजफ्ती बन्द गराउनुहुन्छ र भन्नुहुन्छ– जनताको साथले बन्द सफल भयो। जनताले बन्दलाई सफल बनाए। कुन जनताले बन्द सफल गराए? तपाईँको नजरमा जनताको परिभाषा के हो? ्माथि 'तपाईँ' भन्ने शब्दको प्रयोग वैद्य माओवादीका लागिमात्र होइन। यो नेपालका सबै राजनीतिक दलका लागि हो जसले बन्द आह्वान गरेका छन् र त्यसका लागि बल प्रयोग गरेका छन्, जनतालाई डर–त्रास देखाएका छन्। वास्तवविकता त के हो भने तपाईँहरूको राजनीतिक दर्शनलाई आमजनताले बुझेका छैनन् र सम्भवतः बुझ्न पनि चाहेका छैनन्। जनताले त गरिखाने वातावरण माग गरेका छन्। दुई छाक खानका लागि मेहनत गर्न पाउने वातावरण माग गरेका छन्। अनि तपाईँ (सबै राजनीतिक दललाई भनेको हो)हरू त्यस किसिमको वातारण निर्माण गर्नुको बदला जनतालाई त्रसित बनाउनेतर्फ लाग्नुहुन्छ, आतंकित बनाउनेतर्फ लाग्नु हुन्छ। (तपार्इँहरूलाई यदि आतंकित शब्द प्रयोग गरेकोमा मन परेको छैन भने कृपया आतंकको परिभाषा सम्झनूस् अनि आफूहरूले गर्दै आएको क्रियाकलाप त्यस परिभाषाको परिधिभित्र पर्छ/पर्दैन, आफँै निर्क्यौल गर्नुस्)।
वैद्य माओवादीहरूको विरोध के त्यो बसमा यात्रा गरिरहेका यात्रुसँग थियो? थिएन भने त्यो अपराध किन र कसरी गरियो? वास्तविकता त के हो भने बहुसंख्यक नेपाली जनतालाई न बीपीको समाजवादसँग मतलब छ न त एमालेको बहुदलीय जनवादसँग, न माओवादसँग न त अरु कुनै राजनीतिक दलको दर्शनसँग। (अहिलेसम्मको क्रियाकलाप हेर्दा त स्वयं राजनीतिक दलका नेता/कार्यकर्तालाई समेत आफ्नो दर्शनसँग मतलब नभएको पुष्टि भइरहेको छ।) दुई छाक टार्नकै समस्या भोगिरहेका जनतालाई राजनीतिक दर्शन पहिलो प्राथमिकताको कुरा हुनै सक्दैन। आमजनता आतंकित हुनेगरी गरिएको कार्य राज्य पक्षबाट भए पनि अथवा कुनै राजनीतिक दलबाट भए पनि त्यो जनताको पक्षमा कुनै हालतमा हुन सक्दैन। आतंकको जगमा लोकतन्त्र टिक्न त के अडेस लाग्न पनि सक्दैन। तपाईँहरू यदि आफूलाई लोकतान्त्रिक पार्टी भन्नुहुन्छ भने पहिला जनतालाई सम्मान गर्न सिक्नुहोस्।
बन्द आह्वान गर्ने अनि आफ्नो काम विशेषले जान लागेका जनतामाथि आक्रमण गर्ने, एम्बुलेन्स जस्तो आपतकालीन अवस्थामा प्रयोग हुने बाहनलाई समेत तोडफोड गर्ने जनतलाई घरमै नजरबन्द हुन बाध्य पार्ने अनि तिनै जनताले आफ्नो बन्द सफल गराएको दाबी गर्ने! यो जस्तो 'सफेद झुट' अरु के हुन सक्छ? बन्द आह्वान गरेपछि तपाईँहरू जुलुस लिएर बन्द गराउँदै हिँड्नुहुन्छ। एक किसिमले आफ्नो बन्दको विरोध तपाईँहरू स्वयं गर्नुहुन्छ। त्यसैले साँच्चै नै जनताको मनसाय बुझ्ने मन छ भने अबदेखि बन्द आह्वान गर्ने जोसुकै राजनीतिक दल अथवा समूहलाई चुनौती छ– तपाईँहरू बन्द आह्ान गर्नूस् र आफू पनि ढोका लगाएर घर बस्नूस्। त्यसपछि जनताले तपाईँको बन्दलाई कत्तिको समर्थन गर्छन् हेर्नूस्। सम्भवतः नेपालका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई थाहा छैन होला, तपाईँहरूका यस्ता क्रियाकलापले निरंकुश पञ्चायती कालमा भएका ज्यादतिलाई धेरै अघि नै उछिनिसकेको छ। त्यसैले नै पुराना 'राजनीतिक पापी' हरू खुला प्रवचन दिँदै हिँड्न थालेका छन्। तपार्इँहरूका हरेक क्रियाकलापले उनीहरूले गरेको अपराधको औचित्य सावित गर्दै गएको छ।

प्रकाशित: ३१ भाद्र २०७० २३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App