१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विश्व अर्थतन्त्र पुनर्उत्थानको आकार कस्तो ?

विभिन्न समृद्ध अर्थतन्त्र भएका देशमा कोभिड–१९ विरुद्धको खोप तीव्र गतिमा लगाइएका कारण यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा  ती देशमा तीव्र  आर्थिक पुनर्उत्थानका निम्ति सहज वातावरण बनेकोछ । यो अवधिमा डिजिटल र डिजिटल प्रविधिमा आधारित क्षेत्रको वृद्धिदर उच्च रोजगारी दिने सेवा क्षेत्रकै हाराहारीमा रहने भए पनि यसको माग बढ्दो क्रममा रहनेछ ।  

कोभिड–१९ खोपको उत्पादन क्षमता बढेपछि विश्वमा खोप कार्यक्रमले गति लिन थालेकोछ । यसअघि अव्यवस्थित र कामचलाउ हिसाबले सञ्चालन हुँदै आएको खोप व्यवस्थापन प्रणाली अब सुदृढ बनेकोछ । यति ठूलो स्तरका काम गर्दा अवरोध पक्कै आइपर्छन् । तर निश्चित के देखिएको छ भने उत्तर अमेरिकाका अधिकांश व्यक्तिले आगामी गर्मी यामसम्ममा खोप लगाइसकेका हुनेछन् भने अधिकांश युरोपेलीले अर्काे शरद ऋतुको सुरुसम्म खोप लगाइसक्नेछन् । 

सबैले स्वीकार गरेको विषय के हो भने विश्व एकापसमा जोडिएको छ र सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुन सक्दैन । 

मार्च १५ सम्म आइपुग्दा इजरायलले शत प्रतिशत जनसंख्यालाई खोप उपलब्ध गराइसकेको छ भने बेलायतले ३६, अमेरिकाले ३२ र युरोपेली युनियनले ११ डोज खोप उपलब्ध गराइसकेकाछन् । यो अनुपात छिटो वृद्धि हुँदैछ । तर यो दर एसिया तथा प्रशान्त क्षेत्रमा तुलनात्मक हिसाबले कम छ । यसो हुँदाहुँदै पनि खोप अभियानविना नै यो क्षेत्रका देश भाइरस नियन्त्रण सर्न सफल भएकाछन् र उनीहरूको अर्थतन्त्र तीव्र गतिमा पुनर्उत्थानको दौडमा छ । यहीबेला विभिन्न महादेशमा छरिएका कम आय भएका राष्ट्र पछाडि परेकाछन् र उनीहरूको खोपमा पहुँच बढाउन अन्तर्राष्ट्रिय प्रयास आवश्यक छ ।  सबैले स्वीकार गरेको विषय के हो भने विश्व एकापसमा जोडिएको छ र सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुन सक्दैन । अन्तर्राष्ट्रियरूपमा खोपको पर्याप्त व्यवस्था हुन सकेमा मात्र यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा विश्व अर्थतन्त्रले गति लिन सक्छ । यसो हुन सकेमा महामारीले सबैभन्दा बढी प्रभावित देश पनि केही हदसम्म विभिन्न क्षेत्रका फरक फरकरूपमा अभिवृद्धि हुने के–आकारको आर्थिक वृद्धिदरलाई उल्ट्याउन सफल हुन सक्छन् ।  

विशेषगरी महामारीमा तीव्र अभिवृद्धि भएको डिजिटल र डिजिटल प्रविधिमा आधारित क्षेत्रको वृद्धि घट्नेछ तर यो वृद्धिदरमा नाटकीय हिसाबले कमी आउने छैन । महामारीका बेला प्रविधिमा आधारित भएर गरिएका काम आगामी दिनमा कामदारको भौतिक उपस्थितिमा हुनेछन् । यहीबेला सम्पूर्ण तथा आंशिकरूपमा बन्द भएका क्षेत्रहरू खुल्नेछन् । आममानिसले व्यग्रताका साथ अपेक्षा गरेका खुद्रा व्यापार, पर्यटन, मनोरञ्जन, खेलकुद र यात्राका क्षेत्र पुनः खुल्नेछन् । यसैगरी सुरक्षाको प्रत्याभूति भएपछि सामुन्द्रिक जहाजमा यात्रा गर्न चाहनेको संख्या बढ्नेछ तर त्यतिबेला सम्बन्धित कम्पनीले खोप लगाएकाको प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था गर्नेछन् ।

अन्तर्राष्ट्रियरूपमा खोपको पर्याप्त व्यवस्था हुन सकेमा मात्र यो वर्षको दोस्रो ६ महिना र सन् २०२२मा विश्व अर्थतन्त्रले गति लिन सक्छ ।  

यसरी महामारीका कारण बन्द भएका क्षेत्रमा अकस्मात माग बढ्दा आर्थिक वृद्धि दर अकस्मात बढ्न सक्ने देखिन्छ र यसले अन्ततः समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । जीवनयापन र कार्यालयमा काम गर्ने शैलीमा आउने केही स्थायी परिवर्तनका बाबजुद बेरोजगारी निश्चितरूपमा घट्नेछ । उदाहरणका लागि महामारीका बेला दूरदराजमा बसेर काम गर्ने हाइब्रिड मोडल विकास भएका कारण सहरीकेन्द्रमा रहेको रेस्टुरेन्टको माग कम हुन सक्नेछ । विश्वका विभिन्न देशले महामारीको प्रभावबाट अर्थतन्त्रलाई बचाउन विभिन्न कार्यक्रम ल्याएका कारण अर्थतन्त्रमा परेको झट्कामा केही कमी त आएकोछ तर केही क्षेत्र निकैनै थला परेकाछन् ।  

यो संक्रमणकालमा आपूर्ति स्थितिमा देखिने कमी र बढ्दो मागका कारण केही अवधिसम्म मुद्रास्फीतिको अवस्था सिर्जना हुन सक्छ । तर यसमा धेरै चिन्ता गर्न आवश्यक छैन । वित्तीय बजारमा यो प्रवृत्ति देखिइसकेकोछ । महामारी सुरु हुनुअघिनै संघर्षरत र महामारीको सुरुताका अत्यधिक हिसाबले प्रभावित भएका सेयर बजार पुनः लयमा आउन थालेकाछन् । डिजिटल क्षेत्रको स्टक मार्केटमा भने केही कमी देखिएकोछ । तर यो स्थायी प्रकृतिको रहनेछैन । त्यसैले समग्र सेयर बजारले यसअघिको पूर्ववत् स्थिति फर्कँदा डिजिटल सेयर बजारलाई समेत अदृश्य हिसाबले फाइदा पुग्नेछ । यो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय यात्राको क्षेत्र हुनेछ । यो क्षेत्रको व्यवसाय केही हिसाबले डिजिटल प्ल्याटफर्ममा आधारित रहेपनि यसमा व्यक्तिगत सम्पर्क अत्यावश्यक हुन्छ ।  

विश्वका केही अर्थतन्त्र अत्यधिकरूपमा पर्यटन र यात्रामा आधारित उद्योगमा भर पर्ने गरेकाछन् । स्पेनको कुल गार्हस्थ उत्पादन १० देखि ११ प्रतिशत र ग्रिसको १८ प्रतिशत हिस्सा यिनै उद्योगसँग सम्बन्धित छ ।  

अन्य क्षेत्र भन्दा यो क्षेत्र स्थानीय भन्दा बाह्य विश्वसँग जोडिने भएकाले विश्वव्यापी महामारीले यसलाई बढी प्रभाव पार्छ । भाइरस नियन्त्रण भएपछि स्थानीय सेवा क्षेत्रले तीव्र गति लिन सक्ने भएपनि विशेष गरी अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र यसको अपवाद हो । विभिन्न देशबीच हुने पर्यटक आदान–प्रदान गर्न दुवै देशले खोपमा उल्लेख्य प्रगति गरेको हुनुपर्छ । यसैगरी भाइरस नियन्त्रणको प्रयासमा पनि सफल भएको हुनुपर्छ । खोप प्राप्त गरिसकेकाले यात्रा गर्न चाहेमा गन्तव्य देशले स्वागत गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसका लागि प्रमाणपत्र अथवा खोप पासपोर्ट उपयोगी हुन सक्छ । यो विषयसँग जोडिएको अर्काे समस्या के हो भने अन्तर्राष्ट्रिय पर्यटनमा विभिन्न देशका फरक फरक कानुनी व्यवस्था छन्र समन्वय नभएका फरक नियमनकारी व्यवस्था छन् । आफ्नो सीमा क्षेत्र भन्दा बाहिर रहेका व्यवस्थाबारे हुने अज्ञानताले समस्या झन थपिनेछ ।

हालको स्थितिले के देखाउँछ भने खोपको विश्वव्यापी पहुँचका लागि केही समय लाग्नेछ । धनी राष्ट्र यो अभियानमा सफल भएपछि उनीहरूले खोपको अन्तर्राष्ट्रिय पहुँचका लागि ध्यान दिने अपेक्षा गर्न सकिन्छ । त्यसपछि उनीहरूले खोपका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउने र खोप निर्माण क्षमता अभिवृद्धि गर्नेछन् । त्यतिबेलासम्म भाइरस नियन्त्रण गर्न सफल भएका चीन र एसियाका केही देशसहित समृद्ध अर्थतन्त्र भएका देशहरू पुनर्उत्थानको बाटोमा अगाडि बढिसकेका हुनेछन् । उच्च रोजगारी दिने सेवा क्षेत्रको पुनरागमनले समग्र अर्थतन्त्रलाई पहिल्यैको स्थितिमा पुर्‍याउन सहयोग गर्नेछ । समग्र सेवा क्षेत्रमा केही परिवर्तन आउनेछन् । विद्यालयहरूले भौतिकरूपमा कक्षा सञ्चालन गर्नेछन् तर उनीहरूले डिजिटल संयन्त्रको प्रयोगलाई प्राथमिकता दिनेछन् जसले गर्दा उनीहरूको पाठ्यक्रममा परिष्कृत आउनेछ भने अर्काे महामारी अथवा झट्का आउँदाको अवस्थामा पनि उनीहरू त्यसलाई झेल्न सक्षम भएका हुनेछन् ।

सन् २०२१को पछिल्लो ६ महिना र सन् २०२२मा महामारीले उत्पन्न गरेको के–आकारको आर्थिक वृद्धिलाई बहुक्षेत्रीय पार्नेछ । यसका लािग पूर्वसर्त के हो भने स्वास्थ्य र अर्थतन्त्रलाई पूर्ववत स्थितिमा ल्याउन खोपको अन्तर्राष्ट्रिय पहुँच सुनिश्चित हुनैपर्छ । यसले अन्तर्राष्ट्रिय पर्यटन सुरुवात गर्न सहयोग पुग्नेछ । त्यसैले यी विषयलाई सम्बोधन गर्न तथा आवश्यक अग्रगामी नेतृत्व प्रदान गर्न विश्वका नेताहरू सफल हुनुपर्छ ।  

(लेखक अर्थशास्त्रका नोबेल पुरस्कार विजेता हुन् । प्रोजेक्ट सिन्डिकेट ।)

प्रकाशित: ११ चैत्र २०७७ ०६:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App