१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

क्रिकेट र नेपाल

हालै सिंगापुरमा सम्पन्न एसिसी इमर्जिङ टिम्स कपमा सहभागी भएर फर्केको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफ्नो टिमको पराजयका लागि एक रूप प्रदर्शन नहुनुलाई एउटा कारणका रूपमा बताएका छन्। हुन त उनले यो नै नेपाली टोलीको पराजयको प्रमुख कारण भने नभएको पनि स्पष्ट पारेका छन्। उक्त प्रतियोगितामा नेपाल जहाँ आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग झिनो अन्तरको पराजय बेहोर्न बाध्य भएको थियो। त्यही भारत र पाकिस्तानसँग भने स्पष्ट अन्तरले पराजित भएको थियो। नेपालमा क्रिकेट प्रतिभाको कमी नरहेको कुरा अब उल्लेख गरिरहनुपर्दैन। सन् १९९६ मा मलेसियामा सम्पन्न पहिलो एसिसी ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी नेपाली खेलाडीको प्रदर्शनलाई हेरेर पूर्व भारतीय क्रिकेट कप्तान सुनिल गावसरकले नेपाली खेलाडीहरूको प्रशंसा गरेका थिए।त्यसपछिका दिनमा नेपाली क्रिकेटले बेलाबेलामा सफलताको स्वाद नचाखेको होइन। त्यसैको फलस्वरूप नै विश्व क्रिकेट मानचित्रमा नेपालले आफ्नो बेग्लै स्थान बनाइसकेको छ भने देशभित्र पनि क्रिकेटको लोकप्रियतामा दिन/प्रतिदिन वृद्धि हँुदै गएको छ। यो लोकप्रियतासँगै नेपाली क्रिकेट प्रशंसकहरूको आशा र अपेक्षा आफ््नो टिमलाई लिएर बढ्नु स्वाभाविक नै हो। त्यसअनुसार नेपाली टिमले पराजय भोग्दा क्रिकेट प्रेमीहरू निराश हुने गर्छन्। यसलाई अर्काे कोणबाट बुझ्ने हो भने नेपाली क्रिकेट प्रशंसकहरूको मूल्याङ्कनमा नेपाली टोली जितको हकदार छ। त्यसैले नै नेपाली प्रशंसकहरूको आशा नेपाली टोली सहभागी भएको हरेक अन्तर्राष्ट्रिय स्पर्धामा जागेर आउने गर्छ। त्यसो त नेपाली क्रिकेटको इतिहास पनि लामो छ। नेपालले औपचारिकरूपमा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएको समयलाई नेपाली क्रिकेटको आधुनिक काल मान्ने हो भने पनि यसको इतिहास लगभग २० वर्ष पुरानो हुन थालेको छ।
यस्तो अवस्थामा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्पर्धामा सफलता पाउनु/नपाउनुको कारण राम्ररी खोतल्ने बेला भइसकेको छ। सिंगापुरमा सम्पन्न प्रतियोगितामा नेपालले भारत, पाकिस्तान जस्ता क्रिकेटमा खारिएका टिमसँग प्रतिस्पर्धा गरेको थियो। कुनै बेला थियो जब भारत र पाकिस्तान जस्ता टेष्ट स्तर प्राप्त राष्ट्रसँग खेल्न पाउनु पनि नेपाली क्रिकेटका लागि एउटा अवसरका रूपमा हेर्न सकिन्थ्यो। यी राष्ट्रहरू विरुद्धको खेलमा प्राप्त परिणामले खासै महत्त्व राख्दैन थियो नेपाली क्रिकेट प्रेमीहरूका लागि। तर त्यो स्थिति अब रहेन। लामो अन्तर्राष्ट्रिय सहभागिताको अनुभव बोकेको टिमबाट अब राम्रो नतिजा पनि आशा गर्न थालिएको छ। यो आफँैमा नेपाली क्रिकेट टोलीप्रति देखिएको विश्वास पनि हो।
माथि कप्तान खड्काले भनेजस्तै पराजयको एउटा कारण नेपाली खेलाडीको प्रदर्शनमा भएको एकरूपताको कमी हो तर यसका अन्य कारण पनि छन् जसलाई गम्भीरतापूर्वक केलाउनुपर्ने हुन्छ। विश्वमा क्रिकेटको लोकप्रियतासँगै यसमा प्रतिस्पर्धाको पनि निकै विकास भएको छ। जसको फलस्वरूप जित/हारबीचको अन्तर निकै कम हुँदै गएको छ। त्यसैले क्रिकेटमा पनि प्रदर्शनमा पूर्णताका लागि अनेकन प्रयास भइरहेका छन्। अनेकन प्रविधि अपनाइएको छ। क्रिकेटको विकासका लागि बल र ब्याट लिएर अभ्यास मात्र अब पर्याप्त रहेन। यो यस तथ्यलाई नेपाली क्रिकेटको सम्बन्धित पक्षले आत्मसात गर्नु जरुरी छ। जहाँ अन्य मुलुकले क्रिकेट विकासका लागि आफ्ना हरेक पक्ष बलियो बनाउँदै लगेका छन्। वैज्ञानिक उपकरणको सहायता लिन थालेका छन्, त्यही हामी भने तुलनात्मकरूपमा प्राचीन युगमै छौँ।
क्रिकेट विकासका लागि देशका लगभग हरेक भागमा १२ महिना खेल्न मिल्ने मैदान, अन्तर्राष्ट्रिय स्तरका मैदान, घरेलु क्यालेन्डर (नियमित घरेलु प्रतियोगिता), खेलाडीको सुनिश्चित वर्तमान एवं भविष्य जस्ता कुरा अब खेलका आधारभूत आवश्यकता हुन पुगेका छन्। अर्थात् यी आवश्यकता त खेललाई निरन्तरता दिन वा भनौं आफ्नो अस्तित्व कायम राख्न मात्र पर्याप्त हुन पुगेका छन्। अन्तर्राष्ट्रिय स्पर्धामा सफलताका लागि यी अब प्रमुख होइन प्रारम्भिक आवश्यकता हुन पुगेका छन्। अनि क्रिकेटका अन्य राष्ट्रले आफ्नो तयारीलाई पनि त्यहीरूपमा अगाडि बढाउँदै लगेका छन्।
यसको एउटा उदाहरण अष्ट्रेलियाका पूर्व प्रशिक्षक जोन वुकानन्को भनाइमा पनि पाउन सकिन्छ। यो अष्ट्रेलिया विश्व क्रिकेटको अजेय शक्ति भएका बेला उनी त्यस टिमका प्रशिक्षक थिए। उनले एउटा प्रशिक्षकको नाताले आफूले खेलाडीहरूको व्यक्तिगत जीवनबारे पनि नियमित जानकारी राख्ने बताएका थिए। कुनै खेलाडीलाई घरेलु समस्याले सताएकोबारे उनी सदैव सचेत रहन्थे र खेलाडीसँग यसबारेमा व्यक्तिगतरूपमा छलफल गरिरहन्थे। खेलाडीको मनोविज्ञानलाई उनी हरहमेसा पढ्ने गर्थे। त्यसबारेमा जानकारी राख्ने गर्थे। मानसिकरूपमा स्वस्थ खेलाडीले मात्र मैदानमा राम्रो प्रदर्शन गर्ने उनको मान्यता थियो। उनीमात्र होइन, वर्तमान विश्वका हरेक प्रशिक्षकले आफ्नो टिमको विकासका लागि हरेक उपाय अपनाउन थालेका छन्। प्रतिद्वन्द्वी टिमका खेलाडीहरूको भिडियो प्रतियोगिता पूर्व आफ्ना खेलाडीलाई देखाउने प्रचलन बाँकी विश्वका लागि एउटा नियमित प्रक्रिया जस्तो नै भइसक्यो। त्यसबाहेक खेलाडीको खानपान पनि वैज्ञानिक ढङ्गको भए/नभएको पूरा ख्याल राखिन्छ। उनीहरूको अभ्यासको पूर्ण व्यवस्था गरिएको हुन्छ।
यो सबै वर्तमान समयमा टिमका स्तरमा देखिएको साँघुरो अन्तरको परिणाम हो। यस आधारमा हेर्दा हामी त क्रिकेटको आधारभूत आवश्यकता परिपूर्ति गर्ने स्थितिमा समेत छैनौँ। हामीसँग खेलाडी त छन् तर यिनीहरूलाई व्यवस्थापन गर्न सक्ने स्थितिमा हामी छैनौँ। हामीसँग आधारभूत आवश्यकताका रूपमा रहेका मैदान, खेलाडीलाई वर्षभर अभ्यासको अवसर, खेलाडीको वर्तमान र भविष्य सुनिश्चित गर्ने आधार केही छैनन्। भारत, पाकिस्तान, श्रीलंका जस्ता देशमा क्रिकेट एउटा जीवन पद्धति भइसकेको छ। यस खेलको लोकप्रियताले त्यहाँको जीवनशैलीमा प्रभाव पारिसकेको छ। त्यसैले यी राष्ट्रहरूले यसको विकासका लागि त्यही किसिमले लगानी गर्दै आएका छन्। यसबाहेक थाइल्यान्ड, चीन जस्ता नवप्रवेशी राष्ट्रका साथै मलेसिया, हङकङ, अफगानिस्तान, युएइ, ओमान जस्ता राष्ट्रले यसमा गम्भीरतापूर्वक लगानी गर्न थालेका छन्, त्यसको परिणाम निकट भविष्यमा देखिने नै छ। त्यसको उल्टो हामीसँग क्रिकेट जोगाइराख्ने आधारसमेत छैन। अझ यसलाई हिँडाउने कुरा त अहिलेको स्थितिमा कल्पनाभन्दा बाहिर छ। यसमा सम्पूर्ण दोष नेपाल क्रिकेट संघ क्यानको मात्र होइन। पहिला सरकार र समाजले खेलप्रतिको आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउनु आवश्यक छ।

प्रकाशित: १० भाद्र २०७० २३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App